नदीजन्य पदार्थको दोहन बन्द नगरे सङ्घर्ष : नेकपा

नदीजन्य पदार्थको दोहन बन्द नगरे सङ्घर्ष : नेकपा

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले केही भ्रष्ट जनप्रतिनिधि, कर्मचारी र केही व्यवसायीको मिलोमतोमा अवैध नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवा दोहन गर्ने र राष्ट्रिय गौरवको योजनाका नाममा अवैध ढङ्गबाट केही क्रसर उद्योगमा ओसारपसार गर्नेजस्ता कार्य तत्काल बन्द गर्न/गराउन सम्बन्धित निकायलाई अपिल गरेको छ ।

नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विदुरले मङ्गलबार प्रेस विज्ञप्ति जारी गरी जिल्लाका विभिन्न ठाउँका खोलाहरूमा प्राकृतिक स्रोत र साधन दोहनका लागि प्रयोग गरिएका स्काइभेटर/जेसीबी सम्बन्धित धनीलाई तुरुन्तै खोलाबाट हटाउनका लागि समेत विशेष अनुरोध गरेका छन् ।

सेक्रेटरी विदुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लामो समयको लकडाउनका कारण दैनिक ज्यालादारीमा जीवन निर्वाह गर्ने मजदुर तथा श्रमजीवी वर्गको अवस्था थप दयनीय बन्दै गइरहेको छ । यस्तो विषम परिस्थितिमा मौकाको फाइदा उठाउँदै रूपन्देहीका बुटवल उपमहानगरपालिका, देवदह, सैनामैना, तिलोत्तमा नगरपालिका, सियारी, मायादेवी, शुद्धोधन गाउँपालिकालगायत अधिकांश स्थानीय निकायले तिनाउ नदी, दानव नदी, कर्साघाट, कञ्चनखोला, चरङ्गे ठाडो खोला, चरङ्गे बीचखोला, रोहिणी नदी, भलुहीखोला, घोडाहाखोलालगायत खोलाहरूमा केही भ्रष्ट जनप्रतिनिधि, कर्मचारी र केही व्यवसायीको मिलोमतोमा कथित ठेक्का र राष्ट्रिय गौरवको आयोजनाका नाममा आफैँले बनाएको ऐन/निमावलीविपरीत नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवा दोहन गर्ने र केही क्रसर उद्योगमा अवैध ओसारपसार गर्ने गरेको कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विज्ञप्तिमा भनिएको छ, ‘अवैध नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी र बालुवा दोहन गर्ने र राष्ट्रिय गौरवको योजनाका नाममा अवैध ढङ्गबाट केही क्रसर उद्योगमा ओसारपसार गर्नेजस्ता कार्य तत्काल बन्द गर्न/गराउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ । साथै प्राकृतिक स्रोत र साधन दोहनका लागि प्रयोग गरिएका स्काइभेटर/जेसीबी सम्बन्धित धनीलाई तुरुन्तै खोलाबाट हटाउनका लागिसमेत विशेष अनुरोध गर्दछौँ । हाम्रो अनुरोधलाई बेवास्ता गरिएमा सङ्घर्षबाट हुने परिस्थितिको जिम्मेवार सम्बन्धित निकाय हुने कुरा जानकारी गराउँछौँ ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘विश्व महामारीका रूपमा फैलिएको कोभिड १९ बाट सचेत भई स्वस्थ रहन र सबै प्रकारका अन्यायका विरुद्ध एकजुट हुन रूपन्देहीबासी जनसमुदायमा हार्दिक अपिल गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :