एमसीसीविरुद्ध दाङमा प्रदर्शनसहित कोणसभा सम्पन्न

एमसीसीविरुद्ध दाङमा प्रदर्शनसहित कोणसभा सम्पन्न

घोराही : दाङमा आइतबार पनि राष्ट्रघाती एमसीसीविरुद्ध प्रदर्शनसहित कोणसभा सम्पन्न भएको छ । विप्लव नेतृत्वको नेकपा निकट राष्ट्रिय मुक्ति (जातीय/क्षेत्रीय) मोर्चासहित नेकपा (क्रान्तिकारी माओवादी) निकट जातीय/क्षेत्रीय मोर्चा र राष्ट्रिय जनमोर्चा निकट जातीय/क्षेत्रीय मोर्चाको संयुक्त आयोजनामा एमसीसीविरुद्ध प्रदर्शनसहित कोणसभा सम्पन्न भएको हो ।

कोणसभालाई सम्बोधन गर्दै मगर मुक्ति मोर्चा नेपालका केन्द्रीय कोषाध्यक्ष भिमप्रकाश पुनले व्याख्यात्मक टिप्पणीको नाममा राष्ट्रघात गरेका दलालहरूलाई नेपाली जनताले राम्रोसँग चिनेको बताए । उनले नेपाली जनतालाई विभिन्न भ्रम फिजाएर रातारात एमसीसी पास गरेपनि जनताले लागू हुन नदिनेसमेत बताए । नेता पुनले जबर्जस्त एमसीसी लाद्न खोजे नेपालमा भयङ्कर ठूलो बिद्रोह हुने चेतावनीसमेत दिए ।

अमेरिकाका नेपाली दलालहरूलाई नेपाली भूमिबाट सदाका लागि नलखेट्दासम्म नेपाली जनताले मुक्ति नपाउने समेत पुनको भनाइ थियो । नेपालका बहुमूल्य प्राकृतिक खनिज, स्रोत–साधनहरू कब्जा गर्ने, नेपालमा चलिरहेको समाजवादी आन्दोलनका विरुद्ध तथा बढ्दो कम्युनिस्ट पभावलाई निस्तेज पार्न र छिमेकी मुलुक चीनमाथि आक्रमण गर्न अमेरिकी साम्राज्यवादले एमसीसीसहित नेपाल प्रवेश गरेको स्पस्ट पारेका थिए ।

कोणसभालाई अखिल नेपाल जनजाति सम्मेलन केन्द्रीय उपाध्यक्ष रमेशमान गुरुङ, मधेसी राष्ट्रिय मुक्ति मोर्चा, नेपाल दाङका अध्यक्ष सुर्य यादव, नेपाल दलित मुक्ति मोर्चाका प्रतिनिधि तिलक बिकले सम्बोधन गरेका थिए ।

कोणसभाको सहजीकरण राष्ट्रिय थारु मुक्ति मोर्चा नेपालका केन्द्रीय सदस्य एवम् दाङका अध्यक्ष चुलुवाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :