सहिद सप्ताह र कम्युनिस्ट एकता

सहिद सप्ताह र कम्युनिस्ट एकता

नेपाली जनताले नेकपा (माओवादी) को नेतृत्वमा लडेको महान् जनयुद्धको २९ औँ दिवस देशभर मनाइँदैछ भने महान् जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलले बलिदान गरेको फागुन १४ देखि झापा विद्रोहका योद्धाहरूले सुखानीमा बलिदान गरेको फागुन २१ गतेसम्मको एक सातालाई सहिद दिवसका रूपमा जनयुद्धले स्थापित गरेको विशेष पर्व सहिद सप्ताह देशभर मालेमावादी क्रान्तिकारीहरूले विशेष महत्वका साथ विविध कार्यक्रमका साथ मनाइरहेका छन् । यसै मेसोमा नेपालका कम्युनिस्टहरूबीच एकताको सन्दर्भ पनि उठिरहेकै छ ।

यहाँ तीनवटा महत्वपूर्ण सन्दर्भहरू छन् : पहिलो जनयुद्ध, दोस्रो सहिद सप्ताह र तेस्रो कम्युनिस्ट पार्टीहरूबीच एकताको सन्दर्भ । जनयुद्ध यो शताब्दीकै महान् वर्गयुद्ध थियो र यसले सबैखाले शोषण, दमन, उत्पीडन, विभेदका विरुद्ध चिनियाँ मोडेलको दीर्घकालीन जनयुद्ध अर्थात् नयाँ जनवादी क्रान्तिका माध्यमबाट वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादसम्म पुग्ने लक्ष्य, प्रयत्न र बलिदानका बीचबाट महत्वपूर्ण उपलब्धिहरू हासिल गरेको थियो । जनयुद्ध आरम्भ गर्नुअघि २०४८ सालमा नेपालका क्रान्तिकारी कम्युनिस्ट पार्टीहरू नेकपा मशाल, नेकपा मसाल, नेकपा चौम, सर्वहारावादी श्रमिक सङ्गठनबीच एकता भएर सार्वभौम सिद्धान्तका रूपमा माक्र्सवाद लेनिनवाद माओवाद पारित गरिएको थियो र कार्यदिशा दीर्घकालीन जनयुद्ध ठोस गरिएको थियो । एकता महाधिवेशनले नेकपा एकताकेन्द्र निर्माण गरेपछि जनयुद्धको कार्यदिशा पारित भएसँगै पार्टीको नाउँ पनि नेकपा (माओवादी) तय गरिएको थियो । जनयुद्ध, माओवाद र माओवादी नामप्रति गम्भीर विमति जनाउँदै पूर्व चौम समूह अर्थात् निर्मल लामा–नारायणकाजी समूहले पार्टी विभाजन गरेको थियो भने जनयुद्धको अवधिभर जनयुद्धमाथि दुस्मनीपूर्ण विरोध, प्रलाप र असहयोग गरेको थियो । प्रतिक्रियावादी सत्ताको भीषण दमनको सशक्त प्रतिरोध गर्दै र सबैखाले संशोधनवादी, अवसरवादी, आत्मसमर्पणवादी समूहहरूको तीव्र भण्डाफोर गर्दै नेकपा माओवादीले देशभरका श्रमिक सर्वहारा वर्गको अपार लामबद्धता, सहयोग र समर्थनका बीच जनयुद्धलाई तीव्रतामा अघि बढायो र फलस्वरूप देशको असी प्रतिशत भूभागमा जनसत्ताहरू निर्माण भए । जनसत्ताको रक्षा र विकासका लागि जनमुक्ति सेना, जनन्यायालय, जनउद्योग, जनविकास, जनसंस्कृति निर्माण हुँदाहुँदै र संसारभरका उत्पीडित वर्गमा मुक्तिको आशा जाग्दै गरेको अवस्थामा जनयुद्धको मूल नेतृत्व प्रचण्ड–बाबुराम समूहले आत्मसमर्पणवादी नीति, कार्यक्रम पारित गर्दै लोकतान्त्रिक गणतन्त्रको सम्झौतावादी कार्यदिशा अघि सार्यो । फलतः संविधानसभा हुँदै त्यो समूह र कार्यदिशा दलाल संसद्वादमा पतन भयो । संशोधनवादविरुद्ध विद्रोहको झन्डा बोक्दै कमरेड मोहन वैद्यको नेतृत्वमा २०६९ सालमा गठित नेकपा (–माओवादी) को विकसित रूप आज नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच पार्टी एकतापछि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन भएको छ र अधुरो जनयुद्धका बाँकी कार्यभार पूरा गर्न नयाँ क्रान्तिको मार्गमा अग्रसर छ । नेपालको धरतीमा समेत सफल प्रयोग भइसकेको र हजारौँ सहिदको रगतको जगमा फुलिसकेको मालेमावाद र जनयुद्ध अब छलफल, बहस र विकल्पको विषय होइन, तदारुकतासाथ लागू गर्ने विषय हो । २०७१ सालमा वैद्य नेतृत्वसँग सम्बन्धविच्छेद गरी नेकपा गठन गरेर एकीकृत जनक्रान्ति आरम्भ गरेको विप्लव नेतृत्वको पार्टीको बहुमत हिस्सा विप्लवको आत्मसमर्पणवादी, संशोधनवादी नीति र नेतृत्वबाट विद्रोह गर्दै आज क्रान्तिकारी कम्युनिस्ट पार्टी बनेको छ । संशोधनवादीहरूको एउटा भद्दा गुट समाजवादी मोर्चाका नाममा संसद्‌वादी मोर्चामा रमाइरहेको छ । जनयुद्धको असली उत्तराधिकारी क्रान्तिकारी कम्युनिस्ट पार्टीसँग मात्र आज महान् सहिद, बेपत्ता योद्धा, घाइते अपाङ्गहरूका सपना जीवित छन् र यसलाई मात्र सहिद सप्ताह मनाउने नैतिक अधिकार छ, आत्मसमर्पणवादी, संसद्वादीहरूलाई होइन ।

जसरी महान् जनयुद्ध आरम्भ गर्ने र त्यसलाई पूरा गरेरै छोड्ने लक्ष्य र उद्देश्यका साथ २०४८ सालमा क्रान्तिकारी मालेमावादी कम्युनिस्ट पार्टीहरूबीच एकता भएको थियो, जनयुद्ध जारी राख्न अर्थात् जनयुद्धका कार्यभार पूरा गर्न फेरि क्रान्तिकारी कम्युनिस्ट पार्टीहरूबीच एकता, ध्रुवीकरण आवश्यक मात्र होइन, अनिवार्य र अपरिहार्य छ र नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकता भएर त्यस प्रक्रियाको आरम्भ पनि भइसकेको छ । नामधारी सबै कम्युनिस्ट पार्टीहरूबीच एकता आवश्यक र सम्भव दुवै छैन । जसरी विगतमा एकता भएर एकताकेन्द्र निर्माण भएपछि जनयुद्धको कार्यक्रम आउनासाथ तत्कालीन चौम समूह क्रान्तिकारी कार्यदिशाबाट विचलित, त्रसित र पलायन भएर अलग्गिएको थियो, बिनाआधार, बिनावैचारिक सामीप्य, बिना वर्गमुक्तिको उद्देश्य हुने सत्ता स्वार्थकेन्द्रित एकताले फेरि त्यही किसिमको परिणाम ल्याउने हो । क्रान्ति सम्पन्न गर्न मालेमावादी क्रान्तिकारी पार्टीहरूबीच एकता र ध्रुवीकरण भने हुनैपर्छ तर एउटै सर्तमा– कुनै पनि बहानाबाजीमा क्रान्तिबाट पलायन हुने, संशोधनवादी बन्ने वा आत्मसमर्पण र गद्दारी गर्ने छूट कसैलाई हुनेछैन । निकट इतिहासमा झैँ मालेमाको प्रयोगका नाममा जडता वा सिर्जनशीलता र विकासका नाममा संशोधनवाद सदा त्यज्य हुनेछ । अन्यथा मार्क्सवादबाटै पलायन हुने धारा र जडतासँग विद्रोह गर्ने अधिकार सधैँ छ । यसो हुँदा आज संसद्‌वादमा फसिसकेका माके, विप्लव समूह, एमाले, एसलगायत संसद्वादी, संशोधनवादी, अवसरवादी, अर्थवादीहरूबीच संसद्वादी ध्रुवीकरण र क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललगायत क्रान्तिकारी मालेमावादी शक्तिहरूबीच क्रान्तिकारी एकता र ध्रुवीकरण आज आवश्यक मात्र होइन, अपरिहार्य र अवश्यम्भाबी छ । क्रान्तिको बाटोमा हिँडेपछि सहिद सप्ताहले पनि नयाँ जीवन प्राप्त गर्नेछ,। सहिदका अधुरा सपनाहरूमा जीवन भरिनेछ भने क्रान्तिले पनि विजय हासिल गरेर नेपालमा वैज्ञानिक समाजवादको झन्डा फहराउनेछ । सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :