नेकपालाई राजनीतिक व्यवहार नगरिए भयंकर तुफानी वेग ब्यहोर्नुपर्ने रोल्पाको चेतावनी

नेकपालाई राजनीतिक व्यवहार नगरिए भयंकर तुफानी वेग ब्यहोर्नुपर्ने रोल्पाको चेतावनी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रोल्पा जिल्लाले विश्व मानव समुदायलाई कोरोना भाइरस (कोभिड–१९) ले छेद–विच्छेद तुल्याएको बेला केपी–बादल गृहप्रशासनले जिल्लाभरीनै पार्टीका जिम्मेवार सदस्यहरुलाई गिरफ्तार गर्ने, साथै सार्वजनिक रुपमा गोली हानी हत्या गर्ने सम्मको अभिव्यक्ति दिएको र छिमेकी जिल्ला दाङ तुलसीपुरमा बिपिन आएको छ भन्दै प्रहरीले होटेल खानतलासी गर्दै आतंकित बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । जिल्ला सेक्रेटरी दिनेश विक्रम चन्द ‘मानव’ ले बिहीबार प्रेस विज्ञप्ति निकाली रोल्पाका विभिन्न गाउँहरुमा सादा पोसाकका प्रहरीले मध्यरातमा नेता, कार्यकर्ता र जनताको घर–घरमा गैरन्यायिक ढंगले आतंकित बनाउँदै १० वर्षे जनयुद्धको झझल्को दिने गरि राज्य आतंक मच्चाइरहेको भन्दै अन्य जिल्लाहरुमा पनि निगरानी गरि आतंकित बनाएको घटनाप्रति घोर निन्दा एवम् भत्सर्ना गर्दै नेकपालाई राजनीतिक व्यवहार नगरिए भयंकर तुफानी वेग ब्यहोर्नुपर्ने चेतावनीसमेत दिएका छन् ।

सेक्रेटरी दिनेश विक्रम चन्द ‘मानव’ ले विज्ञप्तिमा भनेका छन्, ‘यतिबेला विश्व मानव समुदायलाई कोरोना भाइरस (कोभिड–१९) ले छेद–विच्छेद तुल्याएको मात्रै छैन भयानक सन्त्रास पनि फैलिरहेको छ । यस्तो विषम परिस्थितिमा सामाजिक दलाल पुँजीवादका नाइके केपी र रामेहरुले जनतालाई आतंकित बनाउदै रोल्पामा दमनको चक्र व्यापक रुपमा चलाइरहेका छन् ।’

जिल्ला सेक्रेटरी मानवले विज्ञप्तिमा अगाडि भनेका छन्, ‘तथापि हाम्रो पार्टी जनताको बीचमा अहोरात्र कोभिड सम्बन्धि चेतनामूलक र राजनीतिक कार्य गरिरहँदा कथित स्थानीय सरकार गंगादेब गाउँपालिका अध्यक्ष वीरबहादुर खत्री र खत्रीको निर्देशनमा रोल्पाका DSP ले गंगादेब ४ डल्सिङे पाखापानीमा जनताको बीचमा नाङ्गो रुपमा हाम्रो पार्टीका जिल्ला कमिटी सदस्यहरु क. बिपिन र पाखापानीमै क. टिम लगायत जिल्लाभरी नै अन्य जिम्मेवार कमरेडहरुलाई गिरफ्तार गर्ने, साथै सार्वजनिक रुपमा गोलि हानि हत्या गर्ने सम्मको अभिव्यक्ति दिएको र छिमेकी जिल्ला दाङ तुलसीपुरमा बिपिन आएको छ भन्दै होटेल खानतलासी गर्दै आतंकित बनाएको, रोल्पाका विभिन्न गाउँहरुमा सादा पोसाकका प्रहरीले मध्यरातमा नेता, कार्यकर्ता र जनताको घर–घरमा गैरन्यायिक ढंगले आतंकित बनाउदै १० वर्षे जनयुद्धको झझल्को दिने गरि राज्य आतंक मच्चाइरहेको छ साथै अन्य जिल्लाहरुमा पनि निगरानी गरि आतंकित बनाएको घटनाप्रति नेकपा रोल्पाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

सेक्रेटरी मानवले विज्ञप्तिको अन्त्यमा भनेका छन्, ‘उक्त अभिव्यक्ति र हर्कतप्रति हाम्रो पार्टी घोर निन्दा एवम् भत्सर्ना गर्दछ । यस्तो हर्कत रोक्न हाम्रो पार्टी सम्बन्धित पक्षलाई जानकारी गराउँदछौ राजनीतिक कर्मीलाई राजनीतिक व्यवहार गरियोस् अन्यथा यसको भयङ्कर तुफानी वेग सम्बन्धित पक्षले व्यहोर्नुपर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :