क्यान्सर अस्पतालभित्रका विकृतिहरू अन्त्य गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनको चेतावनी

क्यान्सर अस्पतालभित्रका विकृतिहरू अन्त्य गर्न क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनको चेतावनी

चितवन : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल चितवनले देशको मध्य भागमा रहेको भरतपुर क्यान्सर अस्पताललाई सहि ढङ्गले सञ्चालनमा ल्याइएन भने त्यसका विरुद्ध विशेष कदम अगाडि बढाउने र उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम् सम्बन्धित निकाय हुने चेतावनी दिएको छ ।

जिल्ला सङ्गठन समिति, चितवनका संयोजक विकासले बिहीबार विज्ञप्तिमार्फत वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामी जनताको उपचार सेवा भन्दा पनि आर्थिक चलखेल र विशुद्ध जागिर खाने थलो बनाएको र विचौलिया मार्फत अस्पतालमा आएका बिरामीलाई निजी क्लिनिकमा पठाउने निःशुल्क पाउने औषधीलाई अभाव देखाउँदै यावत गैह्र जिम्मेवारी काम कारवाहीले अस्पताल जस्तो सेवा मुलक र पवित्र संस्था असफलतातिर गइरहेकोले उक्त चेतावनी दिएका हुन् । साथै उनले अस्पतालभित्र भएका सबै प्रकारका विकृतिहरू अन्त्य गर्न अस्पताल प्रशासनलाई अनुरोध गरेका छन् ।

जिल्ला संयोजक विकासले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘चीन सरकारको आर्थिक सहयोगमा क्यान्सर जस्तो घातक रोगको उपचार गर्नको लागि देशको मध्य भाग चितवनको भरतपुरमा क्यान्सर अस्पताल निर्माण भएको हो । चितवन जिल्ला जसले मेडिकल सिटीको रुपमा विकास गर्दै अगाडि बढिरहेको छ । तर, दुःखको कुरा वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामी जनताको उपचार सेवा भन्दा पनि आर्थिक चलखेल र विशुद्ध जागिर खाने थलो बन्दै गएको आभास भइरहेको छ । उपचारमा ढिलासुस्ती विग्रेभत्केका मेशिन तुरुन्त बनाएर सेवा दिनको अलवा सञ्चालनमा रहेका मेशिनबाट पनि बिरामीले सेवा पाएका छैनन् ।’

विकासले प्रेस विज्ञप्तिमा अगाडि भनेका छन्, ‘विचौलिया मार्फत अस्पतालमा आएका बिरामीलाई निजी क्लिनिकमा पठाउने निःशुल्क पाउने औषधीलाई अभाव देखाउँदै जिल्लामा ठुला राजनैतिक पार्टीहरूले शक्तिको भरमा आफ्ना कार्यकर्तालाई जागिर खुवाउने त्यस्ता कार्यकर्ताहरू अस्पताल र बिरामीको सेवामा उत्तरदायी हुनुभन्दा पार्टीको आडमा तलब खाँदै आएका विषय छर्लङ्गै देख्न सकिन्छ । यी यावत गैह्र जिम्मेवारी काम कारवाहीले अस्पताल जस्तो सेवा मुलक र पवित्र संस्था असफलतातिर गइरहेको छ । त्यसकारण अस्पताल प्रशासनको यस तर्फ बेलैमा ध्यान जाओस् । अस्पतालभित्र भएका सबै प्रकारका विकृतिहरू अन्त्य गरेर साँच्चै बिरामी जनताले सेवा पाउने थलो बनोस् ।’

जिल्ला संयोजक विकासले प्रेस विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘यदि अस्पताललाई सहि ढङ्गले सञ्चालनमा ल्याइएन भने संसारको अगाडि लज्जाको विषय त छँदैछ यसका विरुद्ध हाम्रो पार्टीले विशेष कदम अगाडि बढाउने व्यहोरा समेत जानकारी गराउँदछौँ । अन्यथा यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी स्वयम् सम्बन्धित निकाय हुने कुरासमेत अवगत गराउँदछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :