ए कता ?

कविता

ए कता ?

एकता
एक ता
ए कता…..?
हो, कमरेड ….!
सहिदका सपना भुल्यौ
बेपत्ता, घाइते, अपाङ्ग साथी भुल्यौ
जनमुक्ति सेना भुल्यौ
आफैँले उठाएका मुद्दा भुल्यौ
सामन्तवाद, पुँजीवाद– मुर्दावाद भन्न लगाएर
आफैँ पुँजीपति वर्गमा पो परिणत भयौ
जुन व्यवस्थाका विरुद्ध दसौँ वर्ष लड्यौ
आज त्यसैमा विलीन भयौ
रामवृक्ष, कृष्ण सेनका हत्यारा भुल्यौ
जनयुद्धका प्रथम सहिद दिलबहादुर भुल्यौ…!
सबै–सबै भुलेर
केका लागि एकता ?
कसका लागि एकता ?
कस्तो एकता ?
के सक्छौ र…?
भोको पेटका लागि एकता गर्न !
सहिदको सपना पूरा गर्न !
राष्ट्रघातका विरुद्ध सङ्घर्ष गर्न !
के बुझ्छौ र ?
घाइते–अपाङ्गको पीडा !
सिउँदो पुछिएकी महिलाको पीडा !
टुहुरा बालबालिकाको पीडा !
के सुन्छौ र ?
बेरोजगार युवाको आक्रोश !
बलात्कारपछि मारिएका निर्मला–सम्झनाको चित्कार !
सक्दैनौ, बुझ्दैनौ र सुन्दैनौ
त्यसैले माफ गर कमरेड
एकता हैन अब
धोकेबाज, भुलक्कडका विरुद्ध
विद्रोह गरिन्छ, विद्रोह !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :