म के हेरौँ धरहराबाट

कविता

म के हेरौँ धरहराबाट

ए शासक–प्रशासक हो
म के हेरौँ धरहराबाट ?
गरिबीको भोक ?
अशिक्षाले घेरिएको अन्धकार समाज ?
बेरोजगार युवाको पीडा ?
अशक्त जनताको रोदन ?
कर्णालीको भोकमरी ?
कमाउन भनी बिदेसिँदा
बाकसमा फर्किएको युवाको लास ?
बलात्कारी, तस्कर, माफियाको अनुहार ?
ए शासक हो आफँै भन
म के हेरौँ धरहराबाट ?

तिमीले किन बुझ्दैनौ
स्वदेशमा रोजगारी नपाई बिदेसिनुको बाध्यता ?
उपचारका लागि हप्तौँ हिँड्नु र तड्पिनुको पीडा ?
एक छाक खान एक छाक भोकै बस्नुपर्ने
कर्णालीहरुका दुःख ?

मलाई लाग्थ्यो
समृद्धिको धरहराबाट म
राष्ट्रिय एकता देख्छु,
गरिबी, अशिक्षा, भोकमरीमुक्त देश
शिक्षा, स्वास्थ्य, रोजगारीमा सबैको सहज पहुँच
धनी, गरिब, विभेदमुक्त समान समाज देख्छु

सबै दुःख, पीडा, कष्ट बुझ्ने एउटा राष्ट्रनायक ।

तर विडम्बना !
धरहराबाट हेर्दा
सत्ताको उन्मादमा
विदेशीको इसारामा नग्न नाच देखाउने
बालुवाटारको सन्की शासकबाहेक
तिमी आफैँ भन अरू के देख्नु मैले !

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :