‘हामी जित्नेछौँ एक दिन’

अमेरिकी लोकगायक पिट सिगरको बहुचर्चित लोकगीत हो– ‘हामी जित्नेछौँ’ । यसको शीर्षकले नै विषयको ओज र गरिमालाई अभिव्यक्त गर्दछ तर नेपालमा हिजोआज लोकगीत भन्नेबित्तिकै छाडा र अश्लील बुझ्छन् मानिसहरू । सार्वजनिक यातायात वा स्थलहरूमा लोकगीत सुनिसक्नुका हुँदैनन् । अझ आजभोलि भ्युअर्स बढाउन लोकगीतका नाममा लोकगीतकै हुर्मत लिइएको छ । ‘पोइला जान पाम’, ‘मै बिग्रेँ बैँसले’ देखि ‘कोकाकोला’ सम्मका लोकगीतहरू समाजले बेहोर्नुपरिरहेको छ । फ्र्याङ्कफर्ट स्कुलका थिङ्कट्याङ्क ‘थियो डोर अडोर्नो’ र म्याक्स होर्खामरद्वारा ‘कल्चर इन्डस्ट्री’ शब्दावली प्रयोग गरेर सांस्कृतिक अवयव कसरी व्यापारिक वस्तु बन्दैछन् भन्ने सम्बन्धमा गरिएका गहन व्याख्या यहीँनेर सान्दर्भिक हुन आउँछ । लोकगीतका दृश्याङ्कन पनि अत्यन्त भद्दा, नग्नता र चरम विकृतिजन्य हुँदै गएका छन् । लोकदोहोरी र नाइट क्लबहरू विकृति–विसङ्गतिका अखडा बन्दै गएका छन् । आजभोलि ‘कवि बिग्रे समालोचक, गीत बिग्रे लोकगीत’ भने जस्तो परिवेश बनाइएको छ । लोकगीत कति अनुशासनहीन र अमर्यादित बन्दै गएको छ भने अब बिग्रने ठाउँ नै छैन ! गीत–सङ्गीतमा शून्यवादी–उत्तरआधुनिकतावाद कस्तो हुन्छ भन्ने कुरा नेपाली लोकगीत हेरे हुन्छ । लोकगीतको मौलिक जनशैली, जनभावना, जनउद्देश्य र जनआदर्शलाई पूरै ओझेलमा पारिँदैछ । आज लोकगीतमा सिर्जनहीनता, अन्धानुकरण र अराजकता मौलाउँदो छ । अझ यो धार्मिक र रूढिवादको जडतामा नराम्ररी फसेको छ । कैयौँ लोकगीत मरणशील यथार्थको फेरो समाएर रमाइरहेका छन् । यसैले लोकगीतको प्रतिरोधी आदर्श, परिवर्तन र जनमुखी चरित्रको रक्षा गर्ने जिम्मेवारी आज हाम्रो काँधमा आइपुगेको छ । वैज्ञानिक समाजवादको स्थापनार्थ लोकगीतको स्वत्वको पनि रक्षा गर्नु अपरिहार्य छ । यसर्थ लोकगीतलाई जनगीतको पहिचान दिन तथा यसलाई महान् राजनीतिक परिवर्तनको दिशामा निरन्तर डोहोर्याउन यसको ऐतिहासिकता, विधागत अवस्थिति एवम् उदात्तता थाहा पाउन जरुरी छ । सारतः यतिबेला लोकगीत यथार्थवाद, आलोचनात्मक यथार्थवाद हुँदै समाजवादी यथार्थवादतर्फ लम्किरहेको छ । यसको सांस्कृतिक तथा सौन्दर्यात्मक मूल्य छ । प्रस्तुत लेखोट यसैतर्फको सङ्क्षिप्त जमर्को हो ।

मानवजातिले आफ्ना सुख, दुःख र मनोकाङ्क्षालाई भाषिक कलाका माध्यमबाट सुन्दर प्रस्तुति दिँदै आएका छन् । तिनैमध्ये एक हो– लोकगीत । मौखिक परम्परामा आधारित यसलाई आदिम उल्लासमय सङ्गीत पनि भनिन्छ । भावविनिमय भाषाको माध्यमबाट हुन थालेपछि कला–अनुभूतिजन्य अभिव्यक्तिमा तीव्रता आउन थालेको हो । मानिस सामाजिक–सांस्कृतिक चेतनशील प्राणी हो । गीतिचेतनाले मानिसका चेतन–अवचेतन मनोभावनालाई छिटो प्रभावित गर्दछ । मनोभावनाको लयात्मक अभिव्यक्तिका माध्यमबाट लोकगीत जन्मिएको थियो । यसको सम्बन्ध आदिम लोकभावनासित छ । सामवेदलाई गीतिचेतनाको आदिम स्रोत मानिन्छ । श्रुतिपरम्परामा आधारित लोकगीतहरू थप सिर्जनशील र कलात्मक हुँदै अघि बढे । यो विभिन्न चरण पार गरेर आजसम्म आइपुगेको हो । यसलाई प्राकृतिक कविता र जनसमुदायको गीत पनि भनिन्छ । यसलाई समाजले गाउँछ, बचाउँछ र पुस्तान्तरण गर्दछ । यो लोकजीवनको रागात्मक–लयात्मक अभिव्यक्ति हो । लोकगीतका भाका, भाषा, कथ्य, लय, तालजस्ता तत्त्व हुन्छन् । गाउने शैलीलाई भाका भनिन्छ । शैली नै लोकगीतको गायन हो । भाकाहरू फरक–फरक हुन सक्छन् । यसमा लोकले प्रयोग गर्ने भाषा हुन्छ । यो भाषिक अभिव्यक्तिको कला हो । लोकगीतमा भनिने विषय कथ्य हो । यसमा लय अनिवार्य हुन्छ । समयको समान चाललाई लय भनिन्छ । समयको नापलाई ताल भनिन्छ, जुन विभिन्न प्रकारका हुन्छन् । ताली पिट्नु पनि एउटा ताल हो । एकै समयमा उठाउनु र छाड्नु तालको नियम हो । लोकगीतका अभिधा, लक्षणा र व्यञ्जनात्मक अर्थ हुन्छन् । यो मूलतः जनसमुदायद्वारा आर्जित, नवीनीकृत र विस्तारित हुँदै समकालीनतासम्म हस्तान्तरण हुँदै आइपुगेको हो । कतिपय सन्दर्भमा यसलाई ग्राम्यगीत भनिएको पनि पाइन्छ । सूचना, सञ्चार, प्रविधि र अनेकन् भौतिक विकासको वर्तमानमा अब यसलाई ग्राम्यगीत भनिरहनु उपयुक्त हुँदैन । आज गाउँ र सहरको दूरी तीव्र रूपमा कम हुँदैछ । हाम्रा मनमस्तिष्कमा सजिएका गाउँहरू अब प्रायः छैनन् । लोकगीतको परिचय पनि बदलिँदैछ । समकालीनतामा लोकगीतमा बुझ्नुपर्ने पहिलो कुरा यो हो ।

लोकगीतमा वर्गसङ्घर्ष–प्रतिरोध हुन्छ कि हुँदैन भन्नेमा बहस छ । माक्र्सले आदिम साम्यवादी समाजबाहेक आजसम्मको इतिहास वर्गसङ्घर्ष इतिहास हो भन्नुभएको छ । खासमा लोकगीत जनताका प्रतिरोधी चेतना हुन् । दुःखको कुरा के छ भने आजका लोकगीत जनअधीनस्त छैनन् । मानवसभ्यताका अनेकन चरणमा अन्याय, असमानता, विभेदसम्बन्धी चेतनाप्रवाहको लामो इतिहास छ । वर्गसङ्घर्षकै माध्यमबाट चेतनाप्रवाह हुने हो । प्रतिरोध सङ्घर्षबाटै नवीनताको अन्वेषण हुने हो । जसरी घर्षणबिना राप–ताप पैदा हुँदैन; त्यसैगरी प्रतिरोधी सङ्घर्षबिना चेतनधाराको विकास हुँदैन । जनभावना, जनसङ्घर्ष, दमन, परिवर्तन, अग्रगमन, पश्चगमनसम्बन्धी दार्शनिक–बौद्धिक बहसहरू अभिलेखीकृत छन् । थोमस, जोन लक, रुसोजस्ता दार्शनिकहरूले सामाजिक असमानताबारे विचारधारात्मक बहस गरेका थिए । प्रारम्भिक तहका तिनै विचारधारात्मक बहसलाई कार्ल माक्र्सले दार्शनीकृत गर्नुभयो । उहाँले प्रसिद्ध कृति ‘पुँजी’ मार्फत वर्गविभेद र वर्गसङ्घर्षको अजेय शास्त्र तयार पार्नुभयो । सन् १८४८ मा जारी भएको कम्युनिस्ट घोषणापत्र दुनियाँ बदल्ने राँकोमा परिणत भइदियो जसले एक समय विश्वका करिब दुईतिहाइ भूभागलाई लपेटिदियो । यसबाट विश्वभर समाजवादी क्रान्तिको आँधीहुरी सिर्जना भयो । माक्र्सले पुँजीपति वर्ग र श्रमजीवी वर्गको आर्थिक तथा वर्गीय चरित्रको वैज्ञानिक संश्लेषण गर्नुभयो । माक्र्सकृत यो यस्तो सिद्धान्त बन्यो जसलाई आजसम्म कोहीकसैले पनि काट्न सकेका छैनन् । समाजका अन्याय, असमानता, विभेदका विरुद्ध लोकगीतका माध्यमबाट स्रष्टाहरूले आवाज बुलन्द गर्दै आएका छन् । लोकगीतलाई माक्र्सवाद, वर्गसङ्घर्ष र वर्गपक्षधरताका आलोकमा बुझ्नु दोस्रो महत्त्वपूर्ण कुरा हो । हेरौँ केही साक्ष्य :

बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ
लाखौँको लागि उजाड छ यो देश मुट्ठीभरलाई त स्वर्ग छ
… … …
आमा दिदी बहिनी हो, कति बस्छौ दासी भै
सुखको सधैँ प्यासी बनेर
आफ्नै पौरख खान्छन् आफ्नै सीपमा बाँच्छन्
दुःख–कष्ट सहेर सृष्टि यिनले थाम्छन्
असल महान् व्यक्तिहरू यिनैले जन्माउँछन्
ज्ञानगुन बुद्धिहरू यिनैले सिकाउँछन्
तर पनि अँध्यारोमा जीवन बिताउँछन् । (जेबी टुहुरे)
… … …
म लडिरहन्छु मुक्तियुद्धमा
लड्दालड्दै मेरो यो ज्यान गए गैजाला
मेरो प्यारो लालकिल्ला प्यारो जलजला
तिमीसँग गहिरो माया बस्यो जलजला । (चुनु गुरुङ)

कलालाई आर्थिक सम्बन्धले गहिरो पार्दै आएको छ । लोकगीत जनसमुदायको महत्त्वपूर्ण कला हो । माक्र्सवादकै आधारमा विश्वमा साम्यवादी र पुँजीवादी शिविर खडा भए जसका बीचमा चर्को सङ्घर्ष हुँदै आएको छ । दुनियाँमा दुई ध्रुव, दुई विचार, दुई सत्ता, दुई वर्ग अस्तित्वशील छन् । नेपालमा आर्थिक असमानतासम्बन्धी सघन बहस हुँदै आएको छ । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । संस्थापक महासचिव पुष्पलालले राजनीतिक कोणबाट सामाजिक–आर्थिक जीवनको मूल्यलाई उठाउने जमर्को गर्नुभयो । उहाँले कम्युनिस्ट घोषणापत्रलाई अनुवाददेखि नेकपाको पहिलो पर्चा प्रकाशन पनि गर्नुभयो । नेपालमा माक्र्सवादी राजनीतिक–आर्थिक बहसको थालनी गर्ने पहिलो व्यक्ति नै पुष्पलाल हुनुहुन्थ्यो । नेपाल कम्युनिस्ट पार्टीको स्थापना र राणाविरोधी आन्दोलन र त्यसको एक चरणको सफलताले नेपाली समाजमा व्याप्त आर्थिक असमानता र वर्गचेतना थप मुखरित हुँदै गयो । आर्थिक भेदभाव एवम् सामाजिक अन्यायका विरुद्ध अन्तर्राष्ट्रिय गीत–सङ्गीतको क्षेत्रबाट आवाज उठ्न थालेको उहिल्यैदेखि हो । माक्र्सवादी धाराका इटालियन कम्पोजर लुइजी नोनोहरूले गीत–सङ्गीतमार्फत असमानताविरुद्ध आवाज उठाए । अन्तर्राष्ट्रिय स्तरमा यस्ता जनमुखी आवाज उठाउनेहरूको सूची निकै लामो छ । स्वभावै मानिस अन्याय र विभेदका विरुद्ध प्रतिरोध गर्ने हुन्छन्, प्रस्तुतिका शैली मात्र फरक हुन् । नेपालमा असङ्ख्यले राजनीतिक भाकामा अन्याय र असमानता विरुद्धको गीत घन्काएका छन् । जनयुद्धले त्यसमा अझ निखार ल्याएको छ । नेपाली कलाकारहरूले गीत–सङ्गीतमार्फत सामाजिक विभेद, अन्याय र अत्याचारका विरुद्ध सशक्त आवाज दिएका छन् । यी आवाज विद्रोही र प्रतिरोधी चेतनाका प्रतीक हुन् । यिनीहरू वर्गसङ्घर्षका पर्याय हुन् । लोकगीतका सन्दर्भमा हामीले बुझ्नुपर्ने यो तेस्रो महत्त्वपूर्ण कुरा हो । हेरौँ केही साक्ष्य :

कोही त भने जहाजमा हरर
कोही त भने पसिना तरर, हाम्रो नेपालमा
कोहीको घरमा डाक्टरको चाकरी
कोही त मर्छन् अस्पताल नहेरी, हाम्रो नेपालमा । (रामेश–मञ्जुल)
… … …
गाई त बाँध्यो ढुङ्ग्र्रोमा मही छैन
गरिबको चमेली बोल्दिने कोही छैन
रातो भाले धुरीमा करायो, करायो
गरिबको चमेली निसाफै हरायो
धनीलाई धनमाथि धनै छ, धनै छ
गरिबलाई चमेली रिनमाथि रिनै छ । (मञ्जुल)
… … …
मान्छे मान्छे एउटै हो नि फरक किन भो
श्रम चल्छ, सीप चल्छ, पानी नचल्ने भो
बनाउँछौँ हामीले सुन्दर मूर्ति सजिन्छन् मन्दिर महलहरू
बजाउँछौँ हामीले बाजागाजा गुञ्जिन्छन् पाखा पर्वतहरू
कुन्नि किन आज हामीलाई दलित भनी हेंला गर्ने
कुकुरसमेत भित्र पस्दा हामीलाई किन बाहिर रोक्ने ! (पुनित पुन)

कतिपय मान्छेहरू गीत–सङ्गीतमा राजनीति हुनु हुँदैन भन्छन् जुन बिल्कुल बेतुकका कुरा हन् । परिवर्तनकारी खेमाबाट आएका गीतलाई कतिपयले सामाजिक असमानता र वर्गविभेदको आवरणमा राजनीतिक उद्देश्यबाट प्रेरित भन्छन् । आखिर सबै राजनीति त हुन् । माओले यसै राजनीतिलाई शीर्षासनमा राख भन्नुभएको थिएन । राजनीतिक मिसन अत्यन्त स्वाभाविक कुरा हो । यस्ता गीतलाई लोकगीत नमान्नेहरू पनि देखिएका छन् । यिनले जनस्तरमा लोकप्रियता हासिल गरेका छन् । नेपालको जनयुद्धले लोकजीवनमा वर्गचेतनाको उभार ल्याइदिएको कुरा सही हो । वैचारिक नियोजन गरिएको समाजलाई जनयुद्धले रूढिवाद, भाग्यवादमाथि प्रहार गरेकै हो । झन्डै दस हजार वर्षदेखि नेपाली समाजले ‘भाग्यवाद’ को प्रताडना खेपिरहेको छ । ग्राम्सीदेखि लुइस अल्थ्युजरले पनि सामाजिक र धार्मिक उत्पीडनबारे गम्भीर चिन्तन गरेका छन् । राज्यले धार्मिक–सांस्कृतिक जडताका माध्यमबाट नागरिकहरूलाई कुवाको भ्यागुतो बनाइरहेको छ । यद्यपि हरेक कुवाबाटै विद्रोह–प्रतिरोधको बीउ जन्मने गरेको छ । विद्रोहको बीउ उम्रनु भनेको दमनकारी शासकका लागि शूल बन्नु पनि हो । नेपाली समाज पनि लामो समयदेखि धार्मिक तथा सांस्कृतिक जडतामा रहनाले नेपाली लोकजीवनको आलोचनात्मक चेत तुलनात्मक रूपमा तिखो नदेखिएको कुरा साँचो हो । जनयुद्धले त्यसलाई तिखो पार्न ठूलो काम गरेको छ । नेपाली समाजमा वर्गीय र सांस्कृतिक विभेदका विरुद्ध लोकगीतका माध्यमबाट सशक्त आवाज उठ्न थालेको छ । लोकगीतको यो उचाइलाई जनयुद्ध र सबै किसिमका वर्गसङ्घर्षको उच्चता मान्नुपर्दछ । यद्यपि नेपाली लोकगीतमा साङ्केतिक अलि बढी र आक्रामकता अलि कम रहँदै आएको छ । पछिल्ला चरणमा लोकगीतमा सामाजिक असन्तुष्टि र वर्गविभेदको प्रसङ्ग अलि बढी मुखर हुन थालेका छन् । यसलाई अझै प्रखर तुल्याउनु आजको आवश्यकता हो । लोकगीतका सम्बन्धमा हामीले बुझ्नुपर्ने यो चौथो महत्त्वपूर्ण कुरा हो । हेरौँ केही साक्ष्य :

डाँडामाथि जुन झुल्किँदा सम्झन्छु म उनलाई
गर्जेर मेघ चट्याङ पर्दा सम्झन्छु बेथानलाई
उडेर आउने चरीको हुल लाग्छ बेथानतिर उड्दैछ
सुसाउँदै खोला बगेको देख्दा लाग्छ चौँरी रुँदैछ
ऐय्या नि बाबा भनेको सुन्दा लाग्छ बेथानमा कोही ढल्दैछ
दन्किँदै आगो बलेको देख्दा लाग्छ बेथान जल्दैछ । (माइला लामा)
… … …
पूर्व बग्ने गण्डकी, पश्चिम बग्ने भेरी
सङ्घर्ष अपूरो भयो, लड्नुपर्छ फेरि
जुम्लाकी जुम्लेली आमै, काम्ली बन्देऊ चौक्या
देशको दुर्दशा हेर्दै, बस्न सक्या छौक्या । (मनोहर लामिछाने)

लोकगीत जनगीतका आधार हुन् । जनगीत जनसंस्कृतिका शक्ति हुन् । यसको शक्ति अथाह हुन्छ । जब लोकगीत ज्वालामुखी भई विस्फोट हुन्छ, तब हुन्छ उथल–पुथल । लोकगीतमा उथल–पुथल ल्याउने तागत हुन्छ जसलाई आवाजविहीनहरूको आवाज पनि भनिन्छ । लोकगीतकै कारण कैयौँ शासक सत्ताबाट झारिएका छन् । आन्दोलन–क्रान्तिका उभार ल्याउन गीतले धेरै महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । जनताका गायक र जनगीतको स्थान निकै माथि छ । प्रतिरोध माक्र्सवादी शिविरको कुरा मात्रै होइन, यो बुर्जुवाहरूको आफ्नै शिविरभित्र पनि हुँदै आएको देखिन्छ । कहिलेकहीँ शासकीय मूलधारकै गीतकारहरूले पनि शासकविरुद्ध गीतका माध्यमबाट प्रतिरोध गर्ने गरेका छन् । त्यस्ता गीतले शासकहरूलाई हैरानी बनाउने पनि गरेको छ । नेपालमा एउटा यस्तो गीत यति चर्चित भयो कि यसलाई तत्कालीन ओली सरकारले प्रतिबन्ध नै लगाउनुपर्यो । पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ गीतले ओली सरकारलाई बेस्सरी हल्लाइदिएको थियो । राष्ट्रघाती तथा जनघाती शासकका विरुद्धका त्यस्ता गीतिआवाज प्रतिरोधी चेतनाको राँको हुन् । लोकगीतका सम्बन्धमा हामीले बुझ्नुपर्ने यो पाँचौँ महत्त्वपूर्ण कुरा हो । हेरौँ एक साक्ष्य :

लुट्न सके लुट् कान्छा, लुट्न सके लुट्
अरू देशमा पाइँदैन, नेपालमै हो छुट्
डाक्टरले नि जागिर यहाँ सरकारी कोटामा खान्छ
बिरामी जाँच्न फेरि क्लिनिकतिर तान्छ
हाम्रा गामको अर्को भाइले सुब्बामा जागिर खायो
दुई वर्षमै घर ठड्यायो, कहाँबाट पैसो आयो ?
… … …
गणतन्त्र ल्यायौँ भन्छन्, फाल्यौँ भन्छन् राजा
त्यै फालेका राजाजस्ता कैयौँ निस्के आज
जनताको मुटुभित्र काँडा कति कति
डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति ।

पिट सिगर जनसरोकारका गायक थिए । उनका अधिकांश गीतहरू शोषित, उत्पीडित, श्रमजीवी तथा मुक्तिकामी जनताका पक्षमा थिए । साम्राज्यवादी अमेरिकामा सिगरको गीत रेकर्डिङ कम्पनी पनि दुस्मन बन्यो । प्रतिक्रियावादी सत्ताले उनलाई कम्युनिस्टको आरोप लगाएर जेल हाल्यो । उनको गीत ‘हामी जित्नेछौँ एक दिन’ ले जनतालाई एक न एक दिन जित्ने आशा, आत्मविश्वास र ऊर्जा दिएको छ । यो गीत चियादोकान, कारखाना, भान्साकोठा, बाटाघाटा, जनसभा र युद्धमैदानमा पुगेको छ । सिगरको प्रतिरोधको स्वर यो जनतालाई पीड़ाको कारण खोज्ने, जनविरोधी व्यवस्थाविरुद्ध हाकाहाकी प्रश्न गर्ने, जनतालाई दुःख दिनेको कठालो समात्ने, शोषण र दमनविरुद्ध प्रतिरोधको आवाज घन्काइदिने जनताका प्रिय हतियारका रूपमा स्थापित छ । लोकगीतमा त्यो शक्ति हुन्छ जसले मन जित्न, विचार फेर्न र अन्यायी शासन पल्टाइदिन्छ । सिगरले आफ्ना विश्व थर्काउने गीतलाई मात्र बेन्जोको कम्पनसँग गाउँथे जुन आवाज सुनेर श्रमजीवी जनता आनन्दले निदाउँथे । तर प्रतिक्रियावादी शासकहरूको निद्रा गायब हुन्थ्यो । वास्तवमा असली लोकगायकहरू भविष्यद्रष्टा, स्वप्नद्रष्टा र जनसैनिक हुन् । हामी बेलाबेलामा सांस्कृतिक आलोकका झरिला कुरा गरिरहेका हुन्छौँ । यसले असल सांस्कृतिक पीठिकाको काम पनि गरिरहेको हुन्छ । लोकगीतले नयाँ भावना, विचार र मान्छेहरूलाई जन्माउँछ । एकपटक तत्कालीन अमेरिकी राष्ट्रपति बिल क्लिन्टनले भनेका थिए, ‘सिगरसँग राज्यलाई डर हुन्छ किनभने तिनी जे देख्छन् त्यही सोझै गाइदिन्छन् ।’ अन्त्यमा प्रस्तुत छ, सिगरको चर्चित गीतांश :

we shall over come, we shall overcome

we shall overcome some day

oh deep in my heart, i do believe

We shall over come some day

(हामी जित्नेछौँ, हामी जित्नेछौँ
हो हो हृदयदेखि विश्वास गर्छौं
हामी जित्नेछौँ एक दिन) ।

३ साउन, २०७९

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :