११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

आज संसारकै श्रमिक–उत्पीडित महिलाहरू ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहेका छन् । मानिस–मानिसबीच लैङ्गिक विभेद हुनु हुन्न, महिलामाथि कुनै पनि किसिमको विभेद र शोषण गरिनु हुन्न, श्रमको विभाजन, मूल्याङ्कन श्रमघन्टा समान हुनुपर्छ, समान कामको समान ज्याला हुनुपर्छलगायत अधिकार माग गर्दै ११२ वर्षअघि आरम्भ भएको श्रमिक महिला आन्दोलन एक्काईसौँ शताब्दीको चौथाइ शताब्दी बित्दा पनि जारी छ । नेपालमा पनि राजनीतिक, सांस्कृतिक, आर्थिक, सामाजिकलगायत स्वतन्त्रता, समानता र स्वाधीनता माग गर्दै महिला आन्दोलन जारी छ । समाजको आधा हिस्सा मात्र होइन, श्रम र सिर्जनाको बहुमत हिस्सा ओगटेको श्रमिक वर्ग महिलामाथि कुनै पनि शोषण, दमन र विभेद हुनु हुन्न । महिला दोस्रो दर्जाका नागरिक होइनन् । महिला र पुरुष बराबर हुन् । राज्यलाई, कानुनलाई, समाजलाई, संस्कार–संस्कृतिलाई, पुरुषलाई कुनै बहानामा, कुनै पनि तरिकाले महिलामाथि शोषण गर्ने कुनै त्यस्तो बेग्लै र विशेष अधिकार छैन । गरिन्छ भने त्ये व्यभिचार हुन्छ, शोषण हुन्छ । अमानवीयता हुन्छ । आज महिलाहरू यही अमानवीयताका विरुद्ध आन्दोलित छन् । यो आन्दोलनलाई सबै न्यायप्रेमीको साथ, सहयोग र ऐक्यबद्धताको आवश्यकता छ ।

नेपालका हरेक राजनीतिक, सामाजिक, सांस्कृतिक, आर्थिक आन्दोलन, सङ्घर्ष, युद्ध र क्रान्तिहरूमा महिला अग्रपङ्क्तिमा लामबद्ध छन् । त्याग, शौर्य, बलिदानको दृष्टिले पनि महिलाहरू अग्रमोर्चामा छन् तर पनि महिलामाथिको विभेद घटेको देखिँदैन । जनयुद्धले स्थापित गरेको नयाँ विचार, संस्कार, संस्कृति र सत्तामा महिला समानताको अवस्था तुलनात्मक रूपले माथि वा उच्च भए पनि जनयुद्धको असफलता वा केही अगुवाहरुले दिएको धोकाका कारण जनयुद्धको विघटनपछि राजनीतिक रूपमा भएको प्रतिक्रान्तिसँगै सांस्कृतिक प्रतिक्रान्ति पनि भयो र महिलामाथिको दृष्टिकोण र व्यवहारमा पनि प्रतिक्रान्ति भयो । फलस्वरूप महिलामाथि आज पनि प्रकारान्तरले दासीकै व्यवहार गरिएको छ । सामन्तवादले जस्तै पुँजीवादले पनि महिलाहरूमाथि विविधखाले शोषण, दमन, विभेद जारी राखेको छ । अझ दलाल पुँजीवादले त महिलामाथि दोहोरो–तेहेरो शोषण, दमन र विभेद लादिरहेको छ । महिलामाथि अत्यन्त निच किसिमका बलात्कार र हत्याजस्ता अमानवीय हर्कत र कहालीलाग्दो कहर बढेको छ । आज पनि महिलाहरू महिलामाथि हुने सबैखाले हिंसा अन्त्य गर !, महिला बेचविखन बन्द गर !, बलात्कारी र हत्यारालाई कडाभन्दा कडा कारबाही गर !, समान कामको समान ज्याला लागू गर ! भन्ने नारा लिएर सङ्घर्षको मैदानमा डटिरहेकै छन् । महिलामाथिको सम्पूर्ण शोषण, दमन र विभेदको अन्त्य भएर मुक्ति नभएसम्म शोषित वर्गको मुक्ति नहुने उद्घोषहरू आइरहेका छन् । त्यसैले आज वर्गसङ्घर्ष र महिला मुक्ति आन्दोलन साथसाथै अघि बढिरहेका छन् ।

यसैक्रममा नेकपाका महासचिव कमरेड विप्लवले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा शुभकामना दिँदै श्रमिक महिला दिवसलाई आफ्नो मुक्ति, अधिकार, स्वतन्त्रता र उच्च मानवसभ्यताका लागि जीवन बलिदान दिन तयार भएर विद्रोह गरेको दिनसँग जोडिएको दिन, महिलाहरूका लागि अन्तर्राष्ट्रिय पर्व, सिङ्गै मानव जातिका लागि गौरवको दिनका रूपमा चर्चा गर्दै श्रम र सिर्जनासँगै पुँजीवाद–दलाल पुँजीवादले लादिरहेका अत्याचार, शोषण एवम् विभेदविरुद्ध सङ्घर्ष र विद्रोह गर्न पनि हरदम तयार रहन आह्वान गरेका छन् । उनले भनेका छन्, ‘जहिलेसम्म सिङ्गो मानव समाज पुँजीवादको थिचोमिचोबाट मुक्त हुनेछैन तहिलेसम्म महिलाहरू मुक्त हुने छ्रैनन् । जहिलेसम्म महिलाहरू मुक्त हुने छैनन्, तहिलेसम्म मानव समाज पनि मुक्त हुनेछैन । विश्व पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवाद–साम्यवादको स्थापना नै महिलासँगै मानव मुक्तिको सर्त हो ।’ नेकपा सम्बद्ध अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीसहित राष्ट्रियताको आन्दोलनमा संयुक्त रूपमा सङ्घर्ष गरिरहेका ६ दल आबद्ध क्रान्तिकारी महिला सङ्गठनहरूले पनि महासचिव कमरेडको यही संश्लेषणअनुसार श्रमिक महिला दिवसमा निरन्तर क्रान्ति जारी राख्ने क्रान्तिकारी उद्घोष गरेका छन् । महासचिव कमरेडले भनेझैँ महिलाहरू मुक्त नभएसम्म मानव समाज पनि मुक्त हुनेछैन । यसका लागि विश्व पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवाद–साम्यवादको स्थापना गर्नु आवश्यक छ । त्यही दिशातर्फ अग्रसर बनौँ, सबैलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना ! सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :