रामरिझनको तराई–मधेश ब्ल्याक आउट

मिथिलाबासी एकजना पत्रकार तथा लेखक हुन् रामरिझन यादव । २०७३ सालमा उनको पछिल्लो कृति ‘ब्ल्याक आउट’ प्रकाशित भएको हो । यसमा तीन खण्ड छन् । पहिलो खण्डमा तराई–मधेसका विभिन्न कालखण्डका आन्दोलन, विद्रोह र जनसङ्घर्षका कथा– व्यथाहरू समेटिएका छन् । ती कथाहरूको साथमा सहिदहरूको सौन्दर्यीकरण गरिएको छ । आन्दोलनमा समेटिएका नेताहरूको चर्चा, प्रशंसा र तीखो आलोचना पनि छ । यस खण्डमा सानाठूला १९ वटा लेख समावेश छन् ।

दोस्रो खण्डमा पनि १९ वटा छोटा–लामा लेख समावेश गरिएका छन् । समकालीन राजनीतिक, वैचारिक लेखहरू भए पनि तराई–मधेसका केही समयभित्र भएका घटना र प्रवृत्तिलाई लिएर लेखकले आफ्नो विचार पोखेका छन् । अधिकांश लेखहरू विभिन्न छापा र अखबारमा प्रकाशित भएका हुन् । त्यसैलाई कोरिबाटी गरेर यो सङ्ग्रहमा समावेश गरिएको छ ।

त्यसैगरी खण्ड तीन अनुसूची खण्ड हो । यसमा पुस्तकले उठाएका विषयलाई पुष्टि गर्न वा थप प्रस्टताका लागि समावेश गरिएको देखिन्छ । पुस्तक आलोचनात्मकभन्दा अखबारी टिप्पणी र भावनाप्रधान लाग्छ । लेखकले पूर्वराष्ट्रपति रामवरण यादवको सन्दर्भमा लेखेका छन्– जाँदाजाँदै गहभरि आँसु बोकेर निवर्तमान भए नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादव ।

राष्ट्रपति रामवरण यादव कुनै गरिबका छोरा होइनन् । उनी भारतले सीमा मिचेर, सीमामा नेपाली मारिए अथवा अरब जानेको लर्को हेरेर रोएका हुन् त ? उनी मधेसका एकजना सामन्त (कमसेकम चिन्तनमा) हुन् र मधेसका सामन्तको इच्छाअनुसार संविधान जारी गर्न नसकेका कारण रोएका हुन् । विजयकुमार गच्छदार र शरतसिंह भण्डारीको महिमागान गर्न त रामरिझनजस्ता मधेसका बुद्धिजीवी र इमानदार व्यक्तित्वलाई सुहाउने कुरा नै थिएन । भावनामा तरङ्गित भएपछि मान्छेले आफ्नो उचाइ देख्न छोड्छ भनेको त्यही होला ।

कृतिमा ‘कैलालीको क्रन्दन’ शीर्षकको अर्को महत्वपूर्ण आलेख छ । लेखक भन्छन्, ‘आफ्नो मुक्तिका लागि थारूहरूले जसरी बन्दुक उठाए त्यो थारू जातिको इतिहासमा मात्र होइन, प्रत्येक शोषितपीडित जातजातिका लागि गर्वको विषय हुन गएको छ । सायद यसबाट भयभीत भएर होला, शासक वर्गले वि.सं. २०५७ मा कमैया उन्मूलनको प्रावधान ल्यायो । तर त्यो व्यवहारमा बर्सौंसम्म लागू भएन (पृ.६९) ।’ २०६४ को चुनावमा एमाले र काङ्ग्रेसलाई मतदान नगरेर थारू समुदायले अर्को विद्रोह गरे । तर तावाबाट हामफालेर भुङ्ग्रोमा भनेझैँ भयो थारू समुदाय । थारू समुदायलाई जमिन र रोजगार चाहिएको थियो । तर प्रचण्डले रमेश लेखकजस्ता सामन्त बोकेर जग्गा फिर्ता माग्न जान थाले । थारू र मधेसी नामधारी नेताहरूसँग पनि त्यो नारा थिएन । टीकापुर घटना थारू नामधारी विवादास्पद नेताहरूको उक्साहट र थारू समुदायको असन्तुष्टिको कोलाज थियो । जहाँसम्म कमैया मुक्तिको कुरा हो, जनयुद्धप्रतिको थारू लगाव मत्थर गर्न र तराईको जग्गा चक्लाबन्दी गरी बेचेर कमिसन खान दलाल (बिचौलिया) राजनीति र पश्चिमी देशका गैसस नामका गुप्तचरहरूको योजनामा ल्याइएको थियो । यादवले विषयलाई छिनालेर राखेका छैनन् ।

गीर्वाणयुद्धको मामाली बिन्ही (मधेस)

गीर्वाणयुद्धविक्रम शाह नेपालका चौथो राजा भए । उनको आमाको नाम कान्तवती हो भन्ने इतिहाससिद्ध छ । तर कान्तवती कहाँकी हुन् भन्ने हेक्का राख्न नसक्ने सूर्यनाथ उपाध्यायलाई नेपाली राजतन्त्रले कसरी गोदवामाथि गोदवा थप्दै गयो होला, बुझिनसक्नु छ । कान्तवती जनकपुर अञ्चल महोत्तरी जिल्ला बिन्ही गाउँकी बासिन्दा थिइन् । विसं १८२५ को शिवरात्रीमा पशुपति दर्शन गर्न काठमाडौँ गएको बेला पशुपति आर्यघाटमा राजा रणबहादुर शाहको दृष्टि कान्तवतीमाथि प¥यो । लामो कद, गहुँगोरो र सेतो साडीमा सजिएकी कान्तवतीको यौवन र सुन्दरताले राजा रणबहादुर शाहलाई मोहित ग¥यो । तत्कालै आफ्ना दाजु चौतारिया विदुर साही र भाइ शेरबहादुर साहीहरूको परामर्शअनुसार यिनले कान्तवतीलाई पक्रन लगाए ।

म्यानमा बन्द गराएर उनलाई बलात् राजभवनमा भित्र्याइयो । यस घटनाबाट ब्राम्हणकुमारी हतास् र विह्वल भइन् । यतिबेलाको सामाजिक परिवेशमा एक त बिधुवा, त्यसमा पनि ब्राम्हणीले क्षेत्रीय पुरुषसँग विवाह गर्नु असामान्य मात्र होइन, निन्दनीय मानिन्थ्यो । यसैले राजा नै भए पनि कान्तवती विवाह गर्न तयार थिइनन् । मिथिलाबाट कान्तवतीसँगसँगै गएकाहरू पनि स्तब्ध र क्षुब्ध बनेका थिए । तेजस्विनी कान्तवती ६ महिनासम्म आफ्नो सिद्धान्तमा अडिग नै भएर बसिन् । पछि स्वयम् राजाबाट महारानी राजेश्वरीमार्फत – ‘तिमीबाट पैदा हुने छोरालाई नै उत्तराधिकारी दिनेछु, द्विविधा नगर्नू’ भन्ने प्रस्ताव प्रस्तुत हुँदा आफूप्रति प्रेमविह्वल भएका राजा र रानी राजेश्वरीको प्रस्तावलाई उनले अनादर गर्न सकिनन् ।

विवाहका निम्ति उनी तयार भइन् । वि.सं. १८५३ को उत्तराद्र्धमा गोरखाको राजदरबारमा नै कान्तवतीको पनि ग्रहण सम्पन्न भयो । त्यतिबेलासम्म राजा रणबहादुरको पहिली रानी सुवर्णप्रभाबाट युवराजको जन्म भैसकेको थियो । केही वर्षपछि कान्तवतीको कोखबाट जन्मेका गीर्वाणयुद्धलाई डेढ वर्षको उमेरमा राजा घोषणा गरियो । यो आजभन्दा २ सय २९ वर्ष पहिलेको काठमाडौँको कथा हो र जनकपुर–जलेश्वर जाने सडकमा पर्ने बिन्ही गाउँको व्यथा ।

आग्रह–पूर्वाग्रहबाट मुक्त नभएसम्म कुनै लेखक वास्तविक लेखक बन्न सक्दैन । यादवले पहाड र काठमाडौँबाट झरेका सामन्तका विषयमा कटु आलोचना त गरेका छन् । सामन्ती उत्पीडन र शोषण काठमाडौँ उपत्यका र पहाडमा कम थिएन र छैन । तर तराई र बिहारमा मौजा भएका वारि र पारिका सामन्तहरूका सन्दर्भमा यादवले एक शब्द पनि खर्चिन आवश्यक ठानेका छैनन् । तराई–मधेसमा काठमाडौँ र पहाडको शोषण धेरै पुरानो छैन । त्यो पृथ्वीनारायण शाह आसपास र मूलतः औलो उन्मूलनपछि हो । तर तराईकै सामन्तहरूको उत्पीडन सयौँ वर्ष पुरानो छ । वर्गीय दृष्टिकोण नभएका लेखकमा देखिने स्खलनको परिणति हो यो । यद्यपि लेखक यादव एकजना लेखक मात्र नभएर कम्युनिस्ट नेता पनि हुन् । तराईको समस्या भनेको सामन्ती तथा बिचौलिया वर्गको उत्पीडन कि कुन प्रतिक्रियावादी छान्ने भन्ने होइन ।

राजा वीरेन्द्रको शान्ति क्षेत्र एकातिर पञ्चायती व्यवस्थाका पक्षमा अन्तर्राष्ट्रिय जनमत निर्माण गर्नु थियो भने अर्कोतर्फ भारतसँग राजतन्त्रको अन्तरविरोधका कारण ल्याइएको थियो । ‘हर्क गुरुङको प्रतिवेदनमा मधेसीको अस्तित्वलाई स्वीकार गर्नुभन्दा पहाडिया राष्ट्रवादी दृष्टिकोणलाई बढी महत्व दिइएकाले तराईमा व्यापक विरोध भयो । मूलतः त्यो प्रतिवेदन त्यतिबेला ल्याइएको थियो जतिबेला राजा वीरेन्द्रको शान्ति प्रस्तावलाई विश्वका १ सय १६ मुलुकले समर्थन गरिसक्दा पनि सबैभन्दा नजिकको छिमेकी मित्रराष्ट्र भारत तथा उसको सहयोगी कम्युनिस्ट देश सोभियत सङ्घले समर्थन गरेका थिएनन् (पृष्ठ ८९) ।’ शान्ति प्रस्तावका सन्दर्भमा यादव भन्छन् । भारत नेपाललाई सिक्किम बनाउन चाहन्थ्यो । नेपालमा राष्ट्रवादी जनमत र छिमेकी चीन नभएको भए नेपाल सिक्किम भइसक्थ्यो । त्यो स्वीकार नगर्ने नागरिक नेपालको भलो चाहने नागरिक मान्न सकिन्न । राजतन्त्रले पहाडी मूलका बर्मेली, आसामी, दार्जिलिङ्गेहरूलाई आश्रय दियो । नागरिकता बाँड्यो । यो तथ्य हो । अर्काथरीले बिहारीलाई बाँडे वा बाँड्न चाहेका छन् । रामरिझन कुन पङ्क्तिमा छन् ? उनी दोस्रो पङ्क्तिमा उभिएको भान पर्छ । यी दुवै सोचाइहरू नेपालविरोधी, नश्लीय सोचाइ हुन् । यद्यपि एउटै प्रवृत्ति भए पनि दोस्रो प्रवृत्ति नेपालको अखण्डताका विपक्षमा तुलनात्मक रूपमा बढी हानिकारक रहेको छ । किनकि दिल्ली जातीयताको आगोमा सिक्किमे चिचर पोल्न चाहन्छ । यद्यपि उसको त्यो चाहना ‘आकासे फल आँखा तरी मर’ भनेझैँ किन नहोस् भारतले शान्ति क्षेत्रको प्रस्तावको समर्थन नगर्नुलाई नेपालको लोकतन्त्रको पक्षमा ठान्नु भयानक भ्रमबाहेक अरू केही होइन ।

साहित्यको मापदण्डका तीन आधारहरू सौन्दर्यात्मक मूल्य, ज्ञानात्मक मूल्य र विचारधारात्मक मूल्य हुन् भनिरहनु नपर्ला । यादवले ‘गुमनाम सिरहा’ लेखमा ‘ जलाधार’ पदावली प्रयोग गरेका छन् । जलाधार भनेको नदीमा जल वा पानी जम्मा हुने क्षेत्र भन्ने अर्थ लाग्छ । कुनै समय बागमती जलाधार भनिन्थ्यो जसमा ललितपुर काभ्रे, मकवानपुर र काठमाडौँका बागमतीतिर ढल्केका पहाड, बन– जङ्गल र मूलहरूलाई मान्ने गरिन्थ्यो । बागमती जलाधार संरक्षण मञ्च भन्ने गैसस पनि थियो । यस्ता ज्ञानात्मक विषयमा पनि लेखकमा समस्या देखिन्छ ।

लेखक लेख्न बस्दा कृति जुन भाषामा लेखिएको हो त्यही भाषाका शब्दहरू प्रयोग गर्नुपर्छ । आफ्नो विचार र भावना पोख्ने उचित शब्द कृतिको मूल भाषामा पाइएन भने नजिकको भाषाबाट लिनुपर्छ । नेपाली भाषाको नजिकका (छिमेकी) भाषा मैथिली, नेपाल, तामाङ आदि हुन् । त्यत्ति लेखकीय इमान पनि यादवमा देखिन्न ।

भारत नेपालमा मिथिलाञ्चल चाहन्न । भोजपुरा चाहन्न । ऊ मैथिली भाषाको समृद्धि चाहन्न । भारत नेपालमा हिन्दी र मधेस चाहन्छ । त्यसको कारण के होला ? पुस्तक पढ्दै जाँदा लेखक मिथिला भन्दा अरू नै नारामा रमाइरहेको देखिन्छ ।

थारू र मधेसी भाषा, संस्कृति, भूगोल, ऐतिहासिकता कुनै कोणबाट पनि एउटै समुदाय होइन । ‘अहिलेसम्म थारू समुदायको कुनै पनि व्यक्तिले राष्ट्रिय अखण्डताविरुद्ध आफ्नो अभिव्यक्ति दिएका छैनन् । तराई–मधेसमा देखिएको गतिविधिमा कुनै पनि थारू संलग्न भएको पाइन्न (पृष्ठ २१०) ।’ संसारको कुन श्रमिक समुदाय शासकको शोषणमा परेको छैन ? देशद्रोही हुन किन उचाल्छन् यादव ? आज नागरिक देशद्रोही होइन, विद्रोही हुनुपर्ने हो कि ? थारूहरूले विखण्डनको कुरा नगर्नु, मधेसवालाहरूले गर्नु र उनीहरूलाई शङ्का गर्नुमा अर्थपूर्ण सम्बन्ध छ ।

लेखक रामरिझन यादवको कृति ब्ल्याक आउटमा नकारात्मक विषय मात्र छैनन् । सहिद जीवनी, ऐतिहासिक तथ्य, घटना, इतिहास, मधेसका जनताको देशभक्तिको कथाव्यथाजस्ता सङ्ग्रहणीय र अध्ययन गर्न लायक थुप्रै विषय पनि छन् । उनी तुलनात्मक रूपमा सन्तुलित लेखक पनि हुन् । आउँदा दिनमा पात्र र प्रवृत्तिप्रति अझ सन्तुलित र तथ्यगत कृतिहरू आऊन्, शुभकामना !
स्रोत : रातो खबर साप्ताहिक

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :