पार्टीका आगामी कार्यक्रमबारे

पार्टीका आगामी कार्यक्रमबारे

हाम्रो गौरवशाली तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी नेपालमा संसदीय राज्य व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापनार्थ अघि बढिरहेको पार्टी हो । आफ्नो स्थापनाकालदेखि वर्गसङ्घर्ष र अन्तरपार्टीसङ्घर्षमा विभिन्न उतारचढाव बेहोर्दै आइरहेको र बहुदलीय व्यवस्थाको आगमनपछि यो पार्टीका तीनवटा ऐतिहासिक कालखण्डहरू निकै महत्वपूर्ण रहेका छन् : पहिलो– जनयुद्धको ऐतिहासिक थालनी, दोस्रो– अन्तरपार्टी सङ्घर्ष र पार्टीको पुनर्गठन, तेस्रो– एकीकृत जनक्रान्तिको कार्यदिशा संश्लेषण ।

पहिलो– नेपाली राजनीतिक आन्दोलनको इतिहासमा यो कालखण्ड निकै महत्वपूर्ण छ । पृथ्वीनारायण शाहको नेपाल राज्य विस्तारपछिको लामो आन्तरिक गृहयुद्धका रूपमा स्थापित सशस्त्र जनयुद्ध, ग्रामीण वर्गसङ्घर्ष र प्रतिरोध सङ्घर्षको समयलाई हिसाब गर्दा झन्डै १५–१६ वर्ष हुन पुग्छ । राजतन्त्रात्मक संसदीय व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्य व्यवस्था स्थापना गर्न जनयुद्धको ऐतिहासिक थालनीपछि तत्कालीन शासक वर्गले हाम्रो न्यायपूर्ण जनयुद्धका विरुद्ध भएभरको तागत लगाएर दमन अभियान सञ्चालन गर्न पुग्यो । हत्यारा, आतङ्ककारी र अपराधीको आरोप लगाउँदै केही महिनाभित्र सिध्याउने उद्घोषका साथ राजनीतिक तथा फौजी आक्रमणलाई केन्द्रित गरियो । दमन–प्रतिरोध, घेरा–प्रतिघेरा, विजय–पराजयको सैन्य विज्ञानको नियम व्यवहारक्त प्रयोग गर्दै नेपाली जनयुद्ध विजयको शिखर चुम्दै अघि बढिरह्यो । अन्तक्त तत्कालीन शासकहरूको राजनीतिक र फौजी अभियान असफल भएपछि बृहत् शान्तिसम्झौताको हतियारमार्फत जनयुद्धको अन्त्य गरियो । राजतन्त्रको अन्त्य, आमजनचेतनामा अविभृद्धि, उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायले आफू उत्पीडित भएकोमा गर्व गर्दै मुक्तिका लागि सङ्घर्ष गर्नुपर्छ भन्ने चेतनाको विकास, सामाजिक क्षेत्रमा केही हदसम्म भए पनि सुधार जनयुद्धका महत्वपूर्ण उपलब्धिहरू रहेका छन् ।

दोस्रोे– जनयुद्धमा जनता, जनमुक्ति सेना तथा नेता–कार्यकर्ताको वीरता, बलिदान, सिर्जना र लगनका बीचबाट स्थापित हुन पुगेका पार्टीका तत्कालीन नेताहरू प्रचण्ड–बाबुरामहरूमा देखापरेको आत्मसमर्पण र विसर्जनवादका विरुद्ध पार्टीभित्र करिब एक दशक लामो विचारधारात्मक सङ्घर्ष सञ्चालन गरियो । वर्गसङ्घर्ष र जनयुद्धभन्दा कैयौँ गुणा जटिल उक्त विचारधारात्मक सङ्घर्ष एकता–सङ्घर्ष–रूपान्तरणको प्रक्रियातिर नगई फुटतर्फ अघि बढ्यो जो नेपाली कम्युनिस्ट आन्दोलनको विरासतका रूपमा रहँदै आएको छ । निकै पेचिलो बनेको अन्तरपार्टी विचारधारात्मक सङ्घर्षबाट प्रचण्ड–बाबुरामहरूमा रूपान्तरणको सट्टा संसद्वादका सामु आत्मसमर्पणवादी प्रवृत्ति हाबी भएपछि अन्तक्त कम्युनिस्ट पार्टीको पुनर्गठन गर्नुपर्ने ऐतिहासिक आवश्यकता हाम्रोअगाडि आइपुग्यो । अन्तरपार्टी सङ्घर्ष कति पेचिलो र अस्वस्थ बन्यो भने आफूलाई संस्थापन पक्ष बताउने केही व्यक्तिहरूले हामीलाई उग्रवामपन्थीको पगरी गुथाउँदै यसको समाधान बन्दुकको गोलीबाट हुने निष्कर्ष पनि निकाले । जनता, राष्ट्र तथा पार्टी र क्रान्तिका लागि भावनामा होइन, विचारको विज्ञानको सहारा लिने मालेमावादी विज्ञानलाई आत्मसात गर्दै हामी त्यसका विरुद्ध विद्रोह गर्न सफल भयौँ । अन्यथा आज नेपालको कम्युनिस्ट आन्दोलन सोलोेडोलो संसदीय व्यवस्थामा डुब्ने थियो । हाम्रो पार्टीले यसको पनि कुशलतापूर्वक नेतृत्व गर्न पुग्यो ।

तेस्रो– पार्टीको पुनर्गठनपछि आयोजना गरिएको प्रथम राष्ट्रिय भेला र त्यसको द्रुत गतिको तयारीको पृष्ठभूमिमा आयोजना गरिएको आठौँ महाधिवेशनले नेपाली कम्युनिस्ट आन्दोलनमा गरेका ऐतिहासिक र दूरगामी महत्वका संश्लेषणहरू धेरै महत्वका रहेका छन् । दर्शन, राजनीति, अर्थनीति र संस्कृतिका अतिरिक्त पार्टी कार्यदिशाका क्षेत्रमा झन्डै सात दशक लामो सशस्त्र जनयुद्ध र सशस्त्र विद्रोहको परम्परागत कार्यदिशाको गोलचक्करलाई क्रमभङ्ग गर्दै नेपाली क्रान्तिको कार्यदिशा एकीकृत जनक्रान्ति हुने संश्लेषण र प्रयोगलाई अघि सार्यो । अझ महत्वपूर्ण र रोचक विषय के छ भने आफूलाई कम्युनिस्ट बताउने सामाजिक दलालहरूको झन्डै दुईतिहाइको सरकार, जनताको कम्युनिस्टप्रतिको लगाव र कम्युनिस्ट सरकार हेर्ने चाहनाका बीचमा हामीले गरेका राष्ट्रियता, जनजीविका एवम् भ्रष्टाचार तथा कमिसनखोर र मानव बेचबिखनका विरुद्ध गरिएका सङ्घर्षहरूको पृष्ठभूमिमा हाम्रो पार्टीका विरुद्ध गरिएको प्रतिबन्ध निकै रोमाञ्चक रहेको छ । आफूलाई कम्युनिस्ट भन्ने सरकारले साँचो अर्थको कम्युनिस्ट व्यवस्थाको स्थापनाका लागि सङ्घर्षरत एउटा कम्युनिस्ट पार्टीका विरुद्ध लगाएको प्रतिबन्ध साम्राज्यवादीहरूको गुरुयोजनामा गरिएको एउटा गजबको नाटक मञ्चन थियो । हाम्रो पार्टीलाई लुटेरा समूहको संज्ञा दिदै पञ्चायतकाल र शाही सङ्कटकालीन अवस्थाको झल्को आउने गरी सञ्चालन गरिएको दमन अभियान इतिहासमा दर्ता भैसकेको छ । केही महिनाभित्रै सखाप हुने उद्घोषका साथ हाम्राविरुद्ध सञ्चालन गरिएको दमन अभियान अन्ततः दुई वर्ष पनि टिक्न सकेन । विश्वव्यापी रूपमा झैँ हाम्रो देशमा पनि सँसदिय व्यवस्थाको असफलताका कारण सताधारी पार्टीहरूमा देखिएको अन्तरसङ्घर्ष, फुट एवम् त्यसले पैदा गरेको उनीहरूको आवश्यकता, हाम्रो पार्टीको सचेतन प्रयत्न र आवश्यकताको पृष्ठभूमिमा वर्तमान सरकार र हाम्रो पार्टीका बीचमा वार्ताप्रक्रिया अगाडि बढिरहेको छ ।

निःसन्देह यी तीनवटै कालखण्डहरू जसको हाम्रो पार्टीले सचेतता एवम् कुशलतापुर्वक नेतृत्व गरयो आज फर्केर हेर्दा ती निर्णयहरू दुस्साहसवादीजस्ता लाग्न सक्छन् किनकि राजतन्त्रात्मक संसदीय व्यवस्थाका विरुद्ध जनयुद्धको ऐतिहासिक घोषणा सानो विषय थिएन । राज्यको शक्तिशाली संयन्त्रका विरुद्ध जनयुद्धको घोषणा गर्नु त्यो पनि कमसल र आंशिक घरेलु हतियारद्वारा । युद्धद्वारा युद्ध सिक्ने माओवादी मान्यता तथा राज्य रूपान्तरणको दृढसङ्कल्प र बलिदानी भावनाका कारण हामीले जनयुद्धमा एकपछि अर्को विजय हासिल गर्दै अगाडि बढ्यौँ । त्यसरी नै एकताका सिङ्गै देशको केन्द्रभागमा र पार्टीमा एकछत्र राज कायम गरेका प्रचण्ड–बाबुरामका विरुद्ध विचारधारात्मक सङ्घर्ष गर्नु, उनीहरू पूर्ण रूपले संसदीय आहालमा डुबेपछि सम्वन्धविच्छेद गर्दै पार्टीको पुनर्गठन गर्नु मुसाले बिरालोको घाँटीमा घन्टी बाँध्नुसरह थियो । हामीले हिम्मतका साथ उक्त कार्यको नेतृत्वसहित सम्पादन गर्यौ भने चौतर्फी प्रतिक्रान्तिको बेजोड हावा, प्रतिक्रियावादी दलालहरूको पुनरोदय तथा कम्युनिस्टहरूको विभाजनले पैदा गरेको नकारात्मक मनोविज्ञानको प्रतिकूल परिस्थितिमा क्रान्ति सम्भव र आवश्यक छ भन्ने निष्कर्षसहित एकीकृत जनक्रान्तिको कार्यदिशा संश्लेषण र दुईतिहाइ कथित कम्युनिस्ट नामधारी सामाजिक दलाल सरकार रहेको अवस्थामा एकीकृत जनक्रान्तिको प्रक्रियालाई अगाडि बढाउनु आफैँमा महान् विषय थियो तथापि ती निर्णयहरू र तिनको कार्यान्वयन मालेमावादी विज्ञानको दिशानिर्देशन र तत्कालीन अवस्थाका ऐतिहासिक आवश्यकताहरू थिए । ती निर्णय र तिनको कार्यान्वयन वैज्ञानिक र वस्तुगत थिए भन्ने कुरा आज प्रस्ट भएको छ । यी निर्णयहरू साँचो अर्थमा माओको भनाइमा ‘विद्रोह जनताको अधिकार हो’, ‘ज्वारभाटाका विरुद्ध जुध्नु पर्दछ’ भन्ने सैद्धान्तिक मान्यतामा आधारित थिए ।

क्रान्तिको प्रक्रिया सरल मार्गमा होइन, निकै कठिन र बाङ्गोटिङ्गो वाटो हुँदै अगाडि बढ्छ । यो राजनीतिक विज्ञानको आम नियमबाट हामी पनि अलग हुन सकेनौँ । यसर्थमा हामीले सोही प्रक्रियालाई पार गर्दै आइरहेका छौँ भने आगामी दिनहरू पनि यसरी नै अगाडि बढ्नेछौँ । एक सच्चा कम्युनिस्ट पार्टी र नेपाली समाजको अग्रगामी रूपान्तरण अर्थात् वैज्ञानिक समाजवाद स्थापनाका लागि जस्तोसुकै कठिन मार्ग र समयमा पनि अघि बढ्ने दृढसङ्कल्प हाम्रो पार्टीले कायम राखेको छ जसले नेपाली राजनीतिक आन्दोलनको सात दशक लामो नेपाली जनताको अभीष्टलाई पूरा गर्नेछ ।

यही महान् लक्ष्य र उद्देश्यमा अघि वढिरहेको हाम्रो गौरवशाली तथा जनप्रिय पार्टीको आठौँ केन्द्रीय समितिको दसौँ पूर्ण बैठक भर्खरै सम्पन्न भएको छ । करिब आधा दर्जन औपचारिक तथा अनौपचारिक बैठकहरू कथित प्रतिबन्ध कालमा नै सम्पन्न गरिएका थिए भने प्रतिबन्ध हटेपछिको पहिलो तथा निरन्तरताको दृष्टिले दसौँ पूर्ण बैठक हाम्रो पार्टीजीवनमा ऐतिहासिक महत्वको रहन गएको छ । बैठकले बडो जिम्मेवारीबोध र गम्भीरताका साथ सिङ्गो राष्ट्र र जनताको हितलाई सर्वोपरि राख्दै वैज्ञानिक समाजवादी क्रान्तिको महान् प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ । केन्द्रीय समितिको ऐतिहासिक दसौँ पूर्ण बैठकको रणनीतिमा दृढ र कार्यनीतिमा लचक हुँदै अगाडि बढ्ने निर्णयहरूको पृष्ठभूमिमा पार्टीका आगामी कार्यक्रमहरू निम्नानुसार अगाडि बढाउनु पर्दछ :

पहिलो– राजनीतिक तथा वैचारिक कामलाई घनीभूत बनाउने

हाम्रो पार्टीले नेपाल सरकारसँग वार्ताप्रक्रियालाई अगाडि बढाइरहेको छ । संसारभरका साम्राज्यवादी तथा प्रतिक्रियावादीहरूले वास्तविक शान्तिका पक्षधर कम्युनिस्टहरूलाई विगत र वर्तमानमा शान्ति र स्थिरतताको विरोधीका रूपमा चित्रण गर्दै आएका छन् । तर साँचो अर्थमा उनीहरू नै शान्ति र स्थिरताका विरुद्ध रहेका हुन्छन् । यो कुरा आजको उत्तरसाम्राज्यवाद र उसका दलाल सरकारको विश्वव्यापी रूपमा पैदा गरिरहेको चरित्रले स्पष्ट गरिरहेको छ । हाम्रो पार्टी देशमा विद्यमान सबैखाले अशान्ति र अस्थिरताको अन्त्य गरी नेपाली समाजको स्थायी शान्ति र स्थिरता स्थापनार्थ आघि बढिरहेको छ । त्यसका लागि एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना गर्नु एक मात्र सर्त हुन जान्छ भने कार्यनीतिका रूपमा हाल हाम्रो पार्टीले ‘प्रगतिशील संयुक्त सरकार र जनमतसङ्ग्रहको राजनीतिक कार्यनीति’ तय गरेको छ । यसको कार्यान्वयनका लागि सर्वप्रथमतः सरकार र हाम्रो पार्टीका बीचमा सम्पन्न तीनबुँदे सहमतिको कार्यान्वयनमा जोड दिनु पर्दछ । यसको कार्यान्वयनमा सरकारका तर्फबाट जुन विलम्ब र आनाकानी गर्ने काम भइररहेको छ त्यसका विरुद्ध सिङ्गो पार्टीले सतर्कतापूर्वक सहकार्य र सङ्घर्ष अघि बढाउनु पर्दछ । हामी देशमा देखापरिरहेका राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रिय स्वाधीनताका विषयहरू वार्ता र संवादको माध्यमबाट निकास निकाल्न इमानदारीपूर्वक प्रयत्न गरिरहेका छौँ । सरकारको उदासीनता र केही राजनीतिक पार्टीहरूका तर्फबाट वार्ताका प्रस्तावहरूलाई विषयान्तर गर्ने प्रयत्नहरू पनि यत्रतत्र देखा परिरहेका छन् । यसखाले प्रवृत्तिका विरुद्ध र पार्टीले अगाडि सारेको प्रगतिशील संयुक्त सरकार र जनमतसङ्ग्रहका पक्षमा आम जनता, बौद्धिक वर्ग, नागरिक समाज, सुरक्षाकर्मी, कर्मचारी तथा उद्योगी–व्यापारी एवम् शान्ति र स्थिरताका पक्षपाती सबैखाले शक्तिसँग पार्टीले हातेमालो गर्दै अगाडि बढ्नुपर्छ । त्यसका साथै सिङ्गो पार्टीपङ्क्ति र आमजनसमुदायमा पार्टीले अगाडि सारेको राजनीतिक–वैचारिक तथा अन्य नीतिगत विषयहरूमा स्पष्टता ल्याउन प्रशिक्षण, स्कुलिङ, बैठक तथा अन्तरक्रिया–गोष्ठी कार्यक्रमहरूलाई नियमित बनाउनु पर्दछ जसले पार्टीको देश र जनताप्रतिको जिम्मेवारीबोध र निर्णयहरूलाई सिङ्गो पार्टीपङ्क्ति र जनसमुदायले एकताबद्ध रूपमा बुझ्न र ग्रहण गर्न सकून् । यसले हाम्रो पार्टी, हाम्रा मित्र शक्तिहरू र आम मुक्तिकामी जनतासँग पार्टीको सजीव र हार्दिक सम्बन्ध बन्ने र त्यसको पृष्ठभूमिमा पार्टीद्वारा उठाइएको देश र जनताका विद्यमान समस्याहरूलाई समाधान गर्ने प्रस्तावलाई कार्यान्वयन गर्न सहयोग पुर्याउन सकोस् ।

दोस्रो– पार्टी तथा जनसङ्गठनलाई सुदृढ र एकताबद्ध गर्ने

पार्टीले आफ्ना लक्ष्य–उद्देश्य र कार्यदिशा तथा कार्यक्रमिक योजना तय गरिसकेपछि त्यसको कार्यान्वयनका लागि सुदृढ, अनुशासित र एकताबद्ध पार्टी तथा जनसङ्गठनको आवश्यकता पर्दछ । पार्टीको विचार–राजनीति, कार्यदिशा र कार्यक्रमलाई बुझ्ने, बुझाउने तथा त्यसको प्रभावकारी कार्यान्वयन गर्ने संयन्त्रको अभावमा पार्टीका योजनाहरू जतिसुकै वैज्ञानिक र वस्तुवादी भए पनि निष्क्रिय बन्न पुग्छन् । त्यसका लागि सर्वप्रथम त कम्युनिस्ट पार्टी निर्माणको प्रश्न ज्यादै महत्वपूर्ण छ । पार्टीको विचार–राजनीतिमा स्पष्ट, सङ्गठनात्मक रूपले फलामे अनुशासन, सम्पूर्ण रूपले क्रान्तिमा समर्पण तथा वैज्ञानिक समाजवादप्रतिको दृढसङ्कल्प बोकेका हजारौँ–लाखौँ नेता तथा कार्यकर्ताहरूको पार्टी निर्माण नै आजको आवश्यकता हो । राष्ट्र र जनता तथा पार्टी र क्रान्तिलाई सहायक बनाउने र आफ्ना व्यक्तिगत फाइदा र बेफाइदाको हिसाब निकाल्ने नेता–कार्यकर्ताहरूको पार्टी बन्यो भने त्यसले पार्टीको वर्तमान आवश्यकतालाई पूरा गर्ने होइन, बरु प्रतिक्रान्ति निम्त्याउन पुग्छ । हामीलाई यतिबेला रुसी बोल्सेभक कार्यतत्परता र अमेरिकी कार्यदक्षताको मिलान गर्नसक्ने हजारौँ लाल र निपुणताले भरिपूर्ण नेता–कार्यकर्ताको पार्टी चाहिएको छ । त्यसप्रकारको पार्टी निर्माणका लागि हाम्रो नारा हुनुपर्छ– ‘गुणलाई जोड देऊ– मात्रालाई ध्यान देऊ’, लाललाई जोड देऊ– निपुणलाई ध्यान देऊ, सिर्जनात्मकता र रूपान्तरणलाई जोड देऊ– आलोचनालाई ध्यान देऊ, जनवादी केन्द्रीयताको सिद्धान्त प्रयोगमा जोड देऊ– परिस्थितिजन्य विषयलाई ध्यान देऊ, मुख्यतः कार्यक्षमतालाई जोड देऊ– वरिष्ठता, क्षेत्रगत सन्तुलनको आवश्यकतालाई ध्यान देऊ’ भन्ने हुनुपर्छ । यसका साथै हरेक पार्टी समितिहरूको संरचना निर्माण गर्दा युवा, प्रौढ र वृद्धलाई मिलाउँदा अझ सुनमा सुगन्ध बन्दछ । यसले ज्ञान र क्षमताको संयोजन गर्ने र पार्टी योजनाको कार्यान्वयनलाई प्रभावकारी बनाउन मद्दत गर्नेछ । यसप्रकारको पार्टी निर्माणप्रक्रिया क्षणभरमा भैहाल्ने विषय भने होइन । त्यसका लागि सबै स्तरका नेता–कार्यकर्ताहरूले वैचारिक र सङ्गठनात्मक रूपले सकारात्मक र रचनात्मक दृष्टिकोणसहित अथक मेहनत गर्नु पर्दछ । त्यसैगरी कम्युनिस्ट पार्टीका निर्णयहरू जनतासम्म पुर्याउने जनसङ्गठनहरू पनि विचार–राजनीतिमा स्पष्टताका साथै अनुशासित, गतिशील र सिर्जनात्मक हुनु पर्दछ । आफ्ना पेसागत हकहितका बारेमा विभिन्न जनवर्गलाई प्रस्टसँग बुझाउनका लागि उनीहरूले तथ्यमा आधारित ज्ञान हासिल गर्नु पर्दछ । अमूर्त नारा र तर्कमा आधारित बहसले मानिस अब कतै पनि सहमत हुन सक्दैन । यस अर्थमा उनीहरूले आफ्नो क्षेत्रमा सापेक्षित रूपमा विशेषज्ञता हासिल गर्नु पर्दछ । यसका लागि सिङ्गो पार्टी सङ्गठन र जनसङ्गठनहरू एकताबद्ध हुनु पर्दछ किनकि सही विचार, अनुशासित सङ्गठनको जगमा एकता नै हाम्रो निर्णायक विजयको स्रोत हो ।

तेस्रो– पार्टीलाई जनतासँग एकाकार तुल्याउने

क्रान्तिकारी कम्युनिस्ट पार्टीले जहाँ र जहिले पनि आफूलाई जनतासँग एकाकार तुल्याउनु पर्दछ किनकि कम्युनिस्ट पार्टीको उद्देश्य जनता र राष्ट्रको मुक्तिशिवाय केही हुन सक्दैन । एउटा कम्युनिस्ट पार्टीको नेता वा कार्यकर्ताले योभन्दा बाहिर केही सोचेको छ भने त्यो कम्युनिस्ट पार्टीको सदस्य हुन लायक छैन । व्यक्तिगत सुखसुविधालाई त्यागेर नै मानिस महान् कम्युनिस्ट आदर्शमा आबद्ध हुने कुरा हो । अन्यथा मानिस कम्युनिस्ट हुनै सक्दैन । यस अर्थमा कम्युनिस्ट पार्टी र अन्य बुर्जुवा संसद्वादी पार्टीमा फरक आउँछ । भनाइको तात्पर्य एउटा कम्युनिस्ट पार्टीको नेता तथा कार्यकर्ताले पार्टीको महान् लक्ष्य र उद्देश्यहरू प्राप्त गर्न जनतासँग एकाकार भएर अघि बढ्नु पर्दछ । अन्यथा कम्युनिस्ट पार्टीले आफ्ना कामहरूमा केवल असफलता मात्र बेहोर्नेछ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा कम्युनिस्ट पार्टीले जनतासँग एकाकार नहुँदा ठूला–ठूला पराजय बेहोर्नु परेका दृष्टान्तहरूलाई हामीले राम्रोसँग अध्ययन र मनन गर्नु पर्दछ । त्यसमध्यको एउटा उदाहरण बोलिभियन क्रान्तिलाई लिन सकिन्छ । त्यहाँ महान् अन्तर्राष्ट्रियतावादी नेता चेग्वेभार को नेतृत्व र सहभागिता थियो । कैयौँ महत्वपूर्ण विषयहरूका अतिरिक्त कमरेड चेको त्यहाँको पार्टी महासचिवसँगको अन्तरविरोध, किसान–मजदुरसँगको सहकार्य र एकताको अभाव, परिस्थितिको वस्तुवादी आकलनको अभाव तथा केवल छापामार सैन्य कारबाहीमा ध्यान दिनुले त्यहाँको क्रान्तिले चेलगायत हजारौँ जनमुक्ति सेनाको वीरतापूर्ण बलिदानसहित गम्भीर धक्का खान पुग्यो । भनिन्छ, त्यहाँ जनताहरूकै सुराकीका आधारमा कमरेड चेलगायत नेताहरूको सुराकी बोलिभियन सेनालाई दिइएको थियो । इतिहासका यसप्रकारको तीतो यथार्थबाट हामी क्रान्तिकारीहरूले गहिरो शिक्षा लिनु पर्दछ र जनतासँगको सम्बन्धलाई सुदृढ बनाउनु पर्दछ । कमरेड माओले भन्नुभएकोछ, ‘जनता इतिहासका निर्माता हुन् । जनता हाम्रा गुरु हुन् ।’ त्यसो त हाम्रा पार्टीले लिने हरेक निर्णयहरू जनतासँगै जोडिएर निर्माण गरिएका हुन्छन् । पार्टीको संरचनाका दृष्टिले प्रारम्भिक समितिहरू जनतासँग प्रत्यक्ष रूपमा जोडिएका हुन्छन् र ती समितिको तथ्यगत रिपोर्टलाई आधार मानेर नै विभिन्न समिति हुँदै नीति निर्माणको तह अर्थात् केन्द्रीय समितिसम्म पुग्छ । यस अर्थमा यसलाई जनताबाट लिएर जनतालाई दिने नीति पनि भनिन्छ । जनतासँगको सम्बन्धलाई अझ सुदृढ गर्ने आजको आवश्यकतालाई ध्यानमा राखेर हाम्रो पार्टीले केन्द्रीय समितिलाई जनतासँग जोड्ने निर्णयअन्तर्गत कमान्ड र क्षेत्रीय ब्युरोको संरचनालाई स्थगित गर्दै कार्यविभाजनलाई मिलान गरेको छ । यो अहिलेको अवस्थामा निकै महत्वपूर्ण छ । राष्ट्र र जनताको हितलाई केन्द्र भागमा राख्दै जनसम्बन्धलाई सुदृढ गर्ने मूल उद्देश्य प्राप्त गर्न पार्टीले समयसापेक्ष वस्तुसङ्गत निर्णय लिएको छ । यो निर्णयले पार्टीको जनसम्बन्ध थप सुदृढ र व्यापक हुँदै हुनेछ जसले आगामी पार्टीका लक्ष्य र उद्देश्यहरू हासिल गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।

चौथो– आर्थिक उत्पादनमा जोड दिने

सिद्धान्ततः हामी कम्युनिस्टहरू आत्मनिर्भर अर्थतन्त्रका पक्षपाती हुन्छौँ र छौँ पनि तर नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा यसलाई सिद्धान्तको विषय मात्र बनाउने गरेको पाइन्छ । पार्टीलाई केवल सहयोग र चन्दामा निर्भर गराउने, श्रमसँगको सम्बन्धलाई औपचारिक विषय मात्र बनाउने, आर्थिक उत्पादनको कामलाई सुदूरभविष्यको विषय बनाउने र श्रमसँग एकाकार नहुने समस्याहरूमा यो व्यक्त भएको पाइन्छ । हाम्रो पार्टीको ८ औँ महाधिवेशनले कम्युनिस्ट पार्टीले आर्थिक उत्पादनका क्षेत्रमा समाजवादको विकास र पार्टी परिचालनका सन्दर्भमा केही महत्वपूर्ण संश्लेषण गरेको छ । साम्यवादलाई र समाजवादलाई सुदूरभविष्यको विषय बनाउने एवम् कम्युनिस्ट पार्टी र सत्तामा जन्मिने नवधनाढ्य वर्गको समाधानमा उक्त संश्लेषणले महत्वपूर्ण समाधान दिनसक्ने आकलन गरिएको छ जस्तो कि हाम्रो पार्टीको संश्लेषण छ– नेता साम्यवादी, कार्यकर्ता समाजवादी र जनता धनी र समृद्ध बन्ने । यो अवधारणाले नेता र कार्यकर्तालाई शालीन, नम्र र परिश्रमी बन्न प्रेरित गर्दै जनसम्बन्ध सुदृढ गर्न मद्दत गर्नेछ भने जनता धनी र समृद्ध बन्दै नेता, कार्यकर्ता र पार्टीलाई परीक्षण गर्नेछन् । यसले नेता, कार्यकर्ता र जनताको सम्बन्ध सुमधुर र सुदृढ हुनेछ जसले सिङ्गो राष्ट्रलाई एकताबद्ध गर्न सहयोग पुर्याउनेछ । यो निर्णयले सबै तहका नेता तथा कार्यकर्तालाई श्रममा सहभागी बन्न, श्रमलाई सम्मान गर्ने कम्युनिस्ट परम्परालाई प्रयोग गर्न प्रेरित गर्नेछ । नेताहरू सामूहिक स्वामित्वभित्र निजी जीवन बिताउनेछन्, कार्यकर्ताहरू अर्धसम्पत्तिसहित निजी जीवनमा रहनेछन् भने जनता धनी हुने तथा बिस्तारै समाजवादी राज्यसत्तामा अभ्यस्त हुँदै जानेछन । यो संश्लेषणको प्रारम्भिक सुरुआतका रूपमा हाम्रो पार्टीले एक समिति एक उत्पादनको नीतिलाई अगाडि सारेको छ । यसमा पनि मुख्यतः केन्द्रीय सदस्यहरूको प्रत्यक्ष नेतृत्वमा यो काम अघि बढाइनेछ । अन्न, फलफूल, तरकारी, पशुजन्य, जडीबुटी उत्पादनलाई नमुनाका रूपमा देशव्यापी अगाडि बढाइनेछ । त्यसो त हाम्रो पार्टीको केन्द्रीय कार्यालयले कथित प्रतिबन्धकै समयमा पशुपालन, तरकारी र अन्न उत्पादनमा निकै र्राम्रो प्रगति हासिल गरेको छ । हाम्रो केन्द्रीय कार्यालय रहेका गाउँहरूमा जनताले हामीसँग तरकारी, अन्न र पशुजन्य वस्तुहरू खरिद गर्ने गरेका छन् र उनीहरू हाम्रो पार्टीबाट उत्पादन गर्नु पर्दछ भन्ने शिक्षा लिइरहेका छन् । जुन उत्पादन कार्यको प्रत्यक्ष नेतृत्व हाम्रा पार्टीका महासचिव कमरेड विप्लवले गर्नुभएको थियो र छ । महासचिव कमरेड विप्लवले पार्टीलाई निर्देशन गर्दै भन्नुभएको छ, ‘श्रम र समयलाई सबैले चिन्नु पर्दछ र प्रयोगको तहमा लैजानु पर्दछ किनकि समय कहिल्यै पनि फर्केर आउँदैन ।’ त्यस्तै अर्को प्रसङ्गमा उहाँ भन्नुहुन्छ, ‘हामीले आत्मनिर्भरताका लागि कृषिको आधुनिकीकरणमा जोड दिनु पर्दछ भने समृद्धिका लागि औद्योगिक क्षेत्रको विकास र विस्तारमा जोड लगाउनु पर्दछ । यी मामिलाहरूको प्रयोगमा आमजनताहरूलाई सहभागी हुने वातावरण निर्माण गर्दै जानु पर्दछ ।’ महासचिवको उक्त भनाइले कुन कुरा स्पष्ट हुन्छ भने हामीले आत्मनिर्भर अर्थतन्त्रका लागि श्रममा जोड दिनु पर्दछ र त्यसका लागि व्यवस्थित कार्ययोजना अघि बढाउनु पर्दछ । हाम्रो देश र जनताले अहिले जुन परनिर्भरतामा बाँच्नु परेको छ, हामीले नेपालको जल, जङ्गल, जडीबुटी, जमिन र जनशक्तिको ठीक ढङ्गले प्रयोग गर्ने योजना बनाउन सकियो भने देशलाई आत्मनिर्भर मात्र होइन, हामीले हाम्रा उत्पादित साधन–स्रोतहरूको अन्य मुलुकमा निर्यात गर्नेछौँ । जसरी करिब ६ दशकअघिसम्म हामीले तिब्बत, भारत, बङ्गलादेश, श्रीलङ्का, भुटानलगायत मुलुकहरूमा खाद्यान्न र अन्य विभिन्न साधन–स्रोतहरू निर्यात गर्दथ्यौँ । हामीले यो आर्थिक–उत्पादनको काम अहिले देशव्यापी पार्टी तथा जनसङ्गठनशाट सुरुवात गर्नेछौँ र क्रमशः जनतासँग सहकार्य गरेर अगाडि बढाउनेछौँ ।

पाँचौँ– राष्ट्र र जनविरोधी क्रियाकलापका विरुद्ध जनसङ्घर्ष सञ्चालन गर्ने

वैदेशिक हस्तक्षेपको शकुनी जालो र उनीहरूको निर्देशनमा सञ्चालित दलाल सत्ताको उत्पीडनको पृष्ठभूमिमा हाम्रो समाजमा कैयाैँ नकारात्मक समस्याहरू बढेका छन् । मानव बेचबिखन, त्यसमा पनि मुख्यतः चेली बेचबिखन आज पनि व्यापक रूपमा बढेको छ । नेपालका इमानदार र सरल छोरीहरूलाई विभिन्न प्रलोभनमा पारी अफ्रिकी मुलुकलगायत विश्वका विभिन्न देशहरूका डान्स बार तथा रेस्टुरेन्टहरूमा बेचिएको छ । यसप्रकारको काम केही मेनपावर कम्पनीहरूले सरकारी प्रतिनिधिहरूसँगको मिलोमतोमा गरिरहेका छन् । एनसेलप्रकरण अहिले पनि कायम रहेको छ । उसले अर्बौं करछलीको प्रक्रियालाई अहिले पनि जारी राखेको छ । राष्ट्रघाती एमसीसी प्रकरण पनि अगाडि आइरहेको छ जसले हाम्रो राष्ट्रलाई वैदेशिक कठपुतलीमा बदल्न थप मद्दत गर्नेछ । यसका विरुद्धमा विगतमा पनि हाम्रो पार्टीले थुप्रै सङ्घर्षका कार्यक्रमहरू अगाडि बढाएको थियो । यसका साथै देशको सहरिया क्षेत्रदेखि ग्रामीण क्षेत्रसम्म द्रुत गतिमा हुर्किरहेको लागूपदार्थ दुव्र्यसनी, जाली तमसुक, जुवा–तास, जाँड–रक्सी तथा महँगी र भ्रष्टाचारका विरुद्ध प्रभावकारी जनकारबाही सञ्चालन गर्नु पर्दछ । समाजमा व्याप्त छुवाछूुत र उचनिचको कथित जातीय प्रथालाई अन्त्य गर्न जागरण अभियान सञ्चालन गर्नु पर्दछ । यसप्रकारको अभियान सञ्चालन गर्दा पार्टीभित्र पहिले कम्युनिस्ट तथा जनताको हकमा पहिले नेपाली अनि जातिको कुरालाई राख्नु पर्दछ । अहिले केही मानिसहरू जातीय मुक्तिको प्रश्नलाई केन्द्रभागमा राखेर उग्र बहस सञ्चालन गरिरहेका छन् । हामी स्पष्ट हुनुपर्छ, कुनै पनि प्रकारको उत्पीडन अर्थात् वर्गीय, जातीय, क्षेत्रीय, लैङगिक र समुदायको मुक्ति वैज्ञानिक समाजवादमा मात्र ग्यारेन्टी हुन्छ । यो वास्तविकतालाई हामीले साहसपूर्वक जनतासम्म पुर्याउनु पर्दछ । यी समस्याहरूको समाधान जनसङ्घर्ष र जनचेतनाको अविभृद्धि गरेर मात्र सम्भव छ ।

समष्टिमा आज हाम्रो पार्टीको अगाडि महान् सम्भावना तथा चुनौतीहरू संकेन्द्रित हुन आइपुगेका छन् । सम्भावना र चुनौतीहरू सामान्यतः सबै विज्ञानको प्रयोगमा र मुख्यतः राजनीतिक विज्ञानको प्रयोगमा निरन्तर विकसित भैरहने प्रक्रिया हो । मूल प्रश्न चुनौतीलाई परास्त गर्ने र सम्भावनाहरूलाई यथार्थमा बदल्ने कुरा निकै महत्वपूर्ण रहेको हुन्छ । हामीले चुनौतीलाई परास्त गर्न र सम्भावनालाई यथार्थमा बदल्ने कुरामा आफूलाई सक्षम तुल्याउनै पर्दछ । विगतका दिनहरूमा पनि हामीले थुप्रै चुनौतीहरूलाई परास्त गरेर सम्भावनाहरूलाई यथार्थमा बदलेका थियौँ त्यसरी नै हामीले यो योजनामा पनि आफूलाई सफल तुल्याउनेछाैँ । हामीले हाम्रो योजनालाई सफल तुल्याउने आधारहरू निम्नानुसार रहेका छन् :

पहिलो– हामीले नेपाली समाजको सबैभन्दा अग्रगामी र परिवर्तनकामी राजनीतिक धाराको नेतृत्व गरेका छौँ । दोस्रो– हाम्रो लक्ष्य र उद्देश्य पार्टी र क्रान्ति एवम् जनता र देशको मुक्तिशिवाय केही पनि छैन । तेस्रो– नेपालको दलाल संसदीय व्यवस्था पूर्णतः असफल सिद्ध भएको छ । चौथो– हामीले अवलम्बन गरेको राजनीतिक विचार र कार्यदिशा वैज्ञानिक र वस्तुसंगत छ । पाँचौँ– हामी वैज्ञानिक समाजवादको स्थापनाका लागि दृढसङ्कल्प र दिलोज्यानले लागिपरेका छौँ । यिनै आत्मगत र वस्तुगत आधारहरूको जगमा हामी विजयी हुनेछाैँ । हामी ज्वारभाटाका विरुद्ध जुध्ने मालेमावादी मान्यतामा आधारित दृढ र इमानदार कम्युनिस्टहरू हौँ । यसर्थमा हाम्रो दृढता र इमानदारीपूर्वक राजनीतिक उद्देश्य र कार्यक्रमहरूमा अगाडि बढ्ने कम्युनिस्ट क्रान्तिकारी परम्परालाई कसैले रोक्न सक्नेछैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :