भण्डाफोर अभियान किन ?

चुनाव खारेज अभियान तीव्र पारेको नेकपाले माघ १५ गतेदेखि देशव्यापी भण्डाफोर तथा जनजागरण अभियान सुरु गरेको छ । बाहिरबाट हेर्दा वा सरलीकरण गर्दा त्यसलाई संसदीय अथवा सुधारवादी दलहरूकै स्तरको कार्यक्रमजस्तो लाग्नसक्छ । तर त्यसको भेदनबिन्दु कहाँ हो ? भन्ने प्रश्न महत्वपूर्ण हुन्छ । त्यसैले नेकपाको तीनमहिने अभियान दूरगामी महत्वको छ ।

महामानव कार्ल हेनरिक माक्र्सले भन्नुभएझैँ हतियारको आलोचनालाई आलोचनाको हतियारले पराजित गर्न सकिन्न । हतियारको आलोचनालाई आलोचनाको हतियारले पराजित गर्न खोज्दा क्रान्तिकारी माओवादीको कन्तबिजोक भएको छ । आफ्नै भण्डाफोर भएको छ र दलाल व्यवस्थाको परिपूरक बन्न गएको छ । आज देशमा कम्युनिस्ट नामधारी दलाल पार्टीहरू सत्तामा पुगेका छन् । नेकपाको छैटौँ पूर्ण बैठकले यी दलालहरूलाई ‘सामाजिक दलाल पुँजीवादी’ भन्ने निर्णय गरेको छ । यिनीहरूको विगत राष्ट्रघात, जनघात, असमान सन्धि र दलालीले विद्रूप भएको छ । सत्ता टिकाउन भविष्यमा पनि त्यही गर्नेछन् । नेकपाले नयाँ बनहात्ती गाउँ पसेको बेला जनतालाई जागृत गर्नेछ ।

चुनाव खारेज अभियानमा पार्टीले काङ्ग्रेस, एमाले, माके कुनै दलविशेषलाई आक्रमण गरेन । केवल दलालहरू र चुनाव प्रचारलाई अवरोध गर्‍यो । चुनाव खारेज दलहरूका विरुद्ध नभएर वर्गका विरुद्ध थियो । दलाल पुँजीवाद र त्यसका प्रतिनिधिहरूका विरुद्ध थियो ।

दलाल पुँजीवादीहरूले एमाले गठबन्धन र काङ्ग्रेसी गठबन्धन बनाएर चुनावमा गए । त्यसको माध्यमबाट राजनीतिक स्थिरता कायम गर्ने कोसिस पनि गरे । तर सत्ता चरित्रका कारण उनीहरूबीचको कुकुर झगडा, अस्थिरता रोकिने र समालिने सम्भावना छैन । परिस्थिति त्यही दिशामा गतिवान् छ । एमाले गठबन्धनको नारा ‘स्थिरता, समृद्धि, विकास र समाजवाद’ उनीहरूका लागि कात्रो बनेर आउनेछ । आज विकास र समृद्धिको नाराले युरोप र अमेरिकी नागरिकसमेत चैनले निदाउन पाएका छैनन् । ‘माग्नेमाथि थाङ्ने’ भनेझैँ दलालको पनि दलाल व्यवस्थामा विकास र समृद्धि सम्भव छ ?

दलालका प्रतिनिधिहरूले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सक्दैनन् । विकास निर्माणको काममा विप्रेषण र अनुदान तथा विदेशी शरणमा पर्नुपर्ने हुन्छ । देशमा उत्पादन बढ्दैन । विदेशी मुद्रा सञ्चय बढ्दैन । निर्यात बढ्दैन । उपभोक्ता मात्र बढ्छन् । त्यसैले दलाल सत्ताको विकास भनेको झन् धेरै शोषण, झन् धेरै गरिबी र राष्ट्रघात हो भने मुट्ठीभर दलाल, कमिसनखोरको समृद्धि हो । त्यसले देशमा अस्थिरता र असन्तुष्टि बढाएर लग्छ । जनयुद्ध नेपाली समाजको वर्गीय टक्करको अनिवार्य परिणाम थियो । विदेशी अथवा साम्राज्यवादी षड्यन्त्र, दबाब र हस्तक्षेपका कारण गृहयुद्धमा संलग्न मुख्य परस्पर विरोधी शक्तिहरू गणतन्त्रवादी (माओवादी) र राजतन्त्रवादी (सेना) सत्ताबाट बाहिरिए । त्यसको अर्थ हो– समस्या यथावत् रह्यो । दलाल शक्तिहरू सत्तारूढ भए त्यसकारण विद्रोह, झडप, अस्थिरता, नेपाली समाजको अनिवार्यता हो । त्यसकारण समाज विकासको नियम, दिशा बुझ्ने, बुझाउने र पहलकदमी लिन जागरण अभियान सुरु गरिएको हो ।

नेपालमा ३ रूपका दलालहरू देखिएका छन् । काङ्ग्रेस, राजपा, फोरमलगायत लोकतान्त्रिक नाममा आएका दलाल पुँजीवादी दलहरू छन् । एमाले, माके कम्युनिस्ट नामधारी दलालहरू हुन् जसलाई हामीले ‘सामाजिक दलाल’ भनेका छौँ । अर्कोतिर ‘राष्ट्रवाद’ को नारामा पनि दलाल शक्तिहरू आउन सक्छन् । पूर्वपञ्चहरू, राजावादीहरू, कर्मचारी तथा सेनाका कैयौँ पक्षहरू हुनसक्छन् । जनतालाई कम्युनिस्ट शासन चाहिएको छ । एमाले–माकेलाई मतदान गर्छन् व्यवहारमा तब ती दलालहरू रहेछन् भन्ने थाहा हुन्छ । त्यसबेला मात्र जनताले खाल्डोमा परिएछ भन्ने बुझ्छन् । तर ढिलो भइसकेको हुन्छ । कम्युनिस्ट शक्ति बढ्दै गयो भने साम्राज्यवादले जनता–जनता लडाउने नारा दिन्छ । आर्थिक लगानी गर्छ । दलाल र बुख्याँचा ठड्याउँछ । जातीय, क्षेत्रीय नारा उराल्छ । कम्युनिस्टहरूको विरुद्ध कोन्ट्रा विद्रोही, सलवा जुडुमजस्तै नेपालमा अमेरिका र भारतको पाठेघरमा सीके राउतको गर्भधारण भएको छ । विश्वका समाजवादी–जनवादी क्रान्तिहरू हेर्दा क्युबामा आन्तरिक सङ्कटको कारण र चीन तथा रुसमा अन्तर्राष्ट्रिय सङ्कटको प्रभावमा क्रान्ति भएका थिए । नेपालमा दुवै प्रकारको सङ्कट देखिन थालेको छ ।

रोल्पाको इरिबाङमा सभा गर्न जाँदा जनता नै विद्रोहमा उत्रिए । ढुङ्गामुढा गर्न जनसमूह उत्रियो । अनन्तः चुनावी सभा नसकेर फर्किए । उता रुकुममा सहिद परिवारले जनार्दन शर्मालाई जुत्ता प्रहार गरे । यी सामान्य घटना होइनन् ।

प्रदेश सभा र केन्द्रीय सभा निर्वाचनको खारेजीपछि राष्ट्रिय राजनीति र शक्ति सन्तुलनमा परिवर्तन भएको छ । माघ पहिलो साता सम्पन्न पार्टीको छैटौँ बैठकले वर्गसङ्घर्षलाई अगाडि बढाउने सुझबुझपूर्ण नीति र पहलकदमी लिएको छ । हामी परिस्थितिलाई आफ्नो नियन्त्रणमा लिन चाहन्छौँ र माओवादी धारालाई सबल बनाउन चाहन्छौँ ।

निर्वाचनको एक महिना नेपालको राजनीतिक इतिहासमा रोचक रहेको छ । एक महिनासम्म लगातार हरेक दिन बम विस्फोट, धराप विस्फोट, भाटे कारबाही, जुलुस, चुनावविरोधी सभाहरू भए । इराक वा आफगानिस्तानको जस्तो चुनाव भयो । रोल्पाको इरिबाङसहित १२ स्थानमा जालीफटाहा र दलालहरूमाथि भाटे कारबाही भयो । देशभरि त्यस्ता कारबाहीहरू भए । कैयौँ वडा र गाउँमा शून्य मतदान भयो । कर्मचारी र उम्मेदवारका प्रतिनिधिहरूले दुईचार मतदान गरेर हातले लाज छोपिदिएर फर्के । नेकपाको उपस्थिति कम भएको स्थानमा माकेहरूले एकैजनाले ६० पटकसम्म मतदान गर्दा पनि उनीहरूकै नक्कली तथ्याङ्कमा समेत रोल्पामा ५२ प्रतिशत मतदान भयो । सुरक्षाकर्मी र माकेका दलालहरूले थबाङमा घरघरमा गएर धम्क्याउँदा, त्रसित गर्दा पनि उनीहरूकै शब्दमा ३८ प्रतिशत मात्र मतदान भयो । वास्तविकता के हो भने थबाङ मात्र होइन, सिङ्गो रोल्पा र जनयुद्धको आधारइलाका नेकपाका पक्षमा उभियो । दलालहरूका विरुद्ध उभियो । ११२ जना पक्राउ गर्दा थोरैबाहेक नेकपालाई गाँस र बास दिएका जनतालाई दुःख दिइयो । दमन, खानतलासी, जाँचपड्ताल जनयुद्धकै झल्को दिने गरी भयो । यता उदयपुरमा बलबहादुर मगर (एमाले कार्यकर्ता) समेत पक्राउ परे । वर्गविश्लेषण सही हुनु, दलविशेष नभएर दलाल विशेष निशाना भएका कारण दलहरू नेकपाप्रति आक्रामक देखिएनन् । भोजपुर, ट्याम्के–मयुम गापाको सर्वदलीय बैठकले औपचारिक रूपमा नेकपाका कार्यकर्तामाथि लगाइएको झूटा मुद्दा फिर्ता लिन प्रशासनलाई अनुरोध ग¥यो । चुनाबी राप बढ्दै गर्दा संसदीय दलका नेताहरू नै भूमिगत भए । बाहन फेरेर हिंँड्ने, प्रहरी पोसाकमा हिँड्ने, बाटो बदलेर हिँड्ने कार्यक्रमको स्थान र समय एउटा, प्रचार गर्ने अर्कै गर्ने, केन्द्रित सभा नगर्ने, गुपचुप हिँड्ने, अनेक प्रकारका भूमिगत शैली चुनावी नेताहरूले गरे । जनता दलालका विरुद्ध आक्रोशित थिए । रुकुममा जनार्दन शर्मा र नुवाकोट मनकामनामा हीरानाथ खतिवडालाई सहिद परिवारले जुत्ता प्रहार गरे । त्यस्तै आक्रोश देशभरि देखियो ।

नेकपा आवेग होइन, विवेकमा चलिरहेको छ । अहिले पनि दलाल पुँजीवादको मुख्य प्रतिनिधि दल काङ्ग्रेस नै हो । दोस्रोमा एमाले हो । त्यसैले नेकपा मुख्य दलालकै विरुद्ध सङ्घर्षरत छ तर नेकपासँग लड्न, सुराकी गर्न माके सबैभन्दा अगाडि आएको छ । हामीले माकेलाई पछाडि छोड्ने, माकेचाहिँ पाखुरा सुर्किंदै जोरी खोज्न आउने भएको छ । चुनावपछि अनन्त (झरीमान पुन) ले नेकपालाई दमन गर्ने तरिका आफूलाई थाहा भएको कारण गृहमन्त्री माग गरेको चर्चा छ । प्रचण्डले भयानक अपराधी योजना बुनिरहेको सूचना आएका छन् । यो संवेदनशील सूचना र व्यवहारको कारण र निदानका विषयमा नेकपा सचेत छ ।

यो निर्वाचन खारेज अभियानको सबैभन्दा ठूलो उपलब्धि भनेको दलाल पुँजीपति वर्गको नयाँ नायक प्रचण्डको हातबाट जनयुद्धको विरासत खोस्नु, क्रान्तिकारी धारा स्थापित गर्नु र जनयुद्धको शक्ति नेकपा हो भन्ने यथार्थ स्थापित गर्नुमा रहेको छ । वैचारिक, राजनीतिक रूपले नेकपा नै जनयुद्धको निरन्तरता र उत्कर्ष थियो । साङ्गठनिक रूपले पनि त्यो कुरा स्थापित भयो ।

धौलागिरि अञ्चलमा त नक्कली नेपाली मुद्रा देखिए । भारतीय र नेपाली मुद्राको खोलो बग्यो । गोरखाका माकेका एकजना केन्द्रीय सदस्य भछन्, “नारायणकाजीले नेपाली नोट बाँडेका थिए, बाबुरामले त आईसी नै बाँडे । नक्कली मुद्रा र नगदको खोलो चुनावपछि मूल्यवृद्धि र महँगीरूपी राक्षस बनेर आएको छ । त्यसकारण राजनीतिक दलालमाथिको कारबाही सही प्रमाणित भएको छ ।

आज विश्व आर्थिक सङ्कटतिर धकेलिएको छ । एकातिर अन्धराष्ट्रवाद तथा नाजीवाद बढ्दै गएको छ । अर्कोतिर साम्राज्यवादका विरुद्ध प्रतिरोध बढ्दै गएको छ । यस्तो बेला नेकपाले देशभक्त स्वरलाई बलियो आधार प्रदान गरको छ । यो चुनावको समयमा पनि त्यो प्रकट भयो । जनप्रतिरोधबाट आत्तिएको सरकारले नेकपासँग वार्ताको फन्टुस तर्क प्रचार गरेर भ्रम पार्न खोज्यो । विद्रूपीकरणको प्रयास भयो । त्यसलाई समयमै निस्तेज गरियो ।

कर्णाली अञ्चलका कतिपय स्थानमा जनता मतदान केन्द्रमा जान नमानेपछि सुरक्षाकर्मीलाई दुरुपयोग गर्न खोजियो । तर प्रहरीले मतदान केन्द्र र उम्मेदवारको सुरक्षा मात्र आफ्नो भएको, जनतालाई मतदान केन्द्रमा ल्याउने जिम्मा दलहरूको भएको जबाफ दिए । यो कुरा अर्थपूर्ण मनोविज्ञानको कुरा हो । जनता र कार्यकर्तालाई विद्रोह गर्न अपिल गरेर भित्रभित्रै पद र सुविधाको खेल खेल्ने राजेन्द्र कार्की (नवीन) जस्ता राजनीतिक वेश्याहरूले सङ्खुवासभासहित कयौँ स्थानमा घरघरमा प्रहरी बोकेर छापामार्न गए । उनलाई दण्डित गर्नुपर्ने देखिन्छ । उनको विषयमा तल्ला समितिले धेरै अघिदेखि नकारात्मक सूचना दिइरहेका थिए । नेता–कार्यकर्ताका प्रवृत्तिहरू बुझ्ने, तल्लो समितिका सूचनालाई गम्भीरतापूर्वक लिने कार्यमा कमजोरीहरू भएको देखियो । मार्ता हार्नेकरको भनाइअनुसार ‘कार्यकर्ताको मूल्याङ्कन पार्टीमा उसको भूमिका हेरेर होइन, जनतासँगको उसको व्यवहार हेरेर गर्नुपर्छ’ भन्ने रहेको छ ।

कृष्ण सिटौलासँग चुनाव खर्च माग्न आएका काङ्ग्रेसी कार्यकर्ता ढोकाबाट निस्कँदै गर्दा बम विस्फोट भएपछि भाग्दै गर्दा उसैलाई समातेर प्रहरीले मुद्दा लगायो । यस्तो छ नेपाल प्रहरीको कार्यशैली । चुनाव प्रचारविरोधी अभियान र विद्रोहमा आन्तरिक व्यवस्थापनका समस्या र असमानताका समस्या पनि देखिए । जाडोमा नाङ्गै हिँडेको राउटेलाई कसैले सोध्यो, “ए दाइ ! तिम्लाई जाडो हुन्न ?’ राउटेले भनेछ, ‘छ लुगा छ जाडो; छैन लुगा छैन जाडो नानी ।’ यस्ता पीडा र मनोविज्ञानलाई पार्टीले सच्याउनुपर्ने देखियो ।

जुम्लाको पातरखोलामा सेना र सशस्त्र प्रहरीले ज्यादती गरे । त्यहाँ जनयुद्धमा समेत त्यस्तो दमन भएको थिएन । अनौठो कुरा त्यहाँ पुगेको सेनाले माकेका नेतालाई समेत गाली गर्दै छापामार्दै गरेका थिए । समग्रमा जनता र दलाल सत्ताको बीचमा अन्तर्विरोध बढेको छ । काठमाडौँमा बाटोमा राखेको बम सशस्त्र प्रहरीले कसैको घरमा काम गर्न बसेकी महिला (घरेलु कामदार) लाई उठाउन लगायो । सायद त्यो महिला मरोस् र भाडाका मान्छे प्रयोग गरेको आरोप पुष्टि गर्न पाइयोस् भन्ने दाउमा प्रहरी थियो । भविष्यमा यस्ता अनेक षड्यन्त्र हुन सक्छन् ।

सुरक्षा निकायले एमाले र काङ्ग्रेस गठबन्धनको बीचमा झडप हुने त्यही नै सुरक्षा चुनौती बताएको थियो तर त्यसो भएन । नेकपा उनीहरूको चुनौती बन्यो । सेनासहित सुरक्षा निकाय र सरकारको विश्लेषणले हावा खायो । त्यो स्थिति नै नेकपाको वैचारिक राजनीतिक श्रेष्ठता हो भन्छन् नेकपाका नेता प्रज्वलन । असुरक्षा र प्रहरीप्रतिको अविश्वास कतिसम्म बढ्यो भने झलनाथ खनालले घरभित्र बसेर (मञ्चमा जान डराएर) इलाममा सभालाई सम्बोधन गरे । इलामका खनालकै एकजना आफन्तले बोल्दै गर्दा बुढाले डराएर भित्री वस्त्र चिसो पारेको बताए ।

वैद्य बा बिलाए, मातृकाको पतन भयो । नेकपा नयाँ शक्तिका रूपमा आयो । यो कसरी सम्भव भयो ? त्यसको कारण वैचारिक राजनीतिक क्षेत्रको वैज्ञानिकता हो । बब अभाकियनले भनेझैँ क्रान्ति ‘आशाविहीनहरूको आशा (होप अफ द होपलेस) हो’ भन्छन् नेकपाका राजनीतिक कार्यसम्पादन समितिका सदस्य रणवीर । हो, आज नेकपा आशाविहीन नागरिकको आशाको केन्द्र भएको छ । यसलाई भरोसामा बदल्नुछ । स्राेतः राताे खबर साप्ताहिक,वर्ष ३, अङ्क ३३, पूर्णाङ्क १२८

२०७४ माघ १७ गते बुधबार दिउँसो २ः३५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :