डा. प्रकाश चन्दलाई बीएन्डसीका मालिक दुर्गा प्रसाईंद्वारा गम्भीर धम्की, जनस्वास्थ्यकर्मी महासङ्घद्वारा भ्रष्टहरूलाई चेतावनी

डा. प्रकाश चन्दलाई बीएन्डसीका मालिक दुर्गा प्रसाईंद्वारा गम्भीर धम्की, जनस्वास्थ्यकर्मी महासङ्घद्वारा भ्रष्टहरूलाई चेतावनी

काठमाडौँ : आफ्नो अवैध धन्धा निर्बाध सञ्चालन गर्न केपी वली र पुष्पकमल दाहाललाई मार्सी चामलको भात ख्वाएर बदनाम भएका झापाको बीएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घका महासचिव डा. प्रकाश चन्दलाई गम्भीर किसिमका धम्की दिँदै गालीगलौज गरेको भन्दै महासङ्घले चेतावनी दिएको छ । महासङ्घका अध्यक्ष टीकाप्रसाद कँडेलले विज्ञप्ति जारी गर्दै सङ्गठनका महासचिव डा. प्रकाश चन्दले स्वास्थ्य माफियाको नाम किटान गरेको विषयलाई लिएर झापा बीएन्डसी अस्पतालका मालिक दुर्गा प्रसाईंले विभिन्न तुच्छ र धम्कीपूर्ण म्यासेज गरेपछि फोनमा विभिन्न घिनलाग्दा अश्लील शब्द, गालीगलौज र धम्कीपूर्ण कुरा गरेको अडियो फोन टेपप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको र सही समय र परिस्थितिमा भ्रष्ट माफियाले आफ्नो गुण्डागर्दी र भ्रष्ट कर्तुतको निकै महँगो र डरलाग्दो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

महासङ्घका अध्यक्ष कँडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देश कोरोनाले आक्रान्त भएको छ । देशका सम्पूर्ण स्वास्थ्यप्रणाली धराशायी भएका छन् । यस्तो विषम परिस्थितिमा राज्य लाचार छ भने स्वास्थ्य माफियाहरूले कोरोनाले मरणासन्न भएका बिरामीसँग पनि निकै चर्को शुल्क असुल गरिरहेका छन् । यही सिलसिलामा हाम्रो महान् तथा गौरवशाली सङ्गठनका महासचिव डा. प्रकाश चन्दले स्वास्थ्य माफिया र स्वास्थ्य भ्रष्टाचार नाइके र कर्तुतका विषयमा विभिन्न सङ्घर्ष गरेका र माफियाको नाम किटान गरेको विषयलाई लिएर झापा बीएन्डसी अस्पतालका मालिक, अझ भन्दा प्रचण्ड र केपी वलीलाई मार्सी चामलको भात खुवाएर व्यक्तिगत लाभ लिएका दुर्गा प्रसाईंले विभिन्न तुच्छ र धम्कीपूर्ण म्यासेज गरेपछि फोनमा विभिन्न घिनलाग्दा अश्लील शब्द, गालीगलौज र धम्कीपूर्ण कुरा गरेको अडियो फोन टेपप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टीका आदरणीय महासचिव क. विप्लवको नामलाई बुबाका रूपमा जोडेर बारम्बार धम्की र आरोप लगाएको कुरा निकै निन्दनीय छ । मेडिकल शिक्षा, स्वास्थ्य क्षेत्र र जनताको आधारभूत उपचारमा मौलाएको डरलाग्दो भ्रष्टाचारका विरुद्ध डा. प्रकाशलगायत सम्पूर्ण युवा विद्यार्थी अभियन्ता र बुद्धिजीवीहरूले चलाएको आन्दोलन र सङ्घर्षबाट अत्तालिएका मेडिकल माफियाहरू यो हदसम्म गिर्नु कुनै आश्चर्यको विषय नभए पनि पैसा र राजनीतिक शक्तिको आडमा गुन्डाराज चलाइरहेका यस्ता बेलगाम भ्रष्ट माफियालाई राज्यले कडाभन्दा कडा कारबाही गरोस् । अन्यथा भ्रष्ट माफियालाई कानुनअनुरूप युवा र जनताले लगाम लगाउनेछन् र यसको नेतृत्व र सञ्चालन हाम्रो गौरवशाली सङ्गठनले गर्नेछ । साथै हाम्रो सङ्गठन चेतावनी दिन चाहन्छ– सही समय र परिस्थितिमा भ्रष्ट माफियाले आफ्नो गुण्डागर्दी र भ्रष्ट कर्तुतको निकै महँगो र डरलाग्दो मूल्य चुकाउनुपर्नेछ ।’ विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :