हामी के पढिरहेका छौँ ?

हामी के पढिरहेका छौँ ?

नेपालको शिक्षापद्धतिलाई लिएर लामो समयदेखि यसको सकार र नकार पक्षका सन्दर्भमा काफी छलफलहरू भएका छन् । छलफल र अन्तरक्रियाका आधारमा सरकारी तथा निजी कार्यदलहरूले विभिन्न सुझावसहितका प्रतिवेदनहरू पनि सार्वजनिक गरिरहेकै छन् । तर शिक्षापद्धतिमा देखिएका दोषहरूको निरूपण आजसम्म हुनसकेको छैन । विशेषगरी कम्युनिस्ट विचारधारा निकट रहेका विधार्थी र शिक्षक/बुद्धिजीवी सङ्गठनहरूले हालको शिक्षालाई कामदार उत्पादन गर्ने बुर्जुवा शिक्षा भनेर नामकरण गरेको पाइन्छ भने आमजनतामा जाँदा पनि नेपाली शैक्षिक प्रणालीले आजको विद्यार्थीको माग र आवश्यकताको सम्बोधन गर्न नसकेको कुरामा असहमति भने राखेको पाइँदैन । हामीले अध्ययन गर्दै आएको शिक्षा सफल कि असफल ? अग्रगामी कि पश्चगामी ? जनपक्षीय कि जनविरोधी ? आयातित कि मौलिक ? चरम पुँजीवादी कि जनवादी वा समाजवादी ? यी सवालहरूको जबाफका लागि शिक्षाको मूलतः दार्शनिक, नीतिगत र व्यावहारिक पक्षमा स्पष्टता हासिल गर्न आवश्यक हुन्छ । तसर्थ यी पक्षहरूमा नै केन्द्रित रहेर हाम्रो शिक्षाप्रणालीका आधारभूत विशेषतासहित सङ्क्षिप्त आलेख तयार गरिएको छ ।

१) दार्शनिक पक्ष

दर्शन कुनै पनि वस्तु, जीवन र जगत्का बारेमा निर्माण गरिने एक दृष्टिकोण वा बुझाइ हो । यसलाई वस्तुका बारेमा तयार गरिएको सैद्धान्तिक अवधारणा पनि भन्न सकिन्छ । दर्शनले हरेक व्यक्ति, समाज र राज्यको विचारधारालाई दिशानिर्देश गर्ने काम गरेको हुन्छ ।

अतः नेपालको शिक्षाप्रणाली पनि कुनै न कुनै दर्शनबाट प्रभावित हुने कुरा स्वाभाविक छ । मूलतः नेपालको शिक्षाप्रणाली अधिभूतवादी दर्शन अथवा अध्यात्मवादी दर्शन निकट रहेर निर्माण गरिएको छ । त्यसमा पनि पूर्वीय दर्शनको गहिरो छाप यसमा परेको छ जसका कारण विद्यालयमा भर्ना हुनेबित्तिकै एउटा बालकले आफ्ना अप्रमाणित धारणाहरू निर्माण गर्ने गर्दछ । देख्न नसक्ने, बुझ्न नसक्ने, छुन नसक्ने, समग्रमा भन्दा अनुभव गर्न नसक्ने एउटा अजीवको स्मृति ल्याएर बालमस्तिष्कमा भ्रम उत्पन्न गर्ने काम हाम्रो शिक्षाप्रणालीले गरेको छ । भूत, देवी, देवता, राक्षस, बोक्सीजस्ता कृत्रिम पात्र र चरित्रहरू खडा गरेर खाली दिमाग भर्ने काम एकातिर वर्तमान शिक्षाले गरेको छ भने अर्काेतिर परिवार र राज्यको लगानीसमेत भ्रमित जनशक्ति उत्पादन गर्नेमा केन्द्रित छ ।

प्राकृतिक नियम, विज्ञान वा प्रयोगद्वारा प्रमाणित कुराहरू पनि हाम्रो शिक्षामा नसमेटिएको भने पक्कै होइन तर विज्ञानमा समेत आदर्शवाद मिसाउने प्रयत्न गरिएको पाइन्छ । जस्तै कुनै वैज्ञानिक परीक्षण गर्नु छ भने त्यसको सुरुआतमा गणेशको पूजा गर्ने । प्रयोगशालामा तालिम गरेर विज्ञानले प्रमाणित गरेका विषय अध्ययन गरेको डाक्टरले समेत आफूले उपचार गरेको बिरामीको जीवन कथित भगवान्को हातमा छाड्नु नेपाली शिक्षाको अर्काे मजाक हो । यसरी हाम्रो शिक्षापद्धतिमा आदर्शवादलाई अन्धविश्वासका रूपमा ग्रहण गरिरहनु, प्राकृतिक विज्ञानमा कम विश्वास गर्नु, नयाँ खोज अनुसन्धानलाई सजिलै स्वीकार गर्न नसक्नुजस्ता सैद्धान्तिक/दार्शनिक सीमाहरू रहेका छन् ।

२) नीतिगत पक्ष

शिक्षानीति भन्नेबित्तिकै देशको शिक्षालाई कानुनी रूपमा कसरी डोर्याउने भन्ने पक्षसँग सम्बन्धित हुन्छ । शिक्षानीति आफैँमा राजनीतिको एउटा पाटो भएको हुनाले राज्यसत्ताले अङ्गीकार गर्ने राजनीतिक प्रणालीले पनि शिक्षानीतिलाई प्रत्यक्ष प्रभाव पार्दछ । नेपालको अहिलेको राजनीतिक व्यवस्था दलाल पुँजीवादी व्यवस्था भएको हुनाले अथवा खुला बजार अर्थतन्त्रमा आधारित अर्थनीति र त्यसको जगमा उभिएको सत्ता भएको हुनाले शिक्षाजस्तो आधारभूत विषयलाई पनि खुला बजारकै रूपमा विकास गर्न खोज्नु सबैभन्दा ठूलो नीतिगत त्रुटि भएको छ ।

लगानीको हिसाबले समेत एक देश दुई शिक्षानीति कुनै पनि कोणबाट न्यायसङ्गत मान्न सकिँदैन । एउटै पाठ्यक्रम, एउटै शैक्षिक सत्र, एउटै मूल्याङ्कन विधिभित्र पनि असमान खालका जनशक्तिहरू उत्पादन हुने र ती असमान जनशक्तिबीचको समान प्रतिस्पर्धाले उत्पन्न गर्ने विभेदको समस्यालाई हल गर्न नसक्ने हाम्रो शिक्षाप्रणालाीको अर्काे नीतिगत कमजोरी हो । त्यसैले राज्यका तर्फबाट शिक्षाको दायित्वबाट पन्छने कुरा र सुनियोजित रूपमा विद्यार्थीको शैक्षिक वर्ग विभाजन गर्ने कुरा नेपालको वर्तमान शिक्षानीतिले नै घुमाउरो तरिकाले स्वीकार गरेको हुँदा यो शिक्षानीतिको खारेजी र एक देश एक शिक्षानीतिको कार्यान्वयनमा जानु नै आजको प्रमुख आवश्यकता हो ।

शिक्षालाई श्रम र उत्पादनबाट अलग्याउनु हाम्रो शिक्षानीतिको मुख्य सीमा हो । यसलाई नउल्ट्याएसम्म न शिक्षा व्यावहारिक र गुणस्तरीय हुन्छ, न त देश समृद्विको यात्रामा नै अगाडि बढ्छ । यसकारण नेपालको शिक्षाले व्यक्तिको जीवन रूपान्तरणमा व्यावहारिक पाटोबाट हेर्दा सन्तोषजनक भूमिका निर्वाह गरेको छैन ।

३) संरचनात्मक पक्ष

नेपालको शिक्षाको संरचनात्मक पक्ष आवश्यकताअनुसारको भन्दा पनि व्यापारअनुसारको जस्तो भएको छ । एउटा व्यक्तिले आफ्नो जीवनको करिब एक तिहाइभन्दा बढी उमेर औपचारिक शिक्षाकै लागि व्यतित गर्नु पर्दछ भने उसले कति समय आफ्नो व्यक्तिगत/पारिवारिक जीवनका लागि योगदान गर्ने ? कति समय राज्यको सेवामा योगदान गर्ने ? यो गम्भीर विषय बन्न पुगेको छ । समयको हिसाबले, लगानीको हिसाबले, उसले आर्जन गर्ने ज्ञान र सीपको हिसाबले अथवा परिणामको हिसाबले वर्तमान शिक्षाको संरचनात्मक पक्षबाट सन्तुिष्ट लिनसक्ने ठाउँ छैन । कुन तहको विद्यार्थीले कुन र कस्तो किसिमको ज्ञान÷सीप हासिल गर्ने भन्ने विषयमा राज्य कत्तिको जिम्मेवार छ ? विद्यार्थी र उसको परिवार कत्तिको जिम्मेवार छ ? यसको लेखाजोखा हुनसकेको छैन । त्यसैले लक्षित उद्देश्यहरू पूरा गर्न नसक्नुमा संरचनात्मक पक्ष पनि जिम्मेवार छ ।

४) व्यावहारिक पक्ष

हामीले अध्ययन गर्ने गरेको शिक्षा सीपमूलक कम र सूचनामूलक ज्यादा हो । तसर्थ हामीले यसलाई घोकन्ते शिक्षा भन्ने गरेका छौँ । घोकेर अब्बल ठहरिएकाहरूलाई किताबको कीरो भन्ने गर्छाैँ । यही शिक्षा अध्ययन गरेर डिग्री हासिल गरेकाहरू नै राज्यको प्रशासकको विभिन्न भूमिकामा रहेर संयन्त्र सञ्चालन गर्नुपर्ने बाध्यताले पनि प्रशासनिक कामकारबाहीमा ढिलासुस्ती हुन पुगेको पाइन्छ । सामान्य शिक्षाको कुरा त यो भैहाल्यो, प्राविधिक शिक्षा अध्ययन गर्नेहरूको पनि कम बिजोग छैन किनकि त्यहाँ पनि प्रयोगात्मकभन्दा सैद्धान्तिक कक्षाहरू नै बढी हुने गरेको पाइन्छ ।

उच्च शिक्षा प्राप्त गरिसक्दा पनि विद्यार्थीले कुनै सरकारी कार्यालयलाई बेहोरा पुर्याएर निवेदन लेख्न नसक्ने, बैङ्कको भौचर भर्न नसक्ने, मार्केटिङमा डिग्री गरेको विद्यार्थीले एउटा कुनै सामान बेच्न नसक्ने, अङ्ग्रेजीमा डिग्री गरेकाले अङ्ग्रेजी बोल्न नसक्ने, माटो नछोईकन कृषि अधिकृत बन्ने, गोबर नदेखीकन पशुविज्ञ बन्ने, सिमेन्ट नछोईकन इन्जिनियर बन्ने यी तमाम अन्तरविरोधी कुराहरूले शिक्षाको गुणस्तर र जनशक्तिको गुणस्तरमा प्रशस्त प्रश्न गर्ने आधारहरू खडा गरेको छ ।

शिक्षालाई श्रम र उत्पादनबाट अलग्याउनु हाम्रो शिक्षानीतिको मुख्य सीमा हो । यसलाई नउल्ट्याएसम्म न शिक्षा व्यावहारिक र गुणस्तरीय हुन्छ, न त देश समृद्विको यात्रामा नै अगाडि बढ्छ । यसकारण नेपालको शिक्षाले व्यक्तिको जीवन रूपान्तरणमा व्यावहारिक पाटोबाट हेर्दा सन्तोषजनक भूमिका निर्वाह गरेको छैन ।

हामीले आजसम्म अध्ययन गर्दै आएको शिक्षा पाठ्यक्रमको हिसाबले शैक्षिक परम्परा धान्ने किसिमको, हाम्रो मौलिक आवश्यकताभन्दा पनि दातृ निकायहरूको सर्त पूरा गर्नेखालको, सूचना साम्राज्यलाई मात्र प्रोत्साहन दिनेखालको, हात चलाउन नसिकाउने तर मुख मात्र चलाउन सिकाउनेखालको, शिक्षणविधिको हिसाबले विद्यार्थी केन्द्रित नभएर शिक्षक केन्द्रित, कार्यशाला केन्द्रित नभएर पाठशाला केन्द्रित, मूल्याङ्कन विधिको हिसाबले निरन्तर मूल्याङ्कन नभएर वार्षिक तीनघन्टे मूल्याङ्कन (जहाँ चोरेर भए पनि प्रथम हुन पाइन्छ) विधि, लगानीको हिसाबले निजीकरण, व्यापारीकरण हुँदै अपराधीकरण उन्मुख (निजी), गफ चुट्ने र तलब धुत्ने (सरकारी), जनशक्ति उत्पादनको हिसाबले शैक्षिक बेरोजगारहरूको उत्पादन हुनेखालको विशेषतासहितको छ । तसर्थ यो शिक्षाप्रणाली अग्रगामी नभएर यथास्थितिवादी, जनवादी÷समाजवादी नभएर दलाल पुँजीवादी, वैज्ञानिक र व्यावहारिक नभएर व्यापारिक, विद्यार्थीमुखी नभएर साहुजीमुखी, माटोअनुकूल नभएर देशी–विदेशीको स्वार्थअनुकूल, मौलिक अधिकारका नाममा हात्तीको देखाउने सेतो दाँत भएको छ । विद्यार्थीले नपढ्दा पनि सुख नपाउने र पढेर पनि केही नजान्ने भएको छ भने अभिभावक र राज्यको लगानीको प्रतिफलसमेत सन्तोषजनक नहुनुले यो प्रणालीको परिवर्तनको आवश्यकता बोध हुँदैन र ?

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :