कमरेड रामशरण महर्जनप्रति श्रद्धाञ्जली

२०७८ साल साउन १० गतेको दिन थियो । चितवन टाँडी नगरपालिका वडा नं. १५ माधवपुरस्थित सहिद प्रतिष्ठानको भवनमा महासचिव कमरेड विप्लवसँगै हाम्रो पार्टी सम्बद्ध विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकमा बसिरहेका थियौँ । रिपोर्टिङ असाध्य तीव्र गतिमा रोचक र उत्साहित रूपमा चलिरहेको थियो । त्यतिबेलै पार्टी केन्द्रीय सदस्य तथा कार्यालय सचिव कमरेड असलले मञ्चमा ‘कमरेड रामशरण महर्जनको निधन भएको’ खबर लिएर आउनुभयो । महासचिव कमरेडको पनि अनुहार अँध्यारो भयो । ‘श्रद्धाञ्जली वक्तव्य ड्राफ्ट गरेर पठाइदिनुस्’ भन्नुभयो । रिपोर्टिङ रोकिएन, चली नै रह्यो । बेलुकी मात्र महासचिव कमरेडले ‘रामशरण कमरेडको निधन भएछ । बडो दुःख लाग्यो । उहाँ महिना दिन अगाडिबाट अस्पतालमा हुनुहुन्थ्यो । एक महिनाअगाडि मात्र अस्पतालको आईसीयूको बेडमै हुँदा जुममा छोटो कुरा भएको थियो, आज बित्नु भएछ । बडो सहयोगी, मिलनसार, सरल स्वभावको, त्यो गाउँमै असाध्य जनप्रिय, हामीलाई असाध्य माया गर्ने साथी हुनुहुन्थ्यो । उहाँले नै हो हामीलाई हरिसिद्धिमा कार्यालय बनाउनुस् भनेर जग्गा दिनुभएको’ भनेर भावुक मुद्रामा रामशरण कमरेडको छोटो परिचयात्मक जानकारी दिनुभयो । त्यतिबेला मात्र मैले ललितपुरमा निर्माणाधीन कार्यालय भवनका लागि जग्गा दिने कमरेड रामशरणबारे थाहा पाएँ । उहाँलाई पहिले कोरोना भाइरस सङ्क्रमण भएछ । कोरोनालाई त जित्नुभएछ । रिपोर्ट नेगेटिभ आइसकेको थियो र तर कोरोनाले रूप बदलेर निमोनिया भएर आएछ । दुई महिनाको लामो अस्पताल बसाइ र उपचार गर्दा पनि निमोनियाले छोडेन । ६१ दिनको अस्पतालको उपचारपछि उहाँको निधन भएछ । यो कुरा म काठमाडौँ आएपछि ललितपुरका साथीहरूसँगको भेटघाटपछि मात्र थाहा पाएँ । म १६ गते नै विशेष कामले महासचिव कमरेडसँग मकवानपुरबाट बिदा भएर काठमाडौँ आएँ । १९ गते बेलुका करिब ९ बजेतिर महासचिव कमरेडले फोन गरेर भन्नुभयो, ‘भोलि रामशरण कमरेडको श्रद्धाञ्जलीसभा छ रे ! प्रवक्ता अन्य कार्यक्रममा व्यस्त भएकाले कार्यालयका तर्फबाट तपाईं सहभागी बन्नुहोला ।’

लेखक : सन्तोष बुढामगर

२० गते बिहान सवा सात बजेतिर ललितपुर जिल्लाका जिल्ला सदस्य कमरेड विकास महर्जनले मलाई लग्नुभयो । बीचमा बिकास कमरेडको घरमा सीसीएम तथा ललितपुर जिल्ला इन्चार्ज कमरेड हितमान र पूर्वललितपुर जिल्ला इन्चार्ज कमरेड विपीनसँग भेट भयो । त्यसपछि हामी ४ जना ठीक ८ बजे कार्यक्रम स्थलमा पुयौँ । कार्यक्रम सुरु भइसकेको रहेछ । रामशरण कमरेडको अगुवाइमा सुरु गरिएको प्रगति सांस्कृतिक परिवारको आयोजनामा उहाँको निधन भएको ११ औँ दिन पारेर क्रार्यक्रम आयोजना गरिएको रहेछ । प्रगति सांस्कृतिक परिवारका अध्यक्ष प्रेम महर्जनको अध्यक्षतामा परिवारका सचिव सत्यनारायण महर्जन कार्यक्रम सञ्चालन गरिरहनुभएको थियो । हामी पुग्दा सञ्चालकले कमरेड रामशरण महर्जनको व्यक्तित्व र कृतित्वका बारेमा बयान गरिरहनुभएको थियो । म त्यहाँ नपुग्दै आयोजकले हाम्रो पार्टीलाई निमन्त्रणा गरेको पत्र मेरो हातमा परेको थियो । त्यसमा पनि उहाँको बहुप्रतिभाका बारेमा केही मुख्य–मुख्य कुराहरू परिचयात्मक रूपमा लेखिएको पढेँ । कार्यक्रममा पनि उद्घोषकले त्यसैमा थपथाप गरी उहाँको परिचय दिइरहनुभएको थियो । भित्तामा हामीलाई टुलुटुलु हेरिरहेको, घाँटीमा माला लगाएको एउटा सजीव चित्र झुन्डिएको थियो । त्यसभन्दा माथि अर्को उहाँको फूलमाला अर्पण गरिएको पार्थिव शरीरको तस्बिर टाँगिएको थियो । यसले सबैलाई भावुक बनाइरहेको थियो । आँगनभरि कुर्सी र कुर्सीबाहिर पनि विभिन्न पार्टी, सामाजिक सङ्घसंस्था र गाउँका शुभचिन्तक, सहयोगी, अनुयायीहरू र परिवारजन, गाउँले इष्टमित्र–आफन्तजनहरूको बाक्लो अपस्थिति थियो । उहाँको निर्जीव तस्बिरमा हामी सबैले अबिर–माला अर्पण गर्यौँ । सलाम चढायौँ । वरपर मित्र, आफन्तजनहरू भक्कानिएर रोइरहेका थिए । सबैका आँखा समवेदनाले रसाएका थिए । यो भावुक वातावरणमा मलगायत शम्भु कट्टेल, कृष्णभक्त महर्जन, हरिसिद्धि माविकी प्रअ आशा महर्जन, राजेन्द्र महर्जन, अग्नि अधिकारी, श्यामगोपाल महर्जन, त्रिगोविन्द महर्जनलगायतले ५/५ मिनेट श्रदाञ्जली मन्तव्य दियौँ । उहाँका बारेमा जेजति जानेका–बुझेका थियौँ, भन्यौँ ।

म त्यो श्रद्धाञ्जलीसभामा गएपछि उहाँबारे अझ धेरै कुरा थाहा पाएँ । हामी समकालीन रहेछौँ । उमेरले मभन्दा ४ वर्षले जेठो तर पार्टी र राजनीतिमा सँगसँगैजसो लागेका रहेछौँ । उहाँ पनि चौथो महाधिवेशन, मोटो मशाल, माओवादी हुँदै यहाँसम्मको राजनीतिक यात्रा तय गर्नुभएको रहेछ । म पनि त्यसरी नै आएको थिएँ । मात्र फरक म रोल्पामा जन्मेँ, हुर्कें । उहाँ ललितपुरमा जन्मनुभयो, हुर्कनुभयो । स्वभाव, शैली, सबै मिल्दोजुल्दो रहेछ । त्यसैले होला एउटै राजनीतिक यात्रामा सँगसँगै यहाँसम्म आउन सकेको । दुर्भाग्य ! हामी भेट हुने बेला भौतिक रूपले टाढा हुनुपर्यो । मैले कार्यक्रममा धेरै बोलिनँ किनकि व्यक्तिगत रूपले उहाँका बारेमा जानकारी राख्नेहरू मभन्दा त्यहाँ धेरै थिए । मैले यति मात्र भनेँ, ‘उहाँ एक इमानदार कम्युनिस्ट, बहुप्रतिभाशाली व्यक्तित्व, हाम्रो पार्टीका एकजना इमानदार सिपाही, प्रतिबद्ध नेता, बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य, सन्दर्भ र संयोगले नेपाल कम्युनिस्ट पार्टीका ४ जना कम्युनिस्ट संस्थापकहरू नेवार समुदाय भएको र कमरेड रामशरण पनि नेवार भएर उहाँहरूको असल अनुयायी भएको, गाउँको असल अभिभावक, मार्गदर्शकलाई पार्टी, क्रान्ति र यो टोल–समाजले मात्र होइन, सिङ्गो देशले एउटा असल, कर्मठ, योग्य नागरिक गुमाएको, यसले हामी सबैलाई, हाम्रो पार्टी, सङ्गठन, क्रान्ति, समाज, संस्थाका लागि अपूरणीय क्षति पुगेको छ । म हाम्रो सिङ्गो पार्टीका तर्फबाट, केन्द्रीय कार्यालयका तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक श्रद्धाञ्जली दिन चाहन्छु । शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु । वास्तविक अर्थमा हामीले कमरेड रामशरणले सुरु गर्नुभएको अभियान र सामाजिक, सांस्कृतिक, राजनीतिक, बौद्धिक र वैचारिक कार्यहरूको अनुसरण गरेर, उहाँले अधुरो छोडेर गएका कामहरूलाई पूर्णता वा निरन्तरता दिएर सफल पार्यौँ भने मात्र उहाँको सही अर्थमा सम्मान र श्रद्धाञ्जली हुनेछ ।’

त्यहाँ अरू पनि धेरैले श्रद्धाञ्जली र समवेदना दिनुभयो । मसहित ३ जना (म, शुम्भुु कट्टेल र र अग्नि अधिकारी) ले मात्र नेपाली भाषामा बोलेका थियौँ । अरू सबैले आफ्नै स्थानीय नेवार भाषा (नेपाल भाषा) मा बोलेका थिए । भाषा नबुझ्ने भएकाले अनुमान र भावमा बाहेक धेरै कुरा बुझ्न सकिनँ मैले । तैपनि हामी अन्तिमसम्म बस्यौँ र अन्तिममा उहाँका छोरा दिनेश र अमेरिका बस्ने छोरी सङ्गीतासँग पनि कार्यक्रम स्थलको प्राङ्गणमै सामान्य परिचय गरी छुट्यौँ । अरू सबै मिलाउन स्थानीय पार्टी जिम्मेवारी विकास महर्जन भाइलाई जिम्मा दिएर हामी फर्कियौँ ।

असार महिनाको अन्तिमतिर कोरोना पोजिटिभ देखियो । सुरुमा हरिसिद्ध कोबिड आइसोलेसन सेन्टरमा लगेर त्यहाँ २ दिन राखियो । त्यसपछि अल्का अस्पतालमा भर्ना गरियो । ८ दिनपछि अल्काबाट ब्लु क्रसमा लगियो । ब्लु क्रसमा ४३ दिन बस्नुभयो । अन्तिममा त्यहाँ पनि सञ्चो नभएपछि नर्भिकमा लगियो । त्यहाँ पनि ८ दिन बस्नुभयो । जम्मा ६१ दिन विभिन्न अस्पतालमा उपचार गराइयो तर अनेक प्रयासबाट पनि रामशरण कमरेडलाई बचाउन सकिएन, विकास कमरेडको भनाइ छ । कोरोना नेगेटिभ आइसकेको थियो तर निमोनियाका कारणले भदौ १० गते ६४ वर्षको उमेरमा उहाँले पार्टी, क्रान्ति, समाज, परिवार र हामी सबैलाई सदाका लागि छोडेर जानुभयो ।

कार्यक्रम उहाँले नै गठन गरी नेतृत्व गर्दै अहिले पछिल्लो पुस्ता र पङ्क्तिलाई जिम्मा सुम्पँदै उहाँले एक असल अभिभावकको भूमिकामा रहँदै आउनुभएको संस्था प्रगति सांस्कृतिक परिवारले आयोजना गरेको रहेछ । उक्त संस्थाका अध्यक्ष पे्रम महर्जनको अध्क्षता र सचिव सत्यनारायण महर्जनको सञ्चालनमा आयोजित उक्त श्रद्धाञ्जली कार्यक्रममा विगतमा एउटै माओवादी पार्टीमा रहेका र हाल ३ वटा भिन्नाभिन्नै पार्टी समूहमा विभाजन भएका नेकपा, नेकपा माके र नेकपा क्रामा तीनै पार्टीबाट नेताहरूलाई आमन्त्रण गरेका रहेछन् आयोजकहरूले तर माकेबाट कोही पनि आउनुभएन । नेकपाबाट म हेडक्वार्टरकै निर्देशनमा आफैँ गएको थिएँ । नेकपा क्रामाबाट ललितपुर जिल्ला इन्चार्ज स्थानीय कृष्णभक्त महर्जन आउनुभएको थियो । सञ्चालकले घरि नेपालीमा, घरि नेवारी भाषामा उद्घोषण गरिरहेका थिए । आधा बुझिने र आधा नबुझिने (नेवारी भाषाका कारण) भए पनि केही भावमा सञ्चालकका केही भनाइहरू अलि आक्रोशपूर्ण, प्रतिकारात्मक, केही भावुक र संयमित र बौद्धिकता झल्कने खालको देखिन्थ्यो । तीमध्ये मलाई उहाँको एउटा वाक्यले कौतुहल जगायो । त्यो वाक्य थियो— ‘सबैका लागि काम गर्ने व्यक्ति कसैको पनि हुँदैन, त्यो सबैको हुन्छ ।’ यो आममा सही नै हो र विशेष अर्थमा कसैको भनाइको जबाफ पनि हुन्छ । यसले मलाई अलिकति झस्कायो । मभन्दा पछि बोल्ने नेकपा क्रान्तिकारी माओवादीका प्रतिनिधि कृष्णभक्त महर्जन थिए । उनले पनि छोटै बोले, नेवारी भाषामा बोले । मैले यति बुझेँ, उहाँले ‘रामशरण महर्जन हाम्रो पार्टी सदस्य हुनुहुन्थ्यो’ भन्नुभयो । हामी दुईजनाले दुईटा पार्टीबाट बोलिरहँदा मैले ‘हाम्रो पार्टीको बुद्धिजीवी सङ्गठनका केन्द्रीय सदस्य, पार्टी (नेकपा) को एक इमानदार कार्यकर्ता’ भनेँ । क्रान्तिकारी माओवादीका प्रतिनिधिले पनि ‘हाम्रो पार्टी सदस्य हुनुहुन्थ्यो’ भने । यहाँ अलि तानातान भएजस्तो भयो कि भन्ने चिसो मेरो मनमा पर्यो । पार्टी सदस्य त हाम्रो पार्टी सदस्य नै हुनुहुन्थ्यो । फेरि किरण कमरेडको पार्टीले पनि दाबी गर्दा उहाँ तानातान भएजस्तो र अर्को उहाँ सबैतिर भएजस्तो, विचारमा प्रस्ट नभएजस्तो देखिने भय हुन्छ । यसैकारण सञ्चालकले त्यो जबाफ दिनुभयो कि भन्ने आशङ्का मलाई परिरह्यो । पछि मैले उहाँका बारेमा फेरि एकिन गर्न स्थानीय पार्टी नेतृत्वका कमरेडहरू, लामो समयदेखि ललितपुर जिल्लामा खट्दै आउनुभएको र विकास कमरेड त समुदायभित्रैको र एउटै टोल, समाज र सँगसँगै नजिकबाट काम गर्दै आउनुभएका उहाँका बाहिरी र भित्री सबै थाहा पाउने, अस्पतालमा पनि उहाँलगायत पार्टीका साथीहरूको सकेसम्म सहयोग गरेको यद्यपि बचाउन सकिएन, हिसाबले पनि मैले सोधेँ, यो के हो ? एउटा, कृष्णभक्तको भनाइ हाम्रो पार्टी सदस्य भन्ने र दोस्रो, उहाँ कसैको पनि होइन भन्ने सञ्चालकको भनाइ । यी दुई भनाइको जबाफ खोजेँ । तेस्रो, मैले कतै गल्ती त बोलिनँ ? किन सञ्चालक अलि आवेगमा आएर यस्तो भन्नुभयो ? हामीले भनेको कुराले यहाँ त्यति राम्रो परेन कि क्या हो । के रामशरण क्रान्तिकारी माओवादीसँग नजिक हुनुहुन्थ्यो र ? भनेर सोधेँ । त्यहाँ अहिलेका इन्चार्ज क. हितमान, किरण कमरेडको नेतृत्वको ड्यास माओवादीबाट सम्बन्धविच्छेद गरेपछि ललितपुर जिल्ला सेक्रेटरी हुँदै लामो समय जिल्ला इन्चार्ज रहनुभएका क. विपीन र स्थानीय तथा पार्टीको ललितपुर जिल्लाका पुराना जिल्ला पार्टी सदस्य क. विकास महर्जन तीनैजना सँगै हुनुहुन्थ्यो । उहाँहरू तीनैजनाले मेरो जिज्ञासाप्रति होइन भन्ने जबाफ दिनुभयो । तपाईंले ठिकै बोल्नुभयो, बिग्रेको छैन भन्नुभयो । यथार्थ जे थियो त्यो भन्नुभयो, उहाँ (रामशरण कमरेड) बाहिर धेरै खुलेर नलागे पनि उहाँ हाम्रो पार्टीमै सक्रिय हुनुहुन्थ्यो । माकेलाई हेर्र्नै सक्नुहुन्नथ्यो, गाली गर्नुहुन्थ्यो । वैद्यतिरका साथीहरूले पनि धेरै कोसिस गर्नुभयो तर उहाँ त्यता पनि जानुभएन । आठौँ महाधिवेशनको बेला पनि हामीतिरै नवीकरण गर्नुभयो । अहिले पनि हाम्रै पार्टीमा सक्रिय हुनुहुन्थ्यो । प्रतिबन्धको बेला कस्तो भूमिका निर्वाह गर्नुभयो । यसमा हामी आफैँ छौँ दाइ, शङ्का मान्नु पर्दैन । यो कुरा आयोजकहरू सबैलाई राम्रोसँग थाहा छ । उहाँहरूले भनेको हामीलाई होइन । उहाँ अहिले पनि हाम्रै बुद्धिजीवी सङ्गठनमा आबद्ध हुनुहुन्थ्यो । उहाँ भित्र र बाहिर पनि विचारमा कुनै अलमल र द्विविधामा हुनुहुन्नथ्यो किनकि हामी त सँगै छौँ । हाम्रा महासचिव कमरेड उहाँलाई असाध्यै मन पर्ने नेता हुन् । मलाई मन पर्ने नेता कमरेड विप्लव हो भनिरहनुहुन्थ्यो । यहाँ कसैले केही गर्छ भने विप्लवले गर्छन्, अरू कसैको विश्वास छैन भन्ने गर्नुहुन्थ्यो । बरु भ्रममा उहाँ होइन, क्रान्तिकारी माओवादीका साथीहरू हुनुहुन्छ । उहाँहरूले प्रचण्डबाट यता आउँदा बेलाको हाम्रो पार्टी सदस्यहरूको पुराना तथ्याङ्क ‘अपडेट’ गर्नुभएको छैन । त्यो पुरानो तथ्याङ्क हेरेर भनिरहनुभएको छ । त्यसो त त्यतिबेला हामी सबै वैद्य पार्टीकै पार्टी सदस्य त हौँ नि ! हाम्रो पनि नाम दर्ता होला उहाँहरूसँग । त्यसो हो भने हामी पनि त वैद्यका त हुने भयौँ नि भनेर ठट्टा पनि गर्नुभयो । अनि विकास भाइले भन्नुभयो, ‘सञ्चालकले भनेको पनि हामीतिर होइन दाइ, उहाँ हामीप्रति सकारात्मक नै हुनुहुन्छ । उहाँ नकारात्मक सोच्ने मान्छे होइन । शिक्षक हुन्, बुद्धिजीवी हुन् । हामीलाई र रामशरण कमरेडलाई राम्रोसँग चिन्नुहुन्छ उहाँले, हामीतिर होइन । तर एउटा श्रद्धाञ्जलीसभामा यसरी पार्टी सदस्य तानातान गर्नु पक्कै पनि नरमाइलो पक्कै हो, मैले त हाम्रो भएकाले सत्य कुरा बोलेको हुँ । यति नभन्ने हो भने त उहाँलाई अन्याय हुन्छ । हाम्रो पार्टीको सदस्यलाई एउटा नेतृत्वले हाम्रो नभन्दा उहाँले सुनेको भए के मान्नुहोला ? त्यसैले हाम्रो सङ्गठनको एक नेता भएको नाताले हाम्रो पार्टीका तर्फबाट यति भन्नु न्यायिक नै हुन्थ्यो र बरु यति नभन्दा उहाँलाई अन्याय हुन जान्थ्यो । उहाँको निधनले हामी सबैलाई दुःखी र मर्माहत बनाएको कुरा र क्रान्तिमा, पार्टीमा क्षति भएको कुरा सत्य हो र यो राख्नु हाम्रो कर्तव्य पनि थियो र जायज पनि थियो ।

वर्षले भर्खरै ६४ मा उकालो लाग्दै गरेको, शिक्षा र पेसाले एक ग्र्याजुएट इन्जिनियर, विचारले सधैँ परिवर्तन र क्रान्ति रोज्ने एक असल र इमानदार क्रान्तिकारी, समाज सुधारक, नरम र मिलनसार स्वभावका, कसैलाई नचिढ्याउने, नबिझाउने, सांस्कृतिककर्मी, कला र प्रतिभाका धनी, विभिन्न युवा क्लबहरूबाट खेलकुदमार्फत युवाहरूलाई प्रोत्साहित र परिचालित गर्नसक्ने ज्ञान, सीप र कौशल भएको, सांस्कृतिक अभियानहरूबाट पुराना राम्रा संस्कृतिको जगेर्ना र गीत, सङ्गीत, नाटक, प्रहसनमार्फत समाजमा व्याप्त शोषण–उत्पीडनको विरोध र भण्डाफोर, तत्कालीन राज्यसत्ताका विरुद्ध सांस्कृतिक अभियानको नेतृत्व गर्ने उहाँ एक बहुप्रतिभाशाली र रचनात्मक, सिर्जनशील कलाकार तथा परिवर्तनका पक्षधर, समाजमा एक प्रतिष्ठित व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ हरिसिद्धि भवानी गुठीको २९ जना गुठियारमध्ये एकजना र १० जना मूल देवगण (च्याभू) मध्ये पहिलो देवगण हुनुहुन्थ्यो । उहाँ हरिसिद्धि भवानीको नाचको प्रमुख आकर्षणको पात्र पनि हुनुहुन्थ्यो । उहाँले कर्मनाशा खोलाको किनारामा रहेको बगर गुठीको जग्गा, जग्गा दलालहरूले मिचेर खाएको बारे महासचिवलाई पटकपटक भन्दै आउनुभएको थियो र त्यसलाई पार्टीले तुरुन्त पहल लिई पार्टी काममा उपयोग गर्ने कुरा पनि उहाँले राख्दै आउनुभएको थियो । उहाँले भन्नु मात्र भएन, त्यस गुठीको १ रोपनी जग्गा पनि पार्टी कार्यालयका लागि भनेर दिनुभयो र उहाँकै वचन र पहलमा उक्त जग्गा खुसी भएर स्वयम् आफैँ महासचिवसँग गएर साँधसिमानाहरूसमेत देखाएर पार्टीलाई दिनुभएको थियो र अहिले पार्टी कार्यालय निर्माणाधीन अवस्थामा छ । यसका लागि पनि उहाँ धन्यवादका पात्र हुनुहुन्छ ।

हाल उहाँका २ परिवारबाट २ छोरा र ५ छोरी छन् । असार महिनाको अन्तिमतिर कोरोना पोजिटिभ देखियो । सुरुमा हरिसिद्ध कोबिड आइसोलेसन सेन्टरमा लगेर त्यहाँ २ दिन राखियो । त्यसपछि अल्का अस्पतालमा भर्ना गरियो । ८ दिनपछि अल्काबाट ब्लु क्रसमा लगियो । ब्लु क्रसमा ४३ दिन बस्नुभयो । अन्तिममा त्यहाँ पनि सञ्चो नभएपछि नर्भिकमा लगियो । त्यहाँ पनि ८ दिन बस्नुभयो । जम्मा ६१ दिन विभिन्न अस्पतालमा उपचार गराइयो तर अनेक प्रयासबाट पनि रामशरण कमरेडलाई बचाउन सकिएन, विकास कमरेडको भनाइ छ । कोरोना नेगेटिभ आइसकेको थियो तर निमोनियाका कारणले भदौ १० गते ६४ वर्षको उमेरमा उहाँले पार्टी, क्रान्ति, समाज, परिवार र हामी सबैलाई सदाका लागि छोडेर जानुभयो । उहाँ हामीसँग हुनुहुन्न भौतिक रूपले तर उहाँको विचार र उहाँले अगाडि बढाएका कदमहरू सम्झना र सहकार्यका लागि जीवित छन् । यसैबाट हामी उहाँलाई सम्झिरहनेछौँ ।

उहाँ एक सामाजिक व्यक्तित्व पनि भएको हुनाले उहाँले सवैलाई क्रान्तिकारी बाटोमा डोर्याउन र खुला रूपले घोषणा गरेर भूमिगत भएर मात्र नहिँड्नुभएको हो तर उहाँ भूमिगतहरूभन्दा राम्रो र सक्रिय काम गर्नुहुन्थ्यो । पार्टीमा सबै खुल्नुपर्छ र सवैले झोला बोकेर फनफनी घुम्नुपर्छ भन्ने केही छैन । विविध जिम्मेवारी र समय सन्दर्भले खुल्नुपर्ने र नखुलेर भित्रभित्रै क्रान्तिको काम गर्नुपर्छ, गर्नुपर्ने हुन्छ । यो एउटा असल कार्यकर्ताले मात्र गर्न सक्छ ।

जीवनको अन्तिम समयमा पनि उहाँले पार्टी र नेतृत्वलाई भुल्नुभएन । सायद अब म धेरै दिन बाँच्दिनँ होला भन्ने लागेर नै हुनसक्छ, उहाँले महासचिव कमरेडसँग भेट्ने इच्छा व्यक्त गर्नुभयो । फोनमा भए पनि एकपटक भेट गराइदिनुस् भन्नुभएछ र जुम भिडियोमार्फत महासचिव कमरेडसँग छोटो कुराकानी भयो । उहाँले आईसीयूभित्रैबाट महासचिव कमरेडलाई लालसलाम भन्नुभयो । महासचिवले गरेको कुरा सबै सुन्नुभयो र त्यो सुन्दासुन्दै उहाँले निम्न हरफहरू लेखिभ्याउनुभएछ । नर्स बाहिर निस्कने बेला सानो चिर्कटोमा महासचिवका नाममा सानो पत्र लेखेर यो महासचिव कमरेड विप्लवलाई दिनू भन्नुभएछ । त्यो चिर्कटोमा यो मुस्किलले बुझिने गरी लेखिएको पत्र अहिले पनि हेडक्वार्टरमा सुरक्षित छ । पत्रमा यस्तो लेखिएको थियो—

आदरणीय महासचिव कमरेड,
लालसलाम !

हाम्रो बगरको गुुठीको जग्गा भूमाफियाहरूले मिचेका छन् । हाम्रो पार्टीले मिचेको जग्गा फिर्ता लिई पार्टीको प्रयोजनका लागि प्रयोग गर्नुहोला । मैले यो काम पार्टीलाई जिम्मा दिएको छु ।

— नेकपा– जिन्दावाद !
— लालसलाम !!
रामशरण महर्जन
२०७८ साउन १

यो पत्र र यहाँका पार्टीका जिम्मेवार साथीहरूको भनाइअनुसार उहाँ अरू कुनै पार्टीमा हुनुहुन्नथ्यो । अन्य कम्युनिस्ट पार्टीहरूलाई मन पनि पराउनुहुन्नथ्यो । उहाँ एक सामाजिक व्यक्तित्व पनि भएको हुनाले उहाँले सवैलाई क्रान्तिकारी बाटोमा डोर्याउन र खुला रूपले घोषणा गरेर भूमिगत भएर मात्र नहिँड्नुभएको हो तर उहाँ भूमिगतहरूभन्दा राम्रो र सक्रिय काम गर्नुहुन्थ्यो । पार्टीमा सबै खुल्नुपर्छ र सवैले झोला बोकेर फनफनी घुम्नुपर्छ भन्ने केही छैन । विविध जिम्मेवारी र समय सन्दर्भले खुल्नुपर्ने र नखुलेर भित्रभित्रै क्रान्तिको काम गर्नुपर्छ, गर्नुपर्ने हुन्छ । यो एउटा असल कार्यकर्ताले मात्र गर्न सक्छ । कतिपय क्रान्तिपछि खुल्नुपर्ने कुराहरू पनि हुन्छ । हाम्रो पार्टी सदस्यको नाताले, एकजना क्रान्तिकारी जसले निरन्तर चौथो महाधिवेशनदेखि मशाल, एकताकेन्द्र हुँदै माओवादी विचार र माओवादी नेतृत्वलाई ललितपुर हरिसिद्धिमा पाइला टेकाउने पहिलो व्यक्ति भएर पनि पछि प्रचण्डमा आएको वैचारिक विचलनपछि कमरेड किरणको नेतृत्वमा बनेको ड्यास माओवादी र त्यसमा पनि चित्त नबुझेपछि विप्लव कमरेडको नेतृत्वमा पुनर्गठित नेकपाको पार्टी सदस्य र बुद्धिजीवी सङ्गठनको केन्द्रीय सदस्यको सक्रिय सदस्य रहँदै आउनुभएका कमरेड रामशरण महर्जनको उपरोक्त पत्रबाट पनि उहाँ नेकपा र क्रान्तिप्रति उत्ति नै प्रतिबद्ध हुनुहुन्थ्यो । उहाँको सम्झनामा म यो सानो आलेख समर्पण गर्न चाहन्छु र श्रद्धाञ्जली कार्यक्रममा व्यक्त नारायण गोपालको गीतलाई नै यहाँ दोहोर्याउन चाहन्छु –
एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा ।

(नारायणगोपालको गीतबाट)
एउटा कमरेडको अभावले कति
फरक पार्दछ क्रान्तिमा ’
(मेरो शब्द)

हो क्रान्तिमा, सङ्गठनमा, समाजमा, राजनीतिमा, सङ्घर्ष र आन्दोलनमा एकजना असल कमरेडको अभावमा, एकजना असल नेतृत्वको अभावले कति फरक पार्दछ । एउटा गोन्जालोको अभावमा सिङ्गो पेरुभियाली क्रान्तिले नराम्रोसँग धक्का खायो । प्रचण्डको क्रान्तिकारी नेतृत्वले १० वर्षको संसार थर्काउने उथलपुथलकारी जनयुद्ध भयो । त्यही प्रचण्डको विचलनले जनयुद्ध र नेपाली क्रान्तिले कति ठूलो क्षति बेहोर्नुपर्यो । यो हामी रामशरण कमरेडको आजको अभावबाट सबैले महसुस गर्न सक्छौँ ।

हाम्रो चाहना क्रान्तिकारीहरू क्रान्तिको अन्तिम घडीसम्म सँगसँगै लड्न पाए हुन्थ्यो भन्ने हुन्छ तर त्यो चाहना कहिल्यै पूरा नहुँदो रहेछ । ‘राम्रा मान्छेलार्ई भगवान्ले पनि छिट्टै बोलाउँछ’ भनेर पुरानो चिन्तनका मान्छेहरू भन्छन् । यस्तै छ सामाजिक न्यायको सत्यता । राम्रा–राम्रा, असल कमरेडहरू कि सहिद बन्छन् कि अल्पायुमै असामयिक मृत्यु हुन पुग्छ । लेनिनको अल्पायुमै निधन भयो । यसका वस्तुगत कारण छन् । पहिलो उनीहरू क्रान्तिका लागि भनेर आफ्नो स्वास्थ्यको समेत ख्याल नगरी होमिन्छन् । दोस्रो सङ्घर्षका सबभन्दा अग्रमोर्चा र जोखिम कार्यहरूमा उनीहरू नै होमिन्छन् । तेस्रो, सबभन्दा चिन्तन र तनावपूर्ण मानसिक दबाबमा पनि उनीहरू नै हुुन्छन् । त्यसकारण क्रान्तिकारीहरू कि त सहिद बन्छन्, कि मारिन्छन् कि त छिट्टै स्वास्थ्य कमजोर हुने वा स्वास्थ्य बिग्रिने हुन्छ र अल्पायुमै बिछोडिने हुन्छ । फेरि पनि यो क्रान्तिकै कार्य हो र सिलसिला हो । यही सिलसिलामा नै कमरेड रामशरण पनि हामीबाट र क्रान्तिबाट बिछोडिनुभएको छ ।

हामी सवैले धैर्यधारण र संकल्प गरौँ । उहाँ हिँडेको पथमा हिड्न सिकौँ । उहाँले जस्तै मर्दा पनि र बाँच्दा पनि दुनियाँले आफ्नो मान्छे ठान्ने असल चरित्र र छवि बनाउन सिकौँ । उहाँले छोडेर गएका अधुरा कार्यहरूलाई पूरा गर्ने सङ्कल्प र प्रतिबद्धता व्यक्त गरौँ । यही नै वास्तवमा उहाँप्रति सच्चा सम्मान हुनेछ । साँच्चैको श्रद्धाञ्जली हुनेछ ।

अन्तिममा फेरि उहाँप्रति अन्तिम शब्द श्रद्धासुमन गर्न चाहन्छु । उहाँको शोकाकुल परिवारमा समवेदना व्यक्त गर्दछु । अल बिदा कमरेड रामशरण, अल बिदा ।

२६ भदौ, २०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :