अक्सिजनको हाहाकारले कोरोना बिरामीको ज्यान गयो, कृत्रिम अभाव उत्पन्न नगर्न चेतावनी

अक्सिजनको हाहाकारले कोरोना बिरामीको ज्यान गयो, कृत्रिम अभाव उत्पन्न नगर्न चेतावनी

काठमाडौँ : कोरोना महामारीले विकराल रूप लिँदै गएपछि आवश्यक स्वास्थ्य सामग्री र अत्यावश्यक अक्सिजनको अभावले धमाधम मानिसले ज्यान गुमाइरहेका छन् । ३ करोड जनसङ्ख्या भएको देशमा करिब १ लाखको सेरोफेरोमा सक्रिय सङ्क्रमित पुग्ने बेलासम्म यहाँको स्वास्थ्यप्रणाली अस्तव्यस्त भैसकेको अवस्था छ । अस्पतालहरूले अक्सिजन र बेडको अभावमा भर्ना गर्न नसकिने बताइरहेका छन् ।

सङ्क्रमित भएर अस्पतालमा भर्ना हुनुपर्ने र अक्सिजन दिनुपर्ने बिरामी बेड र अक्सिजन नपाएर घरमै बस्न बाध्य छन् । कतिपय अवस्थामा बेड नपाएका कारण एम्बुलेन्समै छट्पटिँदाछट्पटिँदै बिरामीको मृत्यु भएका दुर्दान्त खबरहरू पनि सार्वजनिक भैरहेका छन् । तर नागरिकको यस्तो बेहाल भइरहँदा देशमा सरकार छ कि छैन भन्ने अवस्था देखिएको छ । होम आइसोलेसनमा बसेकाहरूका बारेमा सरकारसँग कुनै जानकारी र तथ्याङ्क छैन, सेवा, सुविधा र उपचारको कुरा त परै जाओस् ।

बुधबार मात्र रूपन्देहीका अस्पतालहरूमा उपचाररत ८ जना कोरोना सङ्क्रमितको अक्सिजन नपाएर मृत्यु भएको छ । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा आईसीयूमा उपचाररत पाँचजना र भीम अस्पतालमा उपचाररत तीनजना सङ्क्रमितको अक्सिजन नपाएर मृत्यु भएको हो । समयमै अक्सिजन पाएको भए बाँच्नसक्ने अवस्थाका आईसीयूमा भर्ना भएका ती बिरामीको बुधबार दिउँसो अक्सिजन सकिँदा मृत्यु भएको हो ।

यसैबीच काठमाडौँ उपत्यकाका अस्पतालहरूले अक्सिजन अभाव देखाएर धमाधम बिरामीलाई डिस्चार्जको सूचना निकाल्न थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले अक्सिजन अभावका नाममा जनतालाई त्रसित नबनाउन चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सूचना जारी गर्दै कोरोना सङ्क्रमितको उपचार गरिरहेका अस्पतालहरूलाई अक्सिजन अभावको कारण देखाई भर्ना भएका बिरामीलाई उपचार नगरी डिस्चार्ज नगर्न चेतावनी दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :