“चिहानमाथि महल बनाइरहेको मान्छे” नामक कविता संग्रहको विमर्श

“चिहानमाथि महल बनाइरहेको मान्छे” नामक कविता संग्रहको विमर्श

दाङ : साहित्यकार, कवि घनश्याम अस्तित्वको “चिहानमाथि महल बनाइरहेको मान्छे” नामक कविता संग्रहको विषयमा विमर्श कार्यक्रम सम्पन्न भएको छ । उदाहरण समूहका अभियन्ता तथा कवि नवीन अभिलाषी सहजकर्ता भएको उक्त कार्यक्रममा साहित्यकारहरु हिरामणी दुखी, यज्ञबहादुर डाँगी र सरिता देवकोटा वक्ता हुनुहुन्थ्यो ।

कृतिका विषयमा विचार राख्ने शिलशिलामा साहित्यकार दुखीले साहित्यकारहरु प्रायः सत्ताको प्रतिपक्षमा हुन्छन् । यो कृतिले साहित्यिक धर्म निर्वाह गरेको छ बताउँदै कृति भित्रका रचनाहरुले “चिहानमाथि महल बनाइरहेको मान्छे” लाई आलोचनात्मक यथार्थवादको जगमा उभ्याएको बताउनुभएको थियो । त्यसैगरी अर्का वक्ता साहित्यकार डाँगीले यो कृतिमा संग्रहित कविताहरुले प्रतिक र विम्बको प्रयोग नवीन ढंगले गरेको विचार व्यक्त गर्नुभयो । फुटकर कविताहरु पढेको स्मरण गर्दै पुस्तक यो स्तरको होला भन्ने लागेको थिएन तर यसको स्तरीयताबाट म आफू प्रभावित भए भन्ने कुरा बताउनुभयो ।

त्यसैगरी साहित्यकार देवकोटाले कृति विद्रोहात्मक चेतले भरिभराउ भएको र नेपाली समाजको यथार्थ चित्रण गरेको बताउनुभयो । सहजकर्ता अभिलाषीले राखेका जिज्ञासाहरु मेटाउने शिलशिलामा वक्ताहरुले थप लामालामा प्रतिक्रियाहरु दिएका थिए । सहजकर्ताले उठाएका जिज्ञासाहरुलाई कृतिकार अस्तित्वले काव्यात्मक शैलीमा जवाफ दिनुभएको थियो र उहाँले कृतिभित्रका दुइ कविताहरु वाचन गरेर सुनाउनु भएको थियो । त्यसका साथसाथै उपस्थित चन्द्रराज पन्त, नवीन श्रेष्ठ, पदम पोख्रेल लगायतले आआफ्ना जिज्ञासाहरु राख्नुभएको थियो भने वाम विश्लेषकहरु शुशील गौतम, शशिधर भण्डारी, राप्ती साहित्य परिषद्का अध्यक्ष डा. टिकाराम उदासीले कृति र कृतिकारका सम्बन्धमा आआफ्नो मन्तव्य राख्नुभएको थियो ।

विमर्शमा सहभागि वक्ताहरुलाई उदाहरण समूहका अभियन्ता एवं साहित्यकार खेमराज गाउँलेले मायाको चिनो उपहार स्वरुप प्रदान गर्दै उपस्थित सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार तथा पत्रकारहरुको घनिभूत उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :