‘प्रिय’ लाई सम्बोधन

कविता

‘प्रिय’ लाई सम्बोधन

मेरो प्रिय,
अपहृत जनयुद्ध बन्न दिनेछैन म तिमीलाई
न त दिनेछु बन्न
एकै साथ–
केवल आफ्नो जीवनको भिक माग्दै
हजारौँ जीवन बलिदान गराउने
केवल आफ्नो सुखसयलका लागि
आफ्नै सन्तानको चिरहरण गर्ने
खाराबाट भागेको खलनायक !
अथवा
‘ऊ दलाल भयो, ऊ गद्दार बन्यो
म कदापि त्यस्तो बन्नेछैन, धोका दिनेछैन’ भन्दै
‘सेलसेल’ मा बम हान्दै÷हनाउँदै
अनाहक सहयोद्धाहरूलाई मार्दै÷मराउँदै
फेरि उसैसँग ‘क्रान्ति कर’ उठाएर आफूलाई
सगर्व नयाँ जमिनदार घोषणा गर्ने नटरवरलाल !

प्रिय,

तिमी त
पुष्पलाल–कृष्णलाल–गङ्गालालहरूका सपना हौ
चुनु, कुमारी र दिलमायाहरूका विश्वास हौ
तिमी,
तिमी त इच्छुकहरूको प्रतिरोध र कमलाहरूको
आक्रोशको भट्टीबाट निर्माण भएको इस्पात हौ
यीः हेर
नयाँनयाँ वासु र भीमसेन जन्मिरहेछन् मभित्र पनि
मास्टरसाहेबहरू र चुनुहरू छुनुमुनु गरिरहेछन्
नवआयुधको अवगाहन गर्दै
क्रान्ति–कोक्रामा लोरी गाइरहिछिन् बेलिसरा
र हालिरहिछिन्–
खाराबाट पाठ सिकेर पिली जितेको लयबद्ध कथा !

प्रिय,

तिमीलाई विश्वास दिलाउँछु–
म अवश्य बन्नेछैन वर्गघाती आयाराम–गयाराम
म त आफ्नै वर्गबन्धुको घातमा परेर मारिएको
विशाल हुँ, कुमार हुँ, आलोक हुँ, कमल हुँ !
यो बहुरूपी समाजवादको पैरवी गर्न
जन्माएकी हैनन् मेरी आमाले त्रि–कुमार (कुमार, रामकुमार, निरकुमार)
उनी त वर्गघातीहरूको अनैतिक गर्भको बुख्याँचा होइन
सयौँ दुस्मनसँग निहत्था लड्दालड्दै
धरती जाज्वल्यमान बनाउँदै चम्किएका
अनेकोटका लालसिताराको रगतबाट निर्मित
श्रमिक वर्गको समाजवाद चाहन्छिन्
दुस्मनसामु एकरत्ति नझुकी, नगली
दोरम्बाबाट संसारलाई नयाँ कम्युनार्डको पाठ सिकाउने
राता मान्छेको बलिदानबाट जन्मिएको समाजवाद चाहन्छिन्
साम्राज्यवादी एमसीसी किस्तीमा पस्किएर
लिम्पियाधुराको चम्चाले ज्युनार गर्ने बहुरूपी समाजवाद होइन
नालापानी ब्युँताउने
र टिस्टामा खुँडा पखाल्ने
बेथान–भट्टेडाँडा–लिस्ने–गाम जित्ने
वीरवीराङ्गानाको त्यागमा जन्मिएको
वैज्ञानिक समाजवाद चाहन्छिन् ।

मेरो प्रिय,

गौरका योद्धाको हत्याराको बुई चढेर
भाइमाराका पाउमा दाम चढाउनेको समाजवाद होइन
सगरमाथा–आधारशिविरमा पुगिसकेको रक्तरञ्जित झन्डा
दिल्ली–वासिङ्टनका झ्यालका पर्दा बनाउने
पतीता कुमारीका अवैध ससुराको कक्टेल समाजवाद होइन
दिलबहादुरको रगत कटकटिएको दौराबाट जन्मिएको
महेन्द्र श्रेष्ठहरूको त्याग र
सुनीलहरूको शौर्य र गर्जनको समाजवाद चाहन्छु म ।
नयाँ युग जन्माउने नयाँ यात्राका लागि
गढी–गढीका नयाँ जमिनदारको होइन
प्रज्वल–निरकुमारको सपनाको यात्रा आवश्यक छ
चुनबाङ, बाह्रबुँदे वा तीनबुँदेको होइन
नयाँ चालीसबुँदे र सातबुँदेहरूको हुँकार अनिवार्य छ !

३२ साउन, २०८०

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :