एकपटक आँखा जुधाएर हेर

कविता

एकपटक आँखा जुधाएर हेर

ओ महाशय !
बाजेका लागि औजार अर्जाप्ने
म अजे कामीकी नातिनी
थुपे कमिनी हुँ
पसिना र सीप चल्ने तर पानी नचल्ने
मूर्ति, घण्ट र यौवन चल्ने तर भान्छा नचल्ने
तिमीले नै होइन मलाई
आरनबाट खोसेर हतियार बोकाएको ?
यीः हेर म फेरि आइपुगें आरनमै !
तर न मसँग हतियार छ, न खलाँती !
मसँग सेनाले बलात्कार गरेको
जीर्णशीर्ण शरीर छ
र छ शरीरभरि गोली बोकेको जर्जर जीवन
एकपटक मसँग आँखा जुधाएर हेर !

ओ कमरेड !
म पुड्के मगर हूँ खाराको
तिम्रै कमान्डको लडाइँमा हारेर
छोराछोरी र बुकुरोसमेत भष्मखरानी पारेको
म लालकुमारी हूँ थबाङकी
तिम्रो अनुहारको तेजसँगै मेरो कुमारीत्व बल्यो
म चिच्याहट र क्रन्दन हूँ भाबाङमा
अलपत्र गाडिएका शवहरूको
म शिवपुरीको निर्जन जङ्गलभित्रको
जिउँदै पुरिएकाहरूको ओभानो खोपिल्टो हूँ
तिम्रो लाजिम्पाट दरबारको
पौडीपोखरी र जर्मनी खापाको ढोका हूँ
तिम्रा राजकुमारहरूलाई करोडौँको थैली झिकेर
हनिमुनका लागि युरोप पठाउनुअघि
सोच्यौ एक पल ?
म अनेकोटमा जिउँदै पोलिएका
लालताराहरूको रक्तबीज हूँ
एकपटक मसँग आँखा जुधाएर हेर !

ओ पराजित कमान्डर !
म बेथान हूँ जनयुद्धको पहिलो सफल फौजी मोर्चा
शक्तिशाली बन्दुकसँग ढुङ्गाले लड्ने तीफदिको रगत हूँ
दोरम्बामा लाम लगाएर मारिएका
२१ जून–घामको झर्रो सन्तान हूँ
रगतमा उम्रिएका हतियार गन्दै
वैरीका हातमा थमाउँदा
बङ्करमा पड्किँदै पहिरेका पाङ्ग्रे पोसाक
शत्रुलाई पहिरिदिँदा
आफ्नै कमरेडमाथि धावा बोल्न
दुस्मनलाई कासन गर्दा
काँपेन तिम्रो स्वर ? लर्बराएनन् तिम्रा हातहरू ?
म अपहृत क्यान्टोनमेन्टका
रक्तरञ्जित हतियार हूँ
म तिमीले अपमानपूर्ण विघटन गरेको र
पराजित दुस्मनसामु हात उठाउन लगाएको
विघटित जनमुक्ति सेना हूँ
एकपलक मतिर आँखा उठाएर हेर !

ओ विभीषण ! ओ शकुनि !!
म माटोका लागि रगत पोखेको योद्धा हूँ
म तिमीलाई नायक मान्दा
दुष्टहरूले कुटीकुटी मारेको कृष्ण सेन हूँ
म आफ्नो वर्गका लागि आफ्नै लास गाड्न
गैँती, बेल्चा र डोको बोकेर हिँडेको जनसैनिक हूँ
कोसी, गण्डकी र महाकालीलाई माथ गर्दै
मानेभन्ज्याङ, सुस्ता र सुगौलीको राष्ट्रघातलाई ओझेल पार्दै
साम्राज्यवादसँग बिप्पामा हस्ताक्षर गर्दा
काँपेन तिम्रो मुटु ?
लकपकाएन एकरत्ति स्वाभिमान ?
धर्किएन तिम्रो हृदय ?!
केका लागि हिँडायौ हामीलाई त्यो अप्ठ्यारो यात्रामा !
केका लागि मरायौ हामीलाई ?
किन ध्वस्त पा¥यौ हाम्रो परिवार ?
किन नष्ट पा¥यौ हाम्रो संसार ?!
म सक्तिनँ बन्न राष्ट्रघातको मतियार
म सक्तिनँ बन्न जनघातको हतियार !
म आदिविद्रोही दिलबहादुर रम्तेल हूँ
म आँखा झिकेर बलात्कार गरी मारिएकी
कुमारी बूढा हूँ, कमला भट्ट हूँ
मेरो अस्मिता, यौवन र जीवनको कङ्काल खडा गरेर
जनयुद्ध सकिएको घोषणा गर्ने
सुपुर्दगी र जलस्रोत सम्झौतामा हस्ताक्षर गर्ने
मेरो रगत र चेतनामाथि घोडा चढेर
एअरपोर्ट र कर्णालीमा दुष्टलाई तैनाथ गर्ने
तिम्रा हात र मस्तिष्कहरू ध्वंस पार्नुअघि
हिमालको देशबाट उठ्दै गरेको
आशाको दीप, विद्रोहको राँकोमाथि
प्रतिक्रान्तिको दुर्गन्धित पानी खन्याएकोमा पश्चाताप गर्नुअघि
एकपटक मसँग आँखा जुधाएर हेर !

म जिउभरि गोली बोकेर
तिम्रो आदेश पालना गरिरहेका
सुन्दर र साधनाहरूको भाइ हूँ
एउटा आक्रोशित आमनेपाली हूँ, म पदम कुँवर हूँ
एकपटक मसँग आँखा जुधाएर हेर !
२०६९

(स्रोत : मूलबाटो)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :