विश्वकप-एसियन कप छनोटमा नेपाल जोर्डनसँग ३-० ले पराजित

विश्वकप-एसियन कप छनोटमा नेपाल जोर्डनसँग ३-० ले पराजित

काठमाडौँ : आगामी सन् २०२२ को विश्वकप र २०२३ को एसियन कप छनोटअन्तर्गत समूह बीको सोमबार राती भएको खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको छ । कुवेतको जाबेर अल अहमद अन्तर्राष्ट्रिय रङ्गशालमा भएको खेलमा नेपालविरुद्ध जोर्डनका लागि फैसन सैफ बाहाले दुई र याजान अलाभाबले एक गोल गरेका थिए ।

खेलको २४ औँ र ४९ औँ मिनेटमा जोर्डनका लागि फैजलले गोल गरेका थिए । नेपाली खेलाडी रोहित चन्दले जोर्डनका खेलाडीलाई फाउल गरेपछि प्राप्त पेनाल्टीमा फैजलले पहिलो गोल गरेका थिए । नेपालका कप्तानसमेत रहेका गोलकिपर किरणले पेनाल्टी सही जज गरे पनि गोल बचाउन भने सकेनन् । पहिलो हाफमा नेपालका कप्तान किरणले केही राम्रा बचाउ गर्दा जोर्डनले गोलअन्तर बढाउन सकेको थिएन ।

फैजलले दोस्रो गोल फ्रिकिकमार्फत गरेर जोर्डनलाई २-० को अग्रता दिलाएका थिए । त्यसपछि ६७ औँ मिनेटमा याजनले हेडरमार्फत जोर्डनका लागि तेस्रो गोल गरेपछि नेपाल ३-० गोलले पराजित भयो ।
यसअघि चाइनिज ताइपेईलाई नेपालले २-० ले पराजित गरेको थियो ।

समूह बी मा नेपालले सातौँ खेल खेल्दा यो पाँचौँ हार हो । यसअघि २०१९ मा जोर्डनमै भएको खेलमा नेपाल ३-० ले पराजित भएको थियो । यस्तै कुवेतविरुद्ध दुवै खेलमा पराजित भएको नेपालले अस्ट्रेलियासँग पनि पराजय बेहोरेको थियो । चाइनिज ताइपेईविरुद्ध भने नेपाल दुवै खेलमा विजयी भएको थियो । ७ खेलबाट ६ अङ्कसहित चौथो स्थानमा रहेको नेपालले अब अस्ट्रेलियासँग खेल्न बाँकी छ । जोर्डनसँग हारेपछि नेपालको एसिया कपका लागि सीधै तेस्रो चरणको प्लेअफ खेल्ने सम्भावना भने लगभग सकिएको छ । कतार विश्वकप २०२२ को छनोटको तेस्रो चरणमा पुग्ने नेपालको सम्भावना पनि सकिएको छ । नेपालले अब जेठ २८ गते छनोटको अन्तिम खेल अस्ट्रेलियासँग खेल्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :