क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले ७७ वटै जिल्लामा प्रदर्शन गर्ने

काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले राष्ट्रियता, जनतन्त्र, जनजीविकासँग सम्बन्धित जल्दाबल्दा समस्या लिएर एक महिने सङ्घर्षका कार्यक्रम घोषणा गरेको छ । मङ्गलबार बसेको सङ्घर्ष परिचालन समितिको बैठकले सङ्घर्ष सम्बन्धी निर्णय गरेको हो ।

बैठकले निम्न अनुसारका ८ वटा विषयसँग सम्बन्धित रहेर सङ्घर्ष सञ्चालन गर्ने निर्णय गरेको छ –

“१. महँगी, भ्रष्टाचार एवम् कालोबजारीका विरुद्ध सशक्त सङ्घर्ष गर्ने । पार्टीका कार्यकर्ता, पत्रकारलगायत जनसहभागिता सहित राजधानी तथा प्रदेशका गोदाम घरहरू अनुगमन गर्ने ।

२. मिटर ब्याजीहरूलाई कारवाही गर्ने र जनतामाथि चरम बित्तीय सुदखोरी गर्ने लघुबित्तहरू बन्द गराउन सङ्घर्ष गर्ने ।

३. शिक्षामाथि भएको व्यापारीकरणको अन्त्य गर्न सरकारलाई दवाव दिने । शिक्षामा समानता ल्याउन सरकारी तथा व्यापारिक स्कुलहरूमा तत्काल समान पाठ्यक्रम र समान पाठ्य पुस्तक लागू गराउने । निजी स्कुलहरूलाई राष्ट्रिय करण गरी सबैका लागि गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने । विद्यार्थीका लागि “अध्ययनसहित कामको” व्यवस्था गर्न आन्दोलन गर्ने ।

४. उदयपुर सिमेन्ट कारखाना, जनकपुर शिक्षा सामग्री केन्द्र, नेपाल वायुसेवा निगम निजीकरण गर्ने षड्यन्त्रका विरुद्ध सङ्घर्ष गर्ने, बन्द गरिएको उदयपुर सिमेन्ट कारखाना सञ्चालन गर्न दवाव दिने ।

५. भृकुटी कागज, बुटवल धागो, बाँके कपास, हेटौँडा कपडा, गोरखा टायर लगायतका बन्द उद्योगहरू खुलाउन प्रदर्शन तथा कारखानामा धर्ना दिने ।

६. निःशुल्क स्वास्थ्यका लागि अनिवार्यरूपमा “युनिभर्सल हेल्थकेयर इन्स्युरेन्स” (सम्पूर्ण स्वास्थ्य सेवा बिमा) को माग गरी केन्द्र र प्रदेश सरकारलाई ज्ञापनपत्र दिने, प्रदर्शन गर्ने, विचार गोष्ठी, पत्रकार सम्मेलन गर्ने, प्रचार गर्ने ।

७ माध्यमिक शिक्षा तथा १२ पास गरेका विद्यार्थीलाई विदेश धकेल्ने नीति तत्काल खारेज गरी गुणस्तरीय शिक्षा उपलब्ध गराउन उचित शैक्षिक वातावरण बनाउन आन्दोलन गर्ने । त्रिभुवन विश्वविद्यालयको शैक्षिक क्यालेन्डर नियमित गराउन आन्दोलन गर्ने ।

८. यी बिषयहरूमा पार्टीको नीति स्पष्ट गर्न काठमाडौँमा विचारगोष्ठी एवम् अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने ।” रहेको छ ।

घोषित कार्यक्रम अनुसार भदौ १ गतेदेखि असोजसम्म देशका ७७ जिल्लाहरूमा प्रदर्शन गर्ने, जिल्ला सदरमुकाममा हुने प्रदर्शन पहिले वार्ड पालिका, गाउ/नगर पालिकाहरूमा प्रदर्शन र सभा गर्ने, राजधानी तथा सातै प्रदेश राजधानीमा हुने जुलुस/सभामा केन्द्रीकरण गर्ने । यी सभामा कार्यालयका सदस्यहरूले सम्बोधन गर्ने र वार्ड, गाउ/नगर र जिल्ला सभाको तालिका प्रदेश इन्चार्जहरूले निर्माण गरी सम्प्रेशण गर्ने ३१ गते पार्टीपङ्क्तिमा प्रेषित सर्कुलरमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :