महिला हिंसामा सांस्कृतिक–धार्मिक पक्ष

महिला हिंसामा सांस्कृतिक–धार्मिक पक्ष

कुनै पनि समस्याको पृष्ठभागमा समाजको आर्थिक, सांस्कृतिक र ऐतिहासिक जरा वा विर ासतको प्रभाव हुन्छ जसले मान्छेको चिन्तन धारा निर्माण गर्दछ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, तीज पर्व, जितिया पर्व तथा गम्भीर प्रकृतिका महिला उत्पीडनका घटनाको अवसर पारेर चल्ने गरेका छलफल तथा विमर्शमा महिला तथा नश्लीय हिंसाका ऐतिहासिक जराहरू पर्गेल्ने प्रयासहरू भने कमजोर छन् । यसमा वर्णीय स्वार्थ मूल कारक देखिन्छ ।

ऐतिहासिक भौतिकवादी दृष्टिकोणअनुसार शोषण र उत्पीडन नभएको ‘आदिम साम्यवादी युग’ को अस्तित्व थियो जुन युगमा नारीहरूको नेतृत्व थियो । त्यसका अवशेषहरू विभिन्न सांस्कृतिक पर्व र संस्कारमा अझैसम्म देख्न सकिन्छ । आदिवासी र पछौटे समुदायमा अझ बढी देख्न सकिन्छ । समाजशास्त्रको अनुसन्धानमा ठूलो योगदान गरेका फ्रेडरिक एङ्गेल्स, कार्ल हेनरिक माक्र्स, पौललामार्ग, राहुल सांकृत्यायनजस्ता चिन्तकहरूले त्यसका प्रामाणिक तथ्यहरू प्रस्तुत गरेका छन् । आदिम साम्यवादको पतनसँगसँगै महिला उत्पीडन र शोषण सुरु भएको मानिन्छ । हिन्दु धर्ममा आधारित पौराणिक कथाहरूअनुसार ऋषि याज्ञवल्क्य र गार्गीबीचको शास्त्रार्थअनुसार कोसीतटीय ऋषि याज्ञवल्क्य शास्त्रार्थमा पराजित भएपछि भौतिकवादी ऋषि गार्गीलाई ऋषि याज्ञवल्क्यले ‘सीमा ननाघ गार्गी, शिरोच्छेदन हुनुपर्ला’ भनेका थिए । त्यसरी पुरुषहरूले नारीको ज्ञान, क्षमता र तथ्य एवम् तर्कका आधारमा सत्य खोज्ने परम्परासमेतलाई बाहुबली परम्परामा पतन गराएका थिए । बि.सी.ई. चौथो शताब्दीमै पुरुषवादले गार्गीलाई टाउको काट्ने धम्की दिएको थियो । आज पनि युरोपदेखि अमेरिका हुँदै एसियाली समाजमा त्यही प्रवृत्ति यथावत् छ ।

हिन्दु धार्मिक कथाहरूका अनुसार दुर्वासा र कन्दली दुवै विद्वान् नर–नारी थिए । ऋषि दुर्वासा र ऋषिका कन्दलीका बीचमा शास्त्रार्थ भैरहन्थ्यो । एकपटकको शास्त्रार्थमा दुर्वासा कन्दलीसँगको बहसमा पराजित भए । विद्वतामा पराजित भएका दुर्वासाले कन्दलीको शरीरमा घिउ खन्याएर आगो लगाई हत्या गरेका थिए । आजको नेपाली समाजमा ‘एकतर्फी प्रेम’ का नाममा अथवा जिरहमा तेजाब छर्केर अङ्गभङ्ग पार्नु, दाइजोको निहुँमा मट्टीतेल खन्याएर हत्या गर्ने अपराधको नाभी याज्ञवल्क्यदेखि दुर्वासासम्म जोडिएको छ । भगवान रामले अनाहकमा दुईदुईपटकसम्म सीतालाई त्याग गर्नु, बनबासमा पठाउनु त्यही नारीमाथिको अत्याचार र अमानवीय व्यवहार थियो । त्यसप्रकारका अपराध र अत्याचारका विरुद्ध सङ्घर्ष गर्नुको सट्टा उत्पीडकलाई नै पुज्ने र आदर्शीकरण गर्ने संस्कृति र संस्कारले अपराधकर्मलाई नै आदर्शीकरण गरिरहेको छ ।

महाभारत कथाअनुसार हस्तिनापुर राज्यको हकदाबीलाई लिएर कौरव पक्ष र पाण्डव पक्षबीच महाभारत युद्ध अवश्यम्भाबी बन्दै गएको थियो । एकले अर्को पक्षमा फुटको बिउ रोप्ने षड्यन्त्र भैरहेको थियो । पाण्डवहरूले अलगअलग नारीसँग विवाह गरे भने पाण्डवहरूबीचमा अविश्वास, स्वार्थ सङ्घर्ष, फुट हुनसक्ने र त्यसको कारण युद्ध हार्नसक्ने ठानेर पाण्डवलाई द्रौपदीसँग सामूहिक विवाह गर्न बाध्य पारियो । पाँच पाण्डवकी माता कुन्तीको आदेशमा द्रौपदीलाई ‘यौनदासी’ बनाइयो । हस्तिनापुर राजगद्दीको स्वार्थमा द्रौपदीको सामूहिक विवाहदेखि चीरहरणसम्म गरियो । विदर्भ देशका राजकुमार रुक्म र गोपालवंशी द्वारिका देशका राजा कृष्णका बीचमा शत्रुता थियो । कृष्ण आफ्ना दुस्मन रुक्मकी बहिनी रुक्मिणीसँग विवाह गरेर रुक्मसँग ईख साध्न चाहन्थे । कसैकी छोरी, दिदी–बहिनीसँग विवाह गर्नुलाई पनि नारी पक्षकासँग ईख साध्ने वा कनिष्ठ मान्ने चिन्तन पौराणिककालमै झाङ्गिएको थियो । रुक्मिणीले कृष्णलाई आफूलाई भगाएर लग्न खबर पठाउँछिन् तर कृष्णको उनीसँग प्रेमभाव थिएन । कृष्ण रुक्मिणीसँग विवाह गरेर रुक्मसँग बदला लिन वा ईख साध्न चाहन्थे । त्यसैकारण रुक्मिणीलाई विदर्भ देशबाट द्वारिका देशसम्म अपहरण गरेर लगेका थिए । भगवान् कृष्णको पालादेखि सुरु भएको अपहरण गरेर लग्ने र श्रीमती बनाउने चलनको विकृत रूप नेपाली समाजमा अझै छ । राजा राजेन्द्रले पशुपति दर्शनार्थ आएकी मिथिलाकी बालबधुलाई जबर्जस्ती दरबार लगेर रानी बनाएका र उनैबाट जन्मेका राजकुमारलाई राजा बनाएका थिए । तामाङ, थारू तथा अन्य आदिवासीमा झैँ त्यसका अवशेषहरू छन् । त्यही अपहरणकारी कृष्णको उपासक नेपाली समाजमा उसै प्रकारको संस्कार पश्चिम नेपालका जिल्लामा कायम छ । २०७७ वैशाखमा पश्चिम रुकुममा भएको ‘नवराज हत्याकाण्ड’ अपहरण गर्ने र प्रतिशोध साध्ने सामन्ती विरासतकै बीभत्स घटना हो जसको जरो कृष्ण र रुक्मसम्म पुगेको देख्न सकिन्छ । हाम्रो संस्कृति र परम्पराको स्रोत तथा विरासत नै अपराधीकरण भएको छ । दया र नैतिकताका नमुना मानिएका रामले रावणलाई पराजित गरेपछि रावणपत्नी मन्दोदरीलाई सार्वजनिक रूपले नाङ्गो पारियो । नाङ्गो पारिएकी मन्दोदरीलाई लक्ष्मणले लात्ताले भकुरे । जनयुद्धकालमा घर धानेर बसेका महिलालाई शाहीसेनाले हत्या–बलात्कार गरेर प्रतिशोध साध्नु र रामलक्ष्मणले मन्दोदरीमाथि गरेको ज्यादतीमा अनौठो सामीप्य देखिन्छ । वर्तमान सत्तारूढ चेतनाले अपराधीहरूको आदर्शीकरण गरुन्जेल रुकुमकाण्ड मनोवृत्तिका स्वामी कृष्णको गोडा धोएर पानी खाने समाज र परम्परा रहेसम्म नयाँ चेतना स्थापित हुन गाह्रो छ । नारी पीडक धर्म, संस्कृति र चेतना हजारौँ वर्षदेखि जरो गाडेर समाजमा बसेको छ । त्यसरी नै प्रशिक्षित छ । दासयुगका दास–दासीहरू घोडाको गोडामा बाँधेर घिसारिन्थे । आजका नारीहरू मनुस्मृतिको खुट्टामा बाँधेर घिसारिन्छन् ।

हिन्दु धर्म र धार्मिक ग्रन्थहरूको माध्यमले नारी हिंसालाई पराकाष्टामा पुर्याइएको छ । सतीप्रथा त्यसको उत्कर्ष थियो । सतीप्रथा नारी हिंसा र उसको पूर्णतः निषेधको उत्कर्ष थियो । हिन्दु धर्मका तीन प्रमुख देवता (देवताका पनि देवता) मध्ये भगवान् ब्रह्माले आफ्नै सात वर्षीया पुत्रीको बलात्कार गरेका थिए जसको कारण ब्रह्माको पूजा–अर्चना गरिन्न । उनको मन्दिर बनाइन्न तर उनी देवता, जगत्का निर्माताका रूपमा पूजनीय छँदैछन् । जगत्का पालनकर्ता विष्णु त भेष बदलेर (मुकुन्डो लगाएर) परस्त्री भोग गर्थे । विपरीतहरूको अस्तित्व जगत्को नियम हो तर छल गरेर भोग गर्नु भनेको कलीयुगका उद्दण्डहरूले तेजाब प्रहार गर्नु, मट्टीतेल खन्याएर आगो लगाउनु, बलात्कार गर्नुसरह त हो ।

राम र अयोध्याको बहस ‘इतिहास हो कि काव्य ?’ भन्ने बहसकै विषय छ । भारतका प्रगतिवादी साहित्यकार र इतिहासकारहरूले त्यसलाई ‘ काव्यात्मक महत्वको विषय’ भनेका छन् । हिन्दु धार्मिक आदर्श, मूल्य र नैतिक मापदण्डअनुसारको आदर्श राज्य र समाज निर्माणार्थ यो कथाको रचना गरिएको उनीहरूको निष्कर्ष छ । जे होस् रामकथाबाट हिन्दु समाज प्रभावित छ । उनै रामले सीतालाई एकपटक अग्निपरीक्षा दिन लगाए । अर्कोपटक बनबास पठाए तर आफूले कहिल्यै परीक्षा दिन आवश्यक ठानेनन् । ‘गाई नुहाए पनि चोखो, ननुहाए पनि चोखो’ भन्ने उखानझैँ पुरुष सधैँ नैतिक परीक्षाबाट मुक्त रहन्छ । रामजस्तै आत्मविश्वास नभएको र गैरजिम्मेवार मर्यादाको ढोँगी कथित ठूला मान्छे हाम्रो समाजको आदर्श छ । हाम्रो धार्मिक आदर्शको पर्खाल नै महिला उत्पीडनको मुहान रही आएको छ । सबै धर्म र धार्मिक आदर्शको मूल प्रवृत्ति एउटै ।

नारी जाति हृदय वा भावनालाई आधार बनाएर चल्छन् भने पुरुष जाति चेतना वा बुद्धिसंगत भएर चल्ने स्वभाव प्राकृतिक रूपमै विद्यमान भएका कारण नारीहरू पौराणिक कालदेखि नै ठगिँदै आएको ठान्छन् । कतिपय समाज विज्ञानले यो तर्कलाई स्वीकार गर्दैनन् । आदिम साम्यवादमा पुरुष जाति सिकार र गणको रक्षाबाहेक अरू खासै महत्वको थिएन । महिलाहरू बल, बुद्धि र गणको अस्तित्वको केन्द्रमा थिए । ऋषिहरू याज्ञवल्क्य, दुर्वासाभन्दा ऋषिकाहरू गार्गी, कन्दली धेरै बौद्धिक र भौतिकवादको निकट देखिन्छन् । महिलामा हुने भनेको भावनात्मक पक्षको प्रगाढता हजारौँ वर्षदेखिको सामन्ती–भौतिक वातावरण र साहित्यद्वारा निर्मित स्थिति हो । यो प्राकृतिक अस्तित्वको होइन । हृदय, भावना, तरलता, प्रकृति प्रेम, उद्वेलन खराब विषय हो त ? प्रश्न उठ्छ । चिलीका कवि पाब्लो नेरुदाले उद्वेलनको अवस्थालाई ‘व्यक्तित्वको अवस्था’ भनेका छन् । उद्वेलन पशुचेतबाट बाहिर निस्कने प्रक्रियाको स्तर पनि हो ।

हिन्दु धर्म र धार्मिक ग्रन्थहरूको माध्यमले नारी हिंसालाई पराकाष्टामा पुर्याइएको छ । सतीप्रथा त्यसको उत्कर्ष थियो । सतीप्रथा नारी हिंसा र उसको पूर्णतः निषेधको उत्कर्ष थियो । हिन्दु धर्मका तीन प्रमुख देवता (देवताका पनि देवता) मध्ये भगवान् ब्रह्माले आफ्नै सात वर्षीया पुत्रीको बलात्कार गरेका थिए जसको कारण ब्रह्माको पूजा–अर्चना गरिन्न । उनको मन्दिर बनाइन्न तर उनी देवता, जगत्का निर्माताका रूपमा पूजनीय छँदैछन् । जगत्का पालनकर्ता विष्णु त भेष बदलेर (मुकुन्डो लगाएर) परस्त्री भोग गर्थे । विपरीतहरूको अस्तित्व जगत्को नियम हो तर छल गरेर भोग गर्नु भनेको कलीयुगका उद्दण्डहरूले तेजाब प्रहार गर्नु, मट्टीतेल खन्याएर आगो लगाउनु, बलात्कार गर्नुसरह त हो । जब हाम्रा आदर्श नै बलात्कार छन् भने अनुयायीहरू बलात्कारउद्यत हुनु अनौठो कुरा हुँदैन । हिजोका बलात्कारी पुज्नेले आजका बलात्कारीको विरोध गर्नुको के अर्थ रहला ! हिन्दु धर्मका सबैभन्दा ठूला देवता महादेव हुन् । उनी लागूपदार्थका दुव्र्यसनी थिए । जसले ७० वर्षको उमेरमा ७ वर्षकी बालिकासँग विवाह गरे । छल–कपट, धम्की, त्रास, शक्तिको दुरुपयोग अनेक गरेर विवाह गरे । श्रीस्वस्थानी व्रतकथामा शिव शर्मा ब्राह्मण र गोमा ब्राह्मणीको कथाले शिवको नारीपीडक चरित्र देखाउँछ । भगवान् कृष्णले विदर्भ देशकी राजकुमारी रुक्मिणीलाई अपहरण गरेर विवाह गर्नु नैतिक हुन्छ भने राजा राजेन्द्र शाहले पशुपतिनाथ दर्शन गर्न मिथिलाबाट आएकी बाल–बिधुवा राजराजेश्वरी देवीलाई पक्रेर दरबार लगेर, कैद गरेर कालान्तरमा रानी बनाउनु कसरी अनैतिक हुन्छ ? त्यसकारण महिला हिंसा रोक्न पुरानो आदर्श र प्रशिक्षण प्रक्रियामा नै नयाँ जागरण आवश्यक छ । सामन्ती समाजको आदर्शले वर्तमानको अपेक्षित समाज निर्माण गर्दैन ।

मानवसभ्यताको प्रारम्भिक कालमा मान्छेले प्रकृतिका रहस्यहरूलाई बुझ्न नसकेको कारण कुनै अलौकिक शक्तिको कल्पना गर्यो होला । त्यो अलौकिक शक्ति आफ्नो गणसँग खुसी रहोस्, दुःख नदेओस् भन्ने कल्पना गर्यो । मीठा खाने कुरा, फलफूल र हतियार चढाउन थाल्यो । मृतक आफन्तहरू सपनामा देख्दा पनि त्यसै प्रकारको कल्पना गर्यो । उसका चरित्रहरू घरका भित्तामा सजाउन थाल्यो । त्यसरी मृतक अग्रज, सूर्य, चन्द्रमा, नदी, रूख, चुचुरो, ताल, सर्प आदिको पूजाआराधना गर्न थालियो । त्यसरी प्रकृतिपूजक समाजको निर्माण भयो । पछिल्लो चरणमा पण्डित, पुजारी, लामा, मुल्लाह, पादरी, राजारजौटाहरूले आफूलाई भगवान्का प्रतिनिधि र जीवित ईश्वर घोषणा गर्न थाले । त्यसलाई राज्यले भौतिक र साहित्यकलाले विचारधारात्मक मान्यता प्रदान गरे । त्यसपछि धर्म जनता लुट्ने सूदखोर, व्यापारी र शासन गर्ने उत्पीडनको औजार बन्यो । आफ्नो हितमा रहेका कारण सुरुमा भौतिकवादका पक्षमा देखिएको पुँजीवाद सामन्तवादसँग गठबन्धन गरेर धर्मभीरु बन्न गयो ।

आज धर्म आर्थिक शोषण र राजनीतिक स्वार्थको औजार बनेको छ । अमेरिकाको डोनाल्ड ट्रम्प र भारतको नरेन्द्र मोदीले क्रमशः बाइबल र गीता हातमा लिएर त्यही गरे । धर्म फरक उद्देश्य र कर्म एउटै थियो, छ । धर्मले एउटाले अर्कोका विरुद्ध ‘घृणाको राजनीति’ उत्पादन गरिरहेको छ । धर्म र धर्म राजनीति फरक विषय हुन् । आस्था र राजनीतिक स्वार्थ फरक–फरक विषय हुन् ।

बीसीई पाँचौँ शताब्दीमा नै एथेन्सका दार्शनिक प्लेटोले नारीलाई पनि नरसरह अस्त्र चलाउन, घोडचढी सिकाउन सिफारिस गरेका थिए । त्यसो भयो भने नारीहरूले पनि शत्रुको सामना गर्न, देश सेवा गर्न, युद्धमा भाग लिन सक्छन् भनेका थिए । तर सबै धर्म यसको विपक्षमा छन् । २०५२ सालपछि महिलाहरू जनमुक्ति सेनामा भर्ती भए । त्यसपछि नेपाली सेनामा महिला भर्ती खुल्यो । अहिले अमेरिकी सेनामा पनि महिला सेनाको भर्ती खोलिएको छ । महिला स्वतन्त्रताको दृष्टिले अमेरिकी समाज नेपालभन्दा पनि पछाडि देखियो । यसबाट भन्न सकिन्छ, वर्तमान विश्वव्यवस्था नै महिला स्वतन्त्रताका दृष्टिले अनुदार छ । महिला हिंसाको मुहान त्यही अनुदारता र सामन्ती धङधङीको वरपर छ । त्यसैले महिला हिंसाका विरुद्ध लड्दा त्यसको मुहान बन्द गर्ने विषय प्राथमिक विषय हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :