नर्कको यात्रा लूटको स्वर्ग, बिलयको गठबन्धन – झपेन्द्रराज बैद्य

यहीआश्विन १७ गते एमाले र माके तथा नयाँ शक्तिबीच पार्टी एकता र निर्वाचनमा तालमेल हुने घोषणाले बजार निकै तताएको छ । चियापसल, बजार र गल्लीगल्लीमा एकीकरणको तातो हावा निकै चलेको छ । जंगली भनिएको माओवादी र राजतन्त्रबिरुद्धको संघर्षमा ठेलागाडीबाट अमेरीका पुग्न सकिदैन भन्ने पार्टीहरु एकाएक ३६० डिग्रीमा घुमेर पार्टी एकता गर्दैछन् । वास्तबमा यो कुनै अनौठो कुरा होइन । स्वाभाबिक प्रक्रिया हो । बिचार र सिद्धान्त मिलेपछि दुईटा पार्टीको आवश्यकता थिएन नै । भन्न जे भनेपनि हुन्छ, उनीहरुले अहिलेसम्म आफूलाई कम्युनिस्ट नाम राखेका छन् । तर उनीहरु वास्तविकरुपमा वामपन्थी होइनन् । माक्र्सवादको आधारभूत सिद्धान्त बर्गसंघर्ष र बलप्रयोगको नीति परित्याग गरेकोले उनीहरुलाई अब कम्युनिस्ट भन्न मिल्दैन । जुन कुरा बिप्लव नेतृत्वको नेकपाले सार्वजनिक गरिसकेको थियो । अब क..मोहन बैद्य किरण र क.मोहनबिक्रम सिंहबाट पनि यही कुरा आएको छ । उनीहरु कम्युनिस्ट होइनन् । कम्युनिस्ट पार्टी छोडेर गएका बाबुराम भट्टराईको नयाँ शक्ति पनि सामेल हुने भएको छ । भोलि क्रान्ति चर्कदै जाँदा नेपाली कांग्रेससहित एउटै मोर्चा बन्नेछ । सिद्धान्त मिलेपछि यो कुनै आश्चर्यको कुरा भएन ।

नेपालमा दर्जनौं पार्टी भएपनि सारमा दुई धु्रबीय बिचारका पार्टीहरु छन्, संसदवादी पार्टी र जनवादी तथा समाजवादी पार्टी अथवा वैज्ञानिक समाजवादी पार्टी र सामन्त, दलाल पुँजीवादी पार्टी । जनवादी पार्टीमा पनि दुई समूह छन्, निर्वाचनमा सहभागी र निर्वाचनलाई खारेज गर्ने पार्टी । आ–आफ्नो संगठन, शक्ति र कार्यनीतिअनुसार बहिस्कार, सशक्त बहिस्कार, उपयोग र निर्वाचनमा भाग लिने कार्य हुन्छ । तर क्रान्ति र परिवर्तन चाहने हो भने खोलामा ढडिया थापेर हुँदैन । अबको नयाँ परिस्थितिमा संसदवादको मोहलाई त्यागेर क्रान्तिमा लाग्नुको बिकल्प छैन । अब क्रान्तिकारीहरु ध्रुबीकृत हुन जरुरी छ । क्रान्ति गर्ने बेला भएको छैन भन्दै दिन कटाउने हो भने पहिले आर्जन गरेको रातो इतिहास बिलय हुनेछ । ढीलो वा चाँडो गोलचक्करवाद पनि एमालेकै लाइनमा पुग्छ । चुनावको क्रान्तिकारी उपयोग पनि परिस्थिति हेरेर गर्नुपर्छ । तर जुन संबिधानलाई कालो भनेर जलाइयो । त्यसैलाई लागू गर्ने क्रममा उपयोगको नामले संसदवादी चुनावमा भाग लिनु भनेको त्यही संबिधानमा सही धस्काएको कुरा ठहर्दछ । यो सामान्यरुपमा चुनावमा भाग लिएको नभएर ऐतिहासिक घुम्तीमा भाग लिएको कुरा आउँदछ । सुन्दर र असुन्दरबीच लडाई चलेको अवस्था छ । यसबेला चुनाव उपयोग भन्नु प्रतिकृयावादीले उपयोग गरेको महसुस हुन्छ । उपयोग तत्कालीन कार्यनीति हो । तर यसले रणनीतिलाई कत्तिको सहयोग गरेको छ भन्ने हो । उपयोग गर्दैमा आँधीबेरीका साथ बिरोध गरिहाल्नुपर्छ भन्ने पनि छैन । तर क्रान्तिमा नआएर उपयोगमा रमाउँदै बस्ने हो भने जनविश्वास गुम्ने खतरा आउँछ । आखिरीमा ब्यवहारमा एमालेकरणको नतिजा आउनसक्छ । यो खास पार्टी बिशेषको कुरा नभएर सबै पार्टीमा लागू हुने कुरा हो । अब जति सक्यो चाँडो क्रान्तिकारीहरु धु्रबीकृत हुनुपर्छ । सबैले कुर्सीलाई मात्र हेर्ने हो भने क्रान्ति हुँदैन । क्रान्ति पनि नगर्ने, कुर्सी पनि नछोड्ने हो भने यथास्थितिवादले समाजलाई अगाडि बढाउन सक्दैन । क्रान्ति नगर्ने बसिरहन्छन् , क्रान्ति गर्ने अगाडि बढिरहन्छन्। माक्र्सवाद एउटा विज्ञान हो । क्रान्तिलाई कसैले रोक्न सक्दैन । संसारको इतिहासले साबित गरेको छ, नेपालको महान जनयुद्धले प्रमाणित गरिसकेको छ ।

अहिले एमाले, माके र नयाँशक्तिको गठबन्धनको असर सत्ताधारी नेपाली कांँग्रेसमा परेको छ । लोकतान्त्रिक शक्ति भनिने पार्टीमा शंका र खैलाबैला भएको छ । आश्विन १८ साँझ नै उनीहरुले कांग्रेस र राजपासमेत ६ दलीय गठबन्धन तयार गरेर ७ सदस्यीय संयोजन समिति तयार गरिसकेका छन् । माकेका मन्त्रीहरुलाई हटाएर आफ्नै गठबन्धनबाट सरकार गठन गर्ने योजना उनीहरुको छ । २९७ मत चाहिनेमा ३ सय भोट तयार गरिसकेको उनीहरुको दाबी छ । जे होस् नयाँ गठबन्धन तयार भएको छ । क्षणिक लाभका लागि हिजोका खोटा आज नयाँ गठबन्धनका मुखिया बन्नेछन् । आसन्न चुनावको ध्यान राखेर बनेको गठबन्धन हो यो । एकीकृत पार्टीको बिधान र चुनावी घोषणपत्रको दस्ताबेज समिति पनि बनाइसकेका छन् । तर वाम एकता पानीको फोका जस्तै हुनेछ । ६०÷४० प्रतिशत भने पनि उनीहरुको लडाईँ उम्मेदारीमा हुनेछ । सरकार गठनमा खिचातानी हुनेछ । देशले धान्नै नसकने भीमकाय मन्त्रिमण्डल बन्नेछ । छुट्टा छुट्टै पार्टी भएको अवस्थामा त खाने बेला तीन ठूलादलहरु मिलेर खान्थे भने एउटै दलको सरकार भएको अवस्थामा आफ्नै हातमा डाढु पन्युँ हुनेछ । खान पल्केका भ्रष्टहरुले बहुमत देखाएर लुटको स्वर्ग मच्चाउने छन् । पुँजीवादी पार्टीहरुको लागि एउटा सकारात्मक कुरा के छ भने गठबन्धनले बहुमतको सरकार हुने धेरै संभावना छ ।

जहाँसम्म वाम गठबन्धनको कुरा छ, प्रथमतः उनीहरु वाम नै होइनन्, नाम मात्र हो । प्रचण्डले क्रमभंगको चमत्कार भनेको पुँजीवादमा जाने क्रमभंग हो । माओवाद फाल्ने प्रपञ्च हो । प्रचण्ड शब्दको भार बिसाउने प्रपञ्च हो । प्रतिक्रियावादमा बिलय हुने छलाङ् हो । कहिले रुखमा त कहिले सूर्यमा भोट । सत्तामा बसेर रमाउन पाए सबै पुग्छ । एमालेमा पनि सत्तामुखी चिन्तन छ । भ्रामक राष्ट्रवादी नारा छ ।

आइ.एन.जी.ओबाट आर्जित धनराशी छ । यो गठबन्धन निर्माण हुनुको २÷३ कारणहरु छन् । एउटा कारण त मधेसमा भएको निर्वाचनमा एमाले चौथो हुनपुग्यो । माके धेरै ठाउँबाट ओरालो लाग्दै गयो । नयाँशक्ति पार्टीलाई पार्टी धान्न धौधौ भयो । डा. भट्टराईको शब्दमा पनि गठबन्धन हुनु आवश्यकता थियो । मूख्य कारण सबैको चासो र आवश्यकता चुनावको थियो । यस गठबन्धनमा चीनको पनि हात रहेको बुझिन्छ । भारतले पनि वामबाट भन्दा प्रजातान्त्रिक शक्तिबाट फाइदा लिन उचित ठान्यो । अर्को कारण भनेको ने.क.पा. हो, जसले संसदवादीहरुलाई चुनौती दिइरहेको छ । यसको सामना गर्नु उनीहरुको बाध्यता हो ।

संसदवादीहरु एकातिर शक्ति संचय गर्दैछन् । अर्काेतिर क्रान्तिकारीहरु पनि ध्रुबीकृत हुनुपर्ने बाध्यता छ । नेपालमा दुई ध्रुबीय शक्ति छन् । एउटा संसदवादी छ भने अर्को क्रान्तिकारी धार छ । अहिले एमाले र माकेले तथा नयाँशक्तिले नर्कको बाटो लागेर लुटको स्वर्गमा रमाउन लागिपरेका छन्। यो उनीहरुको स्वर्थको बिषय हो । माकेको समूहमा पनि गोपाल किराँती, मातृका यादव, मणि थापा र प्रभु शाहले यस किसिमको गठबन्धनको बिरोध जनाएका छन् । माकेको वरिष्ठ नेता कृष्णबहादुर महरा र वर्षमान पुनले पनि असुन्तुष्टि जनाएको कुरा छापामा पाइन्छ । माकेका क्रान्तिकारीहरु देशको दलाल संसदीय पुँजीवादी ब्यबस्थाको बिरोधमा उत्रिएर क्रान्तिकारी लाइनमा आउन जुर्मुराइरहेका छन् । अब नर्कको बाटो होइन, मजदुर, किसान, सर्वहारा बर्ग र उपेक्षित वर्गको मुक्ति र समाज रुपान्तरणका लागि देशभक्त, राष्ट्रवादी तथा बिस्तारवाद र साम्राज्यवादबिरोधी शक्ति एकजुट भएर नयाँजनवादी क्रान्तिको बाटो हँुदै वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्ति गर्ने बेला आएको छ ।

२०७४असोज २४ गते साँझ ६ : ५६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्