मिथिला कि मधेस ?

काठमाडौं : दुई नम्बर प्रदेशलाई मिथिला नामकरण गर्ने कि मधेस भन्ने बहस लामो समयदेखि चलिरहेको छ । नेपालमा मधेस नामको भाषा र संस्कृति छ कि छैन भन्ने बहस छ । मिथिला भाषा, संस्कृति, समुदाय, भूगोल, मनोविज्ञान र ऐतिहासिक विरासत रहिआएको छ । नेपालमा मिथिला प्रदेश निर्माण भएमा त्यसको प्रभाव भारतमा समेत पर्न सक्छ ।
नेपालमा भन्दा ठूलो जनसङ्ख्या र भूगोल भारतको बिहारमा छ । ‘भारतीय स्वार्थमा शक्तिकेन्द्रहरू मिथिला प्रदेशकाविरुद्ध उभिएको’ आरोप पनि लाग्ने गरेको छ । मिथिला प्रदेशको माग चर्किरहेको समयमा आन्दोलनकारीमाथि बम प्रहार हुनु, साङ्घातिक हमला हुनु र त्यसप्रकारका घटनाप्रति मधेसवादी नेता र भारतीय पक्षको बेसरोकार देखिनुले माथिको आरोपलाई नै पुष्टि गरेको छ । शनिबार सप्तरी सदरमुकाम राजविराजमा सम्पन्न १५ आैं अन्तर्राष्ट्रिय मैथिली सम्मेलनले १३ बुँदे राजविराज घोषणापत्रसहित २ नम्बर प्रदेशलाई मिथिला प्रदेश नामकरण गर्न माग गरेको छ ।

सम्मेलनले मिथिला भाषालाई २ नम्बर प्रदेशको सरकारी कामकाजको भाषा घोषणा गर्नसमेत माग गरेको छ । सम्मेलनले नेपालको भौगोलिक एकीकरणसँगै मिथिला भाषा र संस्कृतिमाथि दमन गरिएको आरोप पनि लगाएको छ । मैथिली भाषा नेपालमा सबैभन्दा बढी नागरिकले बोल्ने दोस्रो भाषा हो ।

काठमाडौँसहित नेपालका प्राचीन शिला, ताम्रलेखहरू मिथिला भाषामा नै पाइन्छन् । लिच्छवि राजाको शासनकालमा मिथिला भाषा राजभाषा थियो । कतिपय मल्ल राजाहरू मिथिला साहित्यका ज्ञाता र पारखी थिए । मधेसको कुरा गर्ने नेताहरू हिन्दीको चिन्ता गर्छन् तर मिथिला भाषा र संस्कृतिको बेवास्ता गरेको ठानिन्छ । यसैकारण मिथिला भाषा र संस्कृतिले शक्तिशाली वाणी प्राप्त गर्न सकेको छैन ।

२०७४ पुस १६ गते साँझ ६ : ४३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :