अभिभावक हर्कबहादुर शाहीलाई सम्झिँदा

२००२–४–१५ गते दैलेख क्षेत्र नं. २ तत्कालीन चामुण्डा गाउँ पञ्चायत वडा नं. ५ काफलरूख, हाल चामुण्डाविन्द«सौनी वडा नं. ४ मा जन्मनुभएका हर्कबहादुर शाही सानैबाट समाजसेवी, जनपक्षीय र विद्रोही हुनुहुन्थ्यो । हुने बिरुवाको चिल्लो पात भनेझैँ २२ वर्षको किशोरै उमेरमा २०२४ सालमा बम्बई, भारतमा मजदुर आन्दोलनमा जोडिएर सक्रिय भैसक्नुभएको थियो । २०२८ सालमा रूपलालहरूको सङ्गतमा नेपाल मजदुर सङ्घमा आबद्ध हुनुभएको थियो । परिवर्तन र जनताको अधिकार कसरी, कहाँ प्राप्त हुन्छ, त्यसको खोजीमा उहाँ २०२८ सालको दरभङ्गा प्लेनममा २ महिना सहभागी भई पुष्पलालको स्पिरिट र इमानदारीलाई नजिकबाट नियाल्नुभयो । लगत्तै नारायणमान बिजुक्छेको पार्टीमा आबद्ध हुनुभयो । नेपाल मजदुर सङ्घसँग जोडिएर तमसुक च्यात्ने र २०२९ देखि २०३६ सालसम्म बहुदलका पक्षमा जनमतसङ्ग्रहमा पनि सक्रिय हुनुभयो । छुवाछूत प्रथा अन्त्यका लागि २०३५ सालमा अगुवाइ गरेको कुरा दैलेखी जनताले बिर्सन सकेका छैनन् । २०३७ सालमा कमाराकमारी नराख्ने आन्दोलन÷हलीगोठाला र दलित जातिहरूलाई उत्पादनसँग जोड्न कपडा उद्योगको तालिम, काष्ठकला, उद्योगसम्बन्धी तालिम र उद्योगहरू सञ्चालनमा पनि जुट्नुभएको थियो । उहाँ सडकमा मात्र होइन, तत्कालीन पञ्चायती व्यवस्थाभित्र रहेर पनि परिवर्तन गर्न सकिन्छ कि भन्ने जिज्ञासासहित चामुण्डा गाउँ पञ्चायतको प्रधानपञ्चमा २०३८÷३९ साल गरी दुईपटक स्थानीय चुनावमा विजयी हुनुभयो । जिविस सभापतिको पनि उहाँ प्रत्यासी हुनुभयो । २०३९ सालमा क्षेत्र नं. २ बाट माननीयको चुनावमा प्रत्यासी हुनुभयो । २०४० सालको रक्सी बन्द आन्दोलनमा संयोजक भएर जुट्नुभएको थियो । जनपक्षीय उभार र सक्रियताबाट डराएको तत्कालीन सत्ताले उहाँलाई हिरासतमा राख्यो । उहाँको पदीय जिम्मेवारीबाट बर्खास्त गरी मक्किएको सत्ता बचाउन उहाँलाई पटकपटक २०४१ सालमा प्रधानपञ्चबाट निलम्बन गरियो । तर उहाँ झन्झन् खारिनुभयो र जनताको प्यारो बन्नुभयो । परिणामस्वरूप फेरि पनि २०४२ सालको स्थानीय चुनावमा उहाँ उठ्नुभयो र जित्नुभयो । २०४३ मा नेपाल मजदुर किसान पार्टीको केन्द्रीय समितिमा बढुवा हुनुभयो । २०४६ सालमा नेमकिपाको दैलेख जिल्लाको अध्यक्ष पनि हुनुभयो । निरन्तर जिल्ला अध्यक्ष र केन्द्रीय सदस्यको भूमिकामा रहेर लामो समय काम गर्नुभयो ।

बहुदल आएपछि उहाँ उपाध्यक्षमा पनि विजयी हुनुभयो । सत्तामा रहे पनि, सत्ताभन्दा बाहिर रहे पनि उहाँको ध्येय भनेको एउटै थियो– जनताको मुक्ति र अधिकार र समानता सम्पन्न समाजको परिकल्पनालाई व्यावहारिक पूर्णता ।

त्यसैले नेपालमा परिवर्तनका लागि चलिरहेको जनयुद्धलाई भित्रभित्र समर्थन र सहयोग गर्न पुग्नुभएको थियो । खराब कुराको पहिचान र विरोध गर्दै असल कुरामा साथ दिनुभयो । माओवादीबाट सञ्चालित जनयुद्धका पक्षमा रेडियोमा फरक पार्टीका तर्फबाट पहिलो अन्तरवार्ता दिनुभएको थियो । यो नौलो र साहसिक काम थियो । तत्कालीन राज्यले टाउकाको मूल्य तोकेर हत्या गर्ने छूट पाएको समयमा अन्तरवार्ता दिनु चानचुने काम थिएन । सामान्य मान्छेबाट यो काम सम्भव पनि थिएन । २०५८ सालमा जनवादी आन्दोलनका पक्षमा सक्रिय र खुला समर्थन गर्नुभयो । दैलेखमा केही मै हँु भन्नेहरू जनताका पक्षमा उभिन नसकेको समयमा उहाँको साहस सामान्य थिएन । जनतालाई उत्पादनमा जोड्न आधुनिक कृषि, पशुपालनलगायत कामहरूमा जनतासँग आफैँ सहभागी हुँदा गर्व गर्नुहुन्थ्यो । केही सानो चिन्तन भएकाले टिमुरे नेतासमेत भन्ने गरेको तीतो यथार्थ पनि भोग्नुभयो । आधुनिक बाख्रापालन, बाँस, केरा, कागती, अमिलो, रिठ्ठा, घाँसखेतीसमेत सिक्ने र सिकाउनु अभियानमा हुनुहुन्थ्यो । भेटमा प्रायः उहाँका कुरा चिन्ता, चासो, जिज्ञासा हुन्थे र भविष्यमा देशलाई आत्मनिर्भर बनाउने कुरामा नै केन्द्रित हुन्थ्यो ।

२०६४ साल चैतमा नेपाल मजदुर किसान पार्टी र नेकपा माओवादीबीच एकतापछिको केन्द्रीय सदस्य बन्नुभएका हर्कबहादुर शाहीसँग केन्द्रीय समितिको बैठक पेरिसडाँडा कार्यालयमा भेट भएको थियो जतिबेला कब्जा जग्गाका बारेमा नेकपा (माओवादी) मा बहस चलिरहेको थियो । योजनाविहीन ढङ्गले कुनै नेताले जग्गा फिर्ता गर्ने र कुनैले कब्जा गरिएको जमिन फिर्ता नगर्ने भन्ने मत आइरहेको थियो । उक्त जमिन बरु राज्यले राष्ट्रियकरण गरी त्यसमा ठूलाठूला उद्योग, कलकारखाना खोली देश र जनतालाई आत्मनिर्भर बनाउने भनेका थिए । यो रस्साकस्सी देखेर उहाँले भन्नुभएको थियो– सरला कमरेड, पार्टी त बिग्रिसकेको रहेछ । त्यो जमिन जनताको हो । देशका लागि लगाउनुपर्छ । यो व्यक्तिविशेषले मनपरी गर्ने र लगाउने ग¥यौँ भने संस्था कमजोर बन्दछ । अझ अगाडि हाँस्दै मैले त यहाँ संस्था नै देखिनँ पनि भन्नुभएको थियो । उहाँले यसो भनिरहँदा मेरो मन अमिलो भएको थियो किनभने जनयुद्धमा गरेका कामहरू जनताले मन पराऊन् र ती कामहरू नेता अनि पार्टीले पनि मन पराऊन् अनि जनपक्षीय निर्णय होस् । मेरो यस्तो कामना हुन्थ्यो । जुन व्यक्ति र व्यक्तिगत स्वार्थभन्दा भिन्न थियो । हो, त्यही भेट र कुराले मलाई उहाँप्रति आदर अनि सम्मान जाग्यो । अझ उहाँजस्तो दमको बिरामी, उमेरले पनि पाको, उत्पीडित वर्गका पक्षमा स्पष्ट धारणा भएकाले हामी एउटा समूहमा जुट्यौँ । उहाँमा पछि त पूर्वपार्टी अनि समूहहरू हराएका थिए । उहाँ एक असल र स्पष्ट अभिभावक हुनुहुन्थ्यो ।

२०६९ सालमा लामो दुई लाइन सङ्घर्षपछि विभाजित नेकपा क्रान्तिकारीमा रहनुभयो । काम गर्दागर्दै र बोल्दाबोल्दै २०७५–१२–२६ गते आफ्नै निवास, टोखा नगरपालिका धापासीको नैनडोल काठमाडौँमा उहाँको निधन भयो । सधैँका लागि हामीले अभिभावक गुमायौँ । नेता अनि सच्चा देशको सपूत गुमायाँ तर उहाँका विचार अनि सपना हामीलाई छोडेर जानुभएको छ ।

हर्कबहादुर शाही स्मृति फाउन्डेसनले हर्कबहादुरको राजनीतिक, वैचारिक अनि सामाजिक मान्यतामा रहेर उहाँका योगदानलाई लिपिबद्ध गरी पुस्तकाकारमा प्रकाशित गर्दा र म पनि सहभागी हुन पाउँदा निकै खुसी छु । उहाँको पदचाप पहिल्याउने, उहाँकै उत्तराधिकारी दीपक शाहीले मलाई घचघच्याउनुभयो । उहाँलाई धन्यवाद नदिरहन सकिनँ । यतिबेला कलमबाट अनि आवाजबाट तर्सिएको राज्यले गुणराज लोहनीलगायत धेरै योद्धालाई कस्टडीमा राखेको छ । यो समयमा स्वभावैले हामी परिवारहरूले पनि मेरा नेता तथा अभिभावकका बारेमा केही लेख्न पाउँदा खुसी छु ।

मसँगै बसेका केही बैठकका अनुभूति पनि यति बेला सम्झिरहेकी छु । यतिबेला ममा एकप्रकारको उद्वेलन पैदा भैरहेको छ । उहाँजस्तो साहसी नेता र जिम्मेवार अभिभावकको अभाव मलाई खट्किरहनेछ । पछिसम्म पनि उहाँ मलाई फोन गरेर पटकपटक भेट्न बोलाइरहनुहुन्थ्यो । मैले समय दिन नसकेर आफ्नै उल्झनबाट बाहिर आउन सकिनँ । मलाई न्याउरी मारी पछुतोजस्तै भएको छ । मैले समयलाई चिन्न पनि सकेकी रहिनछु । आज मैले भेट्न चाहेर पनि हुँदैन । उहाँ हाम्राबीचमा हुनुहुन्न । उहाँका सुझाव अनि निर्देशनको अभाव जीवनभरि रहिरहनेछ । यो मेरा लागि नकारात्मक शिक्षा भैरहनेछ ।

२०६९–१०–१६ मङ्गलबार केन्द्रीय समितिको बैठकको तेस्रो दिनको निर्णयले अनुशासन विभागको प्रमुखमा उहाँलाई र सदस्यमा एकराज भण्डारी र नैनकला थापा पनि चुनिनुभयो । यो केन्द्रीय समितिको दोस्रो बैठक थियो । म पार्टीका खराब सोचाइ र तरिकालाई बढार्न र असल कम्युनिस्ट बनाउन लागिपर्नेछु भन्ने उहाँको प्रतिबद्धता थियो ।

२०६९–११–५ गते शनिबार । स्थान बाँकेको खजुरा कपास विकास समितिको हलमा हर्कबहादुर शाहीले दलालबारे आफ्नो धारणा यसरी राख्नुभएको थियो– दलालहरूले देश नै बाँडेर खान्छन् जसरी जर्मनी खाएका थिए । पार्टीले पार्टी मात्र बनाउने होइन । सङ्घर्षद्वारा सही पार्टी बनाउन प्रमाणित गर्नुपर्दछ । उहाँले यो कुरा भनिरहनुभएको मलाई भर्खरैजस्तो लागिरहन्छ । उक्त बैठकका मुख्य नेता धर्मेन्द्र बास्तोलाले दलालको व्याख्या गरिरहँदा हर्कबहादुर शाहीले यो कुरा भन्नुभएको थियो ।

२०६९–११–१५ मङ्गलबार दैलेख रामघाटमा अपर कर्णालीविरोधी जनसभा सम्पन्न गर्न जाने क्रममा गढीहरूमा स्याँस्याँ गर्दै दमलाई चुनौती दिनुभएको थियो । माधव पोख्रेल इलाका प्रहरी कार्यालय दुल्लुका इन्सपेक्टर हुनुहुन्थ्यो । उहाँ मेरो मामा पनि हुनुहुन्छ । तर उहाँले फोन मात्र गर्नुभएन, गाडी नै लिन पठाउनुभयो । त्यो गुण राष्ट्रियताको गुण थियो । हामी अनि कर्णालीले त्यो गुण सम्झिरहनेछौँ । तल्लो डुङ्गेस्वरबाट दुल्लु गयौँ । जमानामा दैलेख एक शक्तिशाली राज्य थियो । अमरसिंह थापा अछाम हान्दै दैलेखको दुल्लु बस्थे । दैलेख बेलासपुरका राजा र दुल्लुका राजा मित थिए । दुल्लुका राजाले अमरसिंहलाई साथ दिँदा बेलासपुरका राजालाई मितको भेष बदलेर मारेका थिए । यो इतिहास हर्कबहादुर शाहीले सुनाउनुभएको थियो ।

२०६९–११–१७ बिहीबार दैलेख सदरमुकामका महिला तथा बालबालिका कार्यालय, जिल्ला कारागार, पुरानोे बजार, केही सरकारी कार्यालय र त्यहाँको पुरानो गढी हेर्दै टुँडीखेल गयौँ । जेलमा रहनुभएका कम्युनिस्ट पार्टीका संथापक जयबहादुर शाहीलगाएत ६० जनालाई भेट्यौँ । उहाँलाई चर्चित पत्रकार टेकेन्द्र थापाको हत्याको झूट्टटा मुद्दामा जेल चलान गरिएको थियो ।

टुँडीखेलमा बसेपछि नेताहरू एक से एक कलाकार बने । जनउखानलाई जस्ताको तस्तै राख्दै पारसमणिले दुल्लुका उल्लु दैलेखी चोर भन्दै हाँस्नुभयो । हर्कबहादुर शाहीले सल्यानी हुलिया जाजरकोटी छलिया भन्दै जाजरकोटी नेता पारसमणिलाई व्यङ्ग्य गर्नुभयो ।

महिलानेत्री धीरेन्द्राले गीतको भाकामा बनिसकेका यी गढीहरू बनाउनु पर्दैन तर चारैतिर हेर्दा पनि जनयुद्धका केही छैन, सबै गुमायौँ भन्ने सुनाउँदा हामी स्तब्ध भयौँ :

बनैका बनाउन्या क्या छन् दैलेखका गढी
हेरेर केही नि छैन जनयुद्धका भरी
हामी भरत बम, जगत खड्का, रामबहादुर विक, अजित सिंह, चुनौती, विनय सबै रुन्चे हाँसो हास्यौँ ।

२०७०–३–१५ शनिबार मार्फा थकाली, चिसापानी, पोखरामा केन्द्रीय समितिको बैठक थियो । सबैले आफ्ना मतहरू राखिरहदा हर्कबहादुर शाहीको भनाइ थियो– क्रान्तिको मैदान पूरै खाली छ । यति बेला हामी दृढतापूर्वक लाग्ने हो भने क्रान्ति नजिकै छ । यो जनताको आवाज हो । देउवाले भनेछन् माओवादी नआए पनि अब चुनावमा जानुपर्छ । यो भन्नु उनीहरूको ठूलो सङ्कट हो । संसदीय व्यवस्थाकै सङ्कट हो ।

२०७०–४–११ शुक्रबार हर्कबहादुर शाही, हुकुमबहादुर सिंह, एकराज भण्डारी, नैनकला थापा र सरला रेग्मी रहेको ५ सदस्यीय अनुशासन आयोगको बैठकको अन्तिममा उहाँले भन्नुभएको मैले बिर्सन सकेकी छैन– कम्युनिस्टहरू नीतिले चल्ने जातिहरू हुन् । खराबीलाई संरक्षण गर्ने प्रवृत्तिलाई परास्त गर्न सक्नुपर्छ । कार्यविधि, आर्थिक अनुशासन कसरी कुन दायरामा ल्याउने रु छानबिन पनि उसैले गर्ने, कारबाही पनि उसैले गर्ने, नियमावली बनाउने, आर्थिकमा सम्पूर्ण अनुशासन, सांस्कृतिक विचलन ः बहुविवाह, छुवाछूत, क्षेत्रीयता, जाँडरक्सी आदिलाई हामीले नीति बनाउनेछौँ । पार्टीमा निर्णय हुनेछ । पार्टी नेताहरूको पार्टी हो । हाम्रो कार्यान्वयन विधि हेर्न जनता आतुर छ । हामी पित्तल होइन, सुन भएर निक्लनेछौँ । दुस्मनका तीन सोच छन् ः आत्मसमर्पण गराउने, दमन गर्ने, टुक्राटुक्रा पार्ने । त्यो हुन दिनु हुँदैन ।

२०७०–८–२३ गते आइतबार कुपण्डोल कार्यालयमा बसेको तेस्रो पूर्ण बैठकको चौथो दिन उहाँले भन्नुभएको थियो– उठेका कुराको जबाफ दिनुपर्छ । सानो, चुस्त र मिलिट्यान्ट पार्टी बनाउनुपर्छ । जनवादी केन्द्रीयताको आचरणमा बस्नुपर्छ ।

कहिले जनवादी केन्द्रीयताबाट विचलित हुँदा जोगाउने अनि कम्युनिस्ट आचरणबाट बाहिरिँदा खबरदारी गर्ने अभिभावक, लक्ष्य भेदन होइन, टुक्राबुक्रामा रमाउने सङ्कीर्ण सोचाइका विरुद्ध लड्दै एकताको महासागरमा पौडन सिकाउने अनि अँधेराहरूमा उज्यालो खोज्दैखोज्दै क्षणिक र रङ्गीन उज्यालो हटाउँदै वास्तविक उज्यालोमा पौडने नेता हुनुहुन्थ्यो हर्षबहादुर शाही । त्यही अप्ठेरोसँग जुध्ने एउटा वीर यतिबेला हाम्रो बीचबाट अस्ताएको छ । उहाँलाई अभिवादन छ । तर उहाँका निख्खर विचार उत्तिकै आवश्यक र मननयोग्य छन् । उहाँका सपना पूरा गर्न हामी सबै अब्बल हुनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :