नेकपा दाङको तुलसीपुरमा राजनीतिक तथा बैचारिक प्रशिक्षण सम्पन्न

नेकपा दाङको तुलसीपुरमा राजनीतिक तथा बैचारिक प्रशिक्षण सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत तुलसीपुर उप–महानगर कमिटीको आयोजनामा तुलसीपुरमा राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

राजनीतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रममा सहभागी प्रशिक्षार्थीहरूलाई प्रशिक्षित गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवम् दाङ जिल्ला इन्चार्ज शितलले अब नेपाली समाज दलालहरूको अधिनमा बस्न नसक्ने बताए । नेता शितलले भने, “अब नेपाली समाज दलालहरूको अधिनमा बस्न सक्दैन किनकि उसको अस्तित्व समाप्त भएको छ ।” नेपालमा फेरि एकपटक जनमतसङ्ग्रहको निर्वाचन गर्नुपर्ने नेता शितलको धारणा थियो । उनले संसदीय व्यवस्थाको विकल्पमा आफ्नो पार्टीले व्यवस्था चुन्ने अधिकार जनतालाई दिन जनमतसङ्ग्रहको एजेन्डा अघि सारेको बताए । संसदीय सरकार विघटन गरि प्रगतिशील सरकार निर्माण गरि जनमतसङ्ग्रह मार्फत व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुनै नेपालमा सबैखाले समस्याको समाधान रहेको नेता शितलको भनाई थियो ।

एक फरक प्रसङ्गमा नेता शितलले एकीकृत जनक्रान्तिमार्फत नेपालमा क्रान्ति सम्भब देखेर प्रतिक्रियावादीहरूले आफ्नो पार्टीलाई प्रतिबन्ध लगाएको बताए । उनले हतियारको बलले बिचारलाई नष्ट गर्न नसक्ने बताए । राज्यलाई ठग्ने एनसेललाई कारवाही गरेको आफ्नो पार्टीको कदम अबैधानिक नभई एनसेल नै अबैधानिक भएको नेता शितलले बताए । नेपाली जनतालाई परनिर्भर बनाउने, सत्ता र कुर्सीका लागि देश नै बेच्न तयार हुने दलाल सत्ताका विरुद्ध आफ्नो पार्टीले निरन्तर सङ्घर्ष गर्ने नेता शितलले स्पष्ट पारे । सरकार र आफ्नो पार्टीबीच भएको तीनबुँदे सहमति कार्यान्वयन गरि नेपालको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक लगायत बिबिध समस्याहरूको समाधान गर्नुपर्ने नेता शितलको आग्रह थियो । उनले तीनबुँदे सहमति कार्यान्वयन नगरे जनताले विद्रोह गर्ने उद्घोष गरे ।

प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै नेकपा बिशेष कमिटी सेक्रेटरी सुन्दरले आफ्नो पार्टीको लोकप्रियता देखेर संसदवादीहरू अत्तालिएको बताए । उनले जनताको माँझमा लोकप्रिय पार्टीलाई प्रतिबन्ध लगाएर दलालहरूले युद्ध चाहेको बताए । आफूहरू खरानी हुने तर दलालहरूसँग झुकेर नबस्ने नेता सुन्दरको भनाई थियो । त्यसैगरी नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिपले प्रगतिशील संयुक्त सरकार, जनमतसङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्नुको विकल्प नरहेको बताए । नेता प्रदिपले कम्युनिस्टलाई अधिनायकवादी र बन्दुके भन्नेहरूलाई जनमतसङ्ग्रहमार्फत जनताको मत लिन तयार रहन चेतावनी दिए । उनले भने, “हामीलाई अधिनायकवादी, बन्दुके भन्नुहुन्छ केही लोकतन्त्रवादीहरू आउनुहोस् व्यवस्था चुन्ने अधिकार जनतालाई दिने जनमतसङ्ग्रहको निर्वाचनमा भिडौँ ।” जनताले संसदीय व्यवस्था कि वैज्ञानिक समाजवादी राज्यव्यवस्था भन्ने बिषयमा हुने जनमतसङ्ग्रहमा अत्याधिक मत वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको पक्षमा दिने नेता प्रदिपको जिकिर थियो ।

प्रशिक्षण कार्यक्रममा तुलसीपुर उप–महानगर अन्तर्गतका वडा इन्चार्जहरूले आफ्नो रिपोर्ट प्रस्तुत गरेका थिए ।

नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला कमिटी सदस्य अमर खड्काको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलको प्रमुख आतिथ्य, नेकपा बिशेष कमिटी सेक्रेटरी सुन्दर, नेकपा दाङ जिल्ला सेक्रेटरी प्रदिप, युवा सङ्गठन नेपालका केन्द्रीय संयोजक पाटन, केन्द्रीय स्कुल बिभाग सदस्य गति, नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा घोराही उप–महानगर इन्चार्ज तिलक, स्कुलिङ बिभाग दाङ जिल्ला प्रमुख रुद्र, नेकपा दाङ जिल्ला सल्लाहकार समिति सदस्य द्वय खड्क वली र मेघराज पाण्डेको आतिथ्य रहेको थियो ।

तुलसीपुर उप–महानगरपालिका स्तरीय राजनैतिक तथा बैचारिक प्रशिक्षण कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टी तुलसीपुर उप–महानगर कमिटी इन्चार्ज बिकाशले गरेका थिए भने सहजीकरण नेकपा दाङ जिल्ला कमिटी सदस्य पोषणले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :