खाए खा नखाए घिच् : एमसीसी

खाए खा नखाए घिच् : एमसीसी

पुरानो नेपाली उखान चरितार्थ भएको छ– खाने मन भए पनि नभए पनि खानैपर्छ । मीठो होस् वा नहोस् ७ दिनको बासी रोटी होस् वा मकैको च्याँख्ला, खानैपर्छ । नखाईकन सुखै छैन । अमेरिकी परियोजना एमसीसीमा पनि यस्तै भएको छ । नेताहरूले डलर खाने, जनताले मान्दिनु पर्ने ? नेताहरू दास भए भनेर जनताहरू पनि दास बनिदिनुपर्ने हो ? राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वतन्त्रताका लागि घातक छ एमसीसी । अगि–अगि एमसीसी, पछि–पछि अमेरिकी साम्राज्यवाद हो एमसीसी ।

लेखक : झपेन्द्रराज वैद्य

नेपालीलाई पशु बनाएर हरियो घाँस देखाइरहेको छ एमसीसी । सारा नेपालीले बुझेका छन् एमसीसी । एमसीसी अमेरिकी बाज हो । यो निर्दयी, क्रूर तानाशाही हो । दक्षिणएसियाली देश नेपालमा अमेरिका विकासका नाममा एमसीसी लिएर आउँदैछ । बङ्गलादेश र श्रीलङ्काले एमसीसी मानेका छैनन् । तर नेपालका दलालहरूले साम्राज्यवादको नाइके अमेरिकालाई ल्याएर नेपाललाई अफगानिस्तान बनाउँदैछन् । एमसीसी उपाध्यक्ष फतिमा सुमार कैयौँपटक नेपाल आएर रित्तो हात अमेरिका फर्केको अवस्था छ । अमेरिकी सहायक विदेशमन्त्री पनि नेपाल आइरहेका छन् । अहिले अमेरिकालाई ‘प्रथम गाँसे मक्षिका’ जस्तै भएको छ । एमसीसीको विरोधमा चौतर्फी आँधीबेरी आएकाले फतिमा र विदेशमन्त्री त फर्किएका छन् तर उनका चाकरहरूले नेपालमा बसी सेवा गरिरहेका छन् । चाकरी पनि कस्तो चाकरी ? यो देशका प्रमले एमसीसीको विरोध गर्नेहरूलाई जेल हालिन्छ भनेर डरत्रास देखाउन पछि परेनन् । अझ एमसीसी लागू नगरेमा भारतले नाकाबन्दी गर्छ भनेर धम्की दिएको अवस्था छ ।

लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतीय सेना परेड खेलिरहेका छन् । सयौँ हेक्टर जमिन सुस्तामा भारतबाट मिचिएको अवस्था छ । हजारौँ हेक्टर जमिन भारत पक्षबाट मिचिएको अवस्थालाई नजरअन्दाज गरी चीनसँगको सीमा जाँच गर्ने भनेर भद्दा नाटक प्रहसन गरेको छ । दार्चुलाको जयसिंह धामी हत्या प्रकरणमा सरकार मौन बस्नुले सरकारले कसको सेवा गरिरहेको छ ? भन्ने प्रश्न उठेको छ । विष हालेको लड्डु दिएर खानैपर्छ भन्ने ? अहिले अमेरिकी साम्राज्यवादले यस्तै गराएको छ । अनुदान वा सहयोग खुसीले दिने खुसीले लिने हो । कुनैले तिमीलई घर बनाउन एक करोड दिन्छु तर त्यो घर मेरो अधीनमा हुनेछ । भाडामा दिन मेरो अनुमति लिनुपर्नेछ । बेचबिखन गर्दा मसँग सोध्नुपर्नेछ भन्यो भने के त्यो घरमा उसको अधिकार रहन्छ ? अहिले एमसीसी सम्बन्धमा पनि अमेरिकाले त्यस्तै गराएको छ । ५६ अर्बको अनुदान दिने भनेको छ तर एमसीसी परियोजनाको लेखा अमेरिकाको मात्र हुनेछ । नेपालको कानुनसँग बाझिएमा पनि एमसीसी नेपालको संबिधान कानुनभन्दा माथि हुनेछ । एमसीसी परियोजना समाप्तिपछि पनि यसको कार्यालय नेपालमा रहिरहनेछ भन्ने कुरा उल्लेख छ । सबभन्दा डरलाग्दो र खतरनाक कुरा त यो परियोजना इन्डो प्यासिफिक रणनीति हो । यसलाई छोटकरीमा आईपीएस भनिन्छ । यो रणनीतिअनुसार अमेरिकी सेना नेपालमा आई क्याम्प बनाएर बस्नेछ । नेपालमा हीरा–मोती भएको र चीनलाई पनि हिर्काउन पाइने हुँदा एमसीसी लागू गरिने ४९ औँ देशमा नेपाललाई रोजेको छ अमेरिकाले । अहिले अमेरिका, ब्रिटेन र अस्टे«लिया मिलेर इन्डोप्यासिफिक स्ट्राटेजी थप बलियो बनाउँदैछन् । पनडुब्बी जहाजको तयारी गरिरहेका छन् । नेपाल पसेर चीनलाई घेरा हाल्ने अमेरिकाको रणनीति हुँदै आएको छ । नेपाललाई अमेरिकाले अफगानिस्तान बनाउन चाहिरहेको छ । यसैका लागि अमेरिकाले एमसीसी भिराउन कोसिस गरिरहेको छ । एमसीसीको उपाध्यक्ष फातिमा जेड सुमारले नेपाललाई चीनले पैसा दिएर एमसीसीको विरोध गर्न लगाएको छ भन्ने नकारात्मक टिप्पणी गरेको सुन्दा साम्राज्यवादले कतिसम्म तल गिरेर मिथ्या प्रचार गर्ने रहेछ भन्ने कुरा प्रमाणित हुन्छ । नेपाली जनता स्वयम् सजग छन् । अमेरिका भेष बदलेर नेपाल आउँदैछ भन्ने कुरामा नेपाली स्पष्ट छन् । एमसीसीको विष भरेकोे थैलो लिएर अमेरिका नेपाल पस्दैछ । नेपाल रणमैदानमा परिणत हुनेछ । नेपालले एमसीसी चाहिँदैन भन्दा अमेरिका लिसोजस्तै लागिरहेको छ । अमेरिकालाई साथ दिन यहाँका दलालहरू न्वारानदेखिको बल लगाइरहेछन् । एनसेलको करठगी वाइडबडी आदि काण्डबाट कमिसन खाएर पल्केका दलालहरूले एमसीसीको कम्तीमा ६ अर्ब त उडाइसकेका छन् । त्यसैले एमसीसी देशको हितमा छ भनेर उफ्रिरहेका छन् ।

एमसीसी कुनै हालतमा लागू हुन सक्दैन । नेकपाले जारी राखेको एकीकृत जनक्रान्तिले यसलाई निस्तेज पार्नेछ । एमसीसी समर्थन गर्ने दलालहरूलाई जनताले घरघरबाट थुतेर कालोमोसो धसी जुत्ताको माला लगाइदिएर गाउँगाउँमा घुमाउनेछन् । पैसा नै चाहिएको हो भने चीनले नेपालको विकासका लागि यसको डबल दिनेछौँ तर एमसीसी बहिष्कार गर्नुपर्छ भनेको छ । यसैले पुर्खाको इज्जत राख्न र नेपालको स्वाभिमान उचो गराउन एमसीसीको सशक्त बहिस्कार गर्नुपर्छ । सम्भवतः फागुन १६ गते एमसीसीको छिनोफानो हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :