युवा संगठनको रााष्ट्रिय सम्मेलन फागुन ६ गते हुने


काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको सहायक संगठन राष्ट्रिय युवा जनस्वयम् सेवकको तेस्रो राष्ट्रिय सम्मेलन आगामी फागुन ६ गते विराटनगरमा हुने भएको छ । राष्ट्रघात, भ्रष्टाचार र बेरोजगारीका विरुद्ध शसक्त युवा आन्दोलन, सुनिश्चित युवा अधिकार र एकीकृत जनक्रान्तिको पक्षमा तेस्रो राष्ट्रिय सम्मेलन” नारासहित यही फागुन ६ गते उद्घाटन गरेर ७ गते बन्द सत्र हुने आयोजक समितिले बताएको छ । उक्त समितिले राष्ट्रिय सम्मेलन सम्पन्न गर्नका लागी विभिन्न तह र तप्काका जनसमुदायहरुलाई आर्थिक, भौतिक, नैतिक तथा वैचारक सहयोगका लागि अपीलसमेत गरेको छ ।

अपील

प्रिय युवा तथा जनसमुदायहरू !
आज देशमा संसदीय व्यवस्था पुनस्र्थापना गरिएको छ । महान् जनयुद्धको अन्त्यको परिणाम पुनःस्र्थापना भएको यो व्यवस्थाले जनताका नैसर्गिक अधिकारहरूमाथि धावा बोल्दै देशलाई राष्ट्रियरअन्तर्रा्ष्ट्रिय दलालहरूको पोल्टामा हालिदिएको छ । विभिन्न समयमा गरिएको चुनावी नौटङ्कीसँगै न्यायप्रेमी जनता र क्रान्तिकारी शक्तिहरूमाथि दमनका नयाँ श्रृङ्खलाहरू बढाइएका छन् । यसका विरुद्ध जनताले प्रतिरोधको मात्रा र गुणमा पनि विकास गर्दै गएका छन् । यही राजनीतिक सेरोफेरोमा हाम्रो युवा संगठनको ऐतिहासिक तेस्रो राष्ट्रिय सम्मेलन हुन गइरहेको छ ।

देशको मुख्य मेरुदण्ड युवाहरू नै हुन् । राष्ट्रको कूल जनसंख्या (पौने ३ करोड) को चालीस प्रतिशतको संख्यामा रहेका युवाहरूमध्ये पचास प्रतिशत विदेश पलायन भएको विभिन्न आँकडाहरूले बताइरहेका छन् । यसले दलाल संसदीय राज्यसत्ताको खास पहिचान र युवाहरूको आधारभूत आवस्थाको चित्रण गर्दछ । नेपालको नीति निर्माण र योजनाका प्रमुख एजेन्डामा युवाहरू नहुनु नै हामी युवाहरूको गम्भीर समस्या हो ।

राज्यको चरित्र स्वाधीन र जनवादी नहुनाको कारण आजको विश्वव्यापी चुनौतीलाई समाधान दिन सक्ने जनशक्ति उत्पादनमा ह्रास आउनु अर्को ठूलो समस्या हो । विज्ञान र प्रविधिमाथि टेकेर श्रम र पुँजी आएपछि बेरोजगार युवाहरूको संख्या बढ्दै गएको छ । विज्ञान र प्रविधिमा दक्ष जनशक्ति उत्पादन नहुँदा रोजगारीको अवसरलाई हामी युवाहरूले पकड्न सकेका छ्रैनौं । राज्य दलालीकरण र भ्रष्टीकरण हुँदै जाँदा राज्य युवाहरूको सम्पूर्ण दायित्वबाट गैरजिम्मेवार बनेको छ । फलस्वरूप स्वदेशमा दास र विदेशमा लास बन्नुपर्ने कहालीलाग्दो अवस्था सिर्जना भएको छ । युवाहरूलाई राष्ट्रको खम्बाको रूपमा हैन कि बोझको रूपमा लिइएको छ । त्यसैले, युवाहरूको समग्र अधिकार स्थापित गर्दै शारीरिक, मानसिक तन्दुरुस्ती बनाउन राज्यको दायित्वलाई पूरा गराउने उद्देश्यसहित राष्ट्रियताको पक्षमा आन्दोलन उठान गर्न नयाँ नीति तथा कार्यक्रम कार्यान्वयनको दिशामा जानु आवश्यक बनेको छ ।

नेपाली राजनीतिको विशिष्ट मोडमा साम्राज्यवादी, विस्तारवादका नेपाली मतियारहरूद्वारा लादिएको संसदीय बुर्जुवा संविधानले नेपाली जनता र युवाहरूको भविष्य सुनिश्चित गर्न सक्दैन भन्ने पुष्टि भएको छ । संसदीय सत्ताको विकल्पमा वैज्ञानिक समाजवादले मात्रै श्रमजीवी जनताका अधिकार प्राप्ति र राष्ट्रिय स्वाधीनताका प्रस्तावहरूलाई वैज्ञानिक समाधान दिन सक्दछ । एकीकृत जनक्रान्तिको वैचारिक आलोकमा क्रान्तिकारी युवाहरूको यही लक्ष्यलाई पूरा गर्न तेस्रो राष्ट्रिय सम्मेलन यही फागुन ६ र ७ गते विराटनगरमा हुन गइरहेको छ । उक्त कार्यक्रममा क्रान्तिकारी, देशभक्त, प्रगतिशील र न्यायप्रेमी युवा तथा जनसमुदायहरूलाई सहभागी भई कार्यक्रम भब्यरूपमा सफल बनाइदिनुहुन हर्दिक अनुरोध गर्दछौँ ।

उद्घाटन समारोह – २०७४ फागुन ६ गते आइतबार
स्थान – विराटनगर
समय – दिनको ११ः०० बजे

राष्ट्रिय युवा जनस्वयम्सेवक
केन्द्रीय समिति
२०७४ माघ १९ गते बेलुका ५ ४४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :