आजका कम्युनिस्ट र पठन संस्कृति

आजका कम्युनिस्ट र पठन संस्कृति

कम्युनिस्ट भन्नेबित्तिकै धेरै पढ्छन्, धेरै लेख्छन्, समाज र मानव जीवनको यथार्थलाई नजिकबाट नियाल्छन्, बढी सिर्जनशील हुन्छन्, आलोचनात्मक चेत राख्छन् । छलफल र बहसमा सहभागी हुन्छन् । जनतामा चेतना फैलाउँछन् । समग्रतामा भन्दा हरेक कम्युनिस्टको झोलामा किताब हुन्छ र हरेक कम्युनिस्ट आफैँमा एउटा लेखक हुन्छ भन्ने मान्यता स्थापित भएको छ जुन कुरा आजको सन्दर्भमा बिरलै भेटिएला ।

हुन पनि कम्युनिस्ट पार्टीको सामान्य कार्यकर्तादेखि नेतृत्व गर्ने पदाधिकारीसम्म हरेक सदस्यले अध्ययन संस्कृतिलाई आफ्नो र साङ्गठनिक जीवनको एउटा महत्वपूर्ण हिस्सा बनाएको पाइन्थ्यो । कुनै नयाँ कुरा भेट्नासाथ डायरी झिकेर टिपिहाल्ने, तर्कवितर्क गरिहाल्ने, दैनिक समीक्षामा जुटिहाल्ने, तल्लो सेलदेखि केन्द्रसम्म सबै विषयमा अपडेट भइहाल्ने कुराहरू त सामान्य दैनिकी नै हुने भइहाल्यो । यसका अलावा हरेक विधामा कलम चलाउने सदस्यहरूको समेत कमी हुने थिएन ।

आज संसदीय व्यवस्थामा रमाइरहेका धेरै नेताहरू कुनै समयका चर्चित आदर्शहरू थिए । ती नेताहरू कोही लेखक, कोही कवि, कोही गीतकार, कोही दार्शनिकका रूपमा परिचित थिए । आफ्नो औपचारिक शिक्षा जतिसुकै होस्, यसप्रकारको नियमित पठन संस्कृतिले राजनीतिक नेताका साथै थप परिचय बनेको थियो । एक–अर्काका कार्यदिशा र जीवनशैलीका विषयमा उठेका अन्तरविरोधहरूका समेत लेख, रचना, पुस्तक आदिमार्फत जबाफ माग्ने र दिने, आरोपहरूको खण्डन–मण्डन पनि बोली कम अक्षर बढी गरेर अगाडि बढ्ने प्रक्रिया अवलम्बन गर्ने गरेको पाइन्छ । तर आजको व्यवहार र अभ्यास हेर्दा के यी तिनै नेता हुन् ? के यस्ता पनि कम्युनिस्ट हुन्छन् ? भन्नेजस्ता अनगिन्ती प्रश्नहरूले घेरिरहेको अनुभूति हुन थालेको छ ।

सङ्घर्षको समयमा जनता र किताबसँगको सम्बन्धलाई एकाकार गरेर अगाडि बढेका कम्युनिस्टहरू सत्ता र शक्तिको आरोहणसँगै वैचारिक क्षयीकरणको दिशामा अगाडि बढे भन्ने जनआरोप र त्यसको प्रभाव स्वतः तल्ला सङ्गठन र नयाँ पुस्तासम्म पुगेको पाइन्छ । वस्तुले चेतनाको निर्माण गर्दछ भन्ने मान्यता राख्ने कम्युनिस्टहरू पुरानो सत्तासँग जोडिइसकेपछि अथवा छाडा पुँजीवादी प्रतिस्पर्धालाई अङ्गीकार गरिसकेपछि क्रमशः जालझेल र षड्यन्त्रको राजनीतिक भुमरीमा डुब्ने अनि रूपान्तरण, परिवर्तनको सवाललाई असम्भव र निरर्थक देख्ने गरेको यथार्थ हाम्रासामु यदाकदा छँदैछ भने अर्कातिर व्यवस्थाले उत्पन्न गरेको बाध्यात्मक परिस्थिति पनि हुनसक्ने भइहाल्यो । यसको मूल चरित्र नै भन्ने एउटा, गर्ने अर्काे हुन्छ अथवा व्यवहार र सिद्धान्तको सन्तुलन हुँदैन ।

आजको अवस्थामा अध्ययन, अनुसन्धान गर्ने नेता–कार्यकर्ता सबै सकिइसके भन्ने आशय पक्कै पनि होइन तर हिजो र आजको अवस्थामा आकाशपाताल फरक भने भएको छ । संसदीय राजनीतिक प्रतिस्पर्धामा भएका कम्युनिस्ट भन्न मन पराउनेहरू होऊन् वा यसको विकल्पमा सङ्घर्षरत सानाठूला सबै प्रकारका कम्युनिस्ट शक्तिहरू होऊन्, चालू सन्दर्भलाई नै हेर्ने हो भने पनि हिजोको पठन संस्कृति हराएकै भेटिन्छ । हिजोभन्दा आजको विश्वको बदलिँदो परिवेश र आवश्यकताले पनि पठन संस्कृति बढ्नुपर्ने हो यद्यपि त्यसको माध्यम वा स्वरूप फरक होला तर हिजोको कायम हुनु त कता हो कता झनै हराउँदै जाने कुरा त चिन्ताको विषय पो बन्दैछ । यो के कारणले भयो ? यसरी कम्युनिस्ट पार्टीको जीवन रहन सक्छ कि सक्दैन ? समाज रूपान्तरणको प्रक्रिया यही तौरतरिकाले अगाडि बढ्न सक्छ कि सक्दैन, बहस गर्नुपर्ने भएको छ ।

अहिले हाम्रो परिवेशको कुरा गर्दा सत्ता र सरकारको चाबी हातमा लिनेहरू समाजवादको गीत गाउने, दलाल पुँजीवादीहरूको खाने र सेवा गर्ने कार्यमा व्यस्त भएका छन् । कहिलेकहीँ माक्र्स वा अन्य कुनै राष्ट्रिय नेताको वार्षिकीमा प्रवचन दिने, ताली खाने र ताली बजाउनेभन्दा खासै उपलब्धि भएको छैन भन्दा पनि फरक नपर्ला । समाजवाद कसरी लागू गर्न सकिन्छ, समाजवादका प्रारम्भिक कार्यक्रमहरू कस्ता हुने, समाजवादमा नेता, कार्यकर्ता र जनताको आर्थिक जीवन कस्तो हुने, दलाल पुँजीवादसँग लड्ने हतियारहरू केके हुन्, राष्ट्रिय पुँजीको विकास कसरी गर्ने, वैदेशिक सहायता लिने कि नलिने, लिए पनि कुन क्षेत्रमा कसरी सदुपयोग गर्ने, अन्तर्राष्ट्रिय सम्बन्धहरूलाई कसरी अगाडि बढाउने, समाजवादी जनमतलाई कसरी सङ्गठित गर्ने, समाजवादीहरूबीचको ध्रुवीकरण कसरी गर्ने भन्नेबारेमा सङ्गठनभित्र छलफल र बहसको कुरा त परै जाओस्, व्यवस्थित स्कुलिङ र सर्कुलरसमेत हुन छाडिसकेका गुनासाहरू सुन्न पाइन्छ ।

अहिले कम्युनिस्ट आवरणका संसद्वादी नेताहरू कसरी सत्ता प्राप्त गर्ने र जोगाउने, कसरी आफ्ना प्रतिस्पर्धीलाई सिध्याउने, कसरी एकले अर्कालाई तल्लो स्तरमा झरेर भए पनि खुइल्याउने, कसरी गुटको संरक्षण गर्ने, कुन विधि लगाएर आफ्नो निर्वाचन क्षेत्र र भोट सुनिश्चित गर्ने भन्नेमा छन् भने कार्यकर्ताहरू कसरी ठेक्कापट्टा आफ्नो भागमा पार्ने र सम्पत्ति कमाउने, कसरी नेतृत्वलाई खुसी पार्ने र आफ्नो राजनीतिक भविष्य सुनिश्चित गर्ने भन्नेमा तल्लीन छन् । राज्यसंयन्त्र र पार्टीका शक्तिशाली समितिमा हुने नियुक्तिहरूमा पनि नतावाद, अर्थवाद र अवसरवादले छपक्क छोपेको छ सरकारवादी र प्रतिपक्षी कम्युनिस्ट दुवैलाई ।

हिजो नेताहरूले आफ्नो सङ्घर्षको समयमा राजनीतिक, वैचारिक विकासका साथै नेतृत्वदायी भूमिका निर्वाह गरेको कुरा सत्य हो तर आज पनि उनीहरूकै भर परेर नयाँ आगन्तुक पुस्ताले परिवर्तन र रूपान्तरणमा ताजापन खोज्नु मूर्खताशिवाय अरू के हुन सक्छ ? संसद्भित्रका कम्युनिस्टको मात्र कुरा भएन, दलाल संसदीय व्यवस्थाको विकल्पका रूपमा नयाँ जनवाद वा वैज्ञानिक समाजवादका लागि आन्दोलनरत शक्तिहरूमा पनि हिजोको जस्तो लोभलाग्दो अध्ययन संस्कृति रहेको पाइँदैन । अध्ययन गर्ने, कार्यदिशालाई समृद्ध गर्ने, नयाँनयाँ विषयको खोजी गर्ने जिम्मा नेतृत्वको मात्रै भएजसरी सुती बस्ने, हल्लाको पछाडि दौडने, सामाजिक सञ्जालमार्फत धारणा निर्माण गर्ने, तर्क र तथ्यको नजिक नपुग्नेजस्ता समस्याहरू जीवितै छन् । यसले कम्युनिस्ट आन्दोलनमा नै उत्तराधिकारी निर्माणका सन्दर्भमा अवरोध हुने त होइन भन्ने चिन्ताको विषय बनेको छ ।

हामी पढ्ने कम, बोल्ने बढी भएका छौँ । हामी गफ ठूला गर्ने तर परिणाम दिन नसक्ने भएका छौँ । हामी दिनदिनको भाषणमा मौखिक आरोप–प्रत्यारोप गर्ने भएका छौँ । हामी बिस्तारै छलफल, बहस गर्ने संस्कृतितिर होइन, निषेध गर्ने र धारे हात लगाउने संस्कृतितिर उद्यत भइराखेका छौँ । के नयाँ पुस्ता र युवा भनिनेहरू पनि यो संस्कृतिबाट ग्रसित छैनन् त ? प्रश्न आफैँतिर सोझ्याउनुपर्ने भएको छ ।

हामी धेरै सम्पत्तिको निश्चित व्यक्ति र स्थानमा केन्द्रीकरण हुने पुँजीवादलाई विकास देख्ने तर सामूहिकता र समाजवादमा अविश्वास गर्नेजस्ता भएका छौँ । हामी सिर्जनशीलतातिर कम र अन्धानुकरणतिर बढी जोड गर्ने भएका छौँ । पञ्चायतकालीन समय होस् वा जनयुद्धकालीन समय, नेता–कार्यकर्ताको गिरफ्तारीमा प्रशासनले किताबका खात फेला पार्दथे अरे । तर आज परिवेश बदलिएको छ । सत्तामा हुनेहरूसँग के किताब हुन्थ्यो, उनीहरूसँग त सरुवाबढुवाकै कागज, मोलमोलाइकै फाइल हुने भइहाले, क्रान्तिकारीहरूसँग पनि किताब सायदै भेटिन्छन् होला ।

यसरी कम्युनिस्टहरूमा पठन संस्कृति हराउँदै गएको कुरा नस्वीकार्ने त कमै होलान्, यसका अलावा कम्युनिस्ट ब्राण्डमय वस्तुस्थिति भएको सन्दर्भमा पनि अलि माक्र्सवादप्रति अध्ययनको रुचि राख्ने कार्यकर्ताले समेत काङ्गे्रसका प्रदीप गिरी नै खोज्नुपर्ने बाध्यता कहिलेसम्म ? अथवा निश्चित कम्युनिस्ट नेताहरूको अध्ययनको भरमा मात्र आन्दोलनलाई थेग्ने कहिलेसम्म ?

अन्त्यमा पुँजीवादीहरूले आफ्नो राजनीतिक कार्यक्रमलाई, संस्कृतिलाई, उत्पादित बस्तुहरूलाई, विभिन्न स्वरूपमा परीक्षण र प्रयोग गरी बजारीकरण गर्दै आफ्ना पाठशालाहरूलाई मजबुद बनाई जनताको दिमागमा पुँजीवादी विकार भरिरहँदा समाजवादी कम्युनिस्टहरूले आफ्नो पाठशालालाई धारिलो र बलियो बनाएर हिजोको अध्ययन संस्कृतिलाई अझै फराकिलो बनाउँदै शक्तिशाली वैचारिक हतियार निर्माण गर्नुको विकल्प छैन । बलियो वैचारिक अस्त्र र सन्तुलित व्यवहारले मात्र पुँजीवादसँग प्रतिस्पर्धा गरी विजय हासिल गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्