कोरोना उपचार : अक्सिजन या अनुशासन ?

कोरोना उपचार : अक्सिजन या अनुशासन ?

१. कोरोना भाइरसको सिनारियो

कोरोना भाइरस चीनको उहानमा देखिएसँगै यो महाविपत्तिसँग धेरै सामाजिक, राजनीतिक, व्यापारिक होहल्ला र प्रचार–प्रसारहरू आए । डब्लूएचओदेखि चीनसम्म धेरैले धेरै थरीका आरोपहरू खाए । जे भए पनि यो एउटा भाइरस हो जसले श्वासप्रश्वाससम्बन्धी समस्या लिएर महाशक्तिहरूलाई घुँडा टेक्न बाध्य बनायो भने अहिले फेरि भारतमा यसको नयाँ महाप्रलय उच्च बिन्दुमा पुगेको छ । भाइरस जहाँबाट आएको भए पनि विश्वका अत्याधुनिक खोज र चिकित्सा विज्ञानलाई हावाकावा ख्वाएको र चीनमा सहज नियन्त्रण र उपचार देख्दा फेरि पनि अनेक भ्रमपूर्ण हल्लाखल्लासँगै नयाँ चिकित्साप्रणालीको क्रमभङ्गताको आवश्यकताको खाँचो र आशा जागेर आउँछ ।

झट्ट हेर्दा चीनविरोधी महाशक्तिलाई मात्र फिटिफिटी देख्दा अचम्म पनि लाग्छ । जस्तो सँगै रहेको बङ्गलादेश, भुटान, पाकिस्तान, श्रीलङ्कामा त्यस्तो केही नहुने, तुलनात्मक रूपमा यी राष्ट्रहरू चिकित्सा र आर्थिक प्रणालीमा कमजोर छन् तर भारतमा यो किसिमको अनियन्त्रित महाप्रलय हुनुको कारण के हो ? हो यी र यस्ता किसिमका प्रश्नको जबाफ नै यसको एक किसिमको हल हुनसक्छ । कोरोनाको उत्पत्तिसँगै अहिलेसम्मको अवस्थामा चीनको प्राविधिक र आर्थिक गतिविधि निकै अर्थपूर्ण हुनुले पनि फेरि एकपटक मान्छेलाई घोत्लिन बाध्य पार्छ ।

विश्वबजारमा कोरोनाको प्रलय चल्दै गर्दा चीनको 5G नेटवर्कको विषयदेखि हालैको रकेट प्रक्षेपणले चीनको साइबर र स्पेस साइन्समा मोनोपोली बढ्दै गएको छनक आउँछ र मान्छेलाई फेरि अचम्मित पार्दछ । २०१९ को भन्दा अहिले भारतमा आएको कोरोना निकै फरक भनिएको छ । फरक उपचारपद्धतिमा, रोगको लक्षणमा, रोगको सङ्क्रमण दरमा र रोगले चाँडै जटिलतामा लैजाने सवालमा भनिएको छ, पहिलेको कोभिडमा अक्सिजन र भेन्टिलेटरको प्रयोग अहिलेको जस्तो भयावह हुने गरी भएको थिएन कारण अहिलेको कोभिड जटिल छ । विज्ञहरूले भनेको जस्तै मैले यो विषय यहाँ व्याख्या गर्न चाहिनँ । म यति मात्र भन्नसक्छु यो श्वासप्रश्वाससम्बन्धी समस्या ल्याउने भाइरस हो । अन्त्यमा यसले न्युमोनिया बनाउँछ र मृत्युसम्म पुर्याउँछ ।

२. होम आइसोलेसनको अवधारणा

होम आइसोलेसन भन्नाले आफ्नै घरमा परिवारका अन्य सदस्यहरूसँग अलग्गै भएर आफ्नो हेरचाह आफैँ गर्दै बस्ने शैली हो । यसको प्रयोग युरोपमा निकै बढेर गयो र अहिले पनि यही शैलीले आफ्नो व्यक्तिगत हेरचाह गर्ने चलन छ । यसमा फाइदा–बेफाइदा दुवै रहन्छन् नै जस्तो फाइदा के–के हुन् त भन्दा कोरोनाको सङ्क्रमण अन्य व्यक्तिमा सर्ने खतरा घटेर जान्छ । अस्पतालमा जाँदा हुने झन्झट हुँदैन । अस्पतालको जस्तो आर्थिक भार हुँदैन । यसका मुख्य फाइदा यिनै हुन तर यसका बेफाइदा थोरै भए पनि ती डरलाग्दा र जटिल किसिमका छन् । जस्तै हामी आफैँ कल्पना गरौँ एउटा स्वस्थ व्यक्तिलाई २४ घन्टासम्म एउटा बन्द कोठाभित्र राख्दा त उसको मानसिक स्वास्थ्य खल्बलिन्छ भने यो महाप्रलयको अवस्थामा त्यही ज्यानमारा कोरोना लागेर एक्लै बन्द कोठाभित्र आफ्नो स्याहारसुसार आफैँ गर्दै बस्न कति कठिन हुन्छ होला ! कतिपयले त त्यसरी राखेको विषयलाई निकै भावनात्मक ढङ्गले हेर्छन् अनि झनै मानसिक हिसाबले विक्षिप्त बन्छन् । पछिसम्म पनि त्यसको असर परिरहेको हुन्छ । योसँगै उक्त बन्द कोठामा एक्लै आफ्नो हेरचाह गर्दा ज्वरो, खोकी, अक्सिजनको कमी, झाडापखालालगायत विषयको प्राविधिक अज्ञानता र मानसिक विक्षिप्तताले गर्दा हुने समस्या त छँदैछन् । त्यसैले कुनै देशले प्रयोग गरिहाल्यो भन्दैमा केही आफ्नो मौलिकता र समाजलाई अध्ययन नै नगरी यही गर भन्नु बेबकुफी हो । त्यो उपचार त हुनै सक्दैन । युरोप, बेलायत र अमेरिकासँग हाम्रो सामाजिक, पारिवारिक, आर्थिक कुनै परिवेश मिल्दोजुल्दो छैन अनि उनीहरूले गरेको पद्धति हाम्रा लागि कसरी हुबहु मिल्न सक्छ ? त्यसैले होम आइसोलेसनको अवधारणा हाम्रो देशमा बदल्न आवश्यक छ । यो वैज्ञानिक छैन । यो हाम्रो देशमा सफल हुन सक्दैन र सकिरहेको छैन ।

३. कोभिड Vs न्युमोनिया

मान्छेहरूमा अहिले कोभिडको डर यसको वास्तविकताभन्दा भ्रमले धेरै भएको देखिन्छ । हाम्रो देशमा अहिले एउटा अचम्मको मनोरोग फैलिएको छ– अक्सिजन नपाएर कोरोनाको बिरामी मर्यो । यहाँ विज्ञ भनिनेहरूले मान्छे मरेको डाटा अध्ययन गरेर अमेरिका, युरोप, बेलायतको असफल प्रयोगलाई जबर्जस्ती व्याख्या गर्ने र लागू गर्ने होडबाजी चलाएका छन् ।

कहिले मलेरिया, कहिले ९५ मास्क, कहिले रेमडेसिभिर त कहिले लुतोको औषधी प्रयोग गर्ने हल्लाखल्ला जोडजोडले मच्चाइएको छ र त्यसको प्रयोग गर्न बाध्य पारिएको छ । अन्य अध्ययनको भरमा होइन, मात्र अन्य मुलुकको देखासिकी गर्ने होडमा यो सब भइरहेको छ । अहिले अर्को होडले बजार तातेको छ– त्यो हो अक्सिजन र भेन्टिलेटर । अक्सिजन सिलिन्डर जम्मा पारेर प्रचार गर्ने अनि अर्कोलाई थुक्क ! तैँले यति पनि गरिनस् है भन्ने अनि सामाजिक सञ्जाल तताउने ! आफ्नो राजनीतिक फाइदाका लागि अक्सिजन सिलिन्डर जम्मा गर्ने, व्यापारिक स्वार्थका लागि अक्सिजन सिलिन्डर जम्मा पारेर देखाउने, सरकारको गल्ती, कमीकमजोरी लुकाउन अक्सिजन सिलिन्डर देखाउने, मानौँ कोरोनाको मात्र हैन, आआफ्नो पेसा, व्यवसाय, राजनीति सबै क्षेत्रमा सफल हुनका लागि अहिले अक्सिजन सिलिन्डर मात्र चाहिन्छजस्तो । यो एउटा डरलाग्दो ढङ्गले फैलिएको छ र यहीँनिरबाट सारा देश एउटा डरलाग्दो दुर्घटनातिर लाम लागेर जाँदैछ ।

अहिले अक्सिजन सिलिन्डरको विरोध गर्नु महापाप हो भने एउटा पनि भेट्टाउनु जीवनकै सफलता हो, पुण्य होजस्तो । अक्सिजनले यो महाप्रलय नियन्त्रण हुने भए आधुनिक चिकित्साका महाशक्ति राष्ट्रहरू अमेरिका, युरोप, बेलायतमा किन त्यसरी तहसनहस भयो ? के त्यहाँ अक्सिजनको कमी भएर मात्र अनियन्त्रित भएको हो ? के त्यहाँ हाम्रो र भारतको भन्दा थोरै र साना अस्पताल र अक्सिजन सिलिन्डर भएर कोरोना त्यो स्थितिमा पुगेको हो ? कदापि होइन । यसपटकको कोरोना पहिलेको भन्दा अझ डरलाग्दो भनिएको छ । के त्यसो भए पहिलेको कमजोर कोरोनाले मानिस मर्नु स्वाभाविक र अहिलेको बलियो कोरोनाले अक्सिजन दिएपछि मृत्यु नहुने हो ? यो पनि बजारिया सस्तो लोकप्रियताको भ्रम हो । त्यसैले सत्य के हो ? सत्य कोरोना र न्युमोनिया हो । यो फरक–फरक कुरा हो । जस्तो टीबी र टीबी गराउने ब्याक्टेरियाजस्तै । यसको मतलब टीबीको ब्याक्टेरियाले छोएका सबैजनमा टीबी हुँदैन र टीबीको ब्याक्टेरियाले टीबी बनाई फोक्सो बिगारेर बिरामीको मृत्यु भएजस्तै कोरोनाले छोएका सबैमा न्युमोनिया हुँदैन र न्युमोनियाले मात्र बिरामीको फोक्सो बिगारेर अक्सिजनको कमी बनाएर मृत्यु गराउँछ । त्यसैले मान्छे मार्ने कोरोनाले भन्दा पनि कोरोनाको सङ्क्रमणपछि विभिन्न हेलचेक्र्याइँ र लापरवाहीले गर्दा हुने न्युमोनियाको कारणले हो ।

न्युमोनिया पहिलेदेखि नै प्राणघातक मानिन्छ र यो जटिल बन्दा मृत्युदर पहिले पनि ५० प्रतिशत नै थियो । त्यसकारण कोरोना र न्युमोनिया सँगै राख्नु नै गलत हो । कोरोनाको लक्षण सामान्य हुन्छ । जस्तै हल्का ज्वरो, रुघाखोकी, जिउ दुख्ने आदि तर न्युमोनियाको जटिल हुन्छ । पहिलेको जस्तै जटिल ज्वरो, कडा खोकी, छाती दुख्ने, शरीरमा अक्सिजनको कमी सुरु हुने आदि । यस्तैगरी कोरोनाको उपचार सामान्य हुन्छ । पहिलेको सामान्य फ्लुको जस्तै । जस्तै सिटामोल ज्वरोका लागि, कफ सिरफ खोकीका लागि, तातोपानी, बाफ, बेसार, नुनपानीको गार्गल, अन्य सरसफाइका कुराहरू तर न्युमोनियाको उपचार फेरि पनि पहिलेको जस्तै कडा एन्टिबायोटिक, विभिन्न स्टेरोइड अक्सिजन, भेन्टिलेटरमा हुन्छ र यसमा मृत्युदर पहिलको जस्तै ५० प्रतिशत । मतलब मर्ने–बाँच्ने सम्भावना आधा–आधा हुन्छ ।

यो विषयमा एउटा कुरा आउँछ– त्यसो भए किन सामान्य फ्लुको जस्तै सामान्य उपचार गर्दा कोरोनाको लक्षण सहज तरिकाले निको हुँदैन ? किन होम आइसोलेसनमा बस्नुपर्छ ? यसको एउटा भन्दा सामान्य तर पालना गर्न जटिल जबाफ छ, त्यो हो बिरामीको अनुशासन । हो, पहिलेका अन्य फ्लु र यो कोरोनामा एउटा जटिल अन्तर र उपचार भनेकै बिरामीको अनुशासन हो । यही कुराको कमी हुँदा सामान्य कोरोना डरलाग्दो, प्राणघातक न्युमोनियामा बदलिन्छ र त्यहाँबाट सुरु हुन्छ अक्सिजन, भेन्टिलेटर हुँदै मृत्युसम्मको कठिन र कहालीलाग्दो यात्रा । त्यसकारण कोरोनालाई अनुशासित तरिकाले सम्मानपूर्वक उपचार गरौँ र प्राणघातक न्युमोनियाबाट जोगिऔँ ।

त्यस्तो भए यो अनुशासन कस्तो किसिमको हुन्छ र कसरी पालना गर्नुपर्छ भन्ने लागिरहेको होला । ल सुन्नुस् यो अनुशासन एउटा स्वास्थ्य आचरणको अनुशासन हो । बिहान उठ्ने, हल्का कसरत गर्ने, मनतातो पानीमा मह, कागती, अदुवा राखेर पिउने । बेसार, नुनपानी पकाएर गार्गल गर्ने, नुनपानी पकाएर बाफ लिने, झोलिलो, पौष्टिक खानेकुरा र तातो, फलफूल प्रशस्त खाने, सुगर, प्रेसर, दमलगायत अन्य दीर्घरोग पहिलेबाटै छन् भने नियमित रूपमा औषधी सेवन गर्ने, श्वासप्रश्वाससम्बन्धी कसरत गर्ने, ज्वरो, खोकीको औषधी चिकित्सकको सल्लाहअनुसार नियमित खाने र ज्वरो, खोकीलाई नियन्त्रण गर्ने । हो, यही आचरणलाई कडाइका साथ अनुशासित तरिकाले पालना गर्दा हामी कोरोना नियन्त्रण र न्युमोनियाको जोखिमबाट बच्न सक्छौँ र मृत्युको मुखबाट निस्किन सक्छौँ । यति गर्दागर्दै एकाध कोरोना सङ्क्रमितमा न्युमोनिया भइहाले पनि हामीलाई अस्पतालमा अक्सिजन, चिकित्सकको अभाव र चाप हुँदैन र हामी न्युमोनियाबाट पनि निस्किन सक्छौँ । त्यसैले कोरोनाको भ्रमबाट नमरौँ । अक्सिजन हैन, कोरोनामा चहिने अनुशासन हो । अक्सिजनको सिलिन्डरको फोटो हैन, अनुशासन पालना गराउने केन्द्रहरूको स्थापना गरौँ र टोलटोलमा कोरोना निको पारौँ । केही सय थान अक्सिजनले हल दिने भए विश्वका महाशक्ति राष्ट्रका जनताले सामूहिक चिहानमा गाडिनु पर्दैनथ्यो ।

४. अक्सिजनको विकल्प अनुशासन कसरी सम्भव छ त ?

मैले माथि भनेजस्तै अहिले अक्सिजन सिलिन्डरको होडबाजी बिरामीको अक्सिजन पूर्तिका लागि मात्रभन्दा पनि आफूलाई आफ्नो जुनसुकै क्षेत्र, पेसा, व्यवसायमा सफल बनाउन अचुक हतियारका रूपमा प्रयोग र प्रचार गरिएको छ तर यो हुटिट्याउँले आकाश थेग्छु भनेजस्तै हो । न यसबाट परिणाम निस्किनेवाला छ, न त यसको कुनै अर्थ नै छ । बरु बुद्धिजीवीहरूले त्यो कोरोना जित्ने अनुशासनलाई कसरी लागू गराउन सकिन्छ भन्ने विषयमा अध्ययन गरौँ । उक्त विषयलाई मैले वडास्तरीय बेसिक हेल्थ रिकभरी सेन्टर भनेको छु । हो, यस किसिमका वडास्तरीय रिकभरी सेन्टरबाट हामीले सबै सङ्क्रमितलाई आधारभूत अनुशासनको विधा सिकाउन सक्छौँ र कोरोना सङ्क्रमितलाई एक्ल्याएर (आइसोलेट गरेर) हैन, समूहसमूहमा राखेर मानसिक स्वास्थ्यबाट प्रारम्भिक कोरोना सङ्क्रमणलाई रोक्न र उपचार गर्न सकिन्छ जहाँ कुनै अक्सिजन सिलिन्डर र विशेषज्ञ डाक्टरको आवश्यकता पर्दैन । मासिक २ लाख रुपैयाँसम्ममा न्यूनतम् ५० जनाको सस्तो र स्वस्थ उपचार गर्न निकै सहज ढङ्गले सकिन्छ । यो साँच्चै अहिलेको जस्तो अक्सिजनको कोकोहोलो मच्चाएजस्तो पनि छैन । यो ठूला अस्पतालले उपचारका नाममा मच्चाएको लुटजस्तो पनि छैन ।

यसमा केही सङ्क्रमित आइसोलेट भएर मानसिक रूपमा विक्षिप्त हुनु पनि पर्दैन र हरेक सेकेन्ड मृत्युसँग पौँठेजोरी पनि खेल्नुपर्दैन । तसर्थ म फेरि पनि भन्छु अक्सिजनले कोरोनाको हल किमार्थ दिनेछैन । अक्सिजनलाई कसैको विजय र कसैको असफलता, कसैको जीवन त कसैको मरण नबनाऊँ । कोरोना जति डरलाग्दो भए पनि, जहाँ उत्पत्ति भएको भए पनि, आफैँ आएको वा कसैले ल्याएको जे भए पनि यसको उपचार अक्सिजन, मलेरियाको औषधी, लुतोको औषधी, कडा खालका एन्टिबायोटिक, स्टेरोइड, बिरामीको रगत केहीबाट पनि सम्भव छैन । यसका लागि तुरुन्त त्यस्ता सहज, सस्तो, स्वास्थ्य हेल्थ रिकभरी सेन्टरमार्फत प्राथमिक अनुशासित उपचारपद्धति सुरु गरी वडा–वडा स्तरमा प्रारम्भिक चरणको कोरोना सङ्क्रमणलाई रोकौँ र कोरोनाका नाममा भइरहेका सबैखाले अस्तव्यस्त भाँडभैलो र न्युमोनियाबाट हुने अकल्पनीय मृत्युलाई घटाऊँ, रोकौँ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :