माओवाद, जनयुद्ध र नयाँँ जनवादी क्रान्ति : धर्मेन्द्र बास्तोला ‘कञ्चन’

२६ डिसेम्बर, सन् १८९३ मा जन्मनुभएका कमरेड माओ त्से तुङको यो १२५ आँै जन्मदिवस हो । चिनियाँ नयाँँ जनवादी क्रान्ति र महान् सर्वहारा सांस्कृतिक क्रान्तिपछि हरेक वर्षको २६ डिसेम्बरले अन्तर्राष्ट्रिय सर्वहारावर्गका लागि विशेष महत्व राख्दछ । यो दिनमा संसारभर सर्वहारावर्गबाट माओ त्सेतुङको विशेष सम्झना गरिन्छ । माओ त्सेतुङको योगदानबारे संसारमा धेरै चर्चा भइसकेको छ । उहाँको वर्णन र उहाँले गर्नुभएका विकासका बारेमा संसारभरमा सयौँ दर्जन पुस्तक लेखिएका छन् तर सबै विश्लेणहरूमा योगदानलाई एउटै वाक्यमा यसरी संश्लेषण गर्न सकिन्छ– माओले माक्र्सवाद–लेनिनवादलाई माक्र्सवाद–लेनिनवाद–माओवादमा गर्नुभएको विकास । माक्र्सवादका तीन स्रोत र तीन प्रवर्ग भन्ने रचनामा लेनिनले स्पष्ट गर्नुभएको छ– माक्र्सवादको विकास समाजका तीन वैचारिक स्रोत र तीन प्रवर्ग वा तीन सङ्घटक अङ्गबाट भएको छ । त्यसमा एउटा प्रवर्ग भनेको भौतिकवादी दर्शन हो । माक्र्सले पुरानो भौतिकवादी दर्शनलाई गहिरो गरी बुझ्नु मात्र भएन, त्यसमा विकास गर्नुभयो र त्यसलाई नयाँँ उचाइमा उठाउनुभयो । माक्र्सवादको दोस्रो प्रवर्ग भनेको राजनीतिक अर्थशास्त्र हो ।

राजनीतिक अर्थशास्त्रमा आर्थिक आधार र राजनीतिक उपरिसंरचनाको द्वन्द्वात्मक सम्बन्धका बारेमा चर्चा गर्नुभयो । उहाँले सामन्तवादी अर्थव्यवस्थाको चरित्रलाई मात्र सही किसिमले पकड्नुभएन, उहाँँले पुँजीवादी अर्थव्यवस्था, त्यसको चरित्र र विकासलाई सही किसिमले बुझ्नुभयो । त्यतिबेलाका विख्यात अर्थशास्त्री डेभिड रिकार्डो, यन्त्रमानव ओबेनजस्ता पुँजीवादी अर्थशास्त्रीहरूका दार्शनिक खोट रहेको, जसको कारण मजदुर वर्गको हित गर्न नसक्ने स्पष्ट गर्नुभयो । माक्र्सले त्यति मात्र विश्लेषण गर्नुभएन, उहाँले पुँजीवादले विश्वभरि विजय हासिल गर्ने कुरा बताउनुभयो र त्यो विजय भनेको सर्वहारावर्गको विश्व–विजयको पूर्वाभ्यास हुने पनि बताउनुभयो । माक्र्सले पुँजीवादको पतनपछि समाजवाद र साम्यवाद स्थापना हुने बताउनुभयो । त्यस्तै माक्र्सवादको तेस्रो प्रवर्ग भनेको वैज्ञानिक समाजवाद थियो । माक्र्सले सामन्तवादको अन्त्यपछि कथितस्वतन्त्र पुँजीवाद आएको तर त्यो पुँजीवादले वर्गसङ्घर्ष पैदा गर्ने कुरा बताउनुभयो । साथै पुँजीवादले आफ्नो चिहान खन्ने वर्गको जन्म दिँदै जाने र त्यो वर्गसङ्घर्षको परिणामस्वरूप पुँजीवादको अन्त्य हुने र त्यसको ठाउँँमा समाजवाद आउने बताउनुभयो ।

माक्र्सको समयमा समाजवादको चर्चा भइरहेको हुन्थ्यो तर त्यो काल्पनिक समाजवाद थियो । माक्र्सले पुँजीपतिवर्गको अधिनायकत्वमा चलेको बुर्जुवावर्ग वर्गसङ्घर्सको प्रक्रियामा पराजित हुने र त्यसको ठाउँँमा सर्वहारावर्गको अधिनायकत्व भएको समाजवादी सत्ता अथवा वैज्ञानिक समाजवाद स्थापना हुने बताउनुभयो । त्यस्तै वर्गीय अधिनायकत्व भएको समाजवादी समाज वर्गसङ्घर्षको प्रक्रियाबाट अन्ततः वर्गविहीन साम्यवादमा रूपान्तरित हुने बताउनुभयो । लेनिनले महान् अक्टोबर क्रान्तिको प्रक्रियामा माक्र्सवादलाई माक्र्सवाद–लेनिनवादमा विकास गर्नुभयो । लेनिनले यसरी माक्र्सवादका तीन प्रवर्गहरू भौतिकवादी दर्शन, राजनीतिक अर्थशास्त्र तथा वैज्ञानिक समाजवादलाई माक्र्सीय समयमा जसरी बुझिन्थ्यो त्योभन्दा धेरै व्याख्या÷विश्लेषण गर्नुभयो । माक्र्सको समयमा भन्दा लेनिनको समयमा यी तीनवटै क्षेत्रमा कयौँ परिवर्तनहरू भइसकेका थिए । धेरै कुराहरू विकास भइसकेका थिए । लेनिनले माक्र्सवादलाई दह्रोसँग पकड्नुभयो र यी सबै क्षेत्रमा विकास गर्नुभयो । लेनिनले भौतिकवादी दर्शनमा एकता–सङ्घर्ष–एकताको दर्शनका रूपमा विकास गर्नुभयो । राजनीतिक अर्थशास्त्रमा साम्राज्यवादको विकास, यसको एकाधिकार, परजीवी र मरणोन्मुख चरित्र स्पष्ट गर्नुभयो । त्यस्तै वैज्ञानिक समाजवादका क्षेत्रमा वर्गसङ्घर्षको विधि, त्यसका लागि सर्वहारावर्गको अग्रदस्ताको सङ्गठित शक्तिको आवश्यकताका बारेमा स्पष्ट व्याख्या र व्यवहार प्रस्तुत गर्नुभयो जसले महान् रुसी अक्टोबर क्रान्ति सम्पन्न गर्न सम्भव भयो । त्यस्तै चीनजस्तो अर्धसामन्ती अर्धऔपनिवेशिक देशमा महान् चिनियाँ नयाँँ जनवादी क्रान्ति र त्यसको डेढ दशकमै समाजवादी समाजभित्रै उत्पन्न भएको वर्गसङ्घर्षको समाधान गर्ने सन्दर्भमा पैदा भएको महान् सर्वहारावादी सांस्कृतिक क्रान्ति गर्दा माओ त्सेतुङले माक्र्सवाद–लेनिनवादलाई माक्र्सवाद–लेनिनवाद–माओवादमा विकास गर्नुभयो । माक्र्सवाद–लेनिनवाद–माओवाद अथवा माओवादमा विकास गर्दा पनि माओले तिनै तीन प्रवर्गमा विकास गर्नुभएको थियो ।

द्वन्द्वात्मक भौतिकवादी दर्शनमा माओले एकता–सङ्घर्ष–रूपान्तरण, दुईको एकमा संयोजन होइन, एकको दुईमा विभाजन भन्ने सिद्धान्तको विकास गर्नुभयो । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगमा चीनजस्ता अल्पविकसित देशहरूमा अर्धसामन्ती अर्धऔपनिवेशिक आर्थिक प्रणाली रहने र ती देशहरूमा समाजवादमा जानका लागि पुँजीवादको विकास गर्न आवश्यक नपर्ने बरु सर्वहारावर्गको नेतृत्व र जनताको जनवादी अधिनायकत्वमा पुँजीवादी अधिनायकत्व अन्त्य गरी नयाँँ जनवादी सत्ता स्थापना गर्न सकिने जसबाट समाजवादी आर्थिक आधार र राजनीतिक उपरिसंरचनाको विकास गर्न सकिने बताउनुभयो । वैज्ञानिक समाजवादका क्षेत्रमा माओले समाजवादी क्रान्तिभित्र निरन्तर क्रान्तिको सिद्धान्त प्रतिपादन गर्नुभयो । माक्र्सले भन्नुभएको थियो– कम्युनिस्टहरूको ऐतिहासिक कार्य भनेको समाजमा वर्गविभाजन गर्ने पुरानो सम्पूर्र्ण उत्पादन सम्बन्धको अन्त्य गर्नु, त्यो उत्पादन सम्बन्धको जगमा उभिएको सामाजिक सम्बन्धको अन्त्य गर्नु, त्यो सामाजिक सम्बन्धबाट विकास भएको पुरानो संस्कृतिको अन्त्य गर्नु र समाजमा रहेको संस्कृतिबाट पैदा भएको चेतनामा निरन्तर क्रान्तीकरण गर्नु हो । महान् सर्वहारावादी सांस्कृतिक क्रान्तिले ठीक त्यही काम गरेको थियो जो माक्र्सले कम्युनिस्टहरूको ऐतिहासिक कार्यभारका रूपमा विश्लेषण गर्नुभएको थियो ।

माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिनले जस्तै माओले समाज विकासका क्रममा देखापर्ने सुधारवाद, आत्मसमर्पणवाद, जुझारु अर्थवाद, भँडुवा विकासवादलगायत सबै प्रकारका संशोधनवादका विरुद्ध निर्मम प्रकारको सङ्घर्ष गर्नुभयो जुन सङ्घर्षको परिणामस्वरूप नै चीनजस्तो आर्थिक रूपले अति पिछडिएको जनतालाई राजनीतिक रूपले सबैभन्दा अग्रगामी अवस्थामा पु¥याउनुभयो र चीनमा नयाँँ जनवादी क्रान्ति सम्पन्न गर्नुभयो । समाजको विकाससँगै अन्तरनिहित अन्तर्विरोधहरू पनि भिन्न तरिकाले विकास भएका हुन्छन् । यी भिन्न अन्तर्विरोधहरूमा माक्र्सवादले सुधारवाद, संशोधनवादका विरुद्ध त्यही प्रकारले सङ्घर्ष गर्दै आएको छ । यसलाई लेनिनले ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ भन्नुभएजस्तै माक्र्सवाद–लेनिनवाद–माओवादले खास परिस्थितिमा पैदा भएका अन्तर्विरोधहरूलाई त्यही परिस्थितिअनुसार नै समाधान गर्दै आएको छ । माक्र्स, लेनिन र माओको समयदेखि अहिलेसम्म संशोधनवादको चरित्र वर्गसमन्वयवादी तथा आत्मसमर्पणवादी रहँदै आएको छ । बाकुनिनहरू होऊन् कि मिलेराँहरू, ट्राट्स्कीहरू होऊन् वा वाङमिङहरू सबै सुधारवादी संशोधनवादीहरूको एउटै चरित्र वर्गसमन्वयवाद तथा आत्मसमर्पणवाद हो तर त्यो संशोधनवादको प्रकृति भने फरक रहने गरेको छ । उन्नाईसौँ शताब्दीको संशोधनवादभन्दा बीसौँ र बीसाँै शताब्दीको संशोधनवादभन्दा एक्काईसौँ शताब्दीको संशोधनवाद फरक रहनु अनिवार्य सर्त हो किनभने समाजको विकासले सर्वहारावर्गभन्दा अर्को पक्षलाई पनि आफ्नो वर्गस्वार्थका लागि त्यही तरिकाले विकसित गरिरहेको हुन्छ तर यी सबै संशोधनवादको साझा नारा हुने गरेको छ– ‘नयाँँ र सिर्जनात्मकता ।’ सबै संशोधनवादीहरूले माक्र्सवादलाई जडसूत्रवाद देख्ने गर्छन् । उनीहरूले वर्गसङ्घर्षभन्दा बाहिर वर्गसमन्वयको कुरा गर्छन् र क्रान्तिलाई कि काल्पनिक विषय ठान्छन् कि त षड्यन्त्रमूलक सैनिक कारबाही ।

उनीहरू क्रान्तिलाई आमजनताको विद्रोह भन्ने कल्पनासम्म गर्न सक्दैनन् । त्यसकारण उनीहरू जनताको तागतभन्दा बाहिर केही ‘वीर’ हरूको षड्यन्त्रमा क्रान्तिदेख्छन् जसले अन्त्यमा उनीहरूको विनास गरिदिन्छ । उन्नाईसौँ र बीसौँ शताब्दीको संशोधनवादले वैचारिक एवम् राजनीतिक बहसबाट विचारमा सुधारवाद र सङ्गठनमा विसर्जन ल्याउने गर्दथ्यो । त्यसको प्रकृति आन्दोलनबाट पलायन कम र वैचारिक गल्ती–कमजोरी बढी हुन्थ्यो जसका कारण कि त आन्दोलन अघि बढ्न सक्दैनथ्यो कि त्यो अन्त्यमा बुर्जुवा हस्तक्षेपको सिकार बन्थ्यो । त्यतिबेलाको संशोधनवादले जनताको सत्ता स्थापना हुँदा त्यसको समर्थन गथ्र्यो अथवा त्यसलाई स्वीकार गथ्र्यो तर एक्काईसौँ शताब्दीको संशोधनवादको चरित्र बेग्लै देखापर्छ । एक्काईसौँ शताब्दीको संशोधनवादले जनताले प्राप्त गरेको जनसत्ता, जनताको सेना, जनताको माक्र्सवादी–लेनिनवादी–माक्र्सवादी विचार सबैलाई विसर्जन गर्दछ । आन्दोलनमा घुसपैठका लागि माक्र्सवादी मान्यताप्रति ओठेभक्ति व्यक्त गर्नु, माक्र्सवादी–लेनिनवादी–माओवादी मान्यताका विपरीत विचार अथवा दर्शनमा मालेमाका आधारभूत मान्यताहरूको विसर्जन गर्नु, राजनीतिक अर्थशास्त्रमा माक्र्सवादी राजनीतिक अर्थप्रणालीप्रति अविश्वास गर्नु र एकाधिकार पुँजीवादी अर्थव्यवस्थाको दास बन्नु, समाजवादका क्षेत्रमा वैज्ञानिक समाजवादप्रति अविश्वास रहनु तर बुर्जुवा समाजको दासत्व स्वीकार गर्नु, वर्गसङ्घर्षका क्षेत्रमा वर्गसमन्वयवाद मन पराउनु र आत्मसमर्पणमा रमाउनु, सङ्गठनका क्षेत्रमा जनताले निर्माण गरेको जनमुक्ति सेना तथा जनसत्ताको विघटन गर्नु, जनताको क्रान्तिकारी विचारको परित्याग गर्नु एक्काईसाँै शताब्दीको संशोधनवादका विशेषताहरू हुन् । जसरी अठाराँै र उन्नाईसौँ शताब्दीको वर्गसङ्घर्ष अहिलेको तुलनामा कम जटिलजस्तो देखिन्छ त्यतिबेलाको संशोधनवादका विरुद्धको सङ्घर्ष पनि त्यही प्रकृतिको हुन्थ्यो । एक्काईसाँै शताब्दीमा जुन प्रकारको जटिलता वर्गसङ्घर्षमा देखापरिरहेको छ अहिलेको संशोधनवादका विरुद्धको सङ्घर्षमा पनि त्यही जटिलता देखापर्छ । यी जटिलताहरूलाई पार गरेर क्रान्तिकारी आन्दोलनलाई नयाँँ उचाइमा उठाउन सक्नु नै माक्र्सवादी–लेनिनवादी–माओवादी नेतृत्वको विकास गर्नु हो ।

हामीले कुन कुरामा गम्भीर ध्यान दिन आवश्यक छ भने ‘कम्युनिस्ट त्यही हो जसले वर्गसङ्घर्षको मान्यतालाई सर्वहारा अधिनायकत्वको मान्यतासँग जोड्दछ’ (लेनिन), ‘ यो कुरामा अस्पष्टता हुनुले संशोधनवादतिर लैजान्छ’ (माओ) । त्यसकारण कुन कुरा स्पष्ट गर्न सकिन्छ भने कम्युनिस्ट नेतृत्व भनेको त्यही हो जसले वर्गसङ्घर्षको मान्यतालाई सर्वहारा अधिनायकत्वको मान्यतामा जोड्दछ, जसले पार्टीभित्र र बाहिरको संशोधनवादका विरुद्ध निर्मम सङ्घर्ष गर्दछ, जसले आफैँभित्र पैदा भएको संशोधनवादका विरुद्ध निर्मम तरिकाले सङ्घर्ष गर्दछ र त्यो सङ्घर्षको मान्यतालाई सर्वहारा अधिनायकत्वको मान्यतामा जोड्दछ । यसमा अस्पष्ट हुने कुराले निश्चित रूपमा सुधारवाद र संशोधनवादमा फस्न पुगिन्छ । माओ त्सेतुङको १२५ औँ जन्म दिवसका अवसरमा हरेक कम्युनिस्टहरूले यो कुरा राम्रो गरी मनन गर्न सकियो भने मात्र नेपालमा विकास भएको सुधारवाद, आत्मसमर्पणवाद, जुझारु अर्थवादका रूपमा अभिव्यक्त हुने संशोधनवादलाई परास्त गर्न सकिनेछ । (स्रोत : लेखकको प्रकाशोन्मुख कृतिको पाण्डुलिपीबाट)
२०७४ पुस १७ गते बिहान ९ : ३८ मा प्रकशित

प्रतिक्रिया दिनुहोस्
error: Content is protected !!