सरकारी नेकपाले एमसीसी पारित गर्ने निर्णय गरेपछि पाँच विद्यार्थी सङ्गठन आन्दोलित

काठमाडौँ : सरकारी नेकपाको स्थायी समिति बैठकले राष्ट्रघाती अमेरिकी परियोजना संसद्बाट पारित गरेर कार्यान्वयन गर्ने निर्णय गरेपछि विभिन्न पाँच विद्यार्थी सङ्गठनले आक्रोश व्यक्त गर्दै त्यसका विरुद्ध सङ्घर्ष आरम्भ गर्ने निर्णय गरेका छन् । एमसीसी राष्ट्रघाती सम्झौता भएकाले त्यसलाई खारेज गर्न माग गर्दै विज्ञप्ति जारी गर्ने विद्यार्थी सङ्गठनहरूमा अखिल (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल, अर्को अखिल (क्रान्तिकारी) का अध्यक्ष विमल पोखरेल, तेस्रो अखिल (क्रान्तिकारी) का अध्यक्ष आलोक रायमाझी, अखिल (पाँचौँ) का अध्यक्ष घनश्याम मिश्र र अनेवियुका सचिवालय सदस्य मनीष भट्टराई रहेका छन् ।

पाँच विद्यार्थी सङ्गठनद्वारा जारी संयुक्त वक्तव्यमा भनिएको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) परियोजना संसद्बाट पास गर्ने निर्णय गरेकोप्रति संयुक्त विद्यार्थी सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको छ । एमसीसी परियोजना अमेरिकाले अगाडि सारेको सैन्य रणनीतिको अङ्ग हो भन्ने कुरा बारम्बार अमेरिकी अधिकारीहरूले भन्दै आएका छन् । अमेरिकी रणनीतिक स्वार्थलाई नेपालमा लागू गराउने उद्देश्यले एमसीसी परियोजना अगाडि सारिएको हो । सरकारले अमेरिकी साम्राज्यवादको दलाली गरेको छ र नेपाल र नेपाली जनताप्रति गद्दारी गर्ने बृहत् तयारी गरेको छ ।’

संयुक्त विज्ञप्तिमा अगाडि भनिएको छ, ‘एमसीसी परियोजनाका विरुद्धमा देशभक्त नेपालीहरूले लामो समयदेखि सङ्घर्ष गर्दै आएका छन् । तर साम्राज्यवादीहरूको स्वार्थ पूरा गर्नका लागि नेकपा र देशभित्रको गिरोह लगातार सक्रिय रहनु आपत्तिजनक विषय हो । एमसीसी नेपालको परराष्ट्रनीतिका विरुद्ध छ । देशमा एमसीसीका विरुद्ध यति ठूलो जनमत हुँदाहुँदै जबर्जस्ती पारित गर्न खोजिनु देश र जनताविरुद्धको षड्यन्त्र र धोका हो ।’

विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हरेक वर्ष खर्च हुने ११ अर्बका लागि देशको सार्वभौमसत्ता, राष्ट्रियतालाई तिलाञ्जली दिने सत्ताधारी दलको निर्णयले देशमा राजनीतिक द्वन्द्व निम्त्याउने, साम्राज्यवादीहरूलाई परेड खेल्ने मैदान उपलब्ध गराउने खतरनाक वातावरण निर्माण गरेको छ । कम्युनिस्टका नाममा साम्राज्यवादको दलाली गरिनु देशकै कम्युनिस्ट आन्दोलनका लागि ठूलो लज्जाको विषय हो । संसद्बाट एमसीसी पारित नगर्नका लागि सभामुखलाई ज्ञापनपत्र बुझाउने जानकारी गराउँछौँ । सत्ताधारी दलको उक्त निर्णयको विरोधमा एकजुट हुनका लागि सम्पूर्ण देशभक्त जनता, विद्यार्थी र आमजनसमुदायलाई संयुक्त विद्यार्थी आन्दोलनका तर्फबाट हार्दिक अपिल गर्दछौँ । एमसीसीका विरुद्ध विभिन्न चरणबद्ध सङ्घर्षका कार्यक्रम गर्ने जानकारी गराउँछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :