क्रान्तिकारी कम्युनिस्ट पार्टीले भष्ट्राचारीबिरुद्ध सङ्घर्षको उठान गर्ने

क्रान्तिकारी कम्युनिस्ट पार्टीले भष्ट्राचारीबिरुद्ध सङ्घर्षको उठान गर्ने

नवलपरासी :  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला सङ्गठन समिति नवलपरासीले भष्ट्राचारीबिरुद्ध सङ्घर्षको उठान गर्ने जनाएको छ । सो पार्टीको शनिबार बर्दघाटमा सम्पन्न जिल्ला सङ्गठन समितिको चौथो पूर्ण बैठकले जिल्लामा भएका भष्ट्राचारका बिरुद्ध स्थानीय सङ्घर्षका कार्यक्रम तय गरेको केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज क्षेत्रबहादुर थापाले जानकारी दिए ।

पार्टीको जिल्ला बैठकले माघ २१ देखि चैत २४ सम्मको सङ्घर्षको खाका बनाएको उनको भनाइ छ । पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक रवि पाण्डेयले सो बैठकमा पालिका इन्चार्ज तथा संयोजकहरूले कार्यक्षेत्रको रिर्पाेट राखेको र उक्त रिर्पाेट तथा पार्टी केन्द्र एवम् प्रदेशका योजना समाबेश गर्दै स्थानीय सङ्घर्षका कार्यक्रम तय गरिएको जानकारी गराए ।

बैठकले पार्टी केन्द्रीय कार्यालय तथा माघ ३ गते बसेको पार्टीको सङ्घर्ष परिचालन समितिको बैठकका निर्णयहरू कार्यान्वयन गर्दै स्थानीय र प्रादेशिक आन्दोलनहरू उठान गर्दै जाने उनको भनाइ थियो । त्यसैगरी जिल्लाको सापेक्षतामा कार्यक्रम तालिका समेत बनाइएको सहसंयोजक गणेशबहादुर ढकालले बताए । तालिकाअनुसार माघ २१ गते देखि फागुन ७ गतेसम्म पालिका कमिटी तथा जनवर्गीय मोर्चा सङ्गठनका जिल्ला बैठक हुने उनले जानकारी दिए ।

त्यसैगरी, माघ मसान्तका दिन जनयुद्ध दिवसको अवसरमा जिल्लाभर दिपावली गर्ने, फागुन १ गते जनयुद्ध दिवस मनाउने, फागुन २ देखि १३ गतेसम्म जनयुद्धकै सन्दर्भमा विभिन्न रचनात्मक कार्यक्रम गर्ने, फागुन १४ देखि २१ गतेसम्म सहिद सप्ताह कार्यक्रम मनाउने, सहिद परिवार, बेपत्ता परिवार, घाइते योद्धाहरूसँगको भेटघाट, सम्मानलगायत विविध कार्यक्रमहरू गर्ने, चैत २४ गते काठमाडाैँ केन्द्रित गर्न “काठमाडाैँ जाऔ” अभियान अन्तरगत सबै पालिकाहरूमा तालिका बनाई कोणसभाहरू गर्ने निर्णय गरिएको उक्त पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :