धरापको बीचैबीच जीवन

धरापको बीचैबीच जीवन

कोरोना भाइरस सङ्क्रमण (कोभिड १९) महामारीका कारण देशमा सरकारले बन्दाबन्दी घोषणा गर्ने निश्चित भएपछि सहरमा बस्नुभन्दा गाउँमा उपयुक्त होला भनेर चैत ८ गते भोजाड, भरतपुरबाट पहाडतिर लागेँ । लोथर बजार नपुग्दै माथि उकालो बाटो हुँदै बजारकै साथी ऋषि सुवेदीसहित लोथरतिर लाग्यौँ । त्यस दिन जनयुद्धकालकै कार्यकर्ता मानबहादुर चेपाङको घरमा बास बसियो । राप्ती १, (साबिक लोथर) तारेवाङ गाउँका मानबहादुर प्रजाको पराले झुपडीमा न्यानो आतिथ्य थियो । त्यसै दिन त्यहीँ मकवानपुरका पार्टी इन्चार्ज मिङ्मार आइपुगे । स्थानीय नेता कमरेड दोर्जे पनि त्यहीँ आइपुगे । हामी लोथर खोलाको छेउमा थियौँ । खोलाको नागबेली आकृति मनोरम देखिन्थ्यो । खोलापारि मकवानपुर जिल्लाका पाखा–पखेरा तरेली परेका मनोरम लाग्थे । चैतको आधा घर्किनै लाग्दा पनि यतातिर चिसो घटेको थिएन । त्यसै बासमा भर्खरै जेलबाट रिहा भएका युवा कमरेड लक्ष्मण पौडेल र उनका साथी चिकित्सक लाहानका रूपेश यादव आइपुगे । जेलबाट रिहा भएका साथीसँगको भलाकुसारी रमाइलो हुन्थ्यो नै । सर्वोच्च अदालतले सरकार र प्रहरीको ज्यादतीको लामो तालिकासहित रिट जारी गरेको रहेछ । फैसला हेरेर समाचार बनाएँ । त्यसलाई सञ्चारगृहसम्म पठाएँ । त्यहीँ पत्रकारहरू भीम चापागाईं, प्रकाश डुम्रे, शिव डुम्रेसँग छलफल भयो ।

मानबहादुरका दुईटी श्रीमती रहेछन् । मैले जेठीलाई ‘तपाईंहरूको झगडा हुन्छ कि हुन्न दिदी ?’ भनेँ । ‘केलाई झगडा हुनु, आआफ्नो कर्म खानी त हो’, जेठीले त्यसो भन्दा कान्छी छेउमा मुसुमुसु हाँस्दै थिइन् । बुढाको कपाल बाँसको जराजस्तै लाग्थे । मैले कति दिनमा नुहाउँछ भाइ ? भनी प्रश्न गरेँ । ‘सानोमा नुहाएको कामज्वरो आयो । त्यसपछि यो उमेरसम्म नुहाएको छैन । वर्षामा आकाशको पानीले भिजिन्छ, त्यत्ति हो’, सहज रूपमा उनले भने । त्यो कुरामा उनकी जहानले पनि सही थापिन् । ‘कि पूरै सफा कि पूरै फोहोर, आधा काम कुनै पनि राम्रो हुन्न सार’ हात नधोईकन खाना खानुहुन्न ? भन्ने मेरो प्रश्नमा उनको जबाफ हुन्थ्यो । डोरी बुनेर बनाएको जालीवाला झोला, त्यसभित्र हँसिया कम्मरबाट सुत्ने बेला मात्र फुकाल्थे । मानबहादुर बनतिर जान्थे । बन थर्काउने गरी नेपाली भाषामा गीत गाउँथे । ‘गीत त राम्रो गाउनुहुँदो र’छ नि भाइ !’ भन्नासाथ ‘गीत गाएर त दुईटी ल्याएको नि दाइ !’, मानबहादुर हाँस्दै भन्थे । कामरेड दोर्जेले फोनमा तरकारी खोज्दै थिए । ‘ए, कामरेड के मागेको ? बरु नुनसँग खाउँला नि !’, मानबहादुरले ठुस्किँदै भने । मानबहादुर गरिब थिए । पढेका थिएनन् । ओढार जस्तो कोप्चेरोमा बास थियो । तर स्वाभिमानका कस्ता धनी ! मलाई ईष्र्या लाग्यो त्यो स्वाभिमान जीवनको ! जहाँ धनसम्पत्ति नभए पनि स्वाभिमान थियो ।

लोथरको त्यो चेपाङ गाउँबाट तेस्रो दिन हामी पश्चिमतिर लाग्यौँ । बाटोमा अँध्यारो बन आयो । त्यहाँ पानीघट्ट थियो । ‘यो खोँचमा कालीनाग बस्थ्यो । घनघोर वर्षा हुन्थ्यो । दिउँसो १२ बजेपछि हुरी चल्थ्यो । आजभोलि नाग हरायो । नाग हराएसँगै सबैथोक हरायो । मान्छे पापी भएर यस्तो भयो नि सार’ कमरेड दोर्जे भन्दै थिए । यस्तो परिवर्तन जलवायु परिवर्तनले भएको होला तर उनी भने मान्छे पापी भएर भन्दै थिए । प्रकृतिमाथि भएको अतिक्रमणले जलवायुमा ठूलो परिवर्तन भएको हेक्का उनमा थिएन ।

साँझ हामी एउटा अजम्मरी गाउँमा पुग्यौँ । दोस्रो संविधानसभाको निर्वाचनमा त्यो गाउँबाट एक मत पनि खसेको थिएन । मैले त्यो गाउँलाई ‘चितवनको थबाङ गाउँ’ शीर्षकमा समाचार बनाएको थिएँ । कमरेड दोर्जेको त्यो गाउँलाई मैनाटार भनिँदो रहेछ । वसन्त ऋतु लाग्दानलाग्दै त्यो गाउँमा मैनाचरीहरू गीत गाउन थाल्छन् । बूढी आमाको हाँसोजस्तो प्रिय दृश्य । गाउँको पूर्व, पश्चिम र उत्तरतिर खोला थिए । चारैतिर बन । गाउँ आफैँ बन हो कि बस्ती होजस्तो थियो । साथीहरूले गँगटा, झिँगेमाछा, ससाना माछाहरू ल्याउँथे । कहिले निउरो, कोइरालो, टाँकी, लट्टे, सिमी तरकारी बनपाखाबाट ल्याउँथे । एक दिन कमरेड दोर्जेकी जहानले ‘हाइस्याक्री चल्छ सर ?’ भनेर सोधिन् । जनयुद्धको समयमा धेरै चल्थ्यो । भारतको जेलमा बस्दा मुस्लिम साथीहरू भएकाले हाइस्याक्री धेरै नै चल्थ्यो । मुस्लिम र हिन्दु कैदीबन्दीका अलग–अलग कोठा हुन्थे । ‘ आजभोलि चलेको छैन तर चलाउन सकिन्छ’, मैले भनेको थिएँ । गाउँमा हाइस्याक्री काटेका रहेछन् । एक सातासम्म सुकुटी खाइयो । एक सातापछि गाउँमा राँगो ढाले । एक मुरी मकै किनेर घट्टमा लगेर पिठो बनाइयो । जाँतोमा पिँधेर मकैको सातु बनायौँ । सहरमा बन्दाबन्दीले उकुसमुकुस पार्दै थियो । गाउँमा बन्दाबन्दीको त्यति धेरै प्रभाव थिएन । सहरका ज्यामी गाउँ फर्केका थिए । नुन–तेल कसरी ल्याउने भन्ने समस्या थियो ।

एक दिन उच्च रक्तचापले थलिएका कमरेड दोर्जेका मामाले आफ्नो र गाउँको कथा सुनाए । ‘ ऊः त्यो पारिको गाउँ खास मैनाटार हो । तलको चौर जम्डाँडा हो । ऊः त्यो चुलिवाङ हो । कान्दा ऊ त्यतातिर हो’, मामाले बेलिबिस्तार लगाए । ‘ दाइ, ब्रोसवाङ गाउँमा अनिकाल परेको छ । बाटो, भवन, खानी, इँटाभट्टाको काम बन्द भएपछि श्रमिक बस्तीमा कोरोना कहर पीडादायी बन्दै गएको छ । ब्रोसवाङमा खानेपानीको पनि हाहाकार छ । समाचार बनाउन पाए कसैको ध्यान आकृष्ट हुन्थ्यो कि ?’, मकवानपुरका नेता मिङ्मारले ब्रोसवाङबाट फोन गर्दै थिए । त्यो खबरलाई मैले ‘काकाकुल ब्रोसवाङ’ शीर्षकमा समाचार बनाएर प्रेषित गरेँ । दोर्जे गायक र कवि पनि हुन् । उनका गीतहरू सञ्चारसम्म पुर्याएँ । लेख्न प्रेरित गरेँ । त्यसरी दुई साता बित्यो ।

दुई सातापछि थाकलटार बजार हुँदै उत्तर– पश्चिम लाग्यौँ । पैदल यात्रा थियो । गाउँबाट अलि तल जम्डाँडा पथ्र्यो । ‘ऊः त्यो डाँडाको चौरलाई जम्डाँडा भन्छन् । त्यहीँ कमरेड समरले जनमुक्ति सेनालाई तालिम गराइरहनुहुन्थ्यो । स्थानीयले ‘ जम्प डाँडा’ भन्दाभन्दै ‘जम्डाँडा’ भन्न थाले’, मलाई पुर्याउन आएका साथी दोर्जेले जनयुद्धको समयमा कमरेड केशव रिमाल ‘समर’ ले पटक– पटक त्यही ठाउँमा जनसेनालाई तालिम दिएको स्मरण गरे । नवलपरासी जिल्लाको पर्सावल गाउँमा २०५८ सालमा शाही सेनाले कमरेड समरको हत्या गरेको थियो । त्यसपछि आकाशमात्र अलिअलि देखिने सेती नदीजस्तो लाग्ने तर छिपछिपे पानी भएको डरलाग्दो प्राकृतिक सुरुङ हुँदै हामी लोथर खोला पुग्यौँ । थाकलटारछेउ बसेर दोर्जेले बजार तिर सरकारका दूत भए–नभएको बुझे । त्यसबेला गाउँतिर गुप्तचरलाई ‘भाइरस’ र प्रहरीलाई ‘झिँगा’ भन्ने गरिन्थ्यो । एकजना समर्थकलाई दोर्जेले तामाङ भाषामा ‘झिँगा, भाइरस केही छ ?’ भनी सोधेका थिए । मलाई अर्को गाउँसम्म पुर्याउन थाकलटारमा विद्यार्थी कार्यकर्ता देवशमशेर लामा भटभटे लिएर आएका थिए ।

साँझ नपर्दै ओनेबाङ पुगियो । यो चेपाङ गाउँ हो । तर कहिलेदेखि त्यहाँबाट चेपाङहरू विस्थापित भए ? किन विस्थापित भए ? खोजको विषय छ । भञ्ज्याङमा प्रतीक्षालय छ । हाम्रो पार्टीले जनसहभागितामा बनाएको हो । चौतारीमा थरक मारेर हाते मोबाइलमा विद्युतीय समाचार हेर्न लागेँ । समाचारहरू हेरिनसक्नु पीडादायी थिए । बन्दाबन्दीका कारण रोजगार गुमाएका ज्यामीहरू, निम्नस्तरका व्यापारीहरू, सडक पसलेहरू शरणार्थीजस्तै पैदलै घर फर्किंदै थिए । सडकभरि घर फर्किनेको ताँती देखिन्थ्यो । दोजिया नारी र जुटको बोरामा हाँडाभाँडा बोकेका शरणार्थीहरूको लहर सडकमा असरल्ल थियो । कोही भोक, थकाइ, जलअल्पताले सडकैमा ढल्थे, उठ्थे । काठमाडौँका घरवालाहरू भाडामा बस्नेहरूलाई निकाल्दै थिए । काठमाडौँका मेयर सरकारी राहत लिने भए काठमाडौँ निवासी भएको नागरिकता पेस गर भन्दै थिए । कतारले विदेशी श्रमिकलाई भोक र रोगबाट रक्षा गर्ने वचन दिइरहेको बेला काठमाडौँ आफ्नै देशका नागरिकको सिकार गर्दै थियो । सिकारी मेयरका भेना प्रधानमन्त्री केपी ओलीले सडकमा पोखिएका मान्छेहरू सरकार लाई बदनाम गर्ने प्रायोजित भीड भन्दै थिए । घर जान हिँडेका मान्छेलाई प्रहरीले चितवनको मोवा खोलामा रोक्यो । मलाई काठमाडौँ र भरतपुर गिद्धभन्दा पनि बेइमान र अमानवीय लागे । गिद्धले जिउँदोको त सिकार गर्दैन । त्यही अनुभूतिलाई मैले ‘गिद्ध इमानदार हुन्छ’ शीर्षकमा कविता लेखेँ ।

ओनेबाङको बसाइ दुई–चार दिन भन्ने सोचिएको थियो । बसाइ लम्बियो । मेरो फोन प्रहरी निगरानीमा हुँदो हो किनकि मैले जेल, हिरासत र सञ्चारकर्मीहरूलाई फोन सम्पर्क गरेको थिएँ । विभिन्न राजनीतिकर्मीहरूलाई पनि । गाउँतिर सर कारी प्रतिनिधि पनि हुनसक्थे । केही दिनयता शङ्कास्पद गतिविधिहरू भइरहेका थिए । गाउँमा प्रहरी अरू कुनै घटनाको अनुसन्धानमा आउने सूचना आयो । चर्को घाम, किसानहरू मकै गोड्दै थिए । जङ्गलछेउको कुइनेटोमा दिनभरि बसेँ । बनभोजझैँ उतै खाना ल्याइदिए । त्यहीँ खाना खाइयो ।

वैशाख २३ गते गाउँमा फेरि प्रहरी आउने सूचना आयो । वडा अध्यक्ष हितबहादुरले सबै सूचना दिइरहेका थिए । हितबहादुर तामाङ तत्कालीन एमाले पार्टीका कार्यकर्ता भए पनि हाम्रा सहयोगी थिए । ‘आजचाहिँ पक्कै आइन्छ सर’ हितबहादुरले भनेका थिए । वैशाख २३ गते बिहानको समाचार सुन्दै थिएँ । रात्रीकालीन लुगा फेरेकै थिइनँ । लिस्नोबाट गोडा चिप्लिएर भुइँमा बजारिएँ । ‘ड्याऽम्म…’ आवाज आयो । के भयो, थाहै भएन, अर्धचेतजस्तो अवस्था थियो । केही समयपछि उठ्न खोजेँ । सकिनँ । अरर्रो भएको थियो शरीर । राम्ररी होसमा आएपछि पर कतै मान्छेहरू बोलेकोसम्म सुन्दै थिएँ । गाउँलेहरू नजिकै आएको थाहा भयो । ‘सर, अब तपाईंलाई पसिना आयो, अब केही हुन्न’ माइला भन्दै थिए । ‘केही हुन्न’ अर्थात् ‘मर्दैनस्’ त्यसको अर्थ थियो । त्यसपछि धेरैजनाले शरीरका विभिन्न भागमा समातेर गोडा टेकाएर उभ्याए । औधी पीडा भयो । ‘दाइ, मलाई किन थप पीडा दिएको ?’ भनेँछु । ‘सर, तपाईंलाई ठीक हुन्छ’, उनै माइलाको आश्वासन थियो । लाग्थ्यो, उनी एमडी प्रमाणपत्रधारी चिकित्सक हुन् । आखिर मेरा लागि ल्याप्चेवाला भए पनि त्यहाँ उनै त थिए चिकित्सक, सहयोगी सबै । केही समयपछि मान्छेहरू बोलेको सुन्न छोडेँ । डर लागेजस्तो, एक्लै भएजस्तो भयो । झन्डै एक महिनादेखि विद्यार्थी भाइहरू देवशमशेर र मीनबहादुर साथै थिए । म उनीहरूलाई अध्ययन र लेखनकार्यमा प्रेरित गर्थें । उनीहरू लेख, कविता, समाचार सञ्चारसम्म पुर्याउन र खानपानमा सहयोग गर्थे । ‘भाइ, मलाई एक्लै नछोड’ भनेछु । ‘ अङ्कल, म यहीँ छु, तपाईंलाई छोड्दिनँ’, त्यो प्रिय आवाज सुनियो । भरोसा भयो । मेरो खल्तीबाट कागज निकालेर भाइलाई फोन गरेछन् । ‘तपाईंको भाइलाई खबर भएको छ । लिन आउँदै हुनुहुन्छ’, प्रधानकान्छाले नजिक आएर भनेका थिए । हलोको हरिसमा म सुतेकै ओछ्यानको तन्नालाई ‘स्ट्रेचर’ बनाएर मलाई ओरालो झारे । मोटरसम्म पुग्न झन्डै एक घन्टा पैदल हिँड्नुपथ्र्यो । एक घन्टामा बोकेर कालीखोला पुर्याए गाउँलेहरूले । प्रधानकान्छाको छोरो मलाई ‘बिस्कुट दिने अङ्कल’ भनेर मेरो सम्झना गरिरहन्थ्यो । ५ वर्षमा टेक्दै गरेको ऊ पनि कालीखोलासम्म आएको थियो । कालीखोलामा भाइ शेष र सुमन वाहन लिएर आइसकेका थिए । उनीहरू दुवैजना स्वास्थ्यकर्मी भएकाले ढुक्क भयो मन । ओरालो बाटो एक घन्टा झ्याँक्दै कालीखोला पु¥याउँदा दुखाइ केही घटेझैँ भएथ्यो । शरीर हल्लिँदा शरीरमा रक्तसञ्चार भएर हो कि किन हो केही आराम भएझैँ भएको थियो । गाउँलेहरू फर्किए । वाहन मलाई लिएर अस्पतालतिर लाग्यो ।

बाटोमा नै ज्वरो, रक्तचाप हेरे । हातका औँलाहरू चलाए । गोडा चलाए । नदुख्ने अथवा दुखेको थाहा नहुने सुई लगाइदिए । ‘स्पाइनल इन्जुरी छैन दाइ’, खुसी हुँदै उनीहरूले भने । ‘भरतपुरमा विकास र समृद्धिका त्यस्ता कुरा हुन्छन् । नगरपालिकाभित्रकै गाउँ यस्तो छ । तपाईंलाई यहाँसम्म ल्याएको दृश्य हेरेर रुन मन लाग्यो’, सुमन भन्दै थिए । सहरमा बस्ने ‘टुरिस्ट नेता’ र नागरिकको अनुभूति त्यति धेरै फरक थियो । बिहान १० बजेतिर मलाई पुरानो मेडिकल कलेजको आकस्मिक कक्षमा पुर्याइसकेका थिए ।

गुप्तचरहरू र उनीहरूद्वारा सञ्चालित सञ्चारमाध्यमका अनेक हर्कत हुन्छन् । उनीहरू कहिले चुपचाप पिछा गर्छन् । कहिले पोखरीमा ढुङ्गा फालेर तरङ्ग हेर्छन् र सूचना सङ्कलन गर्छन् । त्यस बेला हाम्रा विषयमा अनेक हल्ला हुन्थे । एक दिन पत्रकार झनक श्रेष्ठले भने, ‘ दाइ, सामाजिक सञ्जालमा तपाईं गिरफ्तार हुनुभएको हल्ला छ । तपाईं ठीक हुनुहुन्छ नि ?’ हल्लाले चर्चा सुरु हुन्छ । हल्लाले पुष्टि गर्न नयाँनयाँ फोन वा माध्यम सक्रिय भइहाल्छन् । त्यसपछि ती सक्रियताको पिछा गरेर भूमिगत व्यक्तिको वास्तविक सूचना सङ्कलन गर्न सकिँदो हो । एकपटक ‘विप्लव भारतमा’ भन्ने समाचार फैलियो । हाम्रा एकजना नेताले नै ‘ विप्लव जनताकै बीचमा हुनुहुन्छ’ भनी सामाजिक सञ्जालमा लेखे । त्यसबाट विप्लव नेपालमै रहेको पक्का भयो अर्थात् विप्लवको घेरा साँघुरो भयो । प्रविधिको विकासले थप जटिलता पैदा गरेको छ । तर त्यस्ता जटिलताका विषयमा योजनाबद्ध छलफल थिएन । पुँजीपति वर्गले भूखण्डको कुनै स्थानमा घटना हुँदासाथ अनुभवलाई भूमण्डलीकरण गर्छ । कम्युनिस्ट आन्दोलनमा त्यसो गर्न कुनै सञ्जाल छैन । गोन्जालोको गिरफ्तारीबारे जेजति सूचना सार्वजनिक भए त्यति पनि अध्ययन भएको छैन । अनुभवहरू सिक्नेभन्दा दोहोरिने क्रम चलिरहेको छ ।

चितवनमा मलाई धेरैले चिन्न सक्थे । त्यसैले कसैलाई खबर नगर्नू, उपचार सकेर सुरक्षित ठाउँमा पुगेपछि खबर गरौँला भनेको थिएँ । तर प्रधानकान्छाले उनलाई आवश्यक लागेको सबैतिर खबर गरेछन् । भाइलाई तारन्तार आएका अनपेक्षित फोनबाट त्यो कुरा बुझ्न सकिन्थ्यो । अस्पताल नपुग्दै जिल्लाभरि हल्ला भइसकेको रहेछ । जिल्ला सचिवले पटक–पटक अस्पतालमा भेट्न आउन चाहेको र अस्पतालको नाम भन्न जोड गरिरहेका थिए । त्यसो गर्नु दुवैको सुरक्षाको दृष्टिले गलत थियो । मैले अस्पतालको नाम नभन्न र भेट्न पर्दैन भन्न लगाएँ । तर बारम्बार फोन गरिरहे । यसअघि उनले राम्रो सहयोग गरेका थिए । सरल र अनुशासित जिल्ला नेताका रूपमा हामी उनलाई चिन्थ्यौँ । कमरेड गोन्जालोले ‘जीवन हो, धर ापमा पर्न सक्छ’ भन्नुभएको थियो । त्यो भनाइ सम्झेँ । मलाई गिरफ्तार गर्न गृह मन्त्रालयले सबै उपाय गर्न लागेको सूचना आउँथे । धराप छल्दै हिँडेको धेरै भइसकेको थियो । दुस्मनको कब्जामा पर्न सकिन्छ भन्ने कुरामा म सधैँ नै मानसिक रूपमा तयार थिएँ । अस्पतालको आकस्मिक कक्ष नै नियन्त्रणमा लिएर गिरफ्तार गरे । पुरानो मेडिकल कलेजको आकस्मिक कक्षबाट जबरजस्ती घिसारेर प्रहरीले भरतपुर अस्पताल पुर्यायो र त्यहीँबाट गिर फ्तार गरेको भनेर प्रचार गर्यो । सङ्घर्षको मोर्चा बदलियो । त्यसपछि नयाँ मोर्चामा कसरी लड्ने, सर्वहारा वर्ग, कम्युनिस्ट भावना र परम्परा कसरी कायम गर्ने भन्ने सोच्न थालेँ ।

१९ जेठ, २०७७ भरतपुर अस्पताल

(नेकपाका नेता एवम् मार्क्सवादी संस्कृतिकर्मी शर्माको प्रकाशोन्मुख ‘झ्यालखाना’ संस्मरणसङ्ग्रहको पाण्डुलिपिबाट उद्धृत– सम्पादक ।)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :