अखिल (क्रान्तिकारी ) उदयपुरको १३ औँ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा निशान कट्वाल

अखिल (क्रान्तिकारी ) उदयपुरको १३ औँ जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा निशान कट्वाल

उदयपुर: अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)उदयपुरको १३ औँ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले निशान कट्वालको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
वैज्ञानिक समाजवादी व्यवस्था र शिक्षाको लागि हाम्रो आन्दोलन, सुदृढ र जुझारु संगठन निर्माणका लागि १३ औँ जिल्ला सम्मेलन भन्ने मुल नाराका साथ बिहीबार सम्पन्न सम्मेलनले उपाध्यक्षमा मनिश बराईली, सचिव सिदार्थ अधिकारी, सहसचिव पवन कार्की र कोषाध्यक्षमा बाला राई गरि २१ जनालाई सम्मेलनले जिल्ला समितिमा चयन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेकपाका केन्द्रीय सदस्य, उदयपुर–ओखलढुंगा इन्चार्ज विवेक कुमालले मैनबत्ति बालेर कार्यक्रमको उदघाट्न गरेका थिए ।

उनले कार्यक्रममा बोल्दै अहिलेको राष्ट्रिय राजनीतिलाई समेटेर नेपालमा भएको दोहाेराे चरित्रको शिक्षा प्रणालीलाई अन्त्य गरेर नयाँ जनवादी शिक्षा राज्यले सुचारु गरोस् भन्दै जनआन्दोलन दिवसको उपलक्ष्यमा शुभकामना दिएका थिए ।   

देशैभरी आफ्नो पार्टीले कार्यक्रम आयोजना गरेको र उदयपुरमा पनि अखिल (क्रान्तिकारी) को जिल्ला सम्मेलन आयोजना गरेकाले सम्मेलनले उदयपुरको विद्यार्थीहरुको सुन्दर भविष्यको रेखा कोर्न सकोस् भन्ने शुभकामना पनि दिएका थिए । उनले देशमा दिन प्रति दिन महङ्गी, भ्रष्टाचार, कालोबजारी बढ्दै गएको भन्दै त्यसको भण्डाफोर गर्न विद्यार्थीहरुलाई अपिल गरे ।

जनताको दैनिक जीवनमा आवश्यकता पर्ने गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी राज्यले गर्नु पर्छ भनेर आफ्नो पार्टीले जनताको आवाज लिएर सडकमा आउँदा दुई वर्ष प्रतिबन्ध खेप्नु परेको उनको भनाई थियो ।

अहिले देशमा विकासको नाममा राष्ट्रघाति एमसीसी दलालहरुले संसदबाट पास गरेर ल्याएको भन्दै उनले त्यसको विरुद्धमा आफ्नो पार्टीले आन्दोलनहरु गर्दै आएको र विद्यार्थी संगठनले अग्रणी रूपमा आन्दोलनमा महत्त्वपूर्ण भूमिका खेल्न समेत आग्रह गरे ।

त्यस्तै कार्यक्रमका अतिथि अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष प्रकाश शाहीले निरङ्कुश पञ्चायत व्यवस्थाको विरुद्ध बोलेको दिन जनयुद्धमा विद्यार्थी आन्दोलनबाट शहिद भएका विद्यार्थीहरुलाई सम्झदै यो २१ औँ शताब्दीमा हाम्रो देशको विद्यालयहरुमा पढ्ने शिक्षा संसारका विश्वविद्यालयहरुसँग प्रतिस्पर्धा गर्न सक्ने शिक्षा नीति राज्यले लागू गर्नु पर्ने बताए ।

कार्यक्रममा स्वागत मन्तव्य सिदार्थ अधिकारीले राखेका थिए भने कार्यक्रम संचालन निशान कट्वालले गरेका थिए । कार्यक्रमको सभाअध्यक्ष अखिल (क्रान्तिकारी) की केन्द्रिय सदस्य जानकी खत्रीले गरेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :