अखिल (क्रान्तिकारी) र सीटीईभीटीबीच ७ बुँदे सहमति

काठमाडौँ : अखिल (क्रान्तिकारी) सीटीईभीटी क्षेत्रीय समन्वय समितिले २०७७ माघ १९ गते बुझाएको १२ बुँदे मागपत्रमा सीटीईभीटी र अखिल (क्रान्तिकारी) बीच ७ बुँदे सहमति भएको छ ।

सहमतिमा सीटीईभीटी अन्तर्गतका आङ्गिक, सामुदायिक, साझेदारी र प्रतिष्ठानद्वारा सञ्चालित विभिन्न कार्यक्रममा लिइँदै आएको शुल्कमा भूगोल र सञ्चालित कार्यक्रमअनुसार एकरुपता कायम गर्ने, निजी शिक्षालायहरूमा तोकिएको शुल्क कडाइपूर्वक लागू गर्ने, कलेज सञ्चालनको मापदण्ड पूरा गर्ने र मापदण्ड नपुगेका संस्थाहरूको सम्बन्धन खारेजसम्मको कारबाहीप्रक्रिया अगाडि बढाउने, छात्रवृत्तिलाई १५ प्रतिशत बनाउने, छात्रवृत्तिको प्रवेशपरीक्षा निःशुल्क बनाउन आवश्यक पहल गर्ने, सीटीईभीटीका आङ्गिक कलेजहरूमा स्वास्थ्यलगायत कार्यक्रमहरू विस्तार गर्न पहल गर्ने विषय समेटिएका छन् ।

त्यसैगरी पाठ्यक्रम, शिक्षण विधि, परीक्षाप्रणालीलाई समयसापेक्ष, गुणस्तरयुक्त र प्रभावकारी बनाउन आवश्यक पहल गर्ने, परीक्षाको नतिजा ४ महिनाभित्र प्रकाशन गर्नुका साथै मौका परीक्षा र पुनः परीक्षा नियमित गर्ने र विगतमा सङ्गठनसँग गरिएको सहमति कार्यान्वयन गर्दै लैजाने विषयमा पनि सहमति भएको छ ।

वार्ताको संयोजन क्रान्तिकारीका तर्फबाट संगठनका केन्द्रीय सचिवालय सदस्य तथा सीटीईभीटी क्षेत्रीय समन्वय समिति संयोजक मिलन राईले गरेका थिए भने सीटीईभीटी कार्यालयको तर्फबाट टेक्स महाशाखाका निर्देशक रामहरि देवकोटाले गरेका थिए ।

सहमतिपत्रमा वार्ता टोलीका सदस्यहरू क्रान्तिकारीका तर्फबाट संयोजक राईलगायत क्रान्तिकारीका केन्द्रीय सदस्य इ. नवराज भट्ट र सीटीईभीटी जिल्ला अध्यक्ष डीबी चन्दले हस्ताक्षर गरेका छन् भने सीटीईभीटी कार्यालयका तर्फबाट निर्देशक विनोद बडाल, परीक्षा नियन्त्रक कृष्णबहादुर केसी र उप निर्देशक दामोदर देवकोटाले हस्ताक्षर गरेका छन् ।

यसअघि सीटीईभीटी कार्यलयका निर्देशक हेमन्त पराजुलीको संयोजकत्वमा वार्ता समिति बनाई सीटीईभीटीले वार्ताका लागि बोलाएको भए पनि वार्ता समितिका संयोजक पराजुलीको उदासीनता र गैरजिम्मेवारीपन देखाएपछि क्रान्तिकारीले सीटीईभीटी उपाध्यक्षको कार्यकक्षमा ताला लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :