संसार युवाहरूको हो

अहिले २१ औँ शताब्दीको दुई दशकमा साम्राज्यवादविरुद्ध धावा बोल्ने एउटा शक्ति हो ऊर्जाशील युवा । ऊर्जावान् युवा शक्ति हो । युबकले दलाल साम्राज्यवादविरुद्ध चोटिलो प्रहार गरेको हुन्छ । सङ्कीर्ण भावले पनि परिवर्तन गर्न सकिँदैन । साथसाथै एकपक्षीय भावले पनि क्रान्ति हुन सक्दैन । यो एकीकृत जनक्रान्ति हो । यसैबाट नै राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र जनजीविकाको समस्या समाधान गर्न सकिन्छ । संसदीय व्यवस्थाले यी कुराहरूको समाधान गर्न सक्दैन । संसदीय व्यवस्था असफल भैसकेको छ । बूढो गोरुले जोत्न सक्दैन तर सृष्टिकर्ता त बूढो नै हुन्छ । ऊसँग समयसापेक्ष अनुभव हुन्छ तर कोठामा बसेर मात्र काम गर्न सकिँदैन । सुतेको सिंहले मिर्ग खान सक्दैन । युवक ड्राइभरको ठाउँमा बूढो बस्यो भने उसले गन्तव्यमा पुर्याउन सक्दैन । ठाउँ ओगटेर काम हुँदैन । काम नगर्ने युवकका लागि पाइलट जुन भए पनि ठीकै हुन्छ । युवकमा जोस हुन्छ, होस हुँदैन भनिन्छ । युवक चोटिलो–पोटिलो हुन्छ । देखिन्छ पार्टीहरूमा महासचिब वा अध्यक्षमा बूढाले नै ठाउँ ओगटेको हुन्छ । त्यहाँ काम पनि भएको हुँदैन तर विप्लव नेकपामा एक होनहार युवकको नेतृत्व छ । युवा पाइलट नै त्यहाँ एकीकृत जनक्रान्तिको कमान्डर छन् । आज संसारका प्रतिक्रियावादीको अन्तरविरोधमा उभिएको छ एउटा युवा शक्ति । त्यो हो युवा कमान्डर हो विप्लव ।

अहिले राष्ट्रियता झन्पछि झन् खस्किरहेको अवस्था छ । हाम्रै देशका दलालमार्फत साम्राज्यवादले हामीमाथि शासन गरिरहेको अवस्था छ । साम्राज्यवादको स्वार्थअनुसार उसका दलालहरू शासन सत्तामा रहेका छन् । देशको हितभन्दा दलालहरूले साम्राज्यवादकै हितको संरक्षण गरिरहेका छन् । अहिले हाम्रो देशमा चौतर्फी आक्रमण भैरहेको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले कब्जा गरिरहेको छ । यस्तै सुस्तामा भारतले आफ्नो आधिपत्य कायम गरिरहेको छ । यसको संरक्षण गर्न जनताको सरकार आवश्यक हुन्छ । जनक्रान्तिबाट नै जनसरकार आउँछ । फेरि क्रान्ति भन्ने चीज भोजभतेरको कुरा होइन । सङ्कल्प र दृढ शक्ति चाहिन्छ । जनताले त परिवर्तन चाहेका छन् तर दलाल र दलालका मालिकहरूलाई देखाउन र पुष्टि गर्न जनमतसङ्ग्रह पनि चाहिएको छ । तिनै दलालहरू र यिनका भरौटेहरूले जनमतसङ्ग्रह संशोधनवादी रणनीति हो भनेर फलाकिरहेका छन् । यसरी शान्तिपूर्ण तरिकाले जाँदा संशोधनवादी भन्छन् भने सीधै क्रान्तिमा जाँदा उग्रपन्थी भनेर चित्कार गर्छन् । क्रान्तिको पनि आफ्नो नियम हुन्छ । यो एकनासले जाँदैन । जनमतसङ्ग्रह गरे पनि अन्तिममा त क्रान्ति नै चाहिन्छ । जनताको क्रान्ति प्राण हो । ठाउँठाउँमा जनताले नै सत्ता पल्टाएका छन् । सबभन्दा ठूलो शक्ति जनता हो । जनमतसङ्ग्रह पनि एउटा शान्तिपूर्ण क्रान्ति हो । सीधा औँलाले घिउ आउँछ भने किन बाङ्गो औँला गराउने ? संसदीय व्यवस्थाले जनता आक्रान्त भएको बेला जनमतसङ्ग्रहले निश्चय नै निकास दिन्छ । दलालहरूले पैसा खर्च गरेर वा प्रशासनसँग मिलेर जनअपेक्षित कुरा विफल गराउन सक्छन् भन्ने प्रश्न उठ्नसक्छ । जस्तो २०३६ सालमा सामन्तवादले जनमतसङ्ग्रहलाई आफ्नो पोल्टामा ल्याएको थियो तर अहिले एकीकृत क्रान्ति चलिरहेको अवस्थामा क्रान्तिकारीहरू आँखामा पट्टी लगाएर बस्दैनन् । धाँधली भए यसैलाई क्रान्तिको सुरुआत मानेर जनक्रान्ति सफल हुन्छ । उथलपुथल हुन्छ । यसबेला वैज्ञानिक समाजवाद स्थापना हुन्छ । अहिले जनताको अपेक्षा वैज्ञानिक समाजवाद हो । नेकपाको कार्यनीति वैज्ञानिक समाजवाद हो । वैज्ञानिक समाजवादबिना शिक्षा, स्वास्थ्यजस्ता जनसरोकारका कुराहरू समाधान हुनसक्दैनन् ।

मान्छे मात्र चुनेर हुँदैन । एकपटक व्यवस्था चुन्ने अधिकार जनतालाई दिनुपर्छ । एसियाकै केही देशलाई लिऊँ, बङ्गलादेश १९९१, पाकिस्तानमा २००२, इरान १९७९ मा जनमतसङ्ग्रह भएको थियो । यस्तै युरोपमा पनि जनमतसङ्ग्रह भएका उदाहरणहरू छन् । जनमतसङ्ग्रह गरेपछि रुद्राक्ष माला जपेर बस्ने होइन । यसले फड्को मार्छ । आमाले दिएको खट्टेमा कि आमाले घिउ हालिदेलिन्, कि त खट्टे सेलाउला भनेजस्तै हो । कि जनमतसङ्ग्रहबाट जनअपेक्षित वैज्ञानिक समाजवाद आउँछ कि त क्रान्ति । जनताका लागि दुवै हातमा लड्डु । वैज्ञानिक समाजवाद आउँछ–आउँछ । असफल संसदीय व्यवस्थाको विकल्प नै वैज्ञानिक समाजवाद हो । यसका लागि सबै देशभक्तमा उच्च मनोबल हुनुपर्छ । दृढ आत्मविश्वास पनि । फलाम रातो भएको अवस्थामा नै ठटाउनुपर्छ । अहिले नेकपाका महासचिव विप्लवको नेतृत्वमा एकीकृत जनक्रान्ति चलिरहेको छ । शान्तिपूर्ण सङ्घर्ष चलिरहेको छ । अचम्म लाग्छ, यस बेलामा मित्र शक्ति भनिने चूप लागिरहेको अनुभूत हुन्छ । अब पनि प्रचण्डलाई आउनोस्, सँगै लडौँला भनेर हुँदैन । उनी साम्राज्यवादको कब्जामा गैसकेका छन् । आत्मसमर्पण गरिसकेका छन् । यस्तो भन्दा प्रचण्डसँगको मोह नगैसकेको अनुभूत हुन्छ । यसरी क्रान्ति हुँदैन । प्रचण्ड आएमा त स्वागत छ । आत्मालोचना गरी जनतासँग माफी मागेर आएमा मात्र, अन्यथा लिनु हुँदैन । उनले प्रम पद नपाएको बेला क्रान्तिको कुरा देखाएर हुँदैन । यो अवसरवादी नीति हो ।

अहिले नेकपाको नेतृत्वमा एकीकृत जनक्रान्ति जारी छ । प्रशिक्षण, भूमाफियालाई जनकारबाही र अतिक्रमणविरुद्ध सङ्घर्ष भइरहेको छ । भागबन्डामा एनसेलको आयकर संसदीय पार्टी प्रमुखले मिलिजुली खाँदा नेकपाले विरोध गरेको हो । यसैकारण झन्डै तीन वर्ष केपी वलीबाट नेकपा प्रतिबन्धित भयो । आफ्नो ‘पाप पखाल्न’ केपी वलीले प्रतिबन्ध फुकुवा त गरे तर अझै सयौँ नेता–कार्यकर्ता कारागारमा नै बन्दी बनाइएका छन् । तीनबुँदे सहमति लागू गरेको छैन सरकारले । सत्तासीन नेपाली काङ्ग्रेसका सभापति तथा प्रम शेरबहादुर देउवाले तीनबुँदे सहमतिको कार्यान्वयन गर्नुपर्छ । धेरै समयपछि केन्द्रीय सचिवालय सदस्य सुदर्शन लडाइँ जितेर खुला आकाशमा आउन सफल हुनुभएको छ । उहाँलाई अदालतले छोडिदिएको हो । बिरामी भएकाले । यस पङ्क्तिकारले भेट गर्न नसकेको भए पनि उहाँको दृढ आत्मबललाई स्वागत छ ।

मेरो विचारमा ठोस परिस्थितिको ठोस विश्लेषण गरी क्रान्ति अगाडि बढ्नुपर्छ । कहिलेकहीँ शान्तिपूर्ण तरिकाले पनि क्रान्ति अगाडि बढाउनुपर्छ । क्रान्तिका नायक निलो आकाशका चम्किला तारा बन्नुपर्छ । तब मात्र उत्पीडित जनताको समस्या हल हुनेछ ।

अहिले नेकपा एउटा शक्ति बनेको छ । कठोर सङ्घर्षबाट उब्जेको शक्ति हो यो । यो ऊर्जा हो जसले सम्झौताहीन सङ्घर्षको नेतृत्व गरिरहेको छ । नवयुवाहरूले यसबाट पाठ सिकेर अगाडि बढ्न सक्नुपर्छ । हजारौँहजार युवा यसमा लामबद्ध भैसकेको अवस्था छ । अमेरिकी साम्राज्यवादले लागू गर्न खोजेको एमसीसीविरुद्ध गत भदौ २८ गते खुलामञ्चमा विशाल जनसभा राखिएको हो । यसैगरी विभिन्न जिल्लाहरूमा पनि एमसीसीको सशक्त विरोध भैरहेको छ । उपनिवेश बनाउने चलखेल हो एमसीसी । नेपाललाई युद्धभूमि बनाएर चीनलाई हान्ने दाउ हो एमसीसी । पार्टीभन्दा माथि उठेर सबै देशभक्तहरूले यसको सशक्त विरोध गर्नुपर्छ । एमसीसी संविधानभन्दा माथि छ । नेपालको हीरा, सुन, तामा, अभ्रख, तेल आदि देखेर अमेरिका नेपालमा पस्दैछ । नेपालका दलालहरूले नै एमसीसी डाकिरहेको अवस्था छ । सबै युवा जुरुक्क उठेर यसको प्रतिवाद गर्नुपर्छ । युवाहरूको शक्तिकेन्द्र विप्लव नेतृत्वको नेकपालाई सबैले साथ दिनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :