कम्युनिस्ट पार्टी निर्माणको प्रश्न

कम्युनिस्ट पार्टी निर्माणको प्रश्न

आजको दुनियाँमा संशोधनवादी कम्युनिस्टहरूको चौतर्फी रूपमा बिगबिगी बढिरहेको छ । माक्र्सवादका आधारभूत सैद्धान्तिक प्रस्थापनाहरूलाई लत्याउँदै उनीहरू पुँजीपति वर्गसँग अङ्कमाल गर्न पुगेका छन् र त्यसलाई माक्र्सवादी विज्ञानका क्षेत्रमा महान् विकास गरेको भनेर प्रचार गरिरहेका छन् । ज्ञातव्य के छ भने यो माक्र्सवादी विज्ञानको विकास नभई केवल संशोधनवादी कम्युनिस्टहरूको (अबउप्रान्त संशोधनवादी कम्युनिस्ट पदावलीको स्थानमा संशोधनवादी पदावली मात्र प्रयोग गरिनेछ) पुँजीपति वर्गका सामु आत्मसमर्पण र कम्युनिस्ट पार्टीको राजनीतिक–सैद्धान्तिक तथा दर्शनप्रतिको घोर अपमान र गद्दारी सिवाय केही पनि होइन । व्यवहारले यो कुरा साबित गरिरहेको छ– उनीहरू कम्युनिस्ट सिद्धान्तका आधारमा राष्ट्र र नागरिकहरूको जीवनमा समानता र समृद्धि ल्याउन होइन, बरु पुँजीपति वर्गभन्दा अझ अघि बढेर राष्ट्र र नागरिकमाथि विभिन्न किसिमका शोषण र उत्पीडन थोपर्दै नवधनाढ्य वर्गमा रूपान्तरित भइरहेका छन् । संशोधनवादीहरूको विश्वव्यापी आमचरित्र भनेको झन्डा–सइनबोर्ड कम्युनिस्टको प्रयोग गर्ने तर व्यवहार घोर दक्षिणपन्थी पुँजीवादी विश्वव्यवस्थाको पक्षपोषण र विकास गर्ने विषयसँग अन्तरसम्बन्धित रहिआएको छ । संशोधनवादीहरूको आमचरित्र आज मात्र व्यक्त भएको विषय भने होइन । जब सर्वहारा–श्रमिक वर्गको मुक्तिको विज्ञानका रूपमा सन् १८४८ मा माक्र्सवाद

लेखक : अमर झाँक्री ‘सञ्जीव’

को उदय भयो तब संशोधनवादीहरू पनि सँगसँगै जन्मेर माक्र्सवादमाथि भीषण विचारधारात्मक हमला गर्न पुगे । कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सको संयुक्त प्रयासबाट तत्कालीन सशोधनवादीहरूको आमचरित्रको धज्जी उडाउँदै कम्युनिस्ट विचारधाराको सार्वभौमिक सत्यलाई स्थापित गरियो । संशोधनवादीहरूसँगको विचारधारात्मक सङ्घर्षकै बीचबाट सन् १८७१ मा फ्रान्सका सर्वहारा मजदुरहरूले सशस्त्र विद्रोहको माध्यामद्वारा पेरिस कम्युनको स्थापना गरी माक्र्सवादको सैद्धान्तिक सत्यलाई व्यवहारतः साबित गरे तर कम्युनार्डहरूमा सत्ता सञ्चालनको अनुभव तथा सर्वहारा अधिनायकत्व प्रयोगको अभावमा छोटो समयमा नै प्रतिक्रियावादीहरूले हजारौँ कम्युनार्डहरूको नरसंहार गरी कम्युन सत्ता खोसे । तत्कालीन अवस्थाका संशोधनवादीहरूले कम्युनार्डहरूको महान् बलिदानको अपमान मात्र गरेनन्, माक्र्सवादको असफलता र भविष्यमा सफल हुन नसक्ने तर्कसमेत गरे तर कम्युनार्डहरूको महान् गौरवगाथा हिजो, आज र भोलि अर्थात् अनन्तसम्म प्रज्वलित भैरहनेछ– जबसम्म मानव समुदाय वैज्ञानिक समाजवादी–साम्यवादी युगमा प्रवेश गर्नेछैन ।

सन् १९१७ को रुसी अक्टोबर क्रान्तिको वरिपरिसम्म पुग्दा संशोधनवादले माक्र्सवादका सार्वभौमिक सत्यलाई खण्डन गर्न सकेन । फलतः संशोधनवादले माक्र्सवादलाई स्वीकारेको स्वाङ गर्दै तत्कालीन अक्टोबर क्रान्तिका नायक भीआई लेनिन र उहाँद्वारा अगाडि सारिएको आमसशस्त्र विद्रोहको कार्यदिशााका विरुद्ध भीषण हमला गर्न पुगे । त्यसका विरुद्ध भीआई लेनिन र जेबी स्टालिनको संयुक्त नेतृत्वमा माक्र्सवादको रक्षा र विकास गर्दै कठोर विचारधारात्मक सङ्घर्षको बीचबाट संशोधनवादलाई उठ्नै नसक्ने गरि धराशायी बनाइयो । चीन, कोरिया, भियतनाम, क्युबालगायत पूर्वी युरोपमा सम्पन्न भएका समाजवादी–जनवादी क्रान्तिसम्म पुग्दा संशोधनवादले माक्र्सवाद–लेनिनवादलाई आत्मसात गरेको नौटङ्की गर्न पुग्यो । संशोधनवादका विरुद्ध समकालीन अन्तर्राष्ट्रिय कम्युनिस्ट नेताहरू, त्यसमा पनि मुख्यतः कमरेड माओ त्सेतुङको नेतृत्वमा सञ्चालन गरिएको महान् सर्वहारा सांस्कृतिक क्रान्तिसम्म पुग्दा संशोधनवादलाई चौतर्फी नाङ्गेझार पारियो । आज संशोधनवादले फेरि विश्वव्यापी रूपमा लाज–घिन पचाएर आफूलाई सर्वाङ्ग नाङ्गा रूपमा प्रस्तुत गर्दै सर्वहारा–श्रमिक जनतालाई भ्रम दिएर आफ्नो राजनीतिक उद्देश्य पूरा गरिरहेको छ । इतिहासदेखि वर्तमानसम्म राजनीतिक–सैद्धान्तिक तथा दार्शनिक रूपले कम्युनिस्टहरूसँग केवल पराजय मात्र बेहोर्दै आइरहेको संशोधनवादलाई आजका मालेमावादी कम्युनिस्टहरूले निर्ममतापूर्वक राजनीतिक–सैद्धान्तिक तथा दार्शनिक रूपले धज्जी उडाउँदै कम्युनिस्ट श्रेष्ठता कायम गर्नुपर्ने आवश्यकता पैदा भएको छ ।

राजनीतिक–सैद्धान्तिक तथा दार्शनिक रूपले संशोधनवाद र वर्गसङ्घर्षका दृष्टिले प्रतिक्रियावादी पुँजीवादका विरुद्ध आफ्नो वैचारिक र भौतिक श्रेष्ठता कायम गरेर मात्र कम्युनिस्ट पार्टीले आफ्नो महान् समाजवादी–साम्यवादी लक्ष्य–उद्देश्य हासिल गर्न सक्छ । त्यसप्रकारको कम्युनिस्ट पार्टी निर्माणका बारेमा आज मालेमावादी कम्युनिस्टहरूका बीचमा विश्वव्यापी सैद्धान्तिक र राजनीतिक रूपमा आमबहस चलिरहेको छ । कम्युनिस्ट पार्टीको निर्माणमा माक्र्स, लेनिन, माओ, गोन्जालो हुँदै आजको हाम्रो परिवेशसम्म पुग्दा प्रचुर अनुभव तथा ज्ञानहरू पनि हासिल गरिएका छन् । ती प्रचुर अनुभव तथा ज्ञानहरूलाई प्रस्थानबिन्दु बनाउँदै आजको सन्दर्भमा नयाँ ढङ्गको कम्युनिस्ट पार्टी निर्माण गर्नुपरेको छ । शास्त्रीय अध्ययनको क्षेत्रबाट मात्र नभई संशोधनवाद र पुँजीवादका विरुद्ध शक्तिशाली ज्वारभाटा सिर्जना गर्दै आजको दुनियाँमा समाजवादी–साम्यवादी क्रान्तिको नयाँ लहर सिर्जना गर्ने कम्युनिस्ट पार्टी कसरी निर्माण गर्न सकिएला त ? यसबारेमा हामी मालेमावादी कम्युनिस्टहरूले गम्भीरतापूर्वक विचार–विमर्श गर्नुपरेको छ । यहाँ मालेमावादी कम्युनिस्ट पार्टी निर्माणको आमबहसमा सहयोग पुर्याउने उद्देश्यले यो आलेख तयार गरिएको छ ।

संशोधनवादका विरुद्ध समकालीन अन्तर्राष्ट्रिय कम्युनिस्ट नेताहरू, त्यसमा पनि मुख्यतः कमरेड माओ त्सेतुङको नेतृत्वमा सञ्चालन गरिएको महान् सर्वहारा सांस्कृतिक क्रान्तिसम्म पुग्दा संशोधनवादलाई चौतर्फी नाङ्गेझार पारियो । आज संशोधनवादले फेरि विश्वव्यापी रूपमा लाज–घिन पचाएर आफूलाई सर्वाङ्ग नाङ्गा रूपमा प्रस्तुत गर्दै सर्वहारा–श्रमिक जनतालाई भ्रम दिएर आफ्नो राजनीतिक उद्देश्य पूरा गरिरहेको छ ।

पहिलो : मालेमावाद र पार्टीको नयाँ संश्लेषणहरूको गहिरो अध्ययन र तिनको प्रयोग मालेमावाद समाजविज्ञानका क्षेत्रमा सर्वहारा–श्रमिक वर्गको राज्यसत्ताको स्थापना र त्यसको सञ्चालन गर्ने मामिलामा एउटा सार्वभौमिक सिद्धान्तका रूपमा स्थापित विज्ञान हो । यसका आधारभूत सैद्धान्तिक प्रस्थापनाहरू वर्गसङ्घर्ष, सशस्त्र सङ्घर्ष, सर्वहारा अधिनायकत्व र सर्वहारा अन्तर्राष्ट्रियतावादमा आधारित रहेको छ । आदिम साम्यवादी युगबाहेक दासयुगदेखि आधुनिक पुँजीवादी युगसम्म आइपुग्दा मानवसमाज दुई वर्ग–पुँजीपति वर्ग रसर्वहारा–श्रमिक वर्गका रूपमा विभाजित रहँदै आएको छ । पुँजीपति वर्गको राजनीतिक उद्देश्य पुँजीको अधिकतम विकास गर्दै मानवसमाजलाई पुँजीवादमा पुर्याउनु रहेको छ भने सर्वहारा–श्रमिक वर्गको राजनीतिक उद्देश्य मानवसमाजलाई वैज्ञानिक समाजवाद–साम्यवादमा पुर्याउनु रहेको छ । यी दुई वर्गका आ–आफ्ना विपरीत सैद्धान्तिक विचारधारा र विश्वदृष्टिकोणहरू हुन् । वर्गीय समाजको उत्पत्तिदेखि यी दुई वर्गका बीचमा विभिन्न प्रकारका सङ्घर्षहरू हुँदै आए पनि मूलतः कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सले सन् १८४८ मा कम्युनिस्ट घोषणापत्रको प्रकाशन गरेयता सर्वहारा–श्रमिक वर्गद्वारा सञ्चालन गरिने वर्गसङ्घर्षले नयाँ मूल्य–मान्यता स्थापित गर्न पुग्यो । त्यो मान्यता भनेको समाजमा रहेका दुई विपरीत वर्गहरूका बीचमा निरन्तर चलिरहने वर्गसङ्घर्षमा सर्वहारा–श्रमिक वर्गले सत्तासीन पुँजीपति वर्गलाई सशस्त्र सङ्घर्ष अर्थात् बल प्रयोगको सिद्धान्तद्वारा पराजित गरी आफ्नो राज्यसत्ता स्थापना गर्नु पर्दछ भन्ने सैद्धान्तिक मान्यता स्थापित हुन पुग्यो । त्यसयता सत्तासीन पुँजीपति वर्ग र सर्वहारा–श्रमिक वर्गका बीचमा ठूलठूला सत्ता सङ्घर्षका छिनाझप्टीहरू विकास भएका छन् । पेरिस कम्युन, रुसी अक्टोबर क्रान्ति, चीन, भियतनाम, कोरिया, क्युबा र पूर्वीयुरोपका देशहरूसम्म पुग्दा भूगोल र जनसङ्ख्याको दृष्टिले झन्डै आधा भूभागमा सशस्त्र सङ्घर्षद्वारा सर्वहारा–श्रमिक वर्गको वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापना हुन पुग्यो । ती समाजवादी सत्ताहरू सर्वहारा वर्गको अधिनायकत्वको प्रयोगको अभाव, समाजवादी सत्ता सञ्चालनसम्बन्धी अनुभवको कमी, सत्ताको नेतृत्व गर्ने कम्युनिस्ट पार्टीहरूमा विकास भएको पुँजीवादी विश्वदृष्टिकोण र पुँजीवादी विश्वव्यवस्थाको चौतर्फी घेराबन्दीका कारण टिक्न सकेनन् तर यो मालेमावादी विज्ञानको अस्थायी पराजय मात्र हो किनकि समाजमा विद्यमान दुई वर्गहरूका बीचमा चल्ने वर्गसङ्घर्षहरू हारजितको लामो शृङ्खला पार गरेर मात्र सम्भव हुने गर्दछन् । आज मालेमावादको सान्दर्भिकता र आवश्यकता विगत इतिहासको तुलनामा कैयौँ गुणा बढेर गएको छ । यो विज्ञानको स्पष्ट मान्यता र दाबी छ– मानवसमाजको सुख, शान्ति र समृद्धिका लागि पुँजीवादी विश्वव्यवस्थाबाट कुनै पनि अर्थमा सम्भव छैन । तसर्थ पुँजीवादी विश्वव्यवस्थालाई बलपूर्वक विघटन गरेर स्थापना गरिने वैज्ञानिक समाजवाद–साम्यवादको स्थापनावाट मात्र सम्भव छ ।

आज पुँजीवादले आफूलाई उत्तरसाम्राज्यवादमा विकास गरेको छ र आफ्नो पुँजीवादी विश्वववस्थाको रक्षा र सुदृढीकरणका लागि सर्वहारा–श्रमिक वर्गको विज्ञान मालेमावादका विरुद्ध विभिन्न षड्यन्त्रकारी सिद्धान्तहरूको संश्लेषण गरेको छ । पुँजीपति वर्गको षड्यन्त्रकारी सिद्धान्तलाई परास्त गर्न मात्र होइन, बरु आजको विश्वमा सूचना–सञ्चार तथा विज्ञान–प्रविधिको अभूतपूर्व क्रान्ति, विश्वव्यापी मानवीय सम्बन्ध र समाजको चरित्रमा आइरहेको परिवर्तनले मालेमावादी विज्ञानमा नयाँ विकासको अपरिहार्यतालाई व्यक्त गरेको छ । कुनै पनि विज्ञानले आफ्नो विकासप्रक्रियामा अनिवार्य चुनौतीका रूपमा उपस्थित हुने यान्त्रिकता र जडताका विरुद्ध विजय हासिल गरेर मात्र सफलता प्राप्त गर्नसक्छ । यसर्थमा मालेमावादी विज्ञान अथवा सामाजिक विज्ञानको विकासमा पनि यान्त्रिकता र जडताका विरुद्ध विजय हासिल गरेर मात्र वैज्ञानिक समाजवादी–साम्यवादी क्रान्तिको विजय सुनिश्चित गर्न सकिन्छ ।

हरेक प्रतिकूलताहरूलाई अनुकूलतामा बदल्ने, वर्गीय समाजका हरेक अन्तरविरोधहरूलाई सञ्चालन र परिचालन गर्ने र उज्ज्वल भविष्यका लागि वर्गसङ्घर्षका कठोर र लामो यात्राका लागि कदम चाल्ने मालेमावादी विज्ञानका अन्तरवस्तुहरू हुन् । यो विज्ञानको अध्ययन र आत्मसातीकरणले मात्र कम्युनिस्ट पार्टीका हरेक नेता/कार्यकर्ताहरूलाई समाज विज्ञान, राज्यसत्ताको परिवर्तन र मानव जातिको स्थायी सुख, शान्ति र समृद्धिका लागि समर्पित तुल्याउन मार्गनिर्देशन गर्दछ ।

हाम्रो पार्टीको स्थापना भएको सात दशक बितिसकेको छ । यसबीचमा कम्युनिस्ट पार्टीभित्र कम्युनिस्ट र गैरकम्युनिस्ट विचार–प्रवृत्तिका बीचमा थुप्रै सैद्धान्तिक सङ्घर्षहरू तथा सामन्तवाद र संसदीय प्रतिक्रियावादी व्यवस्थाका विरुद्ध थुप्रै बलिदानीपूर्ण सङ्घर्ष र युद्धहरू सञ्चालन गरिएका छन । पछिल्लोपटक नेपालमा सञ्चालन गरिएको जनयुद्ध एउटा ऐतिहासिक र युगान्तकारी परिघटनाका रूपमा स्थापित हुन पुगेको छ । विजयउन्मुख जनयुद्धका तत्कालीन नेताहरूमा देखापरेको गैरकम्युनिस्ट विचार–प्रवृत्तिका कारण नेपाली कम्युनिस्ट आन्दोलनले ठूलो धक्का खान पुगेको छ । यसप्रकारको गैरकम्युनिस्ट विचार–प्रवृत्तिका विरुद्ध भीषण विचारधारात्मक सङ्घर्ष र दुईपल्टको पार्टी फुट र पुनर्गठनपछि पहिलोपल्ट हाम्रो पार्टी नेपाली क्रान्तिको नयाँ कार्यदिशा (एकिकृत जनक्रान्तिको कार्यदिशा) को संश्लेषण र प्रयोगसहित अगाडि बढिरहेको छ । नेपाल कम्युनिस्ट पार्टी परम्परागत कार्यदिशा र कम्युनिस्ट स्कुलिङबाट आफूलाई मुक्त गरेर मालेमावादको विकासका रूपमा नयाँ वैचारिक स्कुल खडा गर्दै वैज्ञानिक समाजवादी–साम्यवादी क्रान्तिको महान् यात्रामा अघि बढिरहेको छ । हाम्रो पार्टीको आठौँ महाधिवेशनले मालेमावादको रक्षा र विकासका रूपमा दर्शन, विचार–राजनीति, सङ्गठन, अर्थराजनीति र संस्कृतिका क्षेत्रमा नयाँ संश्लेशनहरू अगाडि सारेको छ । (हेर्नुहोस्, नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनको राजनीतिक प्रतिवेदन– २०७३) । पार्टीको यो संश्लेषण विगतमा सर्वहारा–श्रमिक वर्गद्वारा सशस्त्र क्रान्तिको माध्यमद्वारा स्थापना गरिएका समाजवादी सत्ताहरू र ती समाजवादी सत्ताहरूमा भएका प्रतिक्रान्तिहरूका अमूल्य शिक्षाहरू, साम्राज्यवादद्वारा सर्वहारा–श्रमिक वर्गका विरुद्ध विकास गरिएका षड्यन्त्रकारी सिद्धान्तहरू, विज्ञान–प्रविधि तथा सूचना–सञ्चारका क्षेत्रमा भएको अभूतपूर्व क्रान्ति र मानवसमाजको विकास एवम् त्यसले विकास गरेको मानवीय चरित्र र सम्बन्धहरू, हाम्रो आफ्नै जीवनकालमा प्रचण्ड–बाबुरामको नेतृत्वमा भएको आत्मसमर्पण र गद्दारीका कारण झेल्नुपरेको अकल्पनीय प्रतिक्रान्तिको पृष्ठभूमिमा मालेमावादको रक्षा र विकास गर्दै वैज्ञानिक समाजवाद–साम्यवादको महान् लक्ष्यमा मानव जातिलाई कसरी पुर्याउन सकिन्छ भन्ने दूरगामी र ऐतिहासिक महत्वको विषयसँग अन्तरसम्बन्धित रहेको छ । वस्तुगत र आत्मगत परिस्थितिको यो जटिलता र अवसरलाई सचेततापूर्वक परिचालन गरेर मात्र कम्युनिस्ट पार्टीले आफ्ना लक्ष्य–उद्देश्यहरू हासिल गर्न सक्छ । विगतमा विभिन्न सङ्घर्ष र युद्धको नेतृत्व गरेका एकथरी नेता तथा कार्यकर्ताहरू वर्तमान विश्वपरि स्थितिलाई प्रतिकूल मात्र देख्छन् र क्रान्तिलाई असम्भव देख्छन् । त्यसप्रकारको प्रवृत्तिले सारतः अवसरवाद र आत्मसमर्पणवादका समस्याहरूलाई मात्र व्यक्त गर्दछ जसले समाजविज्ञानका क्षेत्रमा मालेमावादी विज्ञानको महत्व र त्यसको प्रयोग गर्ने मामिलामा अज्ञानता मात्र व्यक्त गरिरहेको हुन्छ । हरेक प्रतिकूलताहरूलाई अनुकूलतामा बदल्ने, वर्गीय समाजका हरेक अन्तरविरोधहरूलाई सञ्चालन र परिचालन गर्ने र उज्ज्वल भविष्यका लागि वर्गसङ्घर्षका कठोर र लामो यात्राका लागि कदम चाल्ने मालेमावादी विज्ञानका अन्तरवस्तुहरू हुन् । यो विज्ञानको अध्ययन र आत्मसातीकरणले मात्र कम्युनिस्ट पार्टीका हरेक नेता/कार्यकर्ताहरूलाई समाज विज्ञान, राज्यसत्ताको परिवर्तन र मानव जातिको स्थायी सुख, शान्ति र समृद्धिका लागि समर्पित तुल्याउन मार्गनिर्देशन गर्दछ । वैज्ञानिक समाजवाद–साम्यवादमा यात्रारत हरेक कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताहरूले मालेमावादी विज्ञान र नेपाल कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनद्वारा गरिएको खोज, अध्ययन र नयाँ संश्लेषणहरूको गहिरो अध्ययन, तिनको आत्मसातीकरण र प्रयोग गर्नुपर्दछ । क्रमश…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :