नबदलिएको राज्यसत्ता

पछि थाहा पाएँ, हिरासतमा छुट्टै गृहस्थी जोड्नु पर्दोरहेछ । त्यहाँ पनि धनीको नास्ता, पानी, कपडा, उपचार, सरसफाइमा धनको रबाफ चल्दोरहेछ । सँगै बसेको गरिबले टुलुटुलु हेर्दोरहेछ । बन्दीहरूले किनेको पानी पिउन लाम लागेकापुलिस जवानहरू देखेर मलाई ताजुक लाग्थ्यो । उदयपुरको मगर बाबु र जुम्लाको हिक्मत बाबु त्यो चिसोमा पातलो टिसर्टमा हाँसिरहेका थिए । मलाई नेता भनेर मौका मिल्नासाथ समस्या दर्साउथेँ । पछि नेकपामा लाग्ने कुरा गर्थे । कतिपयको घरबाट नियमित खाना आउँथ्यो । कपडा धोएर ल्याउने र लगिदिने हुन्थ्यो । मलाई पनि त्यही गर्न सुझाइयो ।

२०७४ सालमङ्सिर ४ गते सोमबार साँझ अँधेरो भएको थियो । दिउँसो मात्र बाँसबारी न्युरो अस्पतालमा उपचारमा गएका गुणराज सर आउनुभएको थिएन । म प्रतीक्षामा थिएँ । कसैले ढोका घरक्क खोल्यो । मैले गुणराजले हो कि भन्ने ठानेँ । “हैन, बोलाएर त ढोका खोल्नु पर्दैन ? म डराउँछु भन्ने थाहा छैन ?”, मैले भनेँ ।

तर कसैले हामी प्रहरी भनेपछि पो हेरेँ । कोठाभित्र ३ जना पसेका थिए । बाहिर अरू पनि रहेछन् । मेरो हातमा भएको मोबाइलबाट हतारहतार गुणराजलाई “पक्राउपरेको” म्यासेज गरेर डिलिट गरिदिएँ । मलाई आफू गिरफ्तारीमा परेको भन्दा पनि गुणराज पक्राउमा परे कि भन्ने चिन्ता लाग्यो । उनी बिरामी छन् । चिसोमा उनको बिमारी अझ बढ्ने निश्चित थियो । यति बेलासम्म मेरो हातको मोबाइल आफूलाई प्रहरी भन्नेहरूको हातमा पुगिसकेको थियो । उसले मेरो मोबाइल शानसँग चलाइराखेको थियो । म टुलुटुलु हेर्न विवश थिएँ ।

मनमनै सोचेँ, यी कतै गुन्डाहरू त होइनन् अथवा कुनै अपहरणकारी वा व्यभिचारी ? यिनीहरूको न पोसाक छ, न त कुनै प्रमाणपत्र । यिनीहरूले न मलाई पक्राउ पुर्जी नै देखाए । मैले नाम र घर सोधे । भनेनन् । बरु ठूलोठूलो आवाजमा थर्काएर भने, “मान्यज्यू, तपाईंको छोराले ढाँट्यो । तपाईंहरू बम पड्काउँदै हिँड्ने !” उनीहरूले अङ्कितलाई पनि गिरफ्तार गरिसकेका रहेछन् । मैले नरम भएर एकै सासमा भनेँ–“तपाईंहरूले तङगर्नुभयो । एउटा निर्दोष मान्छेलाई तपाईंहरूले सताउनुभयो होला । मसँग त यस्तो गर्नुभएको छ । म जनअधिकार अभियान नेपालकी केन्द्रीय सदस्य हुँ। यो मानवअधिकारवादी संस्था हो । अनि छोरो जागिरे छ । तपाईंहरू मेरो संस्थालाई बम देख्नुभएको छ कि मेरो छोराको जागिरलाई ? लिन आउनुभएको हो भने लानुस् । किन घरधनी र वरिपरिका मानिसका बीचमा रमिता गर्नुहुन्छ ? हैन भने जानुस् तपाईंहरू । छोरालाई अफिसबाट र मलाई कोठाबाट गिरफ्तार गरेर तपाईंहरूले खुबै बहादुरी गर्‍यौँ भन्ने ठान्नुभएको होला ।”

उनीहरूमध्ये केही बाहिर गए । केही मसँगै भित्र बसे । मेलै भित्र बसेकालाई सोधेँ, “खै, तिमीहरूको प्रहरी भएको प्रमाण ? न त प्रहरी पोसाक छ, न त पक्राउपुर्जी । गुण्डाशैलीमा मजस्तो २–२ पटक विधायक भैसकेको मान्छेलाई यस्तो व्यवहार छ भने अझ सामान्य जनतामाथि कस्तो रबैया होला ? थुक्क, गणतन्त्र आएको यो मुलुकको दशा !”

माथिको आदेश हो माननीयज्यू भन्दै कर गरेपछि मैले कोठाको ताला लगाएँ । सडक र पसलहरू सुनसान थिए । “माथिको आदेश हो हजुर” भन्दै गाडी भित्र कोचेर मैतीदेवीतिर घुइँक्याए । फेरि माथिको आदेश भन्दै आँखामा पट्टी बाँधिदिए । गाडीमा कता घुमाए, थाहा भएन । मलाई दुवैतिरबाट पक्रेर निकैबेर हिँडाए । एउटा घरको ठूलो हलजस्तै बन्द कोठामा लगेर आँखाको पट्टी खोलिदिए । त्यहाँ साधारण पहिरनमा एक महिला थिइन् । तिनले चर्पीमा ढोका नलगाउन र झ्यालका पर्दा हटाएर बाहिर नहेर्न आदेश दिइन् । त्यो रात ती महिलाले पनि त्यही कोठामा बिताइन् । तिनले पनि आफ्नो नाम र ठेगाना भनिनन् । मैले हामी कहाँ छौँ भनेर सोध्दा उत्तर दिइनन् ।

दुईजना पुरुष आए । मैले नै भाइ भनेर सम्बोधन गरेँ तर उनीहरूले पनि दिदी भन्ने गरेनन्, न त परिचय नै थिए । उनीहरू अलि भद्र र शिष्ट देखिन्थे । मैले सुरुमै भनेँ, ‘नेपालमा जनयुद्धद्वारा त्याग, बलिदान र निष्ठाको राजनीति स्थापित गर्न खोजेका थियौँ । दलाली, चाकडी र पारिवारिक घेराबाट राजनीतिलाई उत्पीडित जनसमुदायको सरोकार र उपयोगी बनाउन खोजेका थियौँ । जीवनभरि देश र जनताकालागि काम गर्नेहरू बिरामी पर्दा र अशक्त अथवा वृद्ध भएपछि व्यक्तिगत सम्पत्ति र परिवार खोज्नु नपर्ने मान्यता बसाउन खोजेका थियौँ । यी कुराहरू भएनन् । अहिले म सक्रिय रानजीतिमा छैन । तर मलाई किन ल्याइयो ? मैले बुझ्न सकिनँ ।’

मेरा यस्ता कुरा सुनेर उनीहरू छक्क परे । ‘तपाईंजस्तो मान्छेले राजनीति छोड्नु नपर्ने माननीयज्यू! २५।२६ वर्ष, यही उमेर त हो जहाँ गरेपनि र जे गरेपनि ? गल्ती गर्नुभो !’, एकजनाले भन्यो । उनीहरू पुलिसको माथिल्लो तहका हुनुपर्छ भन्ने मैले लख काटेँ । मलाई समय बिताउनु थियो । मलाई दृढतापूर्वक आफ्ना तर्क राखेर जान उपयुक्त लाग्यो ।

२०४६ सालदेखिको मेरो राजनीतिक यात्रा, जनयुद्ध, मेरो आयामजीसहित हजारौँ साथीहरूको गिरफ्तारी र सहादत । हामीले लिएका मान्यता, अन्तरिम संविधान, संविधानसभा जसमा म पनि प्रतिनिधि थिएँ, जहाँबाट उत्पीडितहरूको निष्ठा त्याग, बलिदानलाई तिलाञ्जली दिएर राजनीतिमा खेलबाड गर्दै दलाल संसदीय राजनीतिमा मुख्य नेताहरू चुर्लुम्मै डुबेको थाहा पाउँदासम्म धेरै कुरा बिग्रिसकेको थियो । खैर जेहोस्, यो परिपाटीमा तपाईंहरू पनि खुसी हुनुहुन्न । कोही पनि खुसी छैनन् । जनयुद्धका कुरा छोडौँ । संविधानसभाबाट पुँजीवादको विकास गरेर केही जनपक्षीय मान्यताहरू स्थापित गर्न सकिन्थ्यो । हाम्रा हिजोका मुख्य नेता भनाउँदाहरूले कुनै काम गरेनन् ।

मैले यसो भनिरहँदा एकजनाले तपाईंलाई पनि मन्त्रीको प्रस्ताव गरिएको थियो रे भन्यो । मैले ‘हो, म गइनँ’ भनेँ । ‘४ वर्ष भयो म पार्टीमा छैन । मलाई किन ल्याइयो ? म पार्टीमा पीबीएम हुन्थेँ ।हाम्रोे पार्टीको कार्यक्रम र योजना यी हुन् भनेर तपाईंहरूलाई सुनाएको हुने थिएँ । गुणराज सर नेकपामा भएकै कारणले मलाई ल्याइएको हो भने तपाईंका छोराछोरी, श्रीमती, आमाबुबा विद्रोहीहरूले उठाए भने के हुन्छ ? तपाईंहरूले हिजोबाट पाठ सिक्नुपर्दैन ? लोग्ने जे छ, श्रीमती पनि त्यही हुनुपर्ने चिन्तनकै कारणले यस्तो भएको हो । मलाई लागेको थियो गणतन्त्र आएपछि प्रहरीले केही सिकेको होला । म २०४६ सालबाट निरन्तर हिँडेकी मान्छे । दुईपटक विधायक र सभासद् भएँ । ठिकै छ । मलाई ल्याउनुभो ।’

म भने गुणराज सरलाई म्यासेज गरेपछि ढुक्क थिएँ । निदाइछु ।

बिहान भएछ, अलि टाढाबाट पुलिसले कवाज खेलेको आवाज आयो । बाहिर हेर्न रोक लगाइएको थियो । आवाज रोक्न भने सकेनन् । कुनै एकलासको ठाउँमा भएको अनुभूति भैरह्यो । अब के हुन्छ होला? प्रश्न आफैँले आफैँलाई गरेँ । कुनै उत्तरै नदिईकन थेरापीमा व्यस्त भएँ । मसँग बसेकी बहिनी आएर घर जान तयार हुन भनिन् । उनले फिजिकल सक्न भनिन् ।

पुनः मेरा आँखाबाँधिए । मलाई चढाएर गाडी गुड्यो । मैले कमरेड आयामलाई सम्झिएँ । यसैगरी उहाँलाई पनि बाँधिएको थियो । मेरो टाउको दुख्यो । उल्टी होलाजस्तो भयो । शरीर पसिनाले भिज्यो । उल्टी गर्छु भनेपछि आँखाको पट्टी हटाइयो । लाजिम्पाट रहेछ । म सामान्य अवस्थामा आएँ । हिजो मसँग बहस गर्ने पुलिसहरू रहेछन् । केहीबेरमा तीनकुने प्रहरी वृत्तमा पुगिएछ । म झरेर दुईपाइला अगाडिबाट हेर्दा त्यहाँ गाडी र ती पुलिस देखिएनन् ।

तीनकुने प्रहरीवृत्तभित्र तछोरो अङ्कित र माणिक लामा दाइलाई भेटेँ । अङ्कितलाई छोड्नका लागि जमानी बस्ने मान्छे खोजिरहेको रहेछ । माणिक दाइ र मलाई गाडीमा बस्नभनियो । हामी बस्यौँ । हामीसँग एकजना डीएसपी थिए । उनले चुनावसम्म छोड्दैनजस्तो छभने । ‘मेडमलाई दरबारमार्ग सजिलो होला’, उनले भने । मैले भनेँ,‘यो त गजब भो !’ ५ गते तीनकुनेबाट कमलपोखरी हुँदै दरबारमार्ग प्रहरीवृत्तमा थुनुवापुर्जी हातमा थमाइयो ।

४ नम्बर महिला हिरासतमा दोलखा शैलुङका असई सुवास ठोकरले हुले । ठुस्स कस्तोकस्तो गन्ध नाकमा आइपुग्यो । यो देशको सत्ता जस्तो छत्यस्तै रहेछ हिरासत । कुचो दिनुस् न ! उभिएर हाँसिरहेका मनिकान्त शाह नाम लेखिएका गार्ड जवानसंँग मागेँ । भुइँको एक कुनामा थुपारिएका कपडा बिछ्यौना बनाउन खोजेँ । ती त कुनै डोजरले माटो उठाएर कपडामा मिसाएको जस्तो माटोको थुप्रो । चिसो र धुलोले घाँटी र नाक बजे । राती उडुसका लस्करसँग भलाकुसरी चल्यो । चर्पी त भित्र रहेछ । तर बस्नै नमिल्ने गरी टुटफुट सामान र फोहोरको थुप्रो । मन अनियन्त्रित भयो । नियन्त्रणबाहिरको मनले पेट हुँडल्यो । टाउको दुखायो । निद्रा लाग्ने त कुरै भएन । कारणबिनाको यो सजाय । कसैलाई केही भनेर दुःख बिसाउन पनि मन लागेन । हिजो पक्राउ परेका देशका सपूतलाई सम्झिरहेँ । मन बलियो भयो । पछि थाहा पाएँ, हिरासतमा छुट्टै गृहस्थी जोड्नु पर्दोरहेछ । त्यहाँ पनि धनीको नास्ता, पानी, कपडा, उपचार, सरसफाइमा धनको रबाफ चल्दोरहेछ । सँगै बसेको गरिबले टुलुटुलु हेर्दोरहेछ । बन्दीहरूले किनेको पानी पिउन लाम लागेकापुलिस जवानहरू देखेर मलाई ताजुक लाग्थ्यो । उदयपुरको मगर बाबु र जुम्लाको हिक्मत बाबु त्यो चिसोमा पातलो टिसर्टमा हाँसिरहेका थिए । मलाई नेता भनेर मौका मिल्नासाथ समस्या दर्साउथेँ । पछि नेकपामा लाग्ने कुरा गर्थे । कतिपयको घरबाट नियमित खाना आउँथ्यो । कपडा धोएर ल्याउने र लगिदिने हुन्थ्यो । मलाई पनि त्यही गर्न सुझाइयो । यो सबै तलतल शान्ता दिदी र एकराज दाइको कफी अनि दामोदरजीको थर्मस जवान मनिकान्त, पशुपति, रावल, धामी, सुनाखरीहरूको तातोपानी र मायाले मेटाइदियो । वर्गीयमाया त यहाँ पनि हुँदोरहेछ ।

तेस्रो दिन जनअधिकार अभियान नेपालकाअध्यक्ष तथापूर्वसभासद् एकराज भण्डारी,पूर्वसांसदवाङ्छे शेर्पापूर्वमन्त्री देव दाइ, दामोदर घिमिरे, कपिल, पुन्यखतिवडा, खगेश्वर ज्वाइँसाब, प्रकाश अवाले सरसँगको भेटघाटले सहज बनाएको थियो ।

एक सातापछि चिसोले असाध्यै सतायो । फोहोरले आफूलाई आफैँले घिन मान्यो । ज्वरो आयो ।नाकमा सानो कुलो हुँदोरहेछ । कुलुलुलुु बग्यो । सुरुवाल नै रुमाल बनाएँ । इन्सपेक्टर युवराज खतिवडा आमा, बुबा भेट्न आउनुभएन भनेर जिस्क्याउँथे । मैले भेटेर जानुभयो भनेपछि ‘ऊः ढाँट्नुहुन्छ’ भन्थे । उनी दिनदिनै कुनै न कुनै बहानामा सधैँ आउन थाले । पछि त उनी नआउँदा केहीकमी भएको जस्तो लाग्थ्यो ।

१३ गते एआईजी जयबहादुर चन्द बन्दी हेर्न आएका थिए । उनीसँग मलाई झूटो मुद्दामा किन फसाइयो भनेँ । उनले राजनीति गर्ने अनि डराउने ?भनेर थर्काएको भाव बोलेका थिए । मैले म किन डराउने तपाईंहरूले झूटा मुद्दा लगाएको पो भनेको भनेँ । १८ गतेकविता पुनका भाइ र बुहारी राम पुनमगर र रेनुका पुनमगरलाई गिरफ्तार गरेर ल्यायो । २२ गते मलाई म्याद थप्न लग्यो । माणिक दाइधरौटीमा छुटे । २४ गते कान्छो छोरो ओजोनको जन्मदिन । हिरासतमैछोरालाई बोलाएर केक ख्वाएर जन्मदिन मनाइयो । गिरफ्तार भएको २५ दिनपछि २६ गतेका दिन तारेखमा छुटेँ । त्यो दिन आजभन्दा ठीक १६ वर्षअघि कमरेड आयामलाई बेपत्ता पारिएको थियो । त्यसपछि उहाँ कहिल्यै फर्किनुभएन । स्रोतः रातो खबर साप्ताहिक, वर्ष ३, अङ्क ३३, पूर्णाङ्क १२८

२०७४ माघ १९ गते दिउँसो ३ः३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :