राजनीतिक ‘वेश्यालय’ को नग्न नृत्य

कविता

राजनीतिक ‘वेश्यालय’ को नग्न नृत्य

‘तिमीबाहेक मेरो अरू कोही छैन’ भन्दै
बिहान–बिहान ऊसँग लबस्तरिने
‘तिमी नभए म मरिहाल्छु’ भन्दै
साँझ–साँझ त्योसँग घुस्रिने
‘मेरो जीवनमै तिमी मात्र त हौ
अरू त म सोच्नै सक्तिनँ’ भन्दै
राती–राती तेस्रोसँग इत्तरिने
बिहान–बिहानै कचेरा नपुछ्दै
‘तिम्रो आलिङ्गनबिना निद्रै लाग्दैन’ भन्दै
चौथोसँग लठारिने
‘सँगै बाँचौँ, सँगै मरौँ’ भन्दै
मध्याह्न पाँचौँसँग पात्तिँदै डेटिङ जाने
‘अब यस्तो भूल कहिल्यै गर्नेछैन’ भन्दै
छकालमा छैटौँसँग झुत्तिने
थुइक्क तिम्रो लबस्तरो राजनीति !

जनता सधैँ अभावैअभाव र सङ्कटैसङ्कटमा
देश सधैँ घाटैघाटामा
बाढी र पहिरोले उजाड बस्तीझैँ
युवा निख्रिएर वृद्धालय बनिसकेको देशमा
नेता र पार्टीहरू सधैँ नाफैनाफामा
किन्दा पनि नाफा
बेच्दा झनै नाफा
बीचमा बसेर कुरा मिलाइदिँदा
झनै चौबर फाइदा
पातरहरूको यो लोकतन्त्र
जोकरहरूको यो भाँडतन्त्र (बहुरूपी समाजवाद)
(माफ गर्नुहोला यो शब्द प्रयोग गर्न मन थिएन)–
वेश्यालय (पुरुष–महिलाहरू दुवै) भन्दा बढी दुर्नाम
लोकतन्त्र नामको तिम्रो लूटतन्त्र
कठै !

बाघ सुतुन्जेल मात्र उफ्रिने न हुन् फ्याउराहरू
र देखाइरहने हुन् सरम पचाएर यस्तो नग्न नृत्य
आर्यघाटमा लगिएको

घाटेवैद्यले अन्तिमपटक ओठ लेब्य्राउँदै
नाडी समातेको बिरामीजस्तो न हो तिम्रो संसद्तन्त्र
अस्वीकार्य छ हामीलाई यो
बन्द गर यी कलाविहीन भद्दा नाटकहरू
रोक यी घिनलाग्दा रत्यौलीहरू
उठिसकेको छ
केही समय सुस्ताएको समाजवादी बाघ
र सूचीकृत गरिरहेछ संसद्वादी अश्लील घटनाहरू…
जब फर्किनेछ अर्को फागुन एक
कुलेलम ठोक्नेछन् नग्नालयका बेसरमहरू
पत्तासाफ हुनेछन् दलालतन्त्रका ठेकेदारहरू
र मार्चपास्ट गर्नेछ वैज्ञानिक समाजवादले ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :