गिरफ्तारीको रात र कठोर यातना

२०७६ असोज ६ गते

राजनीतिक जीवनमा प्रायः दैनिक गरिने पार्टीका राजनीतिक तथा सङ्गठनात्मक कामहरूको सिलसिलामा २०७६ साल असोज ६ गते बिहान ११ः०० बजेतिर सेल्टरबाट निस्किएँ । बानेश्वरमा राजनीतिक भेटघाट गर्ने कार्यक्रम भएकाले विद्यार्थी बाबु शेरबहादुर बटाला र म त्यतातिर लाग्यौँ । शेरबहादुर बटालाको आफ्नै व्यक्तिगत काम थियो भने मेरो राजनीतिक भेटघाट र छलफल गर्ने कार्यक्रम थियो । काठमाडौँ, कोटेश्वर चोकमा पुगेपछि मेरो मोटरसाइकलको अघि–पछि एउटा मोटरसाइकलको सन्देहास्पद कुदाइ देखियो । नयाँबानेश्वरबाट अगाडि बढेपछि दुईवटा मोटरसाइकल थप भएर मलाई पिछा गर्ने मोटरसाइकलको सङ्ख्या ३ पुग्यो । पुरानोबानेश्वर को ग्लोबल कलेजअगाडि पुगेपछि छल्नुपर्यो भन्ने सोचेर मोटरसाइकल बाटोको छेउमा छोडेर कलेजभित्र पसेँ । १५–२० मिनेटजति सुरक्षित हुने विकल्पहरूको खोजी गर्ने काम भयो । तर अदृश्य ढङ्गले म सुराकीको बाक्लो घेरामा परिसकेको रहेछु । अब मैले जतिसक्दो छिटो सुराकीको घेरा तोडेर आफूलाई सुरक्षित बनाउनुको विकल्प थिएन । कलेजभित्र उत्तम विकल्प नभेटिएपछि बाहिर निस्केर मोटरसाइकलमा चढ्न खोज्दै थिएँ, ‘ हामी पुलिस हौँ । तपाईं नवीन विश्वकर्मा ‘हितमान’ होइन ?’ भन्दै उनीहरूले मैले लगाएको मास्क खोले र हातमा हतकडी, आँखामा कालोपट्टी बाँधेर अपहरण शैलीमा समातेर गाडीमा कोचे । मेरो साथमा रहेका शेरबहादुर बटाला बाबुलाई पनि त्यसै गरियो ।

गाडीमा कोचेपछि साथमा भएको मोबाइल, पर्सलगायत सामान सबै खोसियो । डेढ–दुई घन्टा गाडीमा डुलाएपछि एउटा घरमा पुर्याइयो र कोठामा लगेर भुइँमा बस्न लगाइयो । भुइँमा राम्रोसँग बस्न नपाउँदै अर्धबौलाहाजस्तो लाग्ने एकजना मानिसले तथानाम गाली गर्न सुरु गर्यो । उसले हिजो सत्र हजार मान्छे मारेर के भयो ? आज फेरि मान्छे मार्ने ? हिजो केही उखाडिएन, आज फेरि के उखाडिन्छ ? प्रचण्ड अर्बपति भयो । तिमी मु… फेरि मान्छे मारेर त्यस्तै बन्न खोजेको ? प्रचण्डलाई मार्न सक्छौ ? जनता मार्ने ? कहिलेसम्म हिंसा गर्ने ? आदि–इत्यादि प्रश्न गर्दै मेरो टाउकोमा २–३ पटक मुक्काले हिर्कायो । मैले एकहोरो त्यो व्यक्तिको बर्बराहट सुनेर विचार निर्देशित वादले प्रतिवाद गर्नुको विकल्प थिएन । त्यस्तै १५–२० मिनेटजति त्यो व्यक्ति निकै बर्बरायो । गाली, बेइज्जती, अपमान र अपशब्दको त कुरै नगरौँ । यो सबै हर्कत मलाई थर्काउने, गलाउने र विचलित पार्ने रणनीतिअन्तर्गत भइरहेको कुरा बुझ्न कुनै गाह्रो थिएन । तर भौतिक यातनाको तुलनामा मानसिक यातनाको घनत्व बढी थियो ।

पहिलोपटकको यातनामा मेरो परिचय लिने काम भयो । म नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य र उपत्यका ब्युरो इन्चार्ज भनेर आफ्नो परिचय दिएँ । त्यसपछि कोठामा लगेर थन्क्याउने आदेश आयो । कुनै दुईजना कारिन्दाले सीआईबीकै हिरासतमा लगेर थन्क्याए । मेरो ढाड दुख्ने समस्या भएकाले लामो समय भुइँमा थचक्क बस्न सकिनँ । हतकडी कसिएको हातले यताउता छामछुम पारेँ । फाटेर धुजा–धुजा भएको एउटा सिरक हातमा पर्यो । त्यसैलाई मिलाएर भित्तामा अडेस लागेर बसेँ । मानसिक, शारीरिक यातनाका चोट र दुखाइविरुद्ध सङ्घर्ष गर्ने कोसिस गरेँ । एक्कासि आशा, आक्रोश र घृणाभावका तरङ्गहरू मानसपटलमा झनै छछल्किन थाले । ढाड दुख्ने रोग र यातनाका पीडाहरू सम्बन्धित स्थान छोडेर दिमागतिरै केन्द्रित भएँ । यो क्रम तीव्र वेगमा चल्दै थियो, एक्कासि बाहिरबाट आवाज आयो– कमरेड ! मन्त्रीज्यू ! चिया खानुहुन्छ ?

मैले भनेँ– अँ कालो चिया खान्छु ।

केही समयपछि माया गरेजस्तो ढोङ गर्दै कालो चिया ल्याएर मेरो हातमा थमाइयो । दृष्टिविहीन मान्छेले हात्ती छामेजस्तै छामछुम गर्दै चियाको गिलास समातेँ ।

दुई–तीन घुट्का चिया पिएपछि हल्का आर ामको महसुस भयो । चिया पिएर सिध्याउन नपाउँदै मलाई राखिएको माथिल्लो कोठाबाट कोही रोएको जस्तो आवाज मेरो कानमा ठोक्कियो । कानलाई थप चलाख बनाउँदै ध्यान लगाएर गतिविधिबारे सबै सुनेँ । कुनै एकजना मानिसले मसँगै समातिएको विद्यार्थी शेरबहादुर बटाला बाबुलाई गालामा चड्कनका चड्कन लगाएर पिट्दै गरेको रहेछ । ‘साला आँखाको पट्टी खोल्छस् ! यो तेरो बाबुको घर हो ? कहाँ छस्, थाहा छ ? भन्दै भकुरेको सुनेँ । बिचरा ! नयाँ मानिस, विचार र राजनीतिमा काँचो । त्यस्तो चपेटामा कहिल्यै नपरेको । ग्वाँ–ग्वाँ गरेर रोएको सुनेपछि आक्रोशले झनै मन थाम्न सकिनँ । केही भनौँ, लोकतान्त्रिक प्रणालीमा बोल्ने स्वतन्त्रतामाथि बन्देज लगाइएको छ । मनमा उर्लिएको आक्रोश थाम्न नसकेर खोकी लागेको बहाना गरी ५–७ पटक नै ठूलो आवाजमा खोकेँ । मेरो खोकीको मतलब थियो– बाबु, पीडाहरूलाई पचाऊ ! हाम्रो पनि दिन आउनेवाला छ । तर उसले यो भाषालाई बुझ्ने कुरा भएन । मेरो आफ्नो मनलाई शान्त पार्ने अभिव्यक्ति मात्र भयो । कुटाइ सिद्धिएपछि ‘राँडीका छोरा, अब आँखाको पट्टी खोलिस् भने तँ मर्छस् । राँडीको छोराले कालोपट्टी खोलेछ’ भन्दै कुट्ने मानिस कुटाइ सकेर गाली गर्दै बाहिर निस्केको सुनेँ । केही समयपछि पीडा कम भएर होला, शेरबहादुर बाबुको रुवाइको आवाज बन्द भयो । बाबुलाई पिटेको सुनेपछि पीडामा पीडा थपियो । मलाई पिट्दा नदुखेको ज्यान र मन बाबुलाई पिटेको सुन्दा मस्तिष्क र ज्यान दुखेको अनुभव हुन थाल्यो । मेरो पीडा मेटाउने र आक्रोशलाई विवेकद्वारा निर्देशित गर्ने मसँग अरू केही उपाय थिएन । बस् ! त्यही मालेमावादी विचार र फाटेको एक थान सिरक । पीडाबोध र सोचमग्न अवस्थामा पल्टिएको थिएँ । ‘कमरेड ! खाना पाक्यो, खानुपर्यो’ भन्ने बाहिरबाट आवाज आयो । आफूलाई खाना खाने फिटिक्क मन छैन । दिउँसोको भोक पनि हराइसकेको थियो । गिरफ्तारीले पार्टीलाई भएको क्षति र साथीभाइको सम्झनाले मन साह्रै पिरोलेको थियो । खाना खान मन छैन, खाँदिनँ भन्ने जबाफ फर्काएँ । ‘हामीले खाने राम्रै खाना हो, खानुहोस् । के विष हालेर दिन्छ कि भनेर नखाएको हो र ?’ भनेर कसैले संवादशैलीको प्रश्न गर्यो । मैले ‘त्यस्तो होइन, खान मन नभएर नखाएको हो’ भनेर फेरि त्यही जबाफ फर्काएँ । त्यसपछि उसले बल गरेन । ‘ उता शेरबहादुर बाबुलाई दिनुहोस्’ भनेँ । सकी– नसकी बाबुले अलिअलि खाएछन् । यो कुरा थाहा पाएपछि हल्का सन्तोष महसुस भयो ।

उनीहरू (बिनाबर्दीका पुलिस) सबैले खाना खाएर सकेपछि लगत्तै पहिलेको भन्दा भिन्न आवाजको व्यक्तिले ‘खाना खानुभएन कमरेड, केही त खानुहोस् ! चिया खानुहुन्छ ?’ भनेर सोध्यो । हल्का चिया र पानीसम्म आफूलाई खाने मन थियो । अनि ‘हुन्छ, चिया र पानी ल्याइदिनुहोस्’ भनेँ । केही समयपछि चिया गिलास र एक बोतल पानी ल्याएर दिइयो । पहिले २–४ घुट्की पानी खाएर त्यसपछि चिया पनि खाइसकेँ । लगत्तै २५– ३० मिनेट (त्यस्तै रातीको १०ः३० बजेको थियो होला) पछि दुईजना व्यक्ति आएर ‘कमरेड, एकछिन उत्तापट्टिको कोठामा जानुपर्यो’ भन्ने निर्देशनात्मक आवाजमा बोलेको सुनेँ । निर्देशन पालना गर्नुको विकल्प मसँग अरू केही थिएन । भुइँबाट बिस्तारै उठेँ । दुईजनाले मेरा दुवै पाखुरा समातेर दायाँबायाँ हिँडाउँदै पहिले यातना दिएकै कोठामा लगेर भुइँमा बस्न भने । त्यसैगरी बसेँ । अनि पार्टीका गोपनीयता खोल्ने प्रकारका प्रश्न र धम्कीपूर्ण भाषाशैलीको बाढी नै ममाथि ओइरिए । अनि मैले त्यसको एकमुष्ट जबाफ दिँदा उचित हुने निधो गरी सुरु गरेँ, ‘म यो देशमा एकीकृत जनक्रान्तिको माध्यमद्वारा अन्याय, अत्याचार, शोषण, दमनको अन्त्य गर्छु । सबैलाई धनी, सुखी र खुसी बनाउने राज्यव्यवस्था वैज्ञानिक समाजवाद ल्याउँछु भन्ने लक्ष्य बोकेर र ाजनीतिक क्रान्ति गरिरहेको यो देशको जिम्मेवार पार्टीको केन्द्रीय नेता हुँ । त्यसकारण मबाट कुनै गोपनीयता खुल्ला र फाइदा लिउँला भन्ने कोसिस नगर्नुहोला । राजनीतिक बहस गर्नुहुन्छ भने म तयार छु’ भन्ने वाक्यांश पूरा हुनेबित्तिकै एक्कासी मेरो बायाँ गालामा मुक्का बर्सियो र यातना दिँदै छवटा प्रश्न सोधियो :

पहिलो प्रश्न– प्रकाण्ड र तँ काका–भतिजा पर्छौ होइन ?

– तपाईंहरूलाई कसैले गलत कुरा सुनायो । वास्तविक कुरा उहाँ (प्रकाण्ड) हाम्रो पार्टीको नेता हुनुहुन्छ । त्यसकारण उहाँसँगको मेरो कमरेडको नाता पर्छ । सामाजिक हिसाबले उहाँ (प्रकाण्ड) सँग इष्टमित्रको नाता पर्छ ।

दोस्रो प्रश्न– रसुवा जिल्लाको इन्चार्ज को छ ?

–रजमान तामाङ हुनुहुन्छ ।

तेस्रो प्रश्न– रजमान तामाङलाई तैँले पार्टीबाट कारबाही गरेर हटाइस् होइन ? किन कारबाही गरिस्, भन् ?

– रजमान तामाङ हाम्रो पार्टीको कार्यकर्ता हो । पार्टीको नीति, विधानबमोजिम राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई कारबाही गर्ने गरिन्छ । यो कुरा पार्टीका सम्पूर्ण सदस्यको हकमा लागू हुन्छ ।

चौथो प्रश्न– हातहतियार, बम बनाउने सामान कता छ, भन् ?

– यो कुरा मलाई थाहा छैन । थाहा भए पनि मेरो नैतिकताले भन्न मिल्दैन । बरु गोली हान्नुहोस्, नभएको कुरा भन्न सक्दिनँ ।
त्यसपछि पिट्नेहरूका हातखुट्टा र मुख झन् बढी चल्न थाले ।

पाँचौँ प्रश्न– चन्दा रकम कति सङ्कलन गरिस् ? को–कोसँग गर्ने योजना छ, भन् ?

क्रान्तिका लागि भनेर हामीलाई सबैले सहयोग गर्छन् । सङ्कलन भएको सबै रकम क्रान्तिको काममा पार्टीले खर्च गर्छ । व्यक्तिसँग राख्ने पार्टीको नीति छैन ।

अन्तिम प्रश्न– त्यसो भए तैँले लगाएको ज्याकेट ? यो ज्याकेट (मैले लगाएको ज्याकेट हातले तन्काउँदै कतिमा किनिस्, भन् ?

१,३५० मा किनेको !

त्यसो भए त्यो १,३०० रकम कहाँबाट ल्याइस् ?

पार्टीले निर्धारण गरेको खर्चबाट किनेको । तपाईंहरू नानाथरीका कुराकानी मसँग नसोध्नुहोस् । हिम्मत छ, गोली हान्नुहोस् । म छाती थाप्न तयार छु ।

यसो भन्दै आक्रोशपूर्ण अभिव्यक्ति मबाट बढ्दै गएपछि अन्तिममा सुस्केरा छोड्दै ‘साला ज्याद्रो रहेछ’ भन्दै यातना दिन छोडे । मनमनै युद्ध जितेको अनुभूति गरेँ । यातनापछि मनोबल झन् बढेर गयो । उनीहरूको काम सकिएछ ‘ए, उता लैजा’ भनेर कसैले आदेश गर्यो । आदेशपालकहरूले एकछिन खासखुस केही सल्लाह गरेजस्तो मैले सुनेँ । त्यसपछि फ्रिजबाट बरफको डल्लो ल्याएर मेरो शरीरमा यातनाका कारण भएका निल–डाम घाउहरू सेकाउने काम भयो । त्यसपछि घाउ सेकाउने मानिसलाई मैले प्रतिप्रश्न गरेँ– यातना दिने आफैँ, डाक्टर पनि आफैँ । के हो, यो चलन बुझ्न सकिएन ? भनेपछि उसले ‘यहाँ यस्तै हो’ भनेर ओठे जबाफ फर्कायो । निल–डाम, घाउ सेक्ने काम सकिएपछि पहिलेजस्तै दुईजनाले पाखुरा समातेर उठाए र त्यही फाटेको सिरक भएको कोठामा पुर्याएर लडाए ।

त्यो रातभरि निद्रा लागेन । कोठाको ढोकामा कडा पहरा थियो । मेरा दुवै हातमा कस्सिएको हतकडीले सानो घाउको डाम पारेछ । हातहरू पोल्न थाले । कतिबेला छातीमाथि, कतिबेला फाटेको सिरकमाथि त कतिबेला टाउकोमाथि हात राखेर आफूलाई सजिलो पार्ने कोसिस गरेँ । अन्तर मनमा विभिन्न कुरा खेल्न थाले । मेरो गिरफ्तारी घटनामा आखिर कमजोरी कहाँनेर भयो भन्ने प्रश्न मेरो अन्तरमनको समीक्षाको विषय बन्यो । यसै विषयमा धेरै कोणबाट अध्ययन, समीक्षा गरेँ र एउटा टुङ्गोमा पनि आफूलाई पुर्याएँ । आखिर गिर फ्तारीको वास्तविक कारण मैले जसरी, जे टुङ्गो लगाएको छु, त्यही कुरा सही साबित हुनेछ । मेरो कल्पनाको, मेरो सपनाको वैज्ञानिक समाजवाद– साम्यवाद त्यो रातीको मेरो अपराजेय हतियार बनेर मेरो मनमा हिजोअस्तिभन्दा झन् चम्किलो भएर गड्न थाल्यो । त्यसले मलाई भौतिक रूपमा यातनाका पीडा एकपछि अर्को कम गराएर आफूलाई आफैँले विजयी गराउने स्थानमा उभ्याइदियो । मैले आज एक प्रकारको युद्ध जितेको छु । गर्व गर्नुपर्छ । क्रान्तिकारीहरूको विशेषता यही हो भन्ने भावले मनलाई ओतप्रोत बनायो र क्रान्तिका पक्षमा आफूले आफैँलाई अझ तिखार्ने–निखार्ने ढङ्गले कन्भिन्स गरेँ । अन्तिममा मारे पनि क्रान्तिका निम्ति हाँसी–हाँसी मर्छु भन्ने निर्णयमा पुगेँ । त्यसै राती ममाथि हुने कुनै पनि हर्कतका लागि मैले आफूलाई पूर्ण रूपमा तयार पारेँ ।

बिहानको अनुमानित समय ७ः३० बजिसकेको थियो होला । आफ्नो हातमा घडी छ तर हेर्ने आँखामा कालोपट्टी बाँधिएकाले समय यकिन गर्नसक्ने कुरा भएन । बाहिर मानिसहरूको हिँडडुल, चहलपहल सुरु भएको कुरा मेरा कानले राम्रोसँग थाहा पाइसकेका थिए । हेर्ने आँखा बन्द गरि एपछि कानलाई पहिलेभन्दा सक्रिय बनाउनुपर्ने मेरो बाध्यता थियो । तर बायाँ कान यातनाका कारणले राम्रोसँग काम नगर्ने भएपछि दायाँ कानलाई सक्रिय बनाएँ । मानिसहरूको चहलपहल बढ्दै थियो । कुनै एकजनाले सम्बोधन गर्दै भन्यो, ‘कमरेड ! मन्त्रीज्यू ! चिया ल्याऊँ ?’ हुन्छ ल्याउनुहोस्, पिसाबले पनि च्याप्यो, पिसाब फेर्नुपर्यो भनेपछि डङरङ्ग आवाज निकाल्दै फलामे गेट खुल्यो । ‘दायाँ हिँड्नुहोस् ! बायाँ हिँड्नुहोस् ! फेरि सीधा हिँड्नुहोस् । ल…ल… अब बायाँपट्टि ढोका छ, त्यहाँभित्र पस्नुहोस् । ढोका बन्द नगरी पिसाब फेर्नुहोस् ।’ भित्र छिरेँ । ट्वाइलेटको ढोका बन्द नगर्ने भनेपछि आएको पिसाब पनि बन्द भयो । यो समस्या भनेपछि ढोका बन्द गरेर पिसाब फेर्ने अनुमति पाइयो । त्यसपछि स्वतन्त्रतापूर्वक पिसाब फेरेँ । फेरि पहिलेकै तरिका दायाँ–बायाँ गर्दै हिरासतभित्र छिराइयो । रातभरि भोकै भए पनि पेटले आहार मागेको थिएन । केही समयपछि ‘ चिया खानुहोस्, मन्त्रीज्यू ! लिनुहोस्’ भन्दै कसैले मेरो हातमा चियाको गिलास थमाइदियो । चिया पिएर सकेको केही समयपछि मलाई बाहिर निकालियो र एउटा बलेरो गाडीजस्तो आवाज आउने साधनमा राखेर डुलाउँदै एक घन्टापछि बाक्लो रूपमा मानिसको चहलपहल भएको परिसर भित्र गाडी छिर्यो । गाडीबाट झारेर कुनै घरको एक तलामाथि कोठाभित्र लगियो । कुर्सीमा बस्न भनिसकेपछि कतैबाट कसैले हतकडी र पट्टी खोल्न आदेश गर्यो । हातको हतकडी र आँखाको पट्टी मेरो पछाडिबाट कसैले छिटोछिटो खोल्यो । सत्ताईस घन्टापछि आँखा खोलेर हेर्दा जाउलाखेल प्रहरी परिसरको कार्यालय रहेछ । एकपटक चारैतिर आँखा डुलाएँ । जाउलाखेल प्रहरी परिसर प्रमुख तथा एसएसपी टेकप्रसाद राई कुर्सीमा शानका साथ विराजमान थिए । उनको दृष्टिमा मेरो दृष्टि ठोक्कियो । ‘नवीन सर, माननीयज्यू, सन्चै हुनुहुन्छ ?’, उनले सोधे । एकदम सन्चै छु । ‘म यहाँको एसएसपी टेकप्रसाद राई’, ती व्यक्तिले आफ्नो परि चय दिए । मैले ए ठीकै छ भनेँ । त्यसपछि लगत्तै भुइँतलामा झारियो र हिरासतको साँघुरो कोठामा कोचियो ।

५ देखि ७ जनासम्म सुत्न मिल्ने त्यो साँघुरो कोठामा विभिन्न प्रकृतिका अभियोगमा समातिएका १२ जना बन्दी रहेछन् । राजनीतिक व्यक्तिहरू कोही पनि थिएनन् । भित्र पस्नेबित्तिकै खासखुस परिचय सुरु भयो । म नेपाल कम्युनिस्ट पार्टी (विप्लव नेतृत्वको को केन्द्रीय सदस्य । त्यहाँभित्र भएका सबै बन्दीको सकारात्मक भावसहितको चासो र दृष्टि ममाथि केन्द्रित भयो । ‘दाइ, हामीले विप्लव पार्टी कति खोज्यौँ, भेट्न सकिएन । हामीलाई पनि विप्लव पार्टी राम्रो लाग्छ । तपाईंको नम्बर दिनुहोस्, बाहिर निस्केपछि भेट्नुपर्छ । हामी पनि विप्लव पार्टीमा लाग्छौँ । अरू पार्टीका नेता सबैले लुट्छन्, आफू मात्र धनी बन्छन् ।’ यति कुरा आएपछि म एउटा क्रान्तिकारीका लागि आफ्ना विषयहरू राख्न स्वतः सजिलो वातावरण बन्यो । यद्यपि हिरासतमा ठूलो स्वरमा खुलस्त आफ्ना विचार राख्ने अनुकूलता थिएन । तैपनि त्यहाँको वातावरणलाई आफ्नो अनुकूल प्रयोग गरी हाम्रो पार्टीको लक्ष्य र उद्देश्यका विषयमा खासखुस कुराकानी गरेर मोटामोटी भनियो । अघिल्लो रातको भौतिक र मानसिक यातना धेरै कम भयो । क्रान्तिकारी विचार व्यक्त मात्र गर्न पाउँदा पनि मलाई कुनै अस्पतालमा राम्रो डाक्टरले उपचार गरेर घाउ सन्चो पारेजस्तै अनुभूति भयो । यसपछि त्यहाँभित्र भएका सबै बन्दी दाइभाइहरूले खाना खान अनुरोध गर्नुभयो । अघिल्लो रातदेखिको भोको पेट हल्का खाना खान मन थियो । थोरै खाऔँ भनेँ । एक गाँस जबर्जस्ती निलेँ, अर्को गाँस छिर्दै छिरेन । कताकता विचारको ठाउँ भावनाले लिन खोज्यो । खाना ट्वाइलेटमा लगेर फ्याँकेँ । अघिल्लो राति नसुतेकाले दिउँसो एक निद्रा सुतेँ । बेलुकी पहिलेको खानाको आधा खान खाएँ । निद्रा पनि लाग्यो । बेलुकी समयमा नै सुतेँ ।

(नेकपाका केन्द्रीय सदस्य नवीन विक ‘ हितमान’ को प्रकाशोन्मुख ‘एकीकृत जनक्रान्तिमा जेलसङ्घर्ष’ पुस्तकको पाण्डुलिपिबाट)

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :