मकवानपुरमा मनाइयो ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

मकवानपुरमा मनाइयो ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी मकवानपुरसहित अन्य पाँच महिला संघको संयुक्त आयोजनामा ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाएको छ । कार्यक्रम बागमती प्रदेशको राजधानी हेटौँडास्थित नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको सम्पर्क कार्यालयमा मनाएको हो ।

कार्यक्रममा क्रान्तिकारी महिला दिदीबहिनीहरूको उत्साहजनक सहभागिता रहेको छ । ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कार्यक्रममा सबैले एक आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज नयनको प्रमुख आतिथ्यता रहेको थियो । नेकपा मकवानपुरका जिल्ला सेक्रटरी वाटरको विशेष आतिथ्यता, नेकपा (क्रान्तिकारी माओवादी) मकवानपुरका जिल्ला सेक्रेटरी पारस, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल मकवानपुरका जिल्ला सेक्रेटरी यदु लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सम्बोधन गर्दै प्रमुख अतिथि नयनले प्रायजसो समाजमा अझैँ पनि महिला हिंसा घातक अवशेषको रूपमा रहेको बताए । जनयुद्धले स्थापित गरेको महिला मुक्तिको कार्यदिशालाई विजयको मञ्जिलमा पुर्याउन फेरि एकचोटी आम महिला वर्ग एकीकृत जनक्रान्तिको कार्यदिशामा गोलवन्द हुँदै सशक्त सङ्घर्षमा उत्रन उनले आह्वान् गरेका छन् । त्यस्तै जिल्ला सेक्रटरी वाटरले दलाल संसदीय व्यवस्थाका मतियारहरूले अमेरिकी सहयोग परियोजना एमससी सम्झौतामा नेपाल आमाको इज्जत र इमान लिलाम गर्न खोजिरहेको हुनाले निकट भविष्यमा नेपाली चेलीबेटी तथा आम जनतामा आईपर्ने कालो दिन आउँन नदिन महिलाहरू सङ्घर्षको अग्रपङ्क्तिमा आउनुपर्ने बताए ।

अखिल नेपाल महिला संघ क्रान्तिकारी मकवानपुरका उपाध्यक्ष सानु माया मोक्तानको सभाध्यक्षता र अखिल नेपाल महिला संघ क्रान्तिकारी मकवानपुरका सह–सचिव शान्ति प्रजाको सञ्चालनमा रहेको कार्यक्रम सके लगत्तै सबै महिला दिदीबहिनीहरू र्यालीमा सहभागी भएका थिए । पार्टी कार्यालयबाट सुरु भएको र्याली बुद्ध चोकमा पुगी अन्त्य भएको थियो । र्यालीमा महिलामाथि हुने सबै खाले हिंसा बन्द गर, महिला बेचबिखन बन्द गर, समान कामको समान ज्याला लागू गर, सम्पूर्ण श्रमजीवी तथा उत्पीडित महिलाहरू एकजुट होऔँ, ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्य रूपमा मनाऔँ, वैदेशिक हस्तक्षेप बन्द गर, राष्ट्रघाती दलालहरू खबरदार, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, राष्ट्रिय स्वाधिनताको रक्षा गरौँ ! जस्ता नाराहरू लगाइएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :