महिलाहरू कोठाभित्रको सुन्दर पुतली बनेर होइन, योद्धा बनेर इतिहास रच्नुपर्छ : सम्झना

महिलाहरू कोठाभित्रको सुन्दर पुतली बनेर होइन, योद्धा बनेर इतिहास रच्नुपर्छ : सम्झना

तुलसीपुर : नेपाल कम्युनिस्ट पार्टी बिशेष कमिटी सदस्य एवम् पुर्व सभासद सीता बिक ‘सम्झना’ ले महिलाहरू कोठाभित्रको सुन्दर पुतली बनेर होइन योद्धा बनेर इतिहास रच्नुपर्ने बताएकी छिन् । मङ्गलबार दाङको तुलसीपुरमा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै नेतृ सम्झनाले उक्त कुरा बताएकी हुन् ।

कार्यक्रममा प्रमुख अतिथिसमेत रहेकी नेतृ सम्झनाले नेपालीहरूको बिरताको इतिहास, स्वाभिमानी नेपाली इतिहास कायम गर्न श्रमजीवी मुक्तिकामी महिलाहरू सडकमा आन्दोलित हुनुपर्ने आवश्यक रहेको समेत बताइन् । उनले नेपालीहरूको इतिहास मागेर खाने इतिहास नभएको समेत जिकिर गरिन् । नेतृ सम्झनाले भनिन्, ‘संसदमा गगन थापाले नाङ्गो ढङ्गले भारत माग्न जाउँ, चीन माग्न जाउँ, अमेरिकाबाट मागिसक्यौँ भनेजस्तो हाम्रो इतिहास होइन । नेपालीको इतिहास कसैको पाउँ मोलेर, गुलामी गरेर खाने इतिहास होइन । नेपालीको इतिहास सङ्घर्ष गरेर आफ्नै श्रम पसिनामा बाच्ने इतिहास हो ।’

एक फरक प्रसङ्गमा बोल्दै नेतृ सम्झनाले राष्ट्रघाती एमसीसी पास गरेदेखि क्रान्तिकारीहरू निदाउँन नसकेको समेत बताइन् । नेपाल आमालाई बेचेर, आमाको अस्मिता बेचेर चुनाव खर्च जुटाउन अमेरिकी साम्राज्यवादलाई नेपाल बुझाएपछि क्रान्तिकारीहरू, देशभक्त र देशका असल नागरिकहरू निदाउँन नसकेको उनको भनाइ थियो । नेपालका केही दलालहरूले एउटा बन्द कोठाबाट एमसीसी पास गरेर लागू गर्न कदापी सफल नहुने भन्दै नेतृ सम्झनाले नेपाली जनताले सडकबाट एमसीसी अस्वीकार गरेको र सडकबाट खारेज गर्ने चेतावनीसमेत दिइन् । अमेरिकाले प्रचण्डको टाउकोमा हेगको तरबार झुन्ड्याएर प्रचण्डले आफू बच्न एमसीसी पास गर्न सहमत भएको तर्कले एमसीसी कति घातक छ भन्ने प्रष्ट भएको उनको धारणा थियो ।

नालापानीमा पिठ्युँमा बालबालिका बोकेर लड्ने नेपाली दिदीबहिनीहरू र महान् जनयुद्धमा काँधमा बन्दुक बोकेर समानता, स्वतन्त्रता र राष्ट्रिय स्वाधीनताका लागि लड्ने महिलाहरूको गर्बिलो, बहादुरीपूर्ण इतिहास भएकाले फेरि राष्ट्रघाती एमसीसी सम्झौता खारेजीका लागि महिलाहरू सङ्घर्षका हरेक चुनौती मोलेर राष्ट्र र राष्ट्रियता जोगाउन निर्णायक लडाइँ लड्नुपर्ने आवश्यकता रहेको नेतृ सम्झनाको भनाइ थियो । उनले समान ज्याला, समान अधिकारका लागि निरन्तर सङ्घर्ष गर्दै आम श्रमिक महिलाहरूले मुक्ति प्राप्त नगर्दासम्म आन्दोलन जारी राख्नुपर्ने बताइन् । अहिलेपनि स्कूल गएका छोरीहरू, जङ्गल गएका दिदीबहिनीहरू सुरक्षित नभएको भन्दै महिला मुक्ति, स्वतन्त्रता, समानता र सुरक्षाका लागि आन्दोलन जारी रहने नेतृ सम्झनाको भनाइ थियो ।

नेपालका युवायुवतीहरूलाई आफैँ गाजा खुवाएर आफैँ चोकचोकमा सुधार गृहको पैसा कमाउने उद्योग सञ्चालन गर्ने दलाल संसदीय व्यवस्थाको अन्त्य नगरी आम श्रमजीवी महिला, युवायुवती, उत्पीडित जनसमुदायले हक, अधिकार नपाउने नेतृ सम्झनाले बताइन् । सडकबाट देश बेचुवाहरूलाई चेतावनीसहित खबरदारी गर्न अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसलाई आन्दोलन र सङ्घर्षको रुपमा मनाएको सम्झनाको भनाइ थियो ।

कार्यक्रममा शान्ति समाज दाङ जिल्ला सचिव निर्मला डागी, राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य कमला जिसी, अनेमसंघ केन्द्रीय सदस्य पुर्णिमा आचार्य, अनेमसंघ क्रान्तिकारीकी केन्द्रीय सदस्य अशोका, अनेमसंघ (क्रान्तिकारी) की केन्द्रीय सदस्य शुसिला आचार्यले शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् ।

नेकपा सम्बद्ध अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीसहित राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध आन्दोलनरत संयुक्त दल–मोर्चा निकट महिला सङ्गठनहरूको संयुक्त सङ्घर्ष समितिको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कृष्णा रानाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण अनेमसंघ क्रान्तिकारी दाङ जिल्ला संयोजक रेखा रोकाले गरेकी थिइन् भने कार्यक्रमको अध्यक्षता हेमन्ताले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :