नेकपाद्वारा बिरामी कुरुवा प्रतीक्षालय शिलान्यास

नेकपाद्वारा बिरामी कुरुवा प्रतीक्षालय शिलान्यास

दाङ : नेकपा दाङले आज कोरोना विशेष अस्पताल बेलझुन्डीमा बिरामी कुरुवा प्रतीक्षालय शिलान्यास गरेको छ । प्रतीक्षालयको शिलान्यास प्रमुख अतिथि नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शीतल वलीले गरेका थिए ।

शिलान्यास कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि वलीले नेपालमा वैज्ञानिक समाजबाद स्थापना गर्नुको कुनै अर्को विकल्प नरहेको बताए । उनले नेपाली जनता र नेपाल राष्ट्रको रक्षाका निम्ति वैज्ञानिक समाजवाद नै अहिलेको निःसर्त आवश्यकता रहेको पनि बताए । उनले कोरोनाका विरुद्ध राज्यले प्रचारको काम गरे पनि मूलभूत रूपमा जनताप्रति उत्तरदायी नभएको धारणा राखे । जनताको जीवनरक्षालाई बेवास्ता गर्दै राज्यले सत्ता लुछाचुँडीको बेमौसमी बाजा बजाइरहेको उनको भनाइ थियो ।

उनले बिरामीलाई उपचारमा सहयोग पुर्याउने उद्देश्यले प्रतीक्षालय निर्माण गर्न लागिएको बताए । उनले प्रतीक्षालय निर्माण पार्टीको योजना र जनताप्रति उत्तरदायी व्यवसायीहरूको सहयोगमा निर्माण भइरहेको पनि बताए । उनले सम्पूर्ण नेता–कार्यकर्तालाई पार्टीको लक्ष्य र योजनाअनुसार एक साताभित्र निर्माणकार्य सम्पन्न गर्न निर्देशन दिए ।

कार्यक्रममा मन्तव्य राख्दै अतिथि राप्ती प्रादेशिक अस्पतालका अध्यक्ष पदम न्यौपानेले बिरामीका आफन्तलाई आश्रयस्थलका रूपमा निर्माण हुने प्रतीक्षालयले कोरोनाविरुद्धको लडाइँमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । उनले प्रतीक्षालय निर्माण गर्ने कार्यको खुलेर प्रशंसा गर्दै नेकपालाई धन्यवाद दिए ।

शिलान्यास कार्यक्रममा बेपत्ता योद्धा परिवार समाजका केन्द्रीय अध्यक्ष सुन्दर, नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला सेक्रेटरी प्रदीप वली, युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य तिलक योगी र वीरेन्द्र विक, नेकपा दाङ जिल्ला सदस्य मदन केसी, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घका केन्द्रीय सदस्य डिल्ली वली, मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंह, कोरोना विशेष अस्पताल बेलझुन्डीका व्यवस्थापक द्रोण वली, संस्कृत विश्वविद्यालय कर्मचारी व्यवस्थापक विनय पोख्रेल, तुलसीपुर खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष खेमराज वलीलगायत सहभागी थिए ।

प्रतीक्षालय शिलान्यास कार्यक्रमको सञ्चालन मनोज परियारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :