एमसीसी खारेज गरौँ

एमसीसी खारेज गरौँ

नेपाली जनताले एमसीसी (मिलेनियम च्यालेन्ज कार्पोरेसन) परियोजना चाहिँदैन भन्दा अमेरिकाले यसलाई नेपाल भित्र्याउन जोडबल गरेको छ । ठ्याक्कै उल्टो भएको छ । नेपालले सहयोग माग्नुपर्ने कुरामा अमेरिकाले सहयोग भिराउन मरिहत्ते गरेको छ । हेर्दा अचम्मको छ । सहयोग पनि चाहिँदैन भन्ने ? तर चाहिँदैन भन्नुपर्ने बाध्यता छ राष्ट्रियता र सार्वभौम सत्ताको सवालमा । नेपालका अमेरिकी दलालहरूलाई भने पैसा पचाउन सहयोग अत्यन्त खाँचो छ । वास्तवमा यो परियोजना विष घुसाएको गुलियो लड्डु हो । यसमा अमेरिकी साम्राज्यवादको स्वार्थ घुसेको छ । ५६ अर्ब नेपाली रूपैयाँ बजेट राखेकोमा साढे ६ अर्ब त पूर्वाधारका लागि भनेर नेपाली दलालहरूले ल्याएर पचाइसकेका छन् । परियोजनाको अफिस पनि बसिसकेको छ कोटेश्वरमा ।

लेखक : झपेन्द्रराज वैद्य

एमसीसीकी उपाध्यक्ष फतिमा सुमार र अर्का सहायक उपाध्यक्ष एमसीसी पास गराउन नेपाल भित्रिए । अमेरिकी राजदूत र आफ्ना दलालहरूलाई भेट्न दौडाहा गरिन् उनले । यसै सन्दर्भमा उनी केपी वलीलाई भेट्न बालकोट पुगिन् । वलीले सरकारको धारणा बुुझेपछि मात्र आफूले यसको उत्तर दिने बताए । वलीका पात्र दलाल विष्णु रिमालले त खुलेयाम एमसीसीका पक्षमा बोल्दै आएको भिडियोबाट पनि सुन्न र देख्न पाइन्छ । वलीबाट केही सकारात्मक कुरा आएपछि उनी प्रचण्ड र नेपाललाई भेट्न पुगिन् । प्रचण्डले यस विषयमा संसद्‌बाट पास हुन सक्दैन भन्ने आफ्नो अभिधारणा दिएको बताइएको छ । कुरा नफेरेमा यो राम्रो भनाइ हो । माधव नेपालले पनि पास हुन सक्दैन भनेर अभिव्यक्ति दिएको कुरा मिडियाहरूमा पाइन्छ । झलनाथ खनालले पहिले एमसीसी आयोगको संयोजक बनाउँदा एमसीसीलाई बहिष्कार गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएका थिए । तर संसदीय व्यवस्थाका नेताहरूको बोली भरोसायोग्य हुँदैन । उनीहरू आफ्नो पद र प्रतिष्ठाका लागि जे पनि गर्न सक्छन् ।

इराक र अफगानिस्तानमा अमेरिका पस्यो, ध्वस्त बनायो । श्रीलङ्का र बङ्गलादेशले मानेनन्, तिनीहरू स्वतन्त्र छन् । अमेरिकी खेतालाहरूले आजभन्दा ४ वर्षअगाडि २०७४ सालमा एमसीसी परियोजनाको सम्झौता गरिसकेको हुनाले अमेरिकी एजेन्ट फतिमा सुमारले यो परियोजनालाई संशोधन गर्न मिल्दैन भनेकी छिन् । यो अमेरिकाले एमसीसी लागू गरेको ४९ औँ देश हो । अनुदान सहयोग लिन संसद्‌बाट पारित गराउनुपर्ने कहाँको नियम हो ? यसमा ठूलो रहस्य छ । नेपालको छातीमा टेकेर चीनलाई हान्ने अनि नेपाललाई युद्धको क्रीडास्थल बनाउने साम्राज्यवादीको ग्र्यान्ड डिजाइन छ । नेपालमा लागू गर्न खोजिएको परियोजनालाई चीनले पर्ख र हेरको रणनीति अपनाएको छ । एमसीसी रिजेक्ट गरे हामी बीआरई योजनाअन्तर्गत ६० अर्ब दिन तयार छौँ । यसका साथै नेपालको विकासका लागि थप १ खर्ब दिनेछौँ भनेको छ । अमेरिका नेपालमा पसेमा चाइनालाई सह्य हुनेछैन । दुई ठूला देशहरूको लडाइमा नेपाल धुलोपिठो हुनेछ । नेपालीहरू खरानी हुनेछन् । महिलाहरूको अस्मिता लुटिनेछ । रातबिरात अमेरिकी सेना आएर लुटपाट गर्नेछ । स्थिति विकराल र भयावह हुनेछ । नेपालमा भएका हीरा लुटेर लानेछ अमेरिकाले । नेपालका बेचिएका दलालहरूलाई भने देशप्रति केही चिन्ता र चासो हुनेछैन । यसकारण देशभक्त नेपालीहरूले पार्टीभन्दा माथि उठेर एमसीसी परियोजनाको सशक्त विरोध गर्नुपर्छ । अब विरोध मात्र होइन, देशै जान लागेको बेला गाउँघरका फटाहा र दलालहरूलाई चेतावनी दिनुपर्छ । जनता सबभन्दा ठूला हुन् । जनताले सत्ता ढालेको गौरवपूर्ण इतिहास छ । अब कार्यकर्ताहरू नेताले केही देलान् र खाउँला भनेर उनीहरूका भरौटे भएर हिँड्ने बेला होइन यो ।

अहिले नेकपाले एमसीसी परियोजनाको बहिष्कार गर्न ७ दिनसम्म लगातार आन्दोलन गर्यो । उपत्यकालगायत देशका विभिन्न ठाउँहरूमा कार्यक्रम गर्यो । भदौ २८ गते राजधानीमा बृहत् कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बृहत् सभालाई सम्बोधन गर्दै– यो एउटा झिल्को मात्र हो । एमसीसी पारित गरिए देशैभर राँको बोल्छ भन्ने उद्घोष गर्नुभएको छ । कार्यक्रममा नेता सीपी गजुरेल, सीपी मैनालीलगायत नेताहरू सहभागी भएका थिए । अरू वामपन्थी, देशभक्त शक्ति तथा पार्टीहरूले पनि देशभर यसप्रकारका कार्यक्रम राख्न जरुरी भैसकेको छ । देश रहे नेपाली रहन्छौँ । देशै नरहे नेपाली कसरी रहौँला ?

विभिन्न पार्टीका वरिष्ठ नेताहरूले एमसीसी बहिष्कार सम्बन्धमा कडा अभिव्यक्ति दिएको सुनिन्छ । माकेका नेता लीलामणि पोख्रेलले बरु खरानी हुन तयार तर एमसीसी चाहिँदैन भन्ने उद्घोष गरेका छन् । उता प्रम शेरबहादुर देउवाले एमसीसीको विरोध गर्नेलाई जेल हालिन्छ भनेर आफ्नो दलालपन देखाएका छन् । सक्ने भए मलाई गिरफ्तार गरेर देखाऊ भनेर भीम रावलले एमसीसीको चर्को विरोध गरेका छन् । नेकपाले पनि बरु गिरफ्तार गरेर देखाऊ, एमसीसी पारित हुन दिइँदैन भनेर अभिव्यक्ति दिएको छ । यस्तै विभिन्न नेता–कार्यकताहरूले कार्यक्रम राखेर सशक्त विरोध गरेका छन् ।

केही २० करोडमा बिकेका भाट पत्रकार र मिडियाले यसको मौन समर्थन गरे पनि जनताका पक्षधर पत्रकारहरूले विरोधका स्वरहरू निकालेका छन् । म देख्छु– केही पत्रकार किन मौन बसिरहेका छन् ? देशको अस्मिता लुटिन लागेको बेला सबै देशभक्त, प्रजातन्त्रप्रेमी, विद्यार्थी, युवक र महिलाहरू एकजुट भएर सङ्घर्षको मैदानमा आउनु जरुरी छ । भदौ २४ गते ४०।५० जना युवाहरू गिरफ्तार भएर साँझपख रिहा भए । ती युवाहरूलाई कुनै कर त थिएन तर देश र जनताको मुक्तिका लागि लडेर शौर्य र साहस देखाएका हुन् । यस्तै युवा ज्ञानेन्द्र शाही विरोध गर्दा प्रहरीको यातनाबाट घायल भए । धन्यवाद युवाहरूलाई । महासचिव विप्लवले हामी अमेरिकाको दास भएर मारिनुभन्दा बरु एमसीसीको विरोध गर्दागर्दै मर्न तयार छौँ भनेका छन् । युद्ध र लडाइँ हामीले चाहेको होइन तर आइलागेपछि प्रत्याक्रमण गर्न सक्नुपर्छ । दार्चुलामा जयसिंह धामीको तुइन प्रकरणमा भारतीय एसएसबीले महाकालीमा बेपत्ता पारेको दुःखद् घटनाबारे नेपाल सरकारले कूटनीतिक नोट पनि दिन सकेन । हिजोआज दार्चुलाको आकाशमा भारतीय हेलिकोप्टर उडिरहेको सुनिन्छ । दलाल सरकारले यसको विरोध गर्न सकिरहेको छैन । एमसीसीको विरोध गर्नेलाई गिरफ्तार गरिन्छ भने सरकारले राष्ट्रियताका लागि के पो गर्नसक्ला र ? अपेक्षा छ जनआवाज सुनेर एमसीसी खारेज गरोस् । अन्यथा भयाबह अवस्था नआउला भन्न सकिँदैन ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :