सुरुङभित्र प्रकाश छर्ने योद्धा एन्जिला

सन्दर्भ : सहिद सप्ताह २०७८

सुरुङभित्र प्रकाश छर्ने योद्धा एन्जिला

२०५७ साल चैत १८ गते बिहानै सदाझैँ रेडियो के खोलेकी थिएँ, मेरो मनमस्तिष्क भने केही नयाँ कुराको प्रतीक्षा गरिरहेको थियो । त्यस्तै लागेको थियो मलाई । समाचारमा यतिजना मारिए ? बलात्कृत भए ? त्यो पनि दोहोरो भिडन्तका नाममा आफैँले पक्रेर, आफ्नै कब्जामा रहेका निःशस्त्र नेपाली जनताका छोराछोरीको हत्याको प्रतीक्षामा बसेजस्तो ? कक्षामा पढाइरहेका गुरुको गिरफ्तारी अनि सानासाना स्कुले नानीहरूको हत्याको खबर पर्खेजस्तो ! घरमा रुँघेर बसेका वृद्धवृद्धा बुबाआमालाई लछारपछार गर्दाको आवाज गुन्जेजस्तो !

लेखक : सरला रेग्मी

तर यसको विपरीत हिजो राती गोरखा जेलभित्र रहेका ६ जना ‘आतङ्ककारी’ बन्दी महिलाहरू सुरुङ खनेर फरार भए भन्ने सुन्न पाइयो । उक्त समाचारले मन ढक्क भयो, छाती गर्वले फुल्यो । म उद्वेलित भएँ । म बसेको ठाउँबाट जुरुक्क उठेँ । खुसीको सीमा रहेन । म बाहिर निस्किएँ । गाउँतिर लागेँ । यो समाचार कसलाई सुनाऊँजस्तो भयो । म त्यो समयमा बाँके, बर्दिया र सुर्खेत अनि सल्यानका केही भाग मिलाएर बनाइएको विशेष जिल्ला इन्चार्ज थिएँ । गोरखामा महिलाहरूले गरेको जेल ब्रेकको उपलक्ष्यलाई हामीले जिल्लाभरि वीरता—धीरता—साहसको उत्सवका रूपमा मनायौँ । यो उत्सव जनताको व्यवस्था ल्याउन गरिएको निकै ठूलो र ऐतिहासिक साहस थियो । जनयुद्धमा महिलाले बच्चा काखमा च्यापेर, पारिवारिक समस्या झेल्दै लामबद्ध हुँदै आफ्ना जिम्मेवारी पूरा गरिरराखेका थिए । म पनि त्यही लाममा थिएँ ।

गोरखा जेलभित्र नै सुरुङ खनेर निस्किएका उमा भुजेल, मीना मरहट्टा, रीता विक, कमला नहर्की, सन्जु अर्याल र एन्जिला विकलाई मैले पछि पत्रिका पढेर चिन्ने मौका पाएँ । सामन्तवादी समाजमा महिला र त्यसमा पनि दुईदुईजना विश्वकर्मा महिलाले जेल ब्रेक गर्ने कुरा चानचुने विषय थिएन । यो साहस जनयुद्धले रोपिदिएको थियो । ६ जना नै महिला, त्यसमा पनि रीता र एन्जिलाप्रति उच्च सम्मान पैदा भयो । मेरो मनमा अचम्मको इच्छा जाग्यो उनीहरूलाई भेट्ने । मैले मेरो मनको इच्छा खुसुक्क बहिनी सानुका, पुष्पा दिदी, कौसिला अनि महतरालाई पनि भनेँ । नजिकै रहनुभएका भाइ सरुन र रमणले पनि हाँस्दै सहमति जनाउनुभयो । हामीले अबिर लगाएर खुसी साटासाट गर्यौ । बहिनी पुष्पा, भाइ सरुन र रमण भने सहिद भैसक्नुभएको छ ।

पछि पढ्दा थाहा पाइयो– जेलका अरू महिला साथीहरूले सुरुङ खन्न सुरु गरेको छब्बीसौँ दिनमा गोरखा जेलमा एन्जिला आएकी थिइन् । पहिलादेखि नै सुरुङ खन्न थालेका साथीहरूले एन्जिलालाई शङ्काको दायरामा राखेका रहेछन् । तर एन्जिलाले छोटै समयमा आफ्ना पुराना साथीहरूको मन जितेर सुरुङ खन्ने एउटा जिम्मा लिएकी थिइन् । पाएको जिम्मेवारी पूरा गर्न अन्य महिला बन्दीबाट सुरुङलाई लुकाउन अनि अन्य ड्युटीको रुटिनलाई सरलतापूर्वक पूरा गरेको कुरा कमरेड उमा भुजेलको ‘जेल ब्रेक’ मा पढ्न पाइन्छ ।

जेल ब्रेकलगत्तै एन्जिला विक बाहिर आएर पनि चुप लागेर बसिनन् । जनयुद्ध हाँकिरहेको पार्टी र त्यसको नेतृत्वलाई देश र जनताको जिम्मेवारी निरन्तर पूरा गर्दै ऐनमौकामा पार्टीका नेताहरूलाई सल्लाहसुझाव दिन पनि पछि परिनन् । राजनीतिक इमानदारी, वैचारिक परिपक्वता र पार्टी–क्रान्तिप्रति बफादारिता भएकाले उनी सक्रिय भैराखिन् । इलाका समिति सदस्यमा रहेर आफ्नो जिम्मेवारीमा रहेकै अवस्थामा सङ्कटकाल लागेको, सेना परिचालन भएको र पार्टीलाई आतङ्ककारी घोषणा गरेको केही समयपछि २०५८ फागुन ५ गते आरुआर्वाङ भोगटेनी (गोरखा) मा पुनः कब्जामा परिन् । सामन्तवादी सत्ताका हिंस्रकहरूले उनलाई चरम यातना दिएर २२ वर्षकै उमेरमा हत्या गरेको खबर मैले सुर्खेतमा सुन्नुपर्यो । यसरी भेट्न चाहेको एक योद्धासँग कहिल्यै भेट भएन । उनको हत्याको खबर सुनिरहँदा म सुर्खेतका गाउँगाउँमा सातौँ जनयुद्ध दिवस मात्र मनाइरहेकी थिइनँ, बरु माघ २८ गते ६२ दिनको लामो सैनिक कस्टडीमा रहेका नेता ज्ञामप्रसाद चालिसे, ऋषि घिमिरे र रूपलाल चौधरीलाई हिरासतमै विभिन्न बीभत्स यातनापछि आगोमा पोलेर हत्या गरी दोहोरो भिडन्तमा मारिएको समाचार सुनेकी थिएँ । ज्ञामप्रसाद चालिसे ‘आयाम’ मेरो जीवनसाथी हुनुहुन्थ्यो । त्यस समयमा मेरो साथमा २ बर्से छोरो ओजोन थिए । जनयुद्ध दिवससँगै आफ्नै श्रीमान्को श्रद्धाञ्जलीसभा पनि मनाइरहेकी थिएँ । आँसु झार्न बर्जित थियो किनकि म नेता थिएँ । जिल्लाकी इन्चार्ज थिएँ । राजनीतिक आयुक्त हुन युद्धमा आँसुलाई पचाउने क्षमता हुनुपथ्र्यो । यस्तै जीवनमा अभ्यस्त थिएँ म ।

एउटी साहसिक योद्धा, त्यसमा पनि जेल ब्रेक गरेर कालकोठरीबाट उज्यालो संसारमा प्रवेश गर्न सकिन्छ भन्ने उपमा योद्धाको भौतिक अन्त्यमा पनि मैले खबर सुन्न छाडिनँ । उनीहरू सुरुङबाट बाहिरिएका समाचारहरू हामी गर्वका साथ कार्यकर्ता र जनतालाई सुनाउँथ्यौँ । जनयुद्धले सिकाएको पाठ सम्झिन्थ्यौँ । महिला मुक्तिको अद्वितीय उदाहरण मान्थ्यौँ । हाम्रा अभियानहरूमा सानुका, पुष्पा, सरुन, रमण र सङ्कलन सक्रिय हुनुहुन्थ्यो । एन्जिलाको सहादत भैरहँदा म सुर्खेतमा उनको जीवनगाथा बाँडिरहेकी थिएँ । साथमा राहुल, सुशीला, रक्षा, जीवन्त, सीमा, रमालगायत योद्धाहरू हुनुहुन्थ्यो ।

मलाई लाग्छ, सहिद-बेपत्ता योद्धालाई दायित्वसँग देश अनि जनताको आत्मनिर्भरतासँग, जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारसँग, मक्किएको व्यवस्थाको ठाउँमा रचनात्मक नयाँनयाँ व्यवस्थासँग सहिदको बलिदानको उद्देश्य जोडिएको हुनुपर्दछ । यिनै सपनासँग नयाँ शिराबाट संस्कार, चेतना, दायित्वलाई क्रान्तिमार्फत बहन गर्न जरुरी छ किनकि यो सही छ, सत्य छ, वैज्ञानिक अनि आवश्यक छ ।

जन्म र जन्मस्थान

एन्जिला विक गोरखा जिल्लाको धावाँ गाविस २ चौतारा (हाल भीमसेन नगरपालिका ४) मा २०३६ साल वैशाख २८ गते जन्मिएकी थिइन् । उनका बुबाआमा टिके विक र बिबा विकमध्ये आमा सानैमा खस्नुभएको थियो । उनका दिदीहरू उजेली र पुष्पा, बहिनी गोलमायामध्ये बहिनी पनि अहिले भौतिक रूपमा हुनुहुन्न । दाजुहरू मानबहादुर, कृष्ण र गोपाल हुनुहुन्छ ।

पूर्णकालीन

जेलजीवन २०५७/०९/११ अर्साङ हर्रा बिसौनामा एक्कासि प्रहरीले गोली प्रहार गरी मातृका धितालको हत्या गर्यो भने उनीसहित दिलबहादुर विकसमेतलाई गिरफ्तार गर्यो । गिरफ्तारीपछि २०५७र१२र१७ को गोरखा जेल ब्रेकपछि पुनः जनयुद्धको मोर्चामा आउनुभएको थियो ।

विकट जिल्ला, त्यो पनि गरिबीको चङ्गुलबाट परिवार र समाजका साङ्लाहरू चुँडाल्नु चानचुने थिएन । ती कठिन दिनहरूमा आधारभूत शिक्षालाई पनि जोड्नु अर्को सफलता थियो । प्रावि, निमावि गाउँमै पूरा गरी टाढा रहेको भगवती मावि धाँवाबाट शिक्षा लिन आर्थिक अवस्था अनि पारिवारिक असहमतिका कारण दिदीको घरको सहयोग लिएर पढ्ने निर्णय गर्नुभयो । यसमा दिदीको सक्रिय सहयोग र समर्थन रह्यो ।

९ कक्षा र १० कक्षा अवला माविमा पढ्दै गर्दा अखिल (क्रान्तिकारी) मा आबद्ध हुनुभएको थियो । स्कुलको एकाइमा सङ्गठित भएर सक्रिय हुनुभएकी एन्जिला जनताको दायित्व पूरा गर्न सहिदलाई स्थापित गर्दै जनयुद्धमा होमिनुभयो ।

उनै एन्जिलाले आफैँ सहिद भएर आफ्ना झोलाहरू सुम्पिनुभएको छ । उहाँको सहादत भएको २० वर्ष पुगिसकेको छ । २७ औँ  जनयुद्ध दिवस र सहिद सप्ताह २०७८ चलिरहेको छ । जनयुद्धले सहिद सप्ताह पनि स्थापित गरेको छ । जनयुद्धले सहिदहरूलाई साँघुरो घेराबाट विशाल धरातलको बहसमा उभ्याएको छ । जनताको आन्दोलनका कडीहरूलाई जोड्ने साहस गरेको छ । सहिद कृष्णलाल, गङ्गालाल, रामनाथ दाहाल, बिरेन राजवंशी, नेत्र घिमिरे, नेत्रलाल अभागी, आजाद, दिलबहादुर रम्तेल, दिलमाया हुँदै एन्जिलालगायत हजारौँ योद्धाहरूले आफ्नो जीवनको आहुती दिइसकेका छन् ।

हरेक जनयुद्ध अथवा जनआन्दोलनका सहिद तथा बेपत्ता योद्धाको त्याग र बलिदानको अन्तिम ध्येय उत्पीडित जनतालाई गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था गर्नु हो । राष्ट्रलाई आत्मनिर्भर अर्थतन्त्रको विकास गरेर उद्योगधन्दा, कलकारखानाको विकासले जनतालाई आत्मनिर्भर बनाउने ध्येय जनयुद्धको थियो किनकि जनयुद्ध नै नेपालका शासकलाई हल्लाउने महान् अभियान बन्यो । जनताका यिनै आवश्यकता पूरा गर्न मक्किएको दलाल संसदीय व्यवस्थालाई बदल्न जरुरी थियो । यो व्यवस्था र यसका सञ्चालकहरू दिन–प्रतिदिन विदेशीका गोटी बन्दै थिए । मुठीभर केही भुनभुनाउने गुलामहरू बोकेर गुलामकै रेसमा थिए । यसरी जनयुद्ध र बलिदान अनिवार्य बन्यो । बलिदानको खोजबिन गर्नु, स्थापित गर्नु हरेक क्रान्तिकारी पार्टी, नेता अनि राष्ट्रको पहिलो दायित्व हो । यो संस्कार, चेतना अनि दायित्व नबुझ्ने अनि नबोक्ने पार्टी, नेता अनि राष्ट्रले न सहिद बुझ्दछ, न त जनयुद्ध बुझ्दछ, न जनता र जननी नै बुझ्न सक्छ । मलाई लाग्छ, सहिद–बेपत्ता योद्धालाई दायित्वसँग देश अनि जनताको आत्मनिर्भरतासँग, जनताको गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारसँग, मक्किएको व्यवस्थाको ठाउँमा रचनात्मक नयाँनयाँ व्यवस्थासँग सहिदको बलिदानको उद्देश्य जोडिएको हुनुपर्दछ । यिनै सपनासँग नयाँ शिराबाट संस्कार, चेतना, दायित्वलाई क्रान्तिमार्फत बहन गर्न जरुरी छ किनकि यो सही छ, सत्य छ, वैज्ञानिक अनि आवश्यक छ ।

महान् सहिद एन्जिलाजस्ता वीराङ्गना जो कलिलै उमेरमा पटकपटकका गिरफ्तारीसँग डराएनन् । समाज र परिवारलाई बुझाउँदै सँगसँगै जनयुद्धमा सामेल हुनु सानो कुरा थिएन । जातीय, लैङ्गिक अनि वर्गीय दरारलाई जनयुद्धबाटै समाधान गर्ने सपना झनै पढ्नलायक छ । त्यही साहसले अँध्यारो सुरुङभित्रबाट उज्यालो छर्ने आँट गरिन् । तिनै योद्धालाई भौतिक रूपमा नभेटेर के भयो त ? सधैँ औँसीको रातमा पनि पूर्णिमाको मशाल बालेर प्रकाश बाँडरहेकी छिन् । उनको प्रकाशमा अँध्यारो भागिरहेको गहिरिएर हेर्नुस् त ! उनका सपनाहरूले घुम्ती र मोडहरू छिचोल्दैछन् । गद्दारी र बदमासीहरूलाई किनारा लगाउँदैछन् । त्यसैले सपनाहरू अगाडि बढिरहेका छन् ।

१८ फागुन, २०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :