तिम्रो प्रतीक्षामा

कविता

तिम्रो प्रतीक्षामा

कलकल नदी बगिरहेछ
सरर बतास चलिरहेछ
झिसमिसे अँधेरीमा चराहरू पनि
गुँडतर्फ फर्किसकेछन्
लम्बे यात्राका यात्रीहरू पनि सुस्ताइसकेछन्
घाम पनि अस्ताउनै आँटेछ
जसरी भरियाहरू आउने आशामा
बाटोछेउमै रहेको वरपीपलको चौतारी प्रतीक्षा गरिरहन्छ
हो म पनि तिम्रो प्रतीक्षामै छु
तिमी आउने बाटोमै टोलाइरहेछन्
यी नयनहरू
तिम्रै सुरिलो स्वर सुन्न आतुर यी कानहरू
तिम्रै मायालु स्पर्शलाई छुन
बसौँं अघिदेखि प्रतीक्षामा रहेका यी हातहरू
तिम्रा मृगनयनी आँखासँग
आँखा जुधाउन तत्पर आँखाहरू
लहलह झुकेका धानका बालाले
शरदलाई पर्खेझैँ
कलिला मुनाहरूले वसन्तलाई
बर्सौं भयो आज
तिम्रो प्रतीक्षामा बसेको
अझै कति ?
साउनका खहरे भेलले बगाउन खोज्लान् तिम्रा सम्झनाहरू
कति आगोका फिलिङ्गाहरूले
खरानी बन्नुपर्ने हो
अहँ भन्न सक्दिनँ म
आऊ
टुक्रिएको मन सिलाएर
वैज्ञानिक समाजवादको घुम्टो ओढेर
सर्वहारा वर्गको लालझन्डा फहराउँदै
तिमी आउ प्रिय !
यो प्रतीक्षा तिम्रा लागि हो केवल तिम्रा लागि !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :