जनक्रान्तिको मैदानबाट छोरालाई चिट्ठी

प्रिय छोरा हार्दिक
न्यानो मायासहित मीठो सम्झना ।

म यता आरामै छु । त्यता तिमी पनि आरामै हौला भन्ने आशा लिएकी छु । छोरा हार्दिक यो पुसमाघको चिसोमा पनि तिमीसँगै रहन नपाउँदा मलाई निकै दुःख लागिरहेको छ । यस्तो बेलामा आमाको न्यानो काख नपाउँदा तिमीलाई झन् नराम्रो लाग्नु स्वाभाविकै हो छोरा । तर के गर्नु, समय र परिस्थिति यस्तै छ । यो देशमा दलालहरूको राज छ । आज तिमीजस्ता लाखौँ बलबच्चाहरू आमाबाबुको न्यानो काख र मायाबाट वञ्चित भएका छन् । कोही रोजगारीको सिलसिामा विदेश गएर बिछोडिएका छन् भने कोही क्रान्तिको दौरानमा वञ्चित भएका छन् । बाबु हार्दिक, तिम्रो र मेरो बिछोड कुनै व्यक्तिगत स्वार्थमा नभई देश र जनताको मुक्तिका निम्ति भएको छ । तिमीले जन्मँदै कठिन सङ्घर्ष गर्नुपरेको छ । कैयौँ कुपोषण र अभावको सामना गर्नुपरेको छ । तर पनि तिमी सौभाग्यशली छौ छोरा किनकि तिमी पार्टी कार्यालयमै जन्मियौ र अहिले पनि पार्टी र क्रान्तिकै आन्दोलनमा जनताको बीचमा छौ । सानो उमेरदेखि नै दलाल सत्ता र पुँजीवादी संसार बुझ्ने मौका पाएका छौ । कहिले ग्रामीण जीवन त कहिले सहरिया उत्पीडन पनि भोगेका छौ । कहिले आमा गिरफ्तार हुँदा काठमाडौँका पुलिस हिरासत, सर्वोच्च अदालतको कठघरा हुँदै कैलालीसम्मका पुलिस हिरासत र अदालत धाएका छौ भने कहिले तिम्रो बुबा गिरफ्तार हुँदा दर्जनौँ जिल्लाका अड्डा अदालत र पुलिस कार्यालय पुगेका छौ । कैयौँ रात र दिन तिमीले एक्लै पनि बिताएका छौ । अहिले पनि तिम्रा बाबा दलाल सामाजिक फासिवादी सत्ताको जेलमा हुनुहुन्छ भने म एकीकृत जनक्रान्तिको मैदानमा छु । छ वर्षको उमेरमा तिमीले यति धेरै सङ्घर्ष गर्नु पनि देश र जनताका लागि ठूलो गर्वको कुरा हो छोरा । अहिले तिमीसँगैका दौँतरीहरू सहरका महँगा बोर्डिङ स्कुलमा पढिरहेको बेला तिमी भने जनताकै बीचमा दुर्गम गाउँको सरकारी स्कुलमा पढिरहेका छौ । हामीभन्दा धेरै माया गर्ने आमा, बाबु, दाजु, भाइ तथा दिदी–बहिनी पाएका छौ । यो पनि तिम्रा बुबाआमाका निम्ति ठूलो आदर्श र गौरवको कुरा हो । यो कुनै देखावटी नभएर तिम्रा बुबाआमाको क्रान्तिकारी स्पिरिट र कम्युनिस्ट जीवनशैलीको परिणाम हो ।

छोरा हार्दिक, अहिले देशमा क्रान्ति र प्रतिक्रान्तिको भीषण टकराव चलेको छ । तिम्रा बुबा क्रान्तिको दौरानमा दुस्मनको कालकोठरीमा कठोर सङ्घर्ष गरिरहनु भएको छ भने म क्रान्तिको रणमैदानबाट दुस्मनलाई हाँक दिइरहेकी छु । यो देशमा अब छिट्टै जनताको स्वराज आउँदैछ । तिमीजस्ता लाखौँलाख बच्चाहरूले कहिल्यै पनि आमाबाबुको न्यानो मायाबाट वञ्चित हुनु नपर्ने व्यवस्था वैज्ञानिक समाजवाद आउँदैछ । तिमीले विप्लव ठूलो बुबाको सेनाले हाम्रो बाबालाई छुटाउँछ भनेझैँ अब जनमुक्ति सेनाको फर्मेसनसहित जनक्रान्तिको लहर गाउँ–सहर चल्दैछ । दलाल सामाजिक फासिवादी सत्ताका विरुद्ध चौतर्फी क्रान्तिको ज्वारभाटा उठ्दैछ । मजदुर, किसान र सहरिया मध्यम वर्ग एकीकृत जनक्रान्तिको वरिपरि गोलबन्द हुँदै गएको छ । हो छोरा, तिम्रो यो बालो उमेरमा धेरै इच्छा र चाहना होलान् । अरूका बुबाआमा सँगै भएको देख्दा तिम्रो मन पनि छियाछिया हुन्छ होला । तर छोरा तिमी महान् छौ र धेरै कुरा बुझेका छौ । बुबाआमाको क्रान्तिकारी लक्ष्य र जीवनलाई पनि बुझेका छौ । त्यसैले छोरा हार्दिक, तिमी कहिल्यै पनि निरास नहुनु र दुःखी पनि नहुनू । मेरो मुटुको टुक्रा, तिमीलाई भेट्न म छिट्टै आउनेछु ।

उही तिम्रो माया गर्ने आमा पूर्णिमा

२०७७ माघ २२ गते बुधबार (अन्जान बस्तीबाट) 

(केपी वली–प्रचण्ड सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको समयको चिठी)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :