नेपालका बौद्धिकहरूबीच जनगणतन्त्र कोरियाली समाजवादको चर्चा

नेपालका बौद्धिकहरूबीच जनगणतन्त्र कोरियाली समाजवादको चर्चा

धुलिखेल (काभ्रे) : नेपालका बौद्धिक क्रान्तिकारीहरूले जनगणतन्त्र कोरियाली समाजवाद, किम इल सुङ प्रतिपादित जुछे विचार र जनगणतन्त्र कोरियाले साम्राज्यवादविरुद्ध सङ्घर्षकै क्रममा गरेको विकासको परिचर्चा गरेका छन् । नेपाल–कोरिया लेखक/पत्रकार मञ्चको आयोजनामा धुलिखेलमा आयोजित ‘समाजवाद, जनगणतन्त्र कोरिया र साम्राज्यवादविरुद्ध सङ्घर्ष’ विषयक विचारगोष्ठीका सहभागीहरूले क्रान्तिकारी कम्युनिस्टहरूका लागि कोरियाली समाजवाद र जुछे विचार स्वतन्त्रता र समानताका लागि एउटा मार्गदर्शक भूमिका निर्वाह गरिरहेको सफल मुलुकको उदाहरण रहेको बताएका हुन् ।

‘समाजवाद, जनगणतन्त्र कोरिया र साम्राज्यवादविरुद्ध सङ्घर्ष’ शीर्षक कार्यपत्र प्रस्तुत गर्दै नेकपा (बहुमत) का संयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले विश्वमा जनगणतन्त्र कोरिया एक मात्र सार्वभौम र स्वतन्त्र राष्ट्र रहेको बताए । ‘स्वतन्त्र समाजवादी कोरिया संसारमा लालझन्डा देखाइरहेको छ र स्वतन्त्रता र समानताका लागि लागि प्रेरित गरिरहेको छ’, उनले भने । यसका लागि मार्क्सवाद–लेनिनवाद र किम इल सुङको जनतामा निर्भर विचार आधार रहेको उनले बताए ।

नेपालमा पनि दलाल पुँजीवादका विरुद्ध जनतामा निर्भर रहेर वैज्ञानिक समाजवादी क्रान्ति सम्पन्न गर्नुपर्ने प्रमुख अतिथि कञ्चनको धारणा थियो । यसका लागि दलाल पुँजीवादका साथै संसदीय संशोधनवादका विरुद्ध पनि निरन्तर लड्नुपर्ने उनको भनाइ थियो ।

नेकपा (बहुमत) का प्रवक्ता एवम् नेपाल–कोरिया लेखक/पत्रकार मञ्चका संरक्षक हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले सच्चा समाजवादीहरूले जनगणतन्त्र कोरियाबाट सिक्नुपर्ने र समाजवाद स्थापना गरी त्यसको प्रयोग, रक्षा र विकास गर्नुपर्ने बताए । उनले भने, ‘संसारको कुनै पनि कम्युनिस्ट–समाजवादीले अर्को देशको समाजवादका बारेमा चर्चा र बहस गर्नसक्छ । समाजवाद स्थापना गरौँ भन्ने नारा लगाउन सक्छ । त्यसमा कोही पनि तर्सिनु र आत्तिनु पर्दैन ।’

दुनियाँभरका साम्राज्यवादी वैरीहरू जनगणतन्त्र कोरिया र समाजवादलाई अप्ठ्यारो पार्न लागिरहेको समयमा संसारभरबाट समाजवादको अपरिहार्यताबारेमा चर्चा, बहस र छलफल हुनु आवश्यक रहेको उनको भनाइ थियो । उनले भने, ‘हामी पनि समाजवादी हौँ । सच्चा समाजवादीले समाजवादका पक्षमा चासो राख्नु र साम्राज्यवादविरुद्ध लड्नु, भाइचारा कायम गर्नु आवश्यक छ । जनगणतन्त्र कोरिया हाम्रो आदर्शभूमि हो ।’

जनगणतन्त्र कोरियाका राजदूत जो योङ मानले कोरियाले जापानी र अमेरिकी साम्राज्यवादविरुद्ध गरेको सङ्घर्षदेखि अहिलेसम्म समाजवादका पक्षमा गरिरहेको प्रतिरोध सङ्घर्षका बारेमा चर्चा गरे । नेपाल र नेपाली जनताबाट प्राप्त साथ र सहयोगले जनगणतन्त्र कोरियालाई ढाडस मिलेको पनि उनले बताए । नेकपा (बहुमत) का संयोजक कञ्चनबाटै कोरियाली जनताले स्थापना र विकास गरेको समाजवादका पक्षमा यति गहन कार्यपत्र प्रस्तुत हुनु र सम्पूर्ण वक्ताले समर्थन गर्नु अत्यन्त सुखद रहेको भन्दै उनले नेपाल–कोरिया लेखक/पत्रकार मञ्चको सराहना पनि गरे ।

नेकपा (बहुमत) का संयोजक कञ्चनद्वारा प्रस्तुत कार्यपत्रमाथि धारणा राख्दै नेपाल–कोरिया मैत्री सङ्घका अध्यक्षसमेत रहेका नेकपा (माले) का महासचिव एवम् पूर्वउपप्रधानमन्त्री सीपी मैनालीले हरेक मुलुकका क्रान्तिहरू मौलिक र विशिष्ट हुने तर एकअर्काबाट प्रभावित भने हुने बताए । झापा विद्रोह गर्दा आफूहरू पनि चिनियाँ क्रान्ति र नक्सलबाडी विद्रोहबाट प्रभावित रहेको इतिहास स्मरण गर्दै नेता मैनालीले जनगणतन्त्र कोरियामा किम इल सुङ, किम जोङ इल र किम जोङ उनको सही विचार र नेतृत्वका कारण समाजवादको विकास र रक्षा सम्भव भएको बताए । उनले भने, ‘तर्साउने साम्राज्यवादलाई दृढतापूर्वक प्रतिरोध गर्ने हो भने साम्राज्यवाद झुक्छ र भाग्छ भन्ने उदाहरण जनगणतन्त्र कोरिया नै हो । जनगणतन्त्र कोरियाले देश र व्यवस्थाको रक्षाका लागि विकास र विस्तार गरेको आणविक शस्त्रास्त्रका कारण यो देशलाई आणविक हतियार सम्पन्न मुलुक घोषणा गर्नुपर्ने बाध्यता सबैलाई आएको छ ।’ नेपालमा पनि राष्ट्रिय जनवादी क्रान्ति सम्पन्न हुनुपर्ने र त्यसबाट समाजवाद स्थापना गर्नुपर्ने नेता मैनालीको धारणा थियो ।

कार्यक्रममा नेपाल–कोरिया मैत्री सङ्घका महासचिव फणिन्द्रराज पन्तले जनगणतन्त्र कोरियाकै विकास र शक्ति सम्पन्नताका कारण साम्राज्यवाद हारको अन्तिम अवस्थामा पुग्न बाध्य भएको बताए ।

इन्टरनेसनल कमिटी टु स्टडी सङ्गुन पोलिसी फर पिसफुल रियुनिफिकेसन अफ कोरियाका अध्यक्ष वसन्त श्रेष्ठले मानिसले पाउरोटीको सुरक्षाका लागि बन्दुक रोज्ने बताए । कोरियाले समाजवादी व्यवस्था र देशका लागि सेना पहिलो नीति अनुसरण गरेको र साम्राज्यवादबाट निरन्तर प्रताडित नेपालजस्ता मुलुकले त्यही नीति अवलम्बन गर्नुपर्ने उनको धारणा थियो ।

नेपाल–कोरिया लेखक/पत्रकार मञ्चका अध्यक्ष अशोक सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीहरूलाई मञ्चका उपाध्यक्ष अग्निराज पौडेल ‘अराप’ ले स्वागत गरेका थिए । उनले कम्युनिस्ट पार्टी स्थापना भएको सात दशक बितिसक्दा पनि समाजवाद स्थापना गर्न नसकेको भन्दै कोरियाबाट सिक्न आग्रह गरे । जुनसुकै आन्दोलन, युद्ध र क्रान्तिमा मूल नेतृत्वले धोका दिएको र आज निर्माण भएको नायक भोलि खलनायकमा पतन भएका कारण देश र जनताले धोका पाइरहेको उनले बताए ।

कार्यक्रमको सञ्चालन नेपाल–कोरिया लेखक/पत्रकार मञ्चकी उपाध्यक्ष अम्बिका चन्दले गरेकी थिइन् । पाहुनाहरूलाई नेकपा (बहुमत) काभ्रेका इन्चार्ज प्रताप र संयोजक कृष्ण सेवाले खादा लगाएर सम्मान गरेका थिए । नेपाल–कोरिया लेखक/पत्रकार मञ्चका तर्फबाट अध्यक्ष सुवेदी, प्रमुख अतिथि कञ्चन र संरक्षक सुदर्शनले राजदूत जो योङ मानलाई जनगणतन्त्र कोरियाका लागि मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि, संरक्षक, मञ्चका अध्यक्ष र राजदूत जो योङ मानको हातबाट मञ्चका संस्थापक पाँचजना (अशोकप्रसाद सुवेदी, पूर्णबहादुर सिंह, अग्निराज पौडेल ‘अराप’, देवीप्रसाद तिम्सिना र मोहनविक्रम बस्नेत) लाई संस्थापक/आजीवन सदस्यता प्रदान गरिएको थियो । त्यसैगरी अध्यक्ष, प्रमुख अतिथि र कोरियाली राजदूतले हेमन्तप्रकाश ओली ‘सुदर्शन’ लाई संरक्षकको प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा अम्बिका चन्द, कालीबहादुर मल्ल (के.बी.), मिलन राई, वीरेन्द्र शाह, नवराज भट्ट, दीपक बिष्ट, मोहनलाल घिसिङ र विष्णुप्रसाद तिमिल्सिनालाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसैगरी सुभाष गजुरेल र ढुण्डीराज अधिकारीलाई मञ्चको सदस्यताको प्रमाणपत्र प्रदान गरिएको थियो । अरू आजीवन सदस्य र सदस्यहरूलाई अर्को कार्यक्रम आयोजना गरी प्रमाणपत्र प्रदान गरिने संस्थाले जनाएको छ ।

कोरियाली समाजवाद र मालेमावादको गहन अध्ययन गरी नेपालमा समाजवादी आन्दोलन/बहस गर्ने र लागू गर्न सहयोग पुर्याउने उद्देश्यसाथ सात वर्षअघि स्थापित संस्थाले समाजवाद र साम्राज्यवादविरुद्धको सङ्घर्ष विषयमा नेपाल, जनगणतन्त्र कोरिया, रुस, चीनलगायत मुलुकमा दर्जनौँ अन्तरक्रिया र गोष्ठीहरू गराइसकेको छ भने कोरियाली समाजवाद सम्बन्धमा पुस्तक/पत्रिका र लेखहरू प्रकाशित गर्दै बौद्धिक बहस सिर्जना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :