क्यान्सर अस्पताल बचाउन माग गर्दै क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनद्वारा नवनियुक्त कार्यकारी निर्देशकलाई चेतावनी

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल चितवनले ‘बीपी मेमोरियल क्यान्सर अस्पताल बचाउ अभियान’ लाई तीव्रता दिएको छ । उक्त अभियानको नयाँ शृङ्खलाका रूपमा पार्टी जिल्ला समितिले आइतबार जुलुस प्रदर्शन गरी कोणसभा सम्पन्न गरेको छ । भरतपुर ७ बुद्धचोकबाट निस्किएको जुलुस बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको १ नं. गेटमा गई कोणसभामा परिणत भएको थियो ।

कोणसभामा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका चितवन जिल्ला संयोजक विकासले क्यान्सर अस्पताल नेपालको मध्यभागमा सबै जनातालाई पायक पारेर निर्माण गरिएको चितवनवासी जनताको गर्वको विषय रहेको बताए । जिल्लाबासीलाई घरमै बसेर उपचार गर्ने सुविधा प्राप्त भएको तर यो अस्पताल भृकुटी कागज काराखानाजस्तै खण्डहरमा परिणत हुने अवस्था उन्पन्न भएको विकासको भनाइ थियो । पार्टीले यो विषयलाई राम्ररी अध्ययन गरेको पनि उनले बताए ।

चीन सरकारले ८८ करोड रुपैयाँको लागतमा २०४७ सालमा सम्पन्न गरेर चीनबाटै डाक्टर पठाई सञ्चालन गरेर हस्तान्तरण गरेको स्मरण गराउँदै नेता विकासले अस्पताल आज सत्तामा बसेका ठूला राजनीतिक पार्टीका दलालहरूको दलीय भागबण्डा र आर्थिक चलखेलका कारण धराशयी हुँदै गरेको पनि प्रस्ट पारे । माओवादी केन्द्रकै बीच खिचातानी, त्यसपछि काङ्ग्रेस र माओवादीबीचको खिचातानीका कारण ६/६ महिनासम्म अस्पतालले कार्यकारी निर्देशकसमेत प्राप्त गर्न नसकेको प्रस्ट पार्दै उनले भर्खर कार्यकारी नियुक्ति लिएर आएका शिवजी पौडेलको कार्यकालमा सर्वसाधारणले सहज र सरल ढङ्गले उपचार पाउनुपर्ने र जनताको वास्तविक अस्पताल बनाउनुपर्ने धारणा राखे ।

कार्यकारीनिर्देशक पौडेलको शुभकामना आदानप्रदान कार्यक्रममा एक वरिष्ठ डाक्टरले कर्मचारीलई तिमीहरूले काम गर्नु पर्दैन भनेर आफ्नो खेमाका कर्मचारीलाई काम गर्नबाट वञ्चित गराउने र अस्पताललाई नै असफल बनाउने षड्यन्त्र गरेको पनि उनले सम्झाए । अस्पताललाई असफल बनाउन वैदेशिक शक्ति पनि लागेको प्रस्ट पार्दै नेता विकासले ठूला भनिएका राजनीतिक पार्टीहरूले चुनावको समयमा आफूहरूलाई भोट दिए क्यान्सरमा जागिर लगाइदिन्छौँ भनेर मागिखाने थलो बनाएको पनि स्मरण गराए ।

खसीलाई अघिल्तिर घाँस देखाएर गर्दनमा हानेजसरी नै क्यान्सर अस्पतालको घाँटीमा खुकुरी प्रहार गरिएको सन्दर्भ पनि नेता विकासले राखे । १६ लाख रुपैयाँ विद्युत् महसुल तिर्नुपर्नेमा अस्पतालको लेखापालले समयमा खातामा पैसा भएर पनि निकासा नगरिदिँदा ३२ लाख रुपैयाँ जरिबाना तिर्नुपरेको तीतो यथार्थ उनले प्रस्तुत गरे । लेखापाल पिताम्बर आचार्यको नाउँ लिँदै नेता विकासले भदौ ६ गते ८ लाख विद्युत् महसुल तिर्नुपर्ने बेलामा त्यही दिन उनलाई बिदामा बस्न लगाइएको र भोलिपल्टबाटै विद्युत् महसुलमा जरिबाना लाग्न सुरु गरेको रहस्य पनि खोतले । अस्पतालको हितमा रकम निकासा नगरेर आचार्यले अस्पताल डुबाउने योजनामा साथ दिएको पनि उनले बताए ।

अस्पतालमा आवश्यकताभन्दा बढी कर्मचारी रहेको बताउँदै उनले आपराधिक मनोवृत्तिका कर्मचारीलाई कार्यकारीनिर्देशकले तुरुन्त कारबाही गरेर जनताको पहुँचको अस्पताल बनाउनुपर्ने धारणा राखे । उपचारका लागि आएका बैतडीका बिरामीको उदाहरण दिँदै उनले यहाँ उपचार नगराएर चिकित्सकले आफ्नो निजी क्लिनिकतिर लगेको र निजी क्लिनिकमा उपचार गर्ने हैसियत नभएर बिरामी रुँदैरुँदै फर्केको आफूहरूले नै देखेको भन्दै उनले यस्तो षड्यन्त्र र अवस्थाप्रति आक्रोश व्यक्त गरे । अर्को एक कर्मचारीलाई कामको बेला कुरा गरेर समय खेर नफाल्नुस् भनेर सम्झाउँदा क्यान्सर अस्पताल काम गर्नेभन्दा पनि हाजिर गर्ने जागिर खाने थलो भएको प्रतिउत्तर दिएको भन्दै उनले चिन्ता व्यक्त गरे । कतिपयले पार्टीका डन बनेर जागिर खाएको पनि उनले बताए ।

बिग्रेको मेसिनलाई बनाएर सञ्चालनमा ल्याउनुपर्नेमा नबिग्रेको मेसिनबाट पनि सेवा नदिएको आफूहरूले छर्लङ्गै देखेको उनले बताए । उनले भने, ‘यहाँ अहिले राज्यका तर्फबाट १ अर्ब रुपैयाँ आएको छ । त्यो अत्याधुनिक मेसिन किन्नका लागि हो । तर यहाँका राजनीतिक पार्टी र उपल्लो स्तरका कर्मचारीहरू कम गुणस्तरका मेसिन ल्याउने र १ अर्बमा कमिसन खाने खेलमा कार्यकारीनिर्देशक तेरो पक्ष र मेरो पक्ष भन्दै नियुक्त गरिएको छ ।’

नयाँ कार्यकारीले पनि नराम्रो काम गरेमा पार्टीले जनतालाई साथ लिएर सङ्घर्ष अघि बढाउने र भ्रष्टहरू सङ्घर्षको निशानामा पर्ने चेतावनी उनले दिए । स्थानीय बासिन्दालाई पनि अस्पतालको सुरक्षाका लागि चनाखो भएर लाग्न उनले आह्वान गरे ।

कार्यक्रममा पार्टीका जिल्ला सहसंयोजक दुर्गा सुवेदीले क्यान्सर अस्पतालमा माफियाहरूले जनताको हितभन्दा आफ्नो स्वार्थ साधना गर्दै भृकुटी कागज कारखानाजस्तै बनाउने योजनामा लागेको बताए । आफूहरू त्यसका विरुद्धमा निरन्तर रूपमा खबरदारी गर्दै आएको र विगतका नराम्रा इतिहास दोहोर्याएर अस्पताल डुबाउन लागेको फेलापरेमा पार्टीले नछोड्ने चेतावनी दिए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका सचिवालय सदस्य तथा चार जिल्लाका इन्चार्ज सुरेश श्रेष्ठ, चितवन जिल्ला इन्चार्ज ध्रुवलगायत नेता–कार्यकर्ताको उल्लेख्य उपस्थिति थियो ।

पार्टीले निम्न बेहोराको ब्यानर टाँगेर अस्पताल बचाऊ अभियान अघि बढाएको छ :

बीपी मेमोरियल क्यान्सर अस्पताल बचाउ अभियान

  • अस्पतालभित्र बिचौलियाको प्रवेश बन्द गर ।
  • अस्पतालभित्र आर्थिक कमिसन र चलखेल बन्द गर ।
  • कर्मचारी खुला विज्ञापन, निष्पक्ष प्रतिस्पर्धा विधिबाट भर्ना गर ।
  • निष्पक्ष रूपमा कर्मचारीहरूको बढुवा र सेवासुविधाको व्यवस्था गरियोस् ।
  • अस्पतालले बुझाउनुपर्ने विद्युत्लगायत राज्यलाई तिर्नुपर्ने रकम समयमा निकास नगर्दा लाग्ने विलम्ब शुल्क सम्बन्धित व्यक्तिसँग भराउने व्यवस्था गरियोस् ।
  • बिरामीले पाउने निःशुल्क औषधी, रेडियोलोजी, रेडियोथेरापी, प्याथोलोजी, चिकित्सकीय सेवालगायत सम्पूर्ण सुविधा सहज र सरल रूपमा उपलब्ध गराइयोस् ।
  • अस्पतालमा उपचार सम्भव हुँदाहुँँदै पनि बिरामीहरूलाई निजी क्लिनिकमा पठाउने डाक्टरहरूलाई कारबाही गर ।
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :